१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

नेपाल एकीकरणमा राजेन्द्रलक्ष्मीको योगदान

वि.सं. १७७९ चैत्र २५ गते बाबु नरभूपाल शाहको मृत्यु भएपछि पृथ्वीनारायाण शाह गोरखाका राजा भए । त्यसबेला उनले आफ्ना बाबुबाजेले कमाइदिएको पश्चिममा चेपे नदी र पूर्वमा त्रिशूली नदीसम्मकोे राज्य पाएका थिए ।

वि.सं. १८०१ असोज १५ गते काठमाडौँ राज्य अन्र्तगतको नुवाकोट जितेर नेपालको पुनः एकीकरण पृथ्वीनारायणले सुरु गरे । पृथ्वीनारायण शाहले लड्दै जाँदा वि.सं. १८२५ असोज १३ गते काठमाडौँ शहर हस्तगत गरे । नुवाकोटबाट साढे सात कोश टाढा काठमाडौँ पर्छ । त्यति छोटो दुरीलाई विजय हासिल गर्न पृथ्वीनारायण शाहलाई २५ वर्ष लाग्यो । तर उनले हरेस खाएनन् र काममा निरन्तर लागिरहे । यस बीचमा उनले धेरै युद्धमा जित हात पारे र हार पनि भोगे ।
वि.सं. १८१९ मा पृथ्वीनारायणले आफ्नो ससुराली राज्य मकावानपुर जिते ।

वि.सं. १८३६ मंसिर १ गते भक्तपुर विजय भएपछि केही काललगत्तै आफ्ना बाउबाजेले कमाएको राज्यको पश्चिमपट्टीको ठाउँमा पृथ्वीनारायण शाहले आक्रमण गरे । सुरुमा पृथ्वीनारायण शाह केही सफल भए पनि अन्त्यमा धेरै नोक्सान सहेर गोरखालीहरु फर्कन बाध्य भए । वि.सं. १८२८ पुस ५ गते सतहुँमा लडाइँ हुँदा गोरखालीको ठूलो हार भयो । वि.सं. १८१४ जेठ १९ गते भएको कीर्तिपुरको पहिलो युद्धमा विरगति प्राप्त गरेका कालु पाँडेका जेठा छोरा वंशराज पाँडे सत्रू सेनाको हात परे भने वि.सं. १८०३ मा भएको साँगाचोकको लडाइँमा वीरगति प्राप्त गरेका शिवरामसिंह बस्न्यातका माहिला छोरा केयरसिंह बस्नेतले वीरगति प्राप्त गरे ।

त्यसपछि पृथ्वीनारायण शाह पूर्वतिरको विजय अभियानमा लागे । अपेक्षाकृत सजिलै पूर्वपट्टि विजय भयो र वि.सं. १८३१ माघ १ गते नुवाकोटमा पृथ्वीनारायणको मृत्यु हुनुभन्दा अघि नै नेपालको सीमामा वर्तमान नेपालको पूर्वी सीमाना मेचीभन्दा टाढा टिष्टा नदीसम्म पुग्यो । वि.सं. १८३१ को हिउँदमा पश्चिमतिरको विजय अभियान पनि सुरु गर्न नुवाकोट पुगेका पृथ्वीनारायण शाह बिरामी परी त्यहीँ उनको मृत्यु भयो ।

पृथ्वीनारायण शाहले बाउबाजेले कमाएको राज्यभन्दा पश्चिमतिर एक अंगुल पनि बढाउन सकेनन् । राजेन्द्रलक्ष्मी पृथ्वीनारायणका जेठा छोरा प्रतापसिंह शाहकी रानी हुन् । पृथ्वीनारायण शाहको मृत्युपछि जेठा छोरा प्रतापसिंह राजा भए । उनी बाबुजस्ता विजिगीषु थिएनन् । प्रतापसिंह राजकाजमा भन्दा अन्य कुरामा बढी नै भुल्थे । त्यसकारण प्रतापसिंह शाह राजा हुँदा नेपालको एकीकरणमा ठोस कदम चल्न सकेन ।

