पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शिक्षा प्रणालीको समीक्षा गर्नुपर्ने बताएका छन्।
शुक्रबार (आज) तनहुँको अबुखैरेनीको एक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले शिक्षा प्रणालीले सुविधासम्पन्न जीवन दिए पनि सार्थक जीवन दिन नसकेको बताए।
'हाम्रो शिक्षा प्रणालीले सुविधासम्पन्न जीवन दिए पनि सार्थक जीवन दिन सकेको छैन,' श्रेष्ठले भने, 'खास शिक्षा केका लागि हो ? जीवनका लागि कि जीविकोपार्जनका लागि ? खासगरी शिक्षा क्षेत्रका मान्छेहरूले यसमा ध्यान दिनुपर्नेछ, राज्यले ध्यान दिनुपर्नेछ।'
उनले आजको शिक्षा मान्छेलाई मेसिन बनाउनेतिर उन्मुख रहेको बताए। 'जब मान्छेलाई मेसिन बनाउनेतिर शिक्षा हुन्छ। त्यसबेला मान्छे ठूलो अन्तर्विरोध पैदा हुन्छ र असन्तुष्ट भएर मान्छेहरू डिप्रेसनमा जान्छन्। खासगरी पश्चिमतिर ४० प्रतिशत मान्छेहरू स्लिपिङ ट्याब्लेट नखाइकन सुत्न सक्दैनन्,' उनले भने।
उनले सार्थक जीवन दिने शिक्षा प्रणालीको आवश्यकता रहेको बताएका छन्।
प्रकाशित: २ फाल्गुन २०८१ १५:२० शुक्रबार