१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

उत्कृष्ट १० कलाकार

पदम घले
पोखरा कला, संस्कृति र प्राकृतिक सम्पदाले अति सम्पन्न क्षेत्र हो। चित्रकला गतिविधिका दृष्टिले पोखरा काठमाडौँपछिको दोस्रो सहर हो। पोखराले राष्ट्रिय स्तरसम्मका कलाकार जन्माइसकेको छ। पोखरेली कला क्षेत्रलाई यहाँसम्म ल्याउन स्थापित मात्र होइन, युवा कलाकारको पनि देन छ। केही महत्वपूर्ण दृष्टिले पोखराका उत्कृष्ट कलाकारहरुको यहाँ संक्षिप्त चर्चा गरेको छु। 

१. दुर्गा बराल
२००० सालमा कास्कीकोे आर्बा गाउँमा जन्मिनु भएका कलाकार दुर्गा बराल स्थापित कलाकार हुनुहुन्छ। उहाँ ६ दशकदेखि पोखरामा कला सिर्जना गर्दै आउनुभएको छ। उहाँले गोरखा दक्षिण बाहु, बासुदेव लुइँटेल स्मृति पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, शिरोमणि पुरस्कार आदि पुरस्कार तथा सम्मान पाउनुभएको छ। नाफाद्वारा आयोजित पहिलो राष्ट्रिय कला प्रदर्शनीमा उहाँ प्रथम हुनु भएको थियो।

व्यंग्य चित्रको क्षेत्रमा पनि उहाँको उचाई सगरमाथाजस्तै अटल छ। उहाँ कान्तिपुर राष्ट्रिय दैनिकमा ‘वात्स्यायन’को नामबाट कार्टुन स्तम्भ बनाउनुहुन्छ। उहाँ अध्ययनशील बौद्धिक कलाकार हुनुहुन्छ । करिब ४० वर्षअघि उहाँले बनाउनुभएको ‘चोक र तमसुक’ शीर्षकका पेन्टिङ अति चर्चित छन्।

पोखरामा चित्रकलाको सुरुवात उहाँले नै गर्नुभएको हो। त्यसपछि बल्ल पोखरामा ल्याण्ड स्केप जाने चलन चल्यो। ल्याण्ड स्केप पेन्टिङमा उहाँको पावरफूल कम्पोज हुन्छ। जसको प्रभाव पोखरेली अन्य कलाकारमा पनि देखिन्छ। 

पोखरामा उहाँकै तदर्थ समितिमा २०५६ सालमा सिर्जनशील कलाकार समूहको गठन भएको हो। हाल उहाँ संस्थाको सल्लाहकार हुनुहुन्छ।

२. बुद्धि गुरुङ
२०१५ सालमा कास्कीको अर्मला कोटमा जन्मनुभएका कलाकार गुरुङको पोखरेली कला क्षेत्रमा अतुलनीय योगदान छ। पानीरंगमा सिद्धहस्त गुरुङले सन् १९८८ जे आर्ट ग्यालरी काठमाडौँमा पानी रङमा छचल्किएको शीर्षकमा प्रदर्शन गर्नुभयो। यस प्रदर्शनीले उहाँलाई वाटरकलरिष्ट भनेर चिनायो। पोखरामा धेरैजसो ल्याण्ड स्केप कार्यक्रमको उहाँले नेतृत्व गर्नुहुन्थ्यो, करिब ४० र ५० को दशकमा। उहाँको नेतृत्वमा नेपाल आर्ट काउन्सिल बबरमहलमा १५ पोखरेली कलाकारका पानी रङका चित्र प्रदर्शन भएको थियो।

