१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

आगोको छायाँ हुँदैन

कुमारी लामा

थाहा छैन किन भरिए मेरा आँखा!

भरिए टिलपिल अनि पोखिए पनि।

अमृता प्रितमको जीवनी, रसिदी टिकटका तस्बिरका पानाहरू पल्टिँदै छन्। तस्बिरको शृंखलामा देखिन्छिन् बैँसालु अमृता। छोराछोरीसँग रमाएकी मायालु अमृता। साहिर र इमरोजसँग छिन् सुन्दर अमृता। अन्तिम तस्बिर छ बृद्ध अमृता, जसको क्याप्सनमा लेखिएको छ, आफैसँग। बेखबरै एक तरंग उठिसक्छ मनमा। अनि भरिसकेको हुन्छ आँखा।

भर्खरै दिल्लीको भुइँ छाडेको एन. ए. २०६  जहाज अझै धर्मरिँदै छ। मन भने निकै पर उडिसकेको छ। जीवनभरि सबैमाझ रहेकी अमृता अब आफैसँग मात्रै छन्। यस क्याप्सनजस्तै बृद्ध अवस्थामा त भइने रहेछ केवल आफैसँग अनि अँगाल्नुपर्ने रैछ एक्लोपना।

अमृता र खुशवन्त इमानदार प्राणी हुन्। त्यसैले नै दुवै प्रिय। भाग्न जरुरी नै छैन भावनासँग जो हामीभित्रै छन्। सम्बन्ध र भावनाका कति कुरा ट्याबु भएका छन्। लेखकहरू भाग्छन्। जोगिन खोज्छन् सकेसम्म। लुकाउने प्रयास गर्छन्। अमृता र खुशवन्त जीवनका झिनामसिना कुराभन्दा माथि उठिसकेका छन्। जीवनलाई अलि माथिबाट नियाल्न थालिसकेका छन्।

अमृताको जीवनी रसिदी टिकटको साथमा छु। कति जीवन्त र सहज पोखिएका छन् उनका भोगाइ। चाहे त्यो साहिरसँगको सामीप्य होस् या इमरोजसँगको प्रेमिल समय अथवा कवि सज्जाद हैदरसँगको काव्यिक सामीप्य नै। एकदमै आकर्षित भएकी छु म उनका शब्दहरूसँग। इमानदार र हृदयको गहिराइबाट निस्किएका यी शब्द। उही र उस्तै अनुभूति हुन्छ खुशवन्तसिंहका शब्द छिचोलिरहँदा पनि। भर्खरै भ्याएकी छु उनको जीवनी टु्रथ, लव एन्ड ए लिटल म्यालिस पनि। लाग्छ, यस्तै इमानदार पोखिन सके म पनि, यो जीवन वास्तवमै सार्थक हुने थियो। यी दुवैका जीवनी बारम्बार पढिरहन मन हुन्छ।

अमृता कति सहजै स्वीकार्छिन् आफ्ो वैवाहिक जीवनले ल्याइदिएको वितृष्णा। आमाले वचन दिएको परिवारसँग उनको कलिलै उमेरमा सम्बन्ध जोडिन पुग्छ। उनी विरक्त हुन्छिन्। चुलिएको तनाव सम्हाल्न मनोविज्ञको सल्लाहसम्म लिन पुग्छिन्। अनि फेरि मनकै एक कुनामा स्थायी बसोबास गरिसकेका साहिरको कल्पनामै हरबखत हराइ पनि रहन्छिन्। भयंकर तनावको स्थिति छ। आमा बितिसकेकी छन्। एक्लो केवल– एक्लो महसुस हुन्छ। त्यो पीडालाई यसरी पोख्छिन् उनी,

'एक अजनबी जसरी सोह्रौँ वसन्त आयो। नजिक आएर पनि फेरि अलि परै उभिरह्यो। आमाको गैरहाजिरीमा जीवनबाट धरै कुरा गैरहाजिर भएका थिए।' ( पृष्ठ, १६ )

लाग्छ, उनीभित्र एक्लोपनाका लस्कर नै छन् जो हरबखत सिरेटोले झैँ मनमा हानिरहन्छन्। पीडा पोख्न, त्यही पनि इमानदार भएर, आँट चाहिन्छ। त्यसमा पनि विवाहित र बच्चाको आमाको लागि त झन् ठूलो साहस पनि चाहिन्छ। अमृता एक 'लिबरेटेड सोल' जस्तो लाग्छ। एक घटनाको बयानले जो कोहीलाई चकित र मोहित पारिदिन सक्छ।

