६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

युवाहरुलाई प्रधानमन्त्रीकाे अपिल- आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिनुस्

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल गरेका छन्। युवा दिवसको अवसर पारेर शनिवार चितवनमा भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले विदेश जाने र विदेशमा रहेको सम्पूर्ण युवाहरुलाई आफ्नो सीप र क्षमता राष्ट्रको विकासमा खर्चिन अनुरोध गरेका हुन्।

‘विस्तारै देशले नयाँ गति लिँदै छ। देश भित्र र देश बाहिर रहेका लाखौँ युवालाई आफ्नो सृजना र क्षमतालाई राष्ट्रको पक्षमा राष्ट्रको विकासमा र देश भित्र नै विकासको नयाँ गति पैदा गर्नको लागि अपिल गर्न चाहन्छु,’–उनले भने। उनले श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन सरकार लागिपरेको बताए।  

‘हिजो मात्रै सिंहदरबारमा ठुलो भेला गराएर छलफल गराएको थिए। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा  छलफल भएको छ,’ उनले भने,  ‘यसले युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। सम्पूर्ण युवा लागे नेपालले आउने दिनहरुमा कोल्टे फेर्ने विश्वास समेत राखे। कृषि, पर्यटन, उद्योग र पूर्वाधारको विकासमा केन्द्रित रहेर सरकारले काम गरिरहेको बताए।  

उनले देशभित्र युवालाई रोक्न चुनौती रहेको भन्दै उपयुक्त रोजगारीका लागि सरकार लागिपरेको बताए। नेपालको कृषिको विकासका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग समेत छलफल भएको उनले सुनाए। ‘नेपालको कृषि क्षेत्रलाई कसरी अगाडि बढ्ने विषयमा भारतीय प्रधानमन्त्रीसंग भारत भ्रमणका क्रममा कुरा भएको छ । त्यसको अध्ययनका लागि एउटा विज्ञ टोलीलाई भारत पठाउँदै छौँ’–उनले भने । कृषिको विकासका लागि मल कारखाना समेत खोल्ने तयारीमा रहेको दाहालले बताए ।  

नेपालले बंगलादेशसंग विद्युत व्यापारको सम्झौता गरेको उनले बताए। भारतको भूमि हुँदै नेपालको विद्युत बंगलादेश पठाउने सहमति भएको उनले खुलाशा गरे। यसका घोषणा छिट्टै काठमाण्डौँमा गर्ने तयारी रहेको उनले बताए। कर्णाली चिसापानी र बुढीगण्डकी विद्युत अयोजना छिट्टै अगाढि बढाउने उनले बताए। छिट्टै चीन सरकारसंग पनि विद्युत व्यापारको विषयमा छलफल गरिने उनले बताए। ‘म छिट्टै चीन भ्रमणमा जाँदै छु । रसुवा नाकाबाट क्रस विद्युत मिटर लाईनको प्रस्ताव अगाडि बढाउँछु,’ उनले भने ‘यसले यता उत्पादन बढी हुँदा निर्यात गर्ने र कमी हुँदा आयात गर्न सहज हुनेछ।’ चीन भ्रमण पशुपालनसंगै भौतिक पूर्वाधारको विकासमा बढी केन्द्रित हुने उनले बताए।

प्रकाशित: २७ श्रावण २०८० ०५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App