उहाँले एक्रेलिक माध्यममा पनि धेरै कला सिर्जना गर्नुभएको छ। ९ पटकसम्म एकल कला प्रदर्शनी काठमाडौँ र पोखरामा गरिसक्नु भएको छ। नाफाद्वारा आयोजित राष्ट्रिय कला प्रदर्शनी १९८६ मा विशेष पुरस्कार, १९९८ दोस्रो, २००३ मा दोस्रो हुनुभयो भने ललित कला पुरस्कार पोखराबाट सम्मानित व्यक्तित्व हुनुहुन्छ। उहाँले कला प्रदर्शनीको शिलशिलामा दक्षिण कोरिया दुई पटक र भारत दार्जिलिङसम्म भ्रमण गर्नुभएको छ। 

३. छेत्रलाल कायस्थ
२००१ सालमा पोखराको तेर्सापट्टि टोलमा जन्मनुभएका कलाकार छेत्रलाल कायस्थ कला साधनामा निरन्तर लागि रहने जाँगरिला कलाकार हुनुहुन्छ। कला भनेपछि कहीँ पनि जान नछोड्ने उहाँको स्वभाव छ। उहाँले भोजपत्रमा चित्र बनाएर नविन प्रयोग गर्नुभयो। पछि नेपाल आर्ट काउन्सिल, बबरमहल, काठमाडाँैमा एकल प्रदर्शनी पनि गर्नुभयो। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी त्यतिबेला प्रमुख अतिथि हुनुहुन्थ्यो। काठमाडौँ, पोखरा गरी करिव बाह्रौ पटकसम्म एकल कला प्रदर्शनी गरिसक्नुभएको छ भने थुप्रै पटक राष्ट्रिय स्तरको कला कार्यशालामा सहभागी भएको उहाँको अनुभव छ। 

उहाँले ०५४ सालमा ‘रंगलाल बांगदेल स्मृति पुरस्कार’ पाउनुभएको छ। त्यस्तै नेपाल सरकारबाट प्रदान गर्ने ‘राष्ट्रिय प्रतिभा पुरस्कार ०५७’ र ‘ललितकला पुरस्कार पोखरा ०६८’ बाट कायस्थ सम्मानित भइसक्नु भएको छ। उहाँ सिर्जनशील कलाकार समूह, कास्कीको पूर्वअध्यक्ष तथा संरक्षक हुनुहुन्छ। उहाँले कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान स्थापना गर्नुभएको छ। जसमा तीन लाख रूपैयाँको अक्षयकोष खडा गरिएको छ। 

४. लोकप्रसाद गुरुङ
सन् १९४४ मा कास्कीको काभ्रे पुम्दी भुम्दीमा जन्मनुभएका कलाकार गुरुङ साढे दुई दशक पोखरामा रही कलाकर्म गर्दै आउनुभएको छ। जल रंगमा छुट्टै पहिचान बनाउन सफल गुरुङ नेपाली संस्कृतिका गाईजात्रा नृत्य, गुरुङ संस्कृति, ऐतिहासिक नेपाली दरबार, मन्दिरहरू सुन्दर ढंगले बनाउनु हुन्छ। उहाँ अमूर्त शैलीमा पनि एक्रेलिक माध्यममा धार्मिक आस्थाका चित्र सिर्जना गर्नुहुन्छ।

उहाँ नेपाल ललितकला संस्था (नाफा)ले आयोजना गरेको ‘राष्ट्रिय कला प्रदर्शनी २००३’ मा आस्था शीर्षकमा तेस्रो हुनुभएको थियो। नेपाल सरकारद्वारा ‘क्षेत्रीय प्रतिभा २०११’ र पोखरेली युवा सांस्कृतिक परिवारद्वारा ललितकला ०१४ पुरस्कारद्वारा सम्मानित भइसक्नु भएको छ। उहाँ धेरै पटक नाफाद्वारा आयोजित कला प्रदशनीमा सहभागी भइसक्नु भएको छ। हाल सिर्जनशील कलाकार समूह, कास्कीको पूर्वअध्यक्ष तथा सल्लाहकार र कलाकार क्षेत्रलाल प्रतिष्ठानको अध्यक्ष, नेपाल वाटरकलर सोसाइटी काठमाडौँको उपाध्यक्ष हुनुहुन्छ।