साहिरले उनको घरमा आएका बेला पिएका चुरोटका ठुटाहरू उनी एकएक गरी सँगालेर राख्छिन् अनि एक्लै भएको बखत सल्काउँछिन् त्यसलाई। जब चुरोट औँलाका बीच हुन्छ तब उनी साहिरलाई नै छोएको महसुस गर्छिन्। यसरी पिउँदा पिउँदै उनलाई चुरोटको लत बसिसकेको हुन्छ।  हैरान हुन्छु म उनको लेखाइको यो तहको उदारताले। कति सहज बोलेकी छन् मनका कुरा। यो साहस हैन त!

खुशवन्तसिंह छन् बिलकुल बिन्दास। हडाली भन्ने भारतको एक सुदूर गाउँ (आज त्यो पाकिस्तानमा पर्छ )मा जन्मिएका उनी इलस्टे्रटेड विक्ली अफ इन्डियादेखि हिन्दुस्तान टाइम्सका सम्पादक, प्रख्यात लेखकदेखि राज्यसभाका सदस्यसम्म हुन्छन्। उनी खुलस्त लेखिदिन्छन् उनको ह्विस्की प्रेमदेखि महिलामैत्री स्वभावसम्म। कसैले त्यति सहजै कहाँ लेख्न सक्दो होला र कहाँ–कसरी आफ्नो कुमारत्व गुमाएँ भन्ने कुरा! अजीव पात्र हुन् उनी र उनका भोगाइ उत्तिकै अनौठो तथा रूचिपूर्ण। लन्डन जाने क्रममा बम्बेमा भेटिएकी मोटी, अधबैँसे यौनकर्मीसँग भएको सम्पर्कको कुरा उनी नलुकाइ लेखिदिन्छन्। उनका जीवनीका पानाभरि नै यस्ता अनेकौँ किस्सा छन् जहाँ उनी रूपवतीहरूसँग समीप भएका छन्। उनको हँसिमजाक, अल्लरिने बानी, अराजक प्रवृत्ति बेवास्ते जीवनजस्ता धेरै कुरा छन् पुस्तकभरि। उनी यसरी जीवन बाँच्छन् मानौँ अब बाँच्नुपर्ने जीवन नै बाँकी छैन। जोड्नुपर्ने कुनै सम्बन्धहरू नै बाँकी छैनन्। हड्डीभित्रको मासीसम्मको अनुभव बटुलेका उनी अब खुल्नलाई केको अप्ठेरो भन्ने शैलीमा प्रस्तुत छन्। सायद सुन्दर पक्ष पनि यही हो उनको जीवनी टु्रथ लव एन्ड ए लिटल म्यालिसको।

इमानदार शब्दहरू मनमा कतै छापिइसकेका छन् थाहै नदिइ। जसलाई जतिखेर पनि हेर्न सकिन्छ जस्तो कि, आफ्नै डायरी पल्टाइँदैछ। कमला दासको इमानदार जीवनीले एक झोँक्का आँधी उरालिदिएको थियो मभित्र। उस्तै हलचल भएको थियो जब स्वेडिस सिनेमा निर्देशक इन्गमार बर्गम्यानको जीवनी 'द म्याजिक ल्यान्टर्न' पढ्दै थिएँ। उनी नलुकाइ लेखिदिन्छन् आफ्ना अनेक सम्बन्धबारे। अलिकति ग्लानिजस्तो पनि बुझिन्छ जब उनी लेख्छन्– कलाकार श्रीमती आफ्नो किचेन सम्हालिरहँदा आफू भने हिरोइनहरूसँगको लसपसमा मस्त थिए। यस्ता सत्य ओकलिरहँदा उनीप्रति एकखाले घृणाले छोपे पनि फेरि उनका इमानदारिताले पगालिदिन्छ। सायद इमानदारिताको शक्ति यही नै हो।