तनहुँ राज्यअन्र्तगत पहाडमा तनहुँ र भित्री मधेसमा चितवन र तराईमा रामनगर पर्दथ्यो । गोरखालीहरुको बारम्बारको आक्रमणले गर्दा राज्य जान्छ भन्ने देखेका तनहुँका राजा हर्ककुमार दत्त सेनले रिसले तनहुँको तराई रामनगरलाई इस्ट इन्डिया कम्पनीअन्तर्गत पारेका थिए । रामनगर आफ्नो राज्यमा मिलिइसकेकाले अंग्रेजहरु बढेर चितवनमा आउलान् भन्ने डरले भारदारहरुको जोडले चितवनलाई प्रताप सिंह शाहको पालामा एकीकृत गर्ने काम भएको थियो ।

वि.सं. १८०६ मा जन्मेका प्रतापसिंह शाहको वि.सं. १८३४ मंसिर ६ गते मृत्यु भयो । त्यसपछि प्रतापसिंह शाहका छोरा अढाई वर्षका रणबहादुर शाह राजा भए । अढाइ वर्षका मानिसले राजकाज गर्नु सम्भव नभएकाले कहिले उनकी आमा र कहिले उनका काका बहादुर शाहले शासन चलाए ।

भाउजू देवरमा कहिले मेलमिलाप हुन्थ्यो, कहिले भने परस्परमा झगडा पर्दथ्यो र एकले अर्कालाई थुनामा राख्ने काम पनि भएको थियो । त्यसले गर्दा नेपालको एकीकरणले द्रुत गति लिन सकेन तापनि केही काम भने भएको थियो ।
विजिगीषु प्रवृत्ति भएकाले देवर–भाउजू दुवै (बहादुर शाह र राजेन्द्रलक्ष्मी) नेपाल एकीकरण कार्य भने अघि बढ्दै गयो । दुवै मिलेर काम गरेका भए द्रुत गतिमा काम हुन्थ्यो होला तर पनि कहिले मिलेर र कहिले अ–आफ्नै नेतृत्वमा दुवैले नेपालको एकीकरणको अभियान अगाडि बढाउँदै गए ।

पृथ्वीनारायण शाहले धेरै परिश्रम गर्दा पनि आफ्नो राज्यभित्र पार्न नसकेका लमजुङ, तनहुँ कास्की, नुवाकोट (पल्लो), सतहुँ, गरुहुँ राज्यहरु नेपालअन्तर्गत पार्न उनीहरु सफल भए ।  

वि.सं. १८४२ साउन २ गते राजेन्द्रलक्ष्मीको मृत्यु हुनुभन्दा अघि नेपालको सिमाना पश्चिममा कालीगण्डकीसम्म पुगेको थियो । यो काम गर्नमा राजेन्द्रलक्ष्मीको ठूलो हात छ । उनले सैनिक पोशाक लगाएर, घोडचढी गरेर आफ्ना सुसारेहरुलाई पनि आफूजस्तै बनाएर हिँड्थिन् भन्ने बयान पनि पाइन्छ । उनको यो शैलीलाई कतिपयले मन नपराएको हुन सक्छ । नेपालको एकीकरणमा पृथ्वीनारायण शाहपछि राजेन्द्रलक्ष्मीको महत्वपूर्ण योगदान छ । वि.सं. १८४२ पछि एकल अधिकार पाएका बहादुर शाहले नेपालको पश्चिमी सिमाना महाकालीभन्दा पर पुर्‍याउने अभियानको जगको रुपमा पनि यसलाई लिनुपर्छ ।

वि.सं. १८३१ देखि १८४२ सम्मकोे समयलाई राजेन्द्रलक्ष्मीको युग भन्दा पनि फरक पर्दैन । राजेन्द्रलक्ष्मीबारे कतिपय लेखकहरुले उनको प्रेमी रहेको बारे चलेका हल्लाका बारेमा प्रमाणिक रुपमा सामग्री बाहिर आउन सकेको छैन ।
राजेन्द्रलक्ष्मी कता जन्मिइन्, कसकी छोरी थिइन् तथा उनको आनीबानीबारे कुनै तथ्यगत प्रमाण बाहिर आउन सकेको छैन । राजेन्द्रलक्ष्मीले एकीकरण अभियानमा सक्रियतापूर्वक लागेकी वीरांगना राजेन्द्रलक्ष्मीबारे पर्याप्त खोजी/अनुसन्धानको आवश्यकता भने टड्कारो छ ।

प्रकाशित: २५ चैत्र २०७६ ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App