१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

‘भाषण छाड्नुस्, नागरिकको निराशा चिर्नुस्’

प्रधानमन्त्रीलाई इलामवासीको सम्बोधन

इलामवासीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुराभन्दा बढी काम गर्न सुझाव दिएका छन्। देश आर्थिक रूपले समस्यामा रहेका बेला केही आशा जगाउन प्रधानमन्त्री दाहालले प्रयास गरेको तर अब नागरिकले भाषणमा मात्रै विश्वास नगर्ने इलामवासीको भनाइ छ।

प्रधानमन्त्री दाहालले मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधनप्रति प्रतिक्रिया दिँदै विभिन्न क्षेत्रमा क्रियाशील इलामवासीले सकारात्मक काम गरी नागरिकमा विश्वास भर्न सरकारलाई सुझाए।

अर्थशास्त्र विषयका सहप्राध्यापक जसबहादुर लुंगेलीले प्रधानमन्त्रीले आशाको पुलिन्दा बाँडेको प्रतिक्रिया दिए। ‘यसो र उसो गर्छु भनेर आशाको पुलिन्दा त बाँडियो तर देशको अर्थतन्त्रले त्यसलाई कहाँ गएर भेट्छ भन्नेचाहिँ देखिएन,’ उनले भने, ‘प्रधानमन्त्रीले बोल्न त बोल्नुभो तर उहाँले भनेका कुरा आर्थिक हिसाबले पूरा हुने देखिँदैन।’

लुंगेलीले देशबाट ठुलो संख्यामा युवा पलायन भइरहेको तर उनीहरूलाई रोक्ने कुनै योजना सरकारले ल्याउन नसकेको बताए।

‘देशमै रोजगारी सिर्जना गर्ने, उद्योगधन्दा व्यवस्थित गर्ने भन्नेजस्ता ठोस योजना छैनन्,’ व्यक्तिमा भएको चरम निराशा सम्बोधन गर्ने योजना देखिएन।’

उनले जनतालाई साँच्चिकै सरकारले विश्वास दिलाउन चाहेको भए प्रधानमन्त्री, मन्त्री, सांसदलगायतको सम्पत्ति राष्ट्रियकरण गर्न र राज्यको ढुकुटीबाट जीवनयापनका लागि दिइने सुविधाबाहेक अन्य सुविधा नलिने घोषणा गर्न सुझाए।

 ‘अब भाषण मात्रै गरेर जनताले पत्याउँदैनन्,’ उनले भने, ‘नागरिकमा उत्पन्न निराशालाई आशामा बदल्न र दलले केही गर्दैनन् भन्ने गलत भाष्य चिर्न नेता सुध्रिनुपर्छ।’

कोसी प्रदेशका पूर्वसांसद धीरेन्द्र शर्मा रमणले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य लिएर अघि बढेको भए पनि पूरा गर्न कठिनाइ भइरहेको बताए। उनले प्रधानमन्त्री दाहालका कतिपय लक्ष्य पूरा हुने दिशातर्फ अग्रसर भएको बताए।

‘देशको अवस्था सुधारोन्मुख भएको छ, निराशाभन्दा आशा देखिन थालेको छ, अर्थतन्त्र सबल नहुँदा ठुला योजना सम्पन्न गर्न कठिन भए पनि परिवर्तनका संकेत देखिन थालेका छन्,’ उनले भने, ‘श्रमसँग जनतालाई जोड्ने खालका योजना आवश्यक छन्।’

उनले युवाशक्ति पलायन रोक्न मुलुकभित्रै रोजगारीका अवसर सिर्जन गर्न सरकारलाई सुझाए। ‘बरु सेवासुविधा बढी दिएर भए पनि नेपालीलाई यहीं रोजगारीको वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘जनता निराशा भए राज्यव्यवस्थाप्रति नै निराशा बढ्छ। सरकारले निराशालाई आशामा बदल्न सक्छ, गरेर देखाउनुपर्छ।’

रोङ गाउँपालिकाका अध्यक्ष मनीकुमार स्याङ्बोले प्रधानमन्त्री दाहालले देशवासीमा आशा जगाउने राम्रो प्रयास गरेको बताए।

‘कतिपय कमीकमजोरी होलान् तर प्रधानमन्त्रीले युवामा केही आशा जगाउनुभएको छ, त्यो कार्यान्वयनचाहिँ हुनुपर्छ,’ उनले भने, ‘आर्थिक सूचक, जलविद्युत् आयोजना लगायत क्षेत्रमा केही आशा गर्ने ठाउँ प्रधानमन्त्रीले देखाउनुभएको छ। अब काम गर्नुपर्छ, भाषणले मात्रै हुँदैन।’