फेरि अमृताकै कुरा जोड्छु। उनले लाज, अप्ठेरो, धक या गर्व सबैभन्दा माथि उठेर लेखेकी छन् जीवनी। अनि खुशवन्तले पनि। अमृताको व्यक्तित्व अझ प्रष्ट पारिदिनु हुन्छ कवि तुलसी दिवस। म तिहारको मौका छोपी पुगेकी छु उनको निवास। हौसिन्छु र सोध्छु अनेक कुरा जब थाहा लाग्छ अमृता र उनको मित्रता। भन्छन्–

  'अमृता निकै संवेदनशील, भावुक, सुसंस्कृत र सुरूचिपुर्ण व्यक्ति थिइन्। उनको गद्यमा पनि कविताको छनक, असर र प्रभाव देखिन्छ। उनमा भएको मानवीय हार्दिकता र संवेदनशीलता चाहे काव्यमा होस् या आख्यानमा अथवा संस्मरणमै पनि देखिन्छ।'

 

तुलसीदाइले भनेजस्तै उनीभित्रको कोमलता भेटिन्छ उनको लेखनमा। कोमल भाव लेख्ने अमृता कोमलतापूर्वक नै अराजकता पनि लेख्छिन्। जब उनले गुरु नानककी पत्नी सलखनीको संवेदना भरिएको कविता लेखिन् तब निकै आलोचित भएकी थिइन्। साथै, उनका सम्बन्धहरू पनि सधैँ नै चर्चाकै विषय बनिरह्यो। तर, के पर्वाह र उनलाई संसारले जे भनून्! उनी अफैलाई भन्छिन्–

'अमृता अलिकति माथि हेर।

जिन्दगीका सारा हार र दिक्दारीभन्दा माथि उठेर हेर्ने कोसिस गर्न थालेँ जहाँ मेरा कृति, कविता, कहानी र उपन्यासहरू थिए।' ( पृष्ठ ४० )

एउटा लेखकले सधैँ सम्बन्धहरूमै अड्किरहन कहाँ पाउँछ र! जब उनी देख्छिन् पत्रिकामा– साहिरले प्रेमिका भेटेका छन् तब उनी डिप्रेसनमा जान्छिन्। त्यसपछि भने उनी अलिकति माथि हेर्ने कोसिसमा लाग्छिन्।

 

खुशवन्त छन् उस्तै, जो धेरै अघिदेखि नै जीवनलाई अलि माथि उठेर हेर्न थालिसकेका हुन्छन्। त्यसैले त उनी लेखिदिन्छन् कलेजका बेफिक्री पलहरू, राम्ररी पढ्न नसकेको पीडा, परिवारको ठूलो अपेक्षा, लन्डन भगाइ, अनेक सम्बन्ध आदिआदि। उनले विश्व घुमेका छन्। एक त धनी बाबुको छोरा अर्को आफ्नै मेहनतले स्पेस बनाएका। इन्दिरा गान्धी परिवारसँगको सामीप्य र पक्षधरता पनि खुलेरै लेख्छन्। सञ्जय गान्धीको मृत्युपछि बुहारी मेनकासँग कुरा नमिलेपछि उनलाई इन्दिराले बेइज्जतिपूर्ण तरिकाले घरबाट निकालेको प्रसंग लेख्दा उनले खेप्नुपरेको अदालती झमेलका कुरा पनि मज्जाले आउँछ।

हाईप्रोफाइल्डहरूको संगतमा रहन्छन् उनी। ह्स्किी, उमन र ह्युमरका लागि सधैँ चर्चित छन् खुशवन्त। उनको जीवनीमा यी सारा कुरा भेटिन्छ। उनको लेखाइ ढाँटछलरहित छ। त्यसैले पनि यति नजिक भएकी छु म उनीसँग। निबन्धकार, कोलमिस्ट शेखर खरेलका प्रिय लेखक खुशवन्त। मिस्टर खरेलले नै मलाई उनको उपन्यास 'टे्रन टु पाकिस्तान' पढ्न सुझाएका थिए। आज यो जीवनी पढिसक्दा अझ बढी दंग छु। कसैको जीवनी पढ्दा कम्तीमा लेखकको इमानदारीको गन्ध पाइयोस्। अमृता र खुशवन्तमा त्यो प्रशस्त भेटिन्छ।