५. गोपाल श्रेष्ठ
२००५ सालमा पोखराको तेर्सापट्टि टोलमा जन्मनुभएका कलाकार श्रेष्ठ भद्र र सालिन स्वभावका हुनुहुन्छ। उहाँ प्रायः ओशो र बुद्ध दर्शनमा आधारित चित्र बनाउनु हुन्छ। ०६३ सालमा पहिलो एकल कला प्रदर्शनी गर्नुभएको थियो भने २००७ मा दक्षिण कोरियामा दोस्रो एकल कला प्रदशनी गर्नुभयो। पोखराको कला इतिहासमा २०३० सालदेखि नै पोखरेली कलाकार समूहमा संलग्न हुनुहुन्छ।

उहाँ ०५६ सालमा ललितकला पुरस्कार, पोखरेली युवा सांस्कृतिक परिवारबाट सम्मानित हुनुभयो। कलाकृति बिक्रीका लागि पर्यटकीय क्षेत्र लेकसाइडमा हीज आर्ट ग्यालरी नामबाट सञ्चालन गर्नुहुन्थ्यो भने अहिले आफ्नै निवासमा ओशो आर्ट ग्यालरी सञ्चालन गर्नुभएको छ। 

६. मिलन शेरचन
०२१ सालमा पोखराको गणेशटोलमा जन्मनुभएका कलाकार मिलन शेरचन नेपालमा पहिलो पटक हानानो ओसिवाना (सुकेको झारपात)बाट क्यानभासमा उतार्ने महिला कलाकार हुनुहुन्छ। जापानमा छँदा जापानी गुरुसँग हानानो ओसिवाना सिकेर नेपाल आउनुभएको हो। साझा प्रकाशन निर्मलकुमार आचार्यको पुस्तक १०१ प्रथम नेपाली महिला नामक पुस्तकमा कलाकार मिलन शेरचनको नाम पनि अंकित छ। 

उहाँले ०५८ सालमा पहिलो एकल कला प्रदर्शनी गर्नुभएको थियो। हालसम्म उहाँले चौंथो पटकसम्म हानानो ओसिवाना कला प्रदर्शनी गर्नुभयो। नेपाली जनजीवन, नेपाली परम्परागत घरहरू, हिम शृंखला, आदि तस्बिर क्यानभासमा उतार्नुहुन्छ। उहाँले पोखरेली युवा सांस्कृतिक परिवारमा कला संयोजक र सिर्जनशील कलाकार समूहको सहसचिव भई कार्यभार सम्हालिसक्नु भएको छ।

७. विश्वराज पराजुली
सन् १०७५ मा पोखराको अर्चलबोटमा जन्मनुभएका कलाकार पराजुलीले पानी रङमा आफ्नो छुट्टै पहिचान बनाउनुभएको छ। अंग्रेजीमा एमए गर्नुभएका पराजुली कलामा भने स्वअध्ययन हुनुहुन्छ। उहाँ धेरै पटक सामूहिक कला कार्यशाला र कला प्रदर्शनीमा सहभागी भइसक्नु भएको छ। उहाँले पोखरा आर्ट ग्यालरीमा पानी रङमा आफ्नो पहिलो एकल कला प्रदर्शनी गर्नुभएको थियो। 

कलाकार पराजुली धेरै कला संस्थामा आवद्ध हुनुहुन्छ ब्लोसोम कला समूह पोखरा, वाटरकलर समूह, सिर्जनशील कलाकार समूहको पूर्वअध्यक्ष भएर कार्यभार सम्हाल्नुभएको थियो।

८. सुनिल सिग्देल
सन् १९७८ मा पोखरा बाँझापाटनमा जन्मनुभएका कलाकार सिग्देल अन्तर्राष्ट्रिय स्तरसम्म आफूलाई उभ्याउन सफल पोखरेली कलाकार हुनुहुन्छ। चुपचाप कला साधनामा ध्यान दिन रुचाउने कलाकार त्यति चर्चामा आउन चाहनु हुन्न। पोखरा अमरसिंह माविमा अध्ययन गरेका सुनिल शिक्षक कलाकार यादव चन्द्र भुर्तेलको सल्लाहमा कला अध्ययन गर्न काठमाडौँ पस्नुभयो र नेपाल ललितकला क्याम्पसमा अध्ययन गर्नुभयो। 

