५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

रेशम पक्षले मुख्यमन्त्री शाहलाई गर्‍यो समर्थन, रञ्जिता भने विपक्षमा

अल्पमतमा परेका मुख्यमन्त्री शाह बहुमत जुटाउने कसरतमा

सुदूरपश्चिम प्रदेशमा सरकार बनाउनमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ। आइतबार बसेको नाउपाको संसदीय दलको बैठकले नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कमल शाह नेतृत्वको वर्तमान सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको हो।

‘नागरिक उन्मुक्ति पार्टीले सरकारको समर्थन कायम राख्ने निर्णय गरेको छ’संसदीय दलका नेता घनश्याम चौधरीले भने,‘संसदीय दलको बैठकको निर्णय नाउपाका सबै सांसदले मान्नुपर्छ।’ बैठकमा सरकारको समर्थन फिर्ता लिनुपर्ने पक्षमा रहेका पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर दुई जना सांसद कैलाश चौधरी र टिका थापा भने बैठकमा अनुपस्थित थिए।

सरकारलाई समर्थन जनाउँदा सांसद कैलाशलाई मन्त्री र रितालाई पनि कुनै पद दिने सहमति भएको उनले बताए। संसदीय दलको बैठकको निर्णय नमान्ने अधिकार नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्हबाट लडेको कसैलाई नहुने उनको भनाई थियो। केन्द्रमा प्रचण्ड सरकारलाई समर्थन जनाए पनि प्रदेशमा स्वायत्त ढंगले नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले निर्णय गरेर नयाँ अभ्यास थालनी गरेको संसदीय दलका नेता चौधरीको भनाई थियो।

मुख्यमन्त्री शाहलाई समर्थन जारी राख्ने कि फिर्ता लिने बिषयमा पती पत्नी समेत रहेका नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र पार्टीका संरक्षक रेशम चौधरी बिच विवाद रहेको छ ।

उनीहरु बिचको विवादले उक्त पार्टीका सासंदहरु र पार्टीका नेता कार्यकर्ताहरू नै विभाजित भएका छन् । प्रतिनिधि सभाका सासंदहरुले नयाँ गठबन्धनको सरकारलाई समर्थन गर्ने निर्णय गरेबमोजिम प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका छन् । भने रेशम चौधरीको बाहुल्यता रहेको प्रदेश सभा संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ।

अध्यक्ष रञ्जिता मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएर केन्द्रकै गठबन्धनलाई प्रदेशमा पनि समर्थन जनाउनु पर्ने पक्षमा छिन।

केन्द्रमा सत्ता गठबन्धन बदलिएसँगै अल्पमतमा परेका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बहुमत जुटाउन पुरै तागत लगाएर कोसिस गरिरहेका छन्। सरकारमा रहेको नेकपा माओवादी केन्द्र र नेकपा एसले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ। अल्पमतमा परेका मुख्यमन्त्रीले बहुमत जुटाउन निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सांसद, राप्रपाका एक प्रदेश सभा सदस्य र एक स्वतन्त्र प्रदेश सभा सदस्य लाई फकाएर सरकारमा सहभागी गराउने कोसिस गरेका छन्। मुख्यमन्त्री शाहले नेकपा माओवादी केन्द्र र नेकपा एसका मन्त्री हटाएर नाउपाका ४ मन्त्री थपेका छन्।

सुदूरपश्चिम सरकारमा ७ प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीका ५ मन्त्री रहेका छन् ।  यस अघि प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका र नेकपा एसका मन्त्रीहरूलाई मुख्यमन्त्री शाहले हटाएका थिए भने ती दुई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। उनले राप्रपाका प्रदेश सभा सदस्य खिमादेवी बिष्ट र स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा जोशीलाई पनि सरकार सहभागी गराउने प्रयास गरिरहेका छन्। 

नागरिक उन्मुक्तिका ७, राप्रपाका बिष्ट र स्वतन्त्रका जोशीले समर्थन जनाएमा मुख्यमन्त्री शाहलाई बहुमत पुग्ने छ।नेकपा माओवादी केन्द्र र नेकपा एसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिनेहरूमा नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र एक जना स्वतन्त्र गरेर २६ जना सांसद मात्र रहेका छन्। बहुमत पुगाउन २७ प्रदेश सभा सदस्य आवश्यक छ । नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीको, राप्रपाका  प्रदेश सभा सदस्य बिष्ट र स्वतन्त्र प्रदेश सभा सदस्य जोशी समर्थन जुटाउन सकेमा मुख्यमन्त्री शाहको सरकार टिक्ने छ।

स्वतन्त्र सांसद जोशीले यस अघि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका थिए । नागरिक उन्मुक्तिका ७ प्रदेश सभा सदस्यले समर्थन जनाएमा राप्रपाका बिष्ट र स्वतन्त्र जोशी पनि सरकारमा सहभागी हुने विश्वासमा मुख्यमन्त्री रहेको उनी निकटस्थ बताउँछन।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ।

प्रकाशित: ४ चैत्र २०८० १९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App