६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसका प्रतिवेदन र दस्ताबेजहरूमा गठबन्धनको छाया देखियो: डा. शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टी इतर पक्षका नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत प्रतिवेदन र दस्ताबेजहरूमा गठबन्धनको छाया परेको बताएका छन्।

पार्टी महासमिति बैठकका लागि शुक्रवार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उनले यस्तो धारणा राखेका हुन। 

‘यहाँ प्रस्तुत प्रतिवेदन र दस्ताबेजहरू हेर्दा कता–कता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो।  महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो त्यो देखिएन’, उनले भने। 

पार्टी इतर पक्षका नेता डा. कोइरालाले महासमिति जस्तो महत्त्वपूर्ण कार्यक्रममा नेपाली कांग्रेसका २९ वटा संसदीय निर्वाचन क्षेत्र र केही भातृ तथा शुभेच्छुक संस्थाको प्रतिनिधित्व नहुने अवस्था देखिएको भन्दै आपत्ति जनाएका छन्। ‘यो गम्भीर विषयलाई तुरुन्त टुङ्ग्याऔँ’, उनले भने। 

डा. कोइरालाले ‘आफ्नो इतिहासको गुणगान मात्र गाउनु र यथास्थितिमै रमाउने बानी’ परिवर्तन गर्न आग्रह गरेका छन्। ‘सबै समस्यालाई मार्गचित्र सहित भरोसायुक्त समाधान दिने काम गरौँ। कतै हाम्रो असक्षमताका कारणले त निराशा बढिरहेको छैन? यसबारे सूक्ष्म विश्लेषण गर्दै सक्षमताको खोजी गरौँ’, उनले भनेका छन्। 

डा. कोइरालाले देशमा व्याप्त भ्रष्टाचार र आर्थिक अनुशासनहीनताले सुशासनलाई सुनिश्चित गर्न नसकेको पनि बताए। ‘तसर्थ राज्यको विभिन्न अंगमा फैलिएको भ्रष्टाचारलाई कडाइकासाथ नियन्त्रण गर्नु पर्दछ’, उनले भने।

उनी भन्छन्, ‘मन्त्रीपरिषद्ले गर्ने सबै निर्णय नीतिगत नभई विषयगत र प्राविधिक पनि हुन सक्छन्। अनुसन्धान गर्ने निकाय, अदालत र कानुनका बिचमा तालमेल नहुने हो र मन्त्रीपरिषद्का सबै निर्णयलाई नीतिगत मानेर भ्रष्टाचार छल्ने आधार बनाइन्छ भने लोकतान्त्रिक संविधान र लोकतन्त्र जनआक्रोशले सङ्कटमा पुर्‍याउन सक्छ। यसमा कांग्रेसले बेलैमा विचार गर्नु पर्ने हुन्छ।’ कानुनको नजरमा सबै बराबर हुन भन्ने मान्यता स्थापित गरिनुपर्ने कोइरालाले बताए। 

डा. कोइरालाले कांग्रेस पार्टीको विधानमा धेरै त्रुटिहरू रहकाले साङ्गठनिक गतिविधिमा बाधा आइरहेको उल्लेख गरे।  ‘यो महासमितिको बैठकले “विधान संशोधन मस्यौदा समिति” बनाएर विधानलाई समयानुकूल परिमार्जन गर्न जरुरी छ’, उनले भने।

कोइरालाले महामन्त्रीको साङ्गठनिक प्रस्तावमा १५औँ महाधिवेशनको कार्य तालिका आएको र यो महासमितिको बैठकले त्यो कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने पनि बताए। 

उनले कार्यसमितिमा प्रस्तुत गरिएका प्रस्तावहरूमा राम्रो कुरा समेटिएका भए पनि युवामा आशा जगाउन सकिने अवस्था नरहेका बताए। ‘रोजगारी सिर्जना, सुशासन कायम गर्ने, उद्योगी, व्यवसायीका मागहरू संशोधन हुने गरी थप स्पष्ट हुनुपर्छ’, कोइरालाले भने। 

उनका थप धारणाहरू यस्ता छन्:

