७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

नेता–कार्यकर्ता घरदैलाेमा

बैतडीमा चुनावी प्रचारप्रसारमा खटिएका कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरबहादुर चन्द र राप्रपाका प्रदेशसभा सदस्यका उम्मेदवार गणेशबहादुर चन्द ।   तस्बिरः बिरा गडाल

पश्चिमेली ब्युरो 

नेपालगन्ज – मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न यतिबेला उम्मेदवारहरू गाउँ केन्द्रित अभियानमा छन् । दलभित्रको प्रभावशाली नेताको संयोजकत्वमा प्रचारप्रसार समिति बनाएर उम्मेदवार, नेता तथा कार्यकर्ता चुनावी अभियानमा गाउँ छिरेका हुन्। 

जिल्लास्तरमा विभिन्न चरणमा बैठक बसेर निर्वाचन प्रचारप्रसार समिति गठन गर्दै नेता कार्यकर्ता चुनावी रणनीति बनाई कार्यकर्ता भेटघाट तथा चुनावी सभा गर्न थालेका छन् ।

जुम्लाको चौधबीस क्षेत्रबाट कांग्रेसले चुनावी प्रचारप्रसारको  अभियान थालेको छ भने वामगठबन्धनले सिँजा क्षेत्रबाट चुनावी प्रचार चलाएको छ । वाम गठबन्धनबाट माओवादी केन्द्र र एमालेले प्रत्येक गाउँपालिकामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दै आएका छन् ।  एमाले र माओवादी केन्द्रका कार्यकर्तासँगै बसेर तालमेलको सन्देशसहित प्रशिक्षण कार्यक्रम गर्दै आएको माओवादी केन्द्रका संयोजक वीरबहादुर कँुवरले जानकारी दिए । उनका अनुसार प्रत्येक  स्थानीय तहमा फरकफरक नेताले प्रशिक्षण दिँदै आएका छन् । उम्मेदवारहरू भने असन्तुष्ट कार्यकर्ता रिझाउँदै घरदैलो अभियानमा लागेका छन् । संयोजक कुँवरले असन्तुष्ट कार्यकर्ताको मन जित्दै विपक्षीलाई तानेर बाजी मार्ने अभियानमा वामगठबन्धन भएको बताए । 

कांग्रेस भने वाम गठबन्धनका असन्तुष्टलाई रिझाएर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छ । सोहीअनुरुपको कसरत कांग्रेसले गर्दै आएको सभापति दीपबहादुर शाहीले जानकारी दिए । उनले भने, ‘उम्मेदवार र नेताकार्यकर्ताको छुट्टाछुट्टै टिम बनाएर प्रचारप्रसार कार्यमा जुटेका छौं ।’ 

बैतडीमा कांग्रेस–राप्रपाको लोकतान्त्रिक गठबन्धन र एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभाका लागि पाँच दल र प्रदेशसभाका लागि क्षेत्र नम्बर १ मा पाँच र २ मा दुई दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र वामगठबन्धनबाट एमालेका दामोदर भण्डारी प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा छन् ।  दुवैजना संविधानसभा २०७० को निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

चार नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा ८४ वडा छन् । एउटा वडामा एक दिनको मात्रै कार्यक्रम गर्नुपरे ८४ दिन लाग्छ, तर त्यो समय उम्मेदवारका लागि छैन । वाणिज्य राज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरबहादुर चन्दले भने, ‘सबै वडामा पुग्ने समय छैन, नगर र गाउँपालिकाको केन्द्रसम्म पुगेर चुनावीसभा र कार्यकर्ता भेटघाट गर्ने तयारमा छौं ।’ 

यसअघि लोकतान्त्रिक र वामगठबन्धनले जिल्लामा प्रचारप्रसार समितिलगायत क्षेत्र नगर गाउँपालिकासम्म प्रचारप्रसार समिति गठन गरेका छन् ।

मुगुमा पनि राजनीतिक दलहरुले उम्मेदवारी दर्तागरी चुनावचिह्न लिएर प्रचारप्रसारका लागि गाउँ केन्द्रित भएका छन् । गत बुधबार बेलुकी मनोनयन दर्ता गरेका उम्मेदवार भोट माग्न गाउँ केन्द्रित भएका हुन् । 

कांग्रेस प्रतिनिधिसभाका उम्मेदवार हस्तबहादुर मल्ल र क्षेत्र नम्बर १ बाट प्रदेशसभाका लागि कांग्रेसका तर्फबाट उम्मेदवार  तिलकबहादुर मल्लको टोली पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकातर्फ हिँडेका छन् ।  

वाम गठबन्धनका तर्फबाट एमालेका प्रतिनिधिसभाका उम्मेदवार गोपालबहादुर बम सोरु गाउँपालिकातर्फ चुनावी प्रचार अभियानमा लागेका छन् ।
(डिबी बुढा/जुम्ला, बिरा गडाल/बैतडी, सुमन मल्ल/मुगु)

 

 

 

प्रकाशित: १२ कार्तिक २०७४ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App