१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

विराटनगर महानगरले थाल्यो फुटपाथ नियन्त्रण, अटेर गर्ने व्यापारीका सामान जफत

विराटनगर महानगरपालिकाले फुटपाथ नियन्त्रण अभियानलाई तीव्र पारेको छ। महानगरको सौन्दर्यकरण वृद्धि गर्न र आमसर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउन फुटपाथ नियन्त्रण अभियान थालिएको हो।  

महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ। महानगरले विराटनगरको मेनरोडबाट अभियानको सुरु गरेको हो। महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो।

सार्वजनिक सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गरेको थियो। व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो। पसलको सटरभन्दा बाहिर नराख्न आग्रह गर्दै महानगर प्रहरीले हटाएको थियो। पसलबाहिर राखेका किरानाका सामान, टेलिभिजन, फ्रिज, माला, प्लाष्टिकका कुर्सीलगायतका सामान हटाएको छ।

अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिएको छ। यसरी नियन्त्रणमा लिएका सामान जरिवाना तिराएर मात्रै छाड्ने गरेको महानगरले जनाएको छ। ‘विराटनगरलाई महानगर जस्तो बनाउन कुनै कसर बाँकी राख्दैनौं,’ मेयर नागेश कोइरालाले भने, ‘हामीले २÷२ पटक सार्वजनिक रुपमै सूचना प्रकाशित गरेका थियौं। विराटनगरलाई सुन्दर बनाउन व्यापारीहरुको पनि कर्तव्य हो। महानगरले जारी गरेको सूचना कार्यान्वयन गरी सहयोग गर्नका लागि नगरवासीलाई आग्रह गर्दछु।’  

यात्रुलाई हिँड्न सहज होस् र बजारको सौन्दर्यतामा वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाउन सुरु गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए। महानगरले फुटपाथ खाली गरेर बजारको सौन्दर्यकरण बढाउने अभियान सकारात्मक भएको भन्दै व्यापारीहरुले खुसी व्यस्त गरेका छन्। उनीहरुले तर महानगरले सबैलाई नियम बराबरी लगाउनुपर्नेमा जोड दिएका छन्। व्यापारीले सामान हटाउनका लागि केही दिन समय दिन पनि महानगरसंग  आग्रह गरेका छन्।  

नगर प्रहरी निरीक्षक पौडेलका अनुसार पहिलो पटकका लागि महानगर प्रहरी आफैंले सामानभित्र राख्न सघाउने र फेरि पनि अनुगमनमा जाँदा बाहिर राखेको पाइए नियन्त्रण गरिने छ। नियन्त्रणमा लिएका सामान व्यापारीहरुले जरिवाना तिरेर लिएर जाने गरेका छन्।  

प्रकाशित: ९ मंसिर २०७९ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App