१. कृषि क्षेत्रमा मलखाद, सिचाई, बजार लगायतका कुराको संशोधन गर्ने गरी थुप्रै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ। त्यसैगरी सूचना, प्रविधि क्षेत्रमा सफ्टवेयर निर्यात, डिजिटल नोम्याड लाई राम्रो वातावरण बनाएर र हाम्रो ऊर्जा र पर्यटन क्षेत्रलाई लगानीको माहौल सिर्जना गरेर दिगो रूपमा रोजगारी सिर्जना गर्न सकिन्छ।

२ रेमिट्यान्सको व्यवहारिक विकल्प के–के हुन सक्छन् ? रोजगारीका लागि मात्र नेपालीहरू विदेश जाँदैनन्। रोजगारीसँग नजोडिने सम्पन्नहरू पनि यहाँको वातावरण र निराशा देखेर पढ्न लगायत विभिन्न बहानामा बाहिरिने गर्दछन् । यस विषयमा दस्ताबेजमा उचित समाधान देखिएन।

३. सामाजिक नीति तर्फ सामुदायिक विद्यालयको उत्थान, बिश्वबिद्याललाई राजनीति मुक्त र कक्षा सञ्चालनमा भन्दा अनुसन्धानमा प्राथमिकता, प्रभावकारी स्वास्थ्य बिमा, वृद्ध भत्तामा पुनरावलोकन, यातायातलाई राज्यको दायित्वमा लिनुपर्ने विषयमा स्पष्टता जरुरी छ।

४. पर्यटन प्रवर्द्धनमा हामीले जोड दिनुपर्‍यो। साथै अर्कोतर्फ बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक महत्त्व बोकेको देशमा धार्मिक पर्यटनलाई बढवा दिने ठोस नीति तथा कार्यक्रम ल्याईनु पर्छ ।

५. बेरोजगारी समस्या सम्बन्धमा ः–हाम्रो देशको विकास र सुशासनको प्रमुख बाधक बेरोजगारी समस्या र युवा पलायन हो । यसको विस्तृत अध्ययन गरी समस्या समाधानका सूत्र पहिल्याउन एक उच्चस्तरीय कार्यदल बनाउन आवश्यक देखिन्छ।

६. सहकारी, वित्तीय संस्था र पीडितहरूको समस्या सम्बन्धमा ः– हालसालै सहकारी र लघुवित्तमा देखिएको देशव्यापी समस्याको परिणाममुखी समाधान खोज्दै पीडितहरूलाई यथोचित न्याय दिनुपर्ने। देशको समग्र अर्थतन्त्रमा यस क्षेत्रको योगदानलाई सुनिश्चित गर्न अल्पकालिक र दीर्घकालिक नीति निर्धारण गर्नुपर्ने।

७.हरेक तहका निर्वाचनमा अब उप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल गर्नु हुँदैन। अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिँदैन। तसर्थ संविधान संशोधनमार्फत निर्वाचन प्रणाली परिवर्तन गर्न सबै राजनीतिक दलहरूसँग संवादको लागी नेपाली कांग्रेसले पहल गर्ने।

८. पार्टी र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि बिचमा समस्या चुलिँदो छ, त्यसलाई समन्वय गर्न पार्टी तहमै स्थायी संयन्त्र निर्माण गरिनु पर्छ।

९. अधिवेशनबाट मात्रै लोकतान्त्रिक पार्टी जीवन्त रहने हुँदा पार्टीका सम्पूण र् भातृ एवं शुभेच्छुक संघसंस्थाहरुको अधिवेशन यथाशक्य छिटो गरिनुपर्छ र तदर्थवादबाट संगठन चलाउने मानसिकता त्याग्नु पर्छ।

१०.हामीले डायस्पोरालाई बढी नै मान्यता दियौँ। अब परम्परागत तरिकाले जनसम्पर्क समिति चल्न सक्दैन। यसलाई परिमार्जित तरिकाले चलाउन जरुरी छ। जनसम्पर्क समितिबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गराउनको लागी जनसम्पर्क समिति मध्यबाटै एक जना केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान विधानमा राखिनु पर्छ । नेपाली जनसम्पर्क समितिको अन्तर्राष्ट्रिय समिति (विश्व सञ्जाल) बनाई अन्तर्राष्ट्रिय समितिको सभापतिलाई कांग्रेस केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था गरौँ।

प्रकाशित: ४ फाल्गुन २०८० १७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App