स्याङ्बोले सरकारले नीति, कार्यक्रमको कार्यान्वयन, अनुगमन र समीक्षाचाहिँ नगरेको बताए।

‘संघीय सरकारले ल्याएको नीति र कार्यक्रम स्थानीय सरकारले कसरी कार्यान्वयन गरेका छन् भन्ने अनुगमन भएको छैन,’ उनले भने, ‘अनुगमन गरी राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ, राम्रो गर्न नसक्नेलाई सुझाव दिनुपर्छ, यो काम संघीय सरकारबाट भएको छैन।’

उनले संघीय सरकारले अब काम गरेर देखाउनुपर्ने बेला आएको बताए। ‘भाषण गरेर र नीति बनाएर मात्र हुँदैन, काम गर्न सक्नुपर्छ,’ उनले भने, ‘जनतामा उत्पन्न निराशाको सम्बोधन सरकारबाट हुन्छ भन्ने आशा गरौं।’

एमाले जिल्ला कमिटीका उपसचिव रवीन्द्र सुवेदीले प्रधानमन्त्री दाहालको सम्बोधनलाई ‘झुटको खेती’ संज्ञा दिए। ‘राज्यले कर्मचारीको तलबसमेत दिन सकेको छैन, देशको आर्थिक अवस्था डामाडोल भएर युवाजति विदेश पलायन भइरहेका छन्। प्रधानमन्त्रीले भने ती कुरा बिर्सेर सपना बाँडिरहनुभएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले सम्बोधनमा जति योजना सुनाए पनि आर्थिक रूपमा ती पूरा हुने ठाउँ देखिँदैन।’

उनले नक्कली भुटानी शरणार्थी, सुन तस्करीलगायतका काण्डमा बीचैमा अनुसन्धान छाडेर आरोपितलाई उन्मुक्ति दिनुले सरकारकै माथिल्लो तहमा बसेका नेता नै यसमा संलग्न छन् कि भन्ने आशंका जन्माएको बताए।

‘यो सरकारले अरू सकारात्मक काम गर्ला भन्ने विश्वास जनतामा छैन।’ नेपाली कांग्रेसका जिल्ला सचिव निरोज खड्गीले सरकारले आशा गरेअनुसार काम गर्न नसकेको बताए।

‘सरकारको कामले धेरैमा निराशा र व्यवस्थाप्रति नै अविश्वास बढाएको देखिन्छ,’ उनले भने, ‘यो निराशा सरकारले चिर्न सक्नुपर्छ।’ युवाको विदेश पलायन रोक्न, जीविकोपार्जनका कार्यक्रम ल्याउन, जनतामा आक्रोश बढ्ने अवस्था आउन नदिन सरकारले वस्तुगत काम गर्नुपर्ने उनको सुझाव छ।

जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइलीले दलित समुदायबारे सरकारले आशलाग्दा कार्यक्रम ल्याएको बताइन्। महँगी नियन्त्रणमा पनि सरकारले केही गर्न खोजेको उनले बताइन्।

‘भाषण र घोषणामा जति सकारात्मक कुरा आएका छन्, कार्यान्वयनमा पनि उत्तिकै ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘देशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्छ, रोजगारीका लागि बिदेसिने बाध्यता अन्त्य गर्नुपर्छ।’

गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष कमल नेपालले वर्तमान सरकारले कामभन्दा पनि गठबन्धन जोगाउनेतर्फ बढी समय दिएको बताए। ‘सरकारको एक वर्ष फन्डाबाजीमै बितेको छ,’ उनले भने।

युवा नेता देवेन्द्र सुवेदीले जनताको भावनाअनुसार काम गर्न सरकारलाई सुझाव दिए। भ्रष्टाचार नियन्त्रण, जनआशा पूरा गर्ने र युवालाई देशमै आशा जगाउने काम सरकारले गर्नुपर्ने उनको भनाइ छ।

अधिवक्ता टीका पौडेल (भारद्वाज) ले सरकारबाट नागरिकले परिवर्तनको आशा गर्न नसकेको बताइन्।

‘यो सरकारबाट जनताले सेवासुविधाको अनुभव गर्न पाएनन्,’ उनले भनिन्, ‘महँगी–भ्रष्टाचार नियन्त्रण र सुशासनको अनुभूति नागरिकलाई भएन।’  

प्रकाशित: १३ पुस २०८० ००:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App