उहाँको सामूहिक कला प्रदर्शनी डेनमार्क, लण्डन, बंगलादेश, पाकिस्तान, भारत सिद्धार्थ आर्ट ग्यालरी नेपाल, सिक्किम भारत आदि ठाउँमा भइसकेको छ। काठमाडौँमा सातौँ र पोखरामा एक गरी आठौँ पटकसम्म एकल कला प्रदर्शनी गर्नुभएको छ। उहाँ ‘सिर्जनशील युवा कला पुरस्कार २०६४’ बाट सम्मानित हुनुभएको छ भने सिर्जनशील कलाकार समूह पोखरा, विन्दुका संस्थापक सदस्य र जिरो सेन्चुरी संस्थासँग आबद्ध हुनहुन्छ।

९. आलोक गुरुङ
२०११ सालमा आरुबोट क्यामिन, तनहुँमा जन्मनुभएका कलाकार गुरुङ मुहार चित्रकार हुनुहुन्छ। कलामा स्वअध्ययन गुरुङले धेरै प्रतिष्ठित व्यक्तित्वहरूको मुहारचित्र बनाउनुभएको छ। उहाँले कला सिर्जनाका क्रममा हङकङ र भारत भ्रमण गर्नुभएको छ। उहाँले दुई पटकसम्म पोखरा आर्ट ग्यालरीमा प्रदर्शनी गर्नुभएको थियो। उहाँले धेरै कलाकार उत्पादन गरिसक्नु भएको छ। नेपाल वाटर कलर सोसाइटीका अध्यक्ष एनबी गुरुङ उहाँकै शिष्य हुन् । नेपाल सरकारबाट ‘क्षेत्रीय प्रतिभा पुरस्कार २०१७’ द्वारा पुरस्कृत हुनुभएको छ भने अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटीद्वारा २०१८ मा उहाँ सम्मानित हुनुभएको छ। उहाँ तीन दशकदेखि निरन्तर यात्रामा निरन्तर लागिरहनुभएको छ। नेपाली गामबेसीका टिपिकल मुहार चित्रहरू धेरै देश विदेशी मित्रहरूले मन पराएर किनेर लगेका छन्। उहाँ पोखरेली युवा सांस्कृतिक परिवारका आजीवन सदस्य समेत हुनुहुन्छ।

१०. झविन्द्र गुरुङ
०३९ सालमा बु्रनाईमा जन्मनुभएका कलाकार झविन्द्र गुरुङ नरम र शालिन स्वभावका हुनुहुन्छ भने उहाँको मूल थलो नाल्मा लमजुङ हो। कला विकासका निम्ति उहाँ पोखरा वाटर कलर सोसाइटी, ब्लोसोम समूह र सिर्जनशील कलाकार समूहमा आबद्ध हुनुहुन्छ। कलामा उहाँ सधै मिहिनेत र लगनशील हुनुहुन्छ। उहाँले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कला प्रदशनी २०७४ मा पत्थरबाट बनाइएका प्रतिस्थापन कलामा विशेष पुरस्कार जित्नुभएको थियो। सिर्जनशील कलाकार समूहद्वारा ‘शिर्जनशील युवा कला २०७५’ पुरस्कारबाट पनि उहाँ सम्मानित हुनुभएको छ।

गुरुङले राष्ट्रिय स्तरका दर्जन भन्दा बढी वर्कसप र कला प्रदर्शनीमा सहभागिता जनाउनुभएको छ। उहाँले नेपाल ललितकला क्याम्पसबाट आइएफए गर्नुभएको छ। 

प्रकाशित: ७ पुस २०७५ ०५:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App