१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

डलर तस्करी आरोपित पाइलट विदेश तालिममा

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विदेशी मुद्रा अपचलनको मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई लाखौं खर्च गरेर तालिमका लागि विदेश पठाउने निर्णय गरेको छ।

वरिष्ठ क्याप्टेन अवालेको उडान लाइसेन्स अद्यावधिक गर्न लाखौं खर्च गर्दै निगम व्यवस्थापनले उनलाई ‘सिमुलेटर’ तालिम लिन सिंगापुर पठाउने निर्णय गरेको हो । अवाले बिहीबार (भदौ ८) मा तालिमका लागि सिंगापुर जाँदैछन्।

२०७३ चैत २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परी धरौटीमा छुटेका चालक सुवर्ण अवालेलाई नेपाल वायुसेवा निगमले विदेशमा तालिम लिन पठाउने निर्णय गरेको छ ।

‘फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई लाइसेन्स अद्यावधिक गर्ने भन्दै थप लाखौं लगानी गरी कसरी विदेश तालिममा पठाउन मिल्छ ?’ निगम उच्च स्रोतले मंगलबार नागरिकसँग भन्यो, ‘उनको मुद्दाको छिनोफानो भएको छैन । भोलि उनले मुद्दा हारे भने उनीमाथि गरिएको लगानी डुब्छ र त्यसको जिम्मेवारी कसले लिन्छ?’

सम्बद्ध अधिकारीका अनुसार अवालेलाई तालिमका लागि १४ हजारदेखि १६ हजार अमेरिकी डलर (१४ लाखदेखि १६ लाख रुपैयाँ) खर्च लाग्नेछ । त्यसबाहेक उनलाई प्रतिदिन २ सय डलर (२० हजार रुपैयाँ) भत्ताको व्यवस्था गरिएको छ । अवालेले न्यूनतम एक साता सिंगापुरमा बिताउनेछन् । उनी बिहीबार काठमाडौंबाट क्वालालम्पुर र त्यहाँबाट सिंगापुर जानेछन्। 

क्याप्टेन अवाले २०७३ चैत २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित दुबई उड्न लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । नियमित ड्युटीअनुसार जहाज कमान्ड गरेर दुबई जान लागेका अवालेलाई राति करिब ११ बजे विमानस्थल सुरक्षा गार्ड प्रहरीले शंका लागेर उनको ब्याग खानतलासी गर्दा अवैध डलर बरामद भएको थियो । कानुनअनुसार एक व्यक्तिले २ हजार ५ सय डलरसम्म साथमा लिएर विदेश जान पाउँछ।

त्यसपछि उनलाई राजस्व अनुसन्धान विभागको हिरासतमा राखिएको थियो । हिरासतमा बसुन्जेलमात्र उनलाई निगमले निलम्बन गरेको थियो । केही दिनपछि धरौटीमा छुटेका अवालेले जहाज उडाउन नपाए पनि निगममा जागीर खाएर तलब बुझिरहेका छन्। 

स्रोतका अनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको ‘ठाडो आदेश’ मा उनलाई अहिले सिंगापुर तालिममा पठाउन लागिएको हो । धरौटीमा रिहा भएलगत्तै पनि कंसाकारले अवालेलाई निलम्बन गर्नुको सट्टा उल्टै जहाज उडाउन दिने निर्णय गरी नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुमति मागेका थिए । तर, प्राधिकरणले फौजदारी मुद्दाको किनारा नलागेका कारण अवालेलाई जहाज उडाउन दिन नमिल्ने भन्दै रोकेको थियो। 

पाँच महिनादेखि जहाज उडाउन नपाएका अवालेले सिंगापुरबाट तालिम लिएर आएपछि पनि जहाज उडाउन पाउँछन् भन्ने ग्यारेन्टी छैन,’ उड्डयन क्षेत्रसम्बद्ध एक अधिवक्ताले भने, ‘यस्तो जोखिम भरिएका व्यक्तिमाथि जनताको करबाट चल्ने सरकारी संस्थाले थप लगानी गर्नु भनेको बालुवामा पानी खन्याएसरह हो । भोलि अवालेको अभियोग प्रमाणित भयो भने उनीमाथि गरिएको लगानी डुब्ने निश्चित छ । त्यस कारण निगमका जिम्मेवारी अधिकारीले यसबारे विवेक प्रयोग गर्नैपर्छ ।’
अवालेलाई तालिममा पठाउने निर्णय व्यवस्थापन एक्लैले गरेको हो । यसबारे निगम सञ्चालक समितिमा कुनै प्रस्ताव नआएको एक सञ्चालकले बताए । ‘जहाजै उडाउन नपाउने अवालेले कसरी लाइसेन्स अद्यावधिक गर्न तालिमका लागि विदेश जान मिल्छ ?’ उनले भने, ‘यो गम्भीर विषय हो । यसबारे व्यवस्थापनले हामीसँग कहिल्यै पनि छलफल गरेको छैन।’

नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार हवाई सुरक्षा नियमावलीमा विमानस्थलभित्र फौजदारी अभियोगजस्ता गतिविधिमा संलग्न हुनेलाई काम गर्न रोक लगाउने उल्लेख भएका कारण क्याप्टेन अवालेलाई जहाज उडाउन रोक लगाइएको हो । उक्त नियमावलीले त्यस्ता अभियोग लागेका व्यक्तिलाई विमानस्थलभित्र प्रवेश गर्न निषेध पनि गरेको छ। 

‘क्याप्टेन अवाले यात्रुका रूपमा सिंगापुर जालान् र तालिम लिएर पनि आउलान् तर उनको फौजदारी अभियोगको अन्तिम किनारा नलागेसम्म हामी उनलाई उडाउन भने दिँदैनौं,’ ती अधिकारीले भने, ‘यात्रु र जहाजको सुरक्षाको विषय भएकाले यसप्रति हामी गम्भीर छौं।’

भदौ ८ मा सिंगापुर उड्ने भएपछि क्याप्टेन अवालेको नाममा मंगलबार २ लाख रुपैयाँको बैंक चेक तयार पार्न वित्तीय विभागलाई माथिल्लो तहबाट निर्देशन दिइएको थियो तर, फौजदारी मुद्दा परेको र त्यसको किनारासमेत नलागेका व्यक्तिलाई कसरी त्यति ठूलो रकम भुक्तानी गर्न मिल्छ भन्दै विवाद उत्पन्न भएको थियो। 

करिब ३० वर्षअघि ट्विनअटर जहाज उडाएर निगममा जागिर सुरु गरेका ५६ वर्षीय अवालेले त्यसपछि प्रशिक्षक पाइलट हुँदै ‘बोइङ ७५७’ जहाज उडाउन थालेका थिए । पछिल्लो दुई वर्षदेखि भने उनी ‘एयरबस ३२०’ जहाजको वरिष्ठ क्याप्टेनका रूपमा काम गरिरहेका थिए। 

 

प्रकाशित: ७ भाद्र २०७४ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App