सुडानलाई टुक्र्याउने, इथियोपिया र इन्डोनेसिया खण्डित गर्ने, सिक्किमलाई भारतमा मिसाउने, कोरियालाई दुई भागमा बाँड्ने त्यहीँका जनता हुन् भन्ने धेरैले बुझेका छन्। त्यस पृष्ठभूमि र पाश्र्वभूमि बुझ्न ऊबेलाका घटनाक्रम, राजनीतिक र सामाजिक परिस्थितिलगायतका सबै पक्ष बुझ्नुपर्छ। राष्ट्रलाई दुःस्वप्न संग्रहालयमा परिणत गरेपछि देवासुर–संग्राम सुरु हुन्छ। द्वेष, विद्रोह, क्रान्ति, आन्दोलन आदि गराउने अरूका खेलमा राष्ट्र फस्दै जान्छ।
दोस्रो विश्वयुद्धपछि जापानमा अमेरिकाले कठपुतली सरकार बनायो। त्यहाँको संविधान अमेरिकाले बनायो। जर्मनीको नाजी सरकार ढाल्न, फिलिपिन्सदेखि क्युबा, इरान, इन्डोनेसिया, लेबनान, इराक, कम्बोडिया, अफगानिस्तानदेखि चिलीसम्म पचासौँ राष्ट्रमा कसलाई शासक बनाउने भन्ने फैसला वासिङ्टनले गथ्र्यो। उता क्रेमलिन प्रबल छउन्जेल पूर्व जर्मनी, पोल्यान्ड, अल्बानिया, हंगेरी, रुमेनिया, चेकोस्लोभाकियालगायतको सर्वाधिकार मस्कोमै थियो। यो दुःस्वप्नको खेती चलिरह्यो। ‘रैथाने जनताको फैसला’ भन्दै नेपालमा पनि विदेशी शक्तिले आफ्ना ‘ट्रोजन हर्स’ पठाएका छन्।
इरानमा सन् १९७९ मा भएको ‘इस्लामिक’ क्रान्तिका योजनाकार इसाइ थिए। सन् १९७९ को फेब्रुअरी ११ मा राजतन्त्र मासेर कट्टरपन्थी मुसलमानका हातमा शासन सुम्पिने र राजतन्त्र समर्थकलाई निर्मूल गर्न मुसलमान धर्माधिकारीलाई नै प्रयोग गर्ने योजना पश्चिमी राष्ट्रमै बनेको लेखकहरूले उल्लेख गरेका छन्। सिआइएको नेसनल फरेन असिस्मेन्ट सेन्टरले राजा रेजा पहलवीलाई मुसलमान धर्म विरोधी शासकको छाप लाएर आयातोल्ला रोहल्ला खुमेनीलाई धर्मरक्षक भन्ने प्रचार गराइयो। त्यसपछि अरू भयो, अराजकता। जनता विभाजित भए।
अहंकारीहरूका हातमा शासन आएपछि इरान–इराकको दश वर्षे युद्धमा लाखौँ जनता मारिए। सेनाले अपूर्व क्षति बेहोर्नुपर्यो। पच्चीस सय वर्ष पुरानो राजतन्त्रकालको इतिहास माटोमा मिलाइयो। क्रान्ति भन्नासाथ पहिलेको भन्दा सुख, शान्त, समृद्धि भन्ने हाम्रो बुझाइ छ। धेरैजसो राष्ट्रमा घर जलाएर खरानीको व्यापार गरिएको छ। तसर्थ यदाकदा क्रान्ति नै स्थायी दुर्गतिको कारक बन्छ, नेपालमा जस्तो।
केमिड स्मिथ र सइद कमाली डेगघानले सन् २०१६ को जुन १० मा प्रकाशित ‘द गार्डियन’ पत्रिकामा सन् १९७९ को क्रान्तिभन्दा पहिलेदेखि सिआइएले खुमेनीको संरक्षण, सम्बद्र्धन र सम्पोषण गरेको लेखेका छन्। जिम्मी कार्टर राष्ट्रपति हुँदा तेहरानका प्रोफेसर हज मिर्जा खलिल खमेरेइमार्फत इरान मामिलामा हस्तक्षेप गर्न खुमेनीले वासिङ्टनमा पत्र पठाएका थिए। झण्डै सोह्र वर्ष प्रयोग गरेपछि इरानका राजा हटाउन खुमेनीलाई अघि सारियो।
पत्रकार काम्विज फताहीका अनुसार गणतन्त्र स्थापना गर्न सन् १९७९ पहिलेदेखि नै ‘स्लामिक गणतन्त्र’ भन्दै खुमेनीले अमेरिकाको मद्दत मागेका थिए। राष्ट्रपति जोन एफ केनेडीकै पालादेखि खुमेनीले इरानको राजतन्त्र हटाउन अनुरोध गरेको लिखित अभिलेखहरूबाट पुष्टि हुन्छ। राजा हटाएपछि अमेरिकामा चिकित्सक भएर बसेका इब्राहिम यान्दी गणतन्त्रात्मक राष्ट्राध्यक्षका प्रवक्ता भए। अमेरिकाका प्रिय आयातोल्ला महमद बसेस्टी खुमेनीका ‘टु–आइ–सी’ भए। कूटनीतिका भूतप्रेतहरू जताततै हुन्छन् भन्ने यस्ता उदाहरण प्रशस्तै पाइन्छन्।
मुनरो डक्ट्रिन एउटा चक्रब्यूह थियो। धेरै अभिमन्यु त्यसमा पसे, बाहिर आउन सकेनन्। अल कायदाका नाममा फाइदा लिनेहरू उनै थिए, जो डेमाक्रेसीका कुरा गर्छन्। लाखौँ निर्दोषको प्राण लिनेहरू मानव अधिकारका कुरा गर्छन्।
एन्डर्यु कोरबिम्को लेख्छन्– “इमरान खानले आफ्नो पतन गराउनमा विदेशीको हात छ भनेका छन्। पाकिस्तानको प्रधानमन्त्री छँदा उनले विदेशी स्वार्थ हेरेनन्, देश र देशवासी मात्रै हेरे। त्यसैले उनलाई अपदस्थ गराइयो।” इमरानले भनेकै थिए– “मैले मस्को भ्रमण गरेपछि वासिङ्टन धेरै रिसाएको छ।”
सयौँ वर्षपहिले भारतमा मुसलमान र हिन्दुबीच रक्तपातपूर्ण घात÷प्रतिघात हुने गथ्र्यो। अहिले पनि यदाकदा त्यस्ता अप्रिय खबर आउँछन्। उहिलेको साम्प्रदायिक र धार्मिक दंगाका बेला मुसलमानहरू गाईको बथान लिएर आउँथे। प्रहार गर्दा गाई मारिने डरले हिन्दुहरू पछि हट्न बाध्य हुन्थे। विदेशी शक्तिले धेरै राष्ट्रमा जनतालाई त्यसरी नै प्रयोग गरेका छन्। कहाँ, कसलाई, कसरी प्रयोग गर्ने भन्ने उनीहरूलाई थाहा छ। सोहीअनुसार कतै कुनै धार्मिक समूहलाई, कतै सेनालाई, कतै युवालाई र कतै विभिन्न दललाई प्रयोग गरिएका उपमा छन्।
कूटनीतिका भूतप्रेत अदृश्य छन् तर अचेत छैनन्। धन र पदका लागि मध्