खुशवन्त मन नभई पनि कानुन पढ्छन्। केही वर्ष बाबुको पैसामा रजाइँ गर्दै लाहोरमा वकालत पनि गरिटोपोल्छन्, तर जीवनले अर्कै बाटो तय गरिदिइसकेको हुन्छ उनका लागि। उनी एक सफल पत्रकार र लेखक बन्छन्। केही समय इन्डिया हाउस लन्डनमा पब्लिक रिलेसन अफिसर र प्रेस याटसेका रूपमा पनि काम गर्छन्। प्रधानमन्त्री नेहरु लन्डन गएका बखत राति लेडी मन्टबेटनको घरमा पस्दै गरेको तस्बिर पत्रिकाभरि आएपछि उनले नेहरुको नजरबाट जोगिन निकै तर्किनुपरेको कुरा पनि मस्त लेखिदिएका छन्। पछि सबै छाडेर लेखकै हुनपट्टि लाग्छन्। सिख इतिहास लेख्छन् उनी, जसले उनलाई चर्चित बनाउँछ। देश–विदेश चहार्छन् लेक्चरका लागि। भारत–पाकिस्तान विभाजन, सिखहरूले भोगेका प्रतिकूल अवस्था साराका साक्षी हुन् उनी। तर, उनका परम मित्रहरू मुस्लिम नै हुन्छन्। पाकिस्तानप्रतिको उनको सद्भाव उस्तै कायम रहन्छ।

जीवनको उत्तर खण्डमा उनी गम्भीर दार्शनिक भावमा भेटिन्छन्, चाहे त्यो धर्मका विषय होस् या जीवन र मृत्युकै सन्दर्भ। उनलाई देवताको विश्वास लाग्दैन। विश्वास लाग्छ केवल कर्मको। ईश्वरप्रतिको धारणा भन्नु ग्यासबलुन जस्तै हो, जो सत्यको पिन पर्नासाथ फुट्नेछ भन्छन्। अनि उनी सहजै मोहम्मदका कुरा उप्काउँछन्, समय खेर नगर। समय ईश्वर हो। एक चल्तापूर्जा, गजबको सेन्स अब ह्युमर भएका व्यक्ति यसरी दार्शनिक भइजान्छन् जीवनका पछिल्ला समयमा। यथार्थ यही हो सायद मानिस जीवनको उत्तरार्द्धतिर अझ बढी नजिक भइजान्छ जीवनसँग। चाहे उत्ताउला युवा समयमा होस् या भावुक बृद्धावस्थामा, खुशवन्त इमानदार पोखिन्छन्। हक्सले, समरसेटदेखि गिन्सबर्गसम्मको संगतमा रहेका उनको जीवन लोभ लाग्दो लाग्छ। अल्जाइमरले थलिएकी अधर्ांगिनीको मृत्युपछि नलेख्ने वाचा सायद उनले पूरा गरेको हुनुपर्छ। इमानदारी जो धेरै लेखकमा अंकुराउन, मौलाउन जरुरी छ। उनलाई लाग्छ, एकबारको जुनी मज्जाले बाँच्नुपर्छ। भन्न हिच्किचाउँदैनन्–

'ती सुन्दर महिलालाई मज्जाले हेर्ने छु। उनीहरूको नजिक जानेछु। चाहे भने उनीहरूसँग माया पनि गर्नेछु।' ( पृष्ठ ४०९ )

कायल हुन्छु म उनका यी शब्दहरूबाट।

अमृता र खुशवन्त इमानदार प्राणी हुन्। त्यसैले नै दुवै प्रिय। भाग्न जरुरी नै छैन भावनासँग जो हामीभित्रै छन्। सम्बन्ध र भावनाका कति कुरा ट्याबु भएका छन्। लेखकहरू भाग्छन्। जोगिन खोज्छन् सकेसम्म। लुकाउने प्रयास गर्छन्। अमृता र खुशवन्त जीवनका झिनामसिना कुराभन्दा माथि उठिसकेका छन्। जीवनलाई अलि माथिबाट नियाल्न थालिसकेका छन्। त्यसैले त यस्ता मार्मिक भावनासँग आत्मसात गरेका छन्–

छायाँलाई समाउनेहरू हो,

छातीभित्र दन्किरहेको आगोको

कुनै छायाँ हुँदैन...(अमृता )

प्रकाशित: २७ कार्तिक २०७३ ०६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App