१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

गण्डकीमा माओवादीले गर्‍यो जिल्ला इञ्चार्जहरु हेरफेर

नेकपा माओवादी केन्द्र गण्डकीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलसहितका नेताहरु। तस्बिर: सन्देश/नागरिक

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गरेको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशका जिल्ला इञ्चार्जहरु हेरफेर गरेको छ। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको बैठकले जिल्ला इञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

कमजोर माओवादीलाई सुदृढ र बलियो बनाउनका लागि भन्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले भदौ १६ गतेदेखि तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ। सोहि अभियानलाई सफल बनाउने उद्देश्यले जिल्ला इञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरिएको नेकपा  माओवादी केन्द्र गण्डकी प्रदेशका इञ्चार्ज तथा पार्टीका केन्द्रीय सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

वर्षौंदेखि एकै व्यक्ति एउटै जिल्लामा रहँदा पार्टीमा गुट उपगुट मौलाएको र सोहि कारण नेता कार्यकर्तामा उत्साह आउन नसकेको भन्दै कार्यकर्ताले गुनासो गर्ने गरेका थिए। सोहि गुनासोलाई मध्यनजर गर्दै माओवादी गण्डकीले जिल्ला इञ्चार्ज फेर्ने निर्णय गरेको श्रोतले बताएको छ।

नेकपा माओवादी केन्द्रले कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङलाई स्याङ्जा जिल्ला इञ्चार्ज तोकेको छ। लामो समयदेखि कास्की पार्टीको इञ्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य उनलाई स्याङ्जा पठाएपछि उनको ठाउँमा पर्वतका नेत्रनाथ अधिकारीलाई ल्याइएको छ। अधिकारी गण्डकी प्रदेशका पूर्व सभामुख तथा पार्टीका केन्द्रिय सदस्य हुन्। पार्टीका पोखरा महानगरपालिका इञ्चार्ज दीपक कोईरालालाई माओवादीले गोरखा जिल्ला इञ्चार्ज बनाएर पठाएको छ।

माओवादीले बागलुङकी बलावती शर्मालाई पर्वत जिल्ला इञ्चार्र्जको जिम्मेवारी तोकेको छ भने स्याङ्जा जिल्ला ईञ्चार्ज शैलेन्द्र घिमिरेलाई तनहुँ जिल्ला ईञ्चार्जको जिम्मेवारी तोकेको छ। माओवादीले तनहुँकी आशा खनाललाई लमजुङ जिल्ला इञ्चार्ज, पर्वतका गुप्तबहादुर हमाललाई म्याग्दी जिल्ला इञ्चार्र्ज बनाएको छ। यसैगरी, मनाङमा बुद्धिराम गुरुङ, नवलपुरमा कास्कीका अमर तमु, बागलुङान गोविन्द पौडेल, र मुस्ताङमा कपिल लामालाई माओवादीले जिल्ला इञ्चार्ज बनाएको छ। माओवादीले प्रत्येक जिल्ला इञ्चार्जलाई सो जिल्लाको कुने एउटा पालिकाको इञ्चार्जको जिम्मेवारी पनि सुम्पेको छ।

बैठकले प्रदेशका सबै जिल्ला हेर्ने जिम्मेवारी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेललाई तोकेको छ भने केन्द्रीय सदस्य यशोदा सुवेदीलाई नवलपुर, तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्ला तथा हरि अधिकारीलाई मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र स्याङ्जा जिल्ला हेर्ने जिम्मेवारी दिएको छ। त्यसैगरेर प्रदेश अध्यक्ष गायत्री गुरुङलाई जातीय मोर्चाको जिम्मेवारी तोकेको छ भने अटिन्द्र केशरी न्यौपानेलाई कार्यालयसँगै प्रेस सेन्टर गण्डकीको फ्रयाक्सन इञ्चार्ज तोकेको जनाइएको छ।

माओवादीले जिल्ला इञ्चार्जसँगै प्रदेशका सबै पालिका तथा वडाहरुको इञ्चार्र्जको जिम्मेवारी पनि हेरफेर गरेको छ। जस अनुसार कास्कीको पोखरा महानगरपालिकाको इञ्चार्ज स्याङ्जा जिल्ला इञ्चार्ज पारसमणी पौडेललाई दिइएको छ। अन्नपूर्ण गाउँपालिका इन्चार्जमा परशुराम रम्तेल, मादी गाउँपालिकामा धना तमु र रुपा गाउँपालिकामा सतिमाया गुरुङलाई इञ्चार्र्ज तोकिएको प्रदेश इञ्चार्ज पौडेलले जानकारी दिए। कास्कीकै माछापुच्छ«े गाउँपालिका इन्चार्जको जिम्मेवारी भने कास्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारीलाई नै तोकिएको उनले बताए।

माओवादीको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत आउने भएका छन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्ड वडासम्मै पुग्ने योजना अन्तर्गत उनी बारपाक सुलिकोट वडा नं. ८ मा आउने भएका हुन्। प्रचण्ड पुग्ने वडा माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको वडा हो।  माओवादीले प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी दिएर फिल्डमा खटाउने निर्णय गरेको प्रदेश इञ्चार्ज  पौडेलले जानकारी दिए।

प्रकाशित: ३ भाद्र २०८० १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App