७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्वाचित प्रधानमन्त्रीमाथि मुद्दा लाग्नु क्रान्तिको अपूर्णता: महासचिव विप्लव

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको निर्वाचित प्रधानमन्त्रीमाथि मुद्दा लाग्नु क्रान्तिको अपूर्णताको परिणाम भएको बताएका छन्।

आइतबार माओवादी धारका ९ दलले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अझैपनि राज्य नेपाली जनताको भइनसकेको भन्दै पुर्नसंगठित र पुन:संरचना गर्न जरुरी रहेको बताएका हुन्।

उनले परिवर्तनका सम्वाहकहरुलाई अपराधिकरण गर्न खोज्नेहरु धेरै टिक्न नसक्ने बताए। परिवर्तन बिरोधीहरुको दुस्साहत आफूहरुको प्रतिरोधका अगाडी टिक्न नसक्ने उनको भनाइ छ।

उनले भने, ‘जसले जनताको तागतबाट जन्मिएको व्यवस्थालाई, जनताको तागतले गरेको परिवर्तनलाई सिमित मुठीभर दलालहरुको हातमा लगेर दलाल पुँजीपति वर्गले देशलाई कब्जा गरेर परिवर्तनका वाहक जनता, श्रमिक जनता, राजनीतिक नेता र कार्यकर्तालाई अपराधिकरण गर्न खोज्दैछ, तिनीहरु यो देशमा टिक्न सक्ने छैनन्। तिनीहरुले जति नै दुस्साहस गरेपनि तिनीहरुले यो आन्दोलन वा हाम्रो अगाडीको प्रतिवाद, प्रतिरोधको सामु टिक्न सक्ने छैनन् भन्ने कुरा हाम्रो स्पष्ट धारणा छ। प्रधानमन्त्रीको नाममा मुद्दा लगाउने जो कुरा भएको छ, यसले के देखाउँछ त भन्दाखेरी माआोवादी केन्द्रले जति नै यो राज्य हाम्रो हो भनेपनि यो राज्य नेपाली जनताको होइन रहेछ नि त। देशमा निर्वाचित भएर आएको भनेपनि या चुनिएको भनेपनि प्रधानमन्त्रीलाई समेत राज्यले नियन्त्रणमा राख्ने प्रयत्न गरिराखेको छ भने सुकुम्बासीको हालत के होला? महिलाको हालत के होला आज? श्रमिक जनताको हालत के होला? राष्ट्रवादी मान्छेको हालत के होला? सच्चा लोकतन्त्रवादी र अग्रगमनकारी, वामपन्थी, प्रगतिशिल र कम्युनिष्टहरुको हालत के हुन्छ? यसले सजिलै बुझ्न सकिन्छ कि हाम्रो देशमा यो क्रान्तिको अपूर्णताको परिणाम हो।’

प्रकाशित: २८ फाल्गुन २०७९ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App