१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनका लागि पहल गर्छु : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनका लागि पहल गर्ने बताएका छन।

नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई आज(मंगलबार) भैरहवामा सम्बोधन गर्दै सभापति देउवाले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानहरू गर्ने व्यवस्थाका लागि सरकार र सरोकारवाला पक्षसँग परामर्श गर्ने बताएका हुन।

पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानहरू नियमित गरी विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याइने आश्वासन दिए।त्यसकालागि अन्तर्राष्ट्रिय विमानस्थलमा हुनुपर्ने आवश्यक पूर्वाधार,कार्यालयहरू तथा सेवा सुविधाहरुका सम्बन्धमा सरकार, सम्बन्धित मन्त्रालय,मन्त्री तथा सरोकारवालाहरुसंग आवश्यक परामर्श गर्ने देउवाले बताएका हुन।

‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा कार्यालयहरू कुनै पनि यहाँ खोलिएका रहेनछन्, अन्तर्राष्ट्रिय उडान नियमित गर्न चाहिने सेवा सुविधा किन उपलब्ध गराइएन यस बारेमा काठमाडौँ गएर सरकार, सम्बन्धीत मन्त्री र सरोकारवालाई वोलाएर कुरा गर्छु’ देउवाले भने।

पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्नु अघि देउवालाई सिद्धार्थनगर उद्योग वाणिज्य संघले विमानस्थलको पूर्ण सञ्चालनका लागि समन्वयात्मक भुमिका खेलिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको थियो।यस क्षेत्रको आर्थिक मेरुदण्डका रुपमा रहेको विमानस्थल पूर्ण संचालन नहुँदा पर्यटन तथा अन्य व्यवसाय  नराम्रोसँग प्रभावित भएको भन्दै सङ्घमा आवद्ध उद्योगी व्यवसायीले देउवालाई समन्वयात्मक भुमिका खेल्न आग्रह गरेका थिए। देउवालाई सात बुँदे ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर निजी क्षेत्रले पर्यटन लगायतका क्षेत्रमा गरेको अबौं रुपैयाँ डुब्ने अवस्थामा पुगेको र व्यवसायीहरू पलायन हुन लागेको बताए।

जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणंले न्याय पाउने पनि बताए।सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा धेरै बोल्न उचित नहुने उल्लेख गर्दै नेता खाँणले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताएका थिए।त्यस्तै देउवाले भैरहवामा सम्पन्न रुपन्देहीको जिल्ला सम्मेलनले काँग्रेस भित्र एकताको सन्देश दिने पनि उल्लेख गरे।

कार्यक्रममा पार्टीका सहमहामन्त्री किशोरसिंह राठोर,केन्द्रीय सदस्य चन्द्र भण्डारी,लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन,केन्द्रीय  सदस्यहरू भरत कुमार शाह,अब्दुल रज्जाक,गंगा शाही,प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी,जिल्ला सभापति रामकृष्ण खाँण,उपसभापति थानेश्वर घिमिरे लगायतका नेताहरूले बोल्दै पार्टीलाई एक ढिक्का र बलियो बनाएर देश र जनताको हितमा लाग्नु पर्नेमा जोड दिएका थिए।पार्टीलाई बलियो बनाउन भातृ संस्थाहरुलाइ बलियो बनाउनु पर्ने र संघीयताको मुल मर्म अनुरूप पार्टी संचालन गर्नू पर्नेमा पनि नेताहरूले जोड दिए। 

प्रकाशित: १२ मंसिर २०८० १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App