१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

मजदुरलाई के दसैं !

काठमाडौं– सबैलाई दसैं आयो, डोलबहादुर स्याङ्तान, ७२ लाई भने अहिले पनि मजदुरीकै चटारो छ ।
सेताम्य केश, अनुहारमा उमेरका मुजा । वर्षौं भयो, उनको थाप्लोले विश्राम पाएको छैन । काठमाडौंको एक ठूलो भवन निर्माणमा खटिएका उनी गिटी ओसार्दै दिन बितेको पत्तो पाउन्नन् ।   

‘डोकोनाम्लोले थाप्लो छाड्दैन, दसैंमा पनि मजदुरी नगरे के खानु !’

आराम गरेर मिठो–मसिनो खाँदै सुस्ताउने बेला डोकोनाम्लो र भारीले सुस्ताउनै दिँदैनन् ।  ‘नगरी काम साँझबिहान के खानु ,’ उनले हिँड्दाहिँड्दै सास्तीको एक फाँकी पोखिहाले, ‘फेरि दसैं आयो, एउटी छोरी छे, मिठोमसिनो खुवाउनै प¥यो ।’

छोरी नहुँदी हो त दसैं उनका लागि आए पनि नआए पनि केही थिएन । दिनभर काम गरेर पाउने सात दिनको ज्यालाले उनी दसैं मान्ने सुरसारमा छन् । ‘दिनको हजार दिन्छु भन्या छन्, त्यसैले दसैंका बेला पनि मरिमेट्दै छु,’ डोलबहादुरले सुनाए ।

डोलबहादुर प्रतिनिधि मात्र हुन्, मजदुरी गरेर छोराछोरी पढाउने, घरखर्च धान्ने र दसैं मनाउने सपना देखेर सहर छिरेका कतिपय मजदुरलाई दसैं आउँदैन । ठेकेदार चाडबाड भन्दैनन्, दसैंमा पनि काम जारी रहन्छ ।
उदयपुरकी गीता कालिकोटे काठमाडौं झरेको दुई महिना बढी भयो । ‘गाउँमा काम छैन, काम खोज्न यतै आएँ,’ उनी भन्छिन्, ‘दसैंका लागि कमाउन आएको यता ।’ करिब तीन महनिामा कमाएको झन्डै ३० हजार उनले घर पठाइन् । ‘सासूससुरा र घरका लागि पठाएको,’ उनी थप्छिन्, ‘यी आफूचाहिँ अझै बालुवा बोक्दै छु ।’

बालुवा बोकेको पैसाले दसैंमा छोराछोरीलाई कपडा किन्नै बाँकी छ । बालुवा बोकेकै पैसाले दसैंमा मासु किन्ने खर्च पनि जुटाउने मेसोमा छिन् उनी ।

दाङकी सपना श्रेष्ठ पनि काठमाडौंकै मजदुरीमा रमाउदै छिन् । बजारमा मान्छेका हुल किनमेलमा हिँडेको देख्दा उनलाई पनि कामै छाडेर त्यही रमाइलोमा सँगै हिँडूँझै लाग्छ । मन मारेरै बालुवा बोक्नु उनको बाध्यता हो ।

‘दसैंमा घर जानु छ,’ सपना सुनाउँछिन्, ‘पैसा लिएर नगए घरमा कसरी मुख देखाउनू ?’ कमाउन आएकी बुहारी । सासूससुरा र आफन्तको ठूलै आस उनीमाथि छ । यता, किनमेल गर्न भ्याइँदैन पैसा लिएर उतै नयाँ कपडा किन्ने उनले उल्लेख गरिन् ।

दोलखाकी संगीता अर्यालको गाउँका तीनवटै कच्ची घर भुइँचालोले भत्कियो । खेती गर्ने पाखोबारीमा सुक्खा लाग्यो । ‘बाँच्नु त प¥यो, त्यसैले काठमाडौं झ¥यौं,’ उनी भन्छिन्, ‘बुढा गाडी चलाउन थाले म मजदुरी गर्दै छु ।’

डेराभाडा, छोराछोरीको स्कुल फी, महिनादिनको खान्की सबै पु¥याउन दुई जनाको कमाइ ठिक्क हुन्छ । ‘दसैंका लागि यही माटोबालुवाकै भर हो, अरु बेला राम्ररी काम पनि पाइएन,’ उनी दुःखेसो पोख्छिन्, ‘हुनेलाई सधैँ हाइहाइ नहुनेलाई सधैँ दुःखकै भारी ।’

भुइँचालोपीडित भएपछि पाएको थोरै रकमले घर ठडिने छाँट छैन । त्यसैले दसैंका दिन पनि उनी मजदुरी गर्न तल्लीन छिन् । ‘खै पैसा त पाइएला–नपाइएला कामचाहिँ गरिरा’छु,’ अर्का मजदुर पूर्णबहादुर कुमाल पीडा पोख्छन्, ‘काम त दिन्छन् तर पैसा दिने बेला सधैँ कचकच गर्छन् ।’

दिनभर काम गर्दागर्दा ढाड सोझो गर्नै हम्मे । त्यसैले उनी प्लास्टिकको पटुका कम्मरमा कसेर काम गर्छन् । गह्रौँ भारी बोक्ने उनीजस्ता धेरै भरियाको अवस्था उस्तै छ । दसैँमा घर जानेका भारी बोक्नेदेखि नयाँ आएका सामान ओसार्ने काम भरिया गर्छन् ।

‘भारी बोकेरै जीवन जाँदै छ,’ धनबहादुर सार्की भन्छन्, ‘फेरि त्यैमाथि यो दसैंको भारी थपिन्छ,’ एकसरो नयाँ लुगा नकिनिदिँदा छोराछोरीका मुहारै मलिन । त्यसैले पनि घर नगई उनी फुलपातीसम्म भारी बोक्छन् ।

अर्काको घरमा भात पकाउने र भाँडा माझ्ने काम गरेर छोराछोरी पालिरहेकी रामेछापकी लीला तामाङको पीडा झन् कही नसक्नु छ । श्रीमानले हेर्दैनन् । ‘खै घर पनि जाऊँ कि नजाऊँ खर्च नै पुग्दैन,’ उनी सुस्केरामै बोल्छिन्, ‘इष्टमित्र आफन्तीलाई खाली हात कसरी टीका लाउनु ?’

 

प्रकाशित: २१ आश्विन २०७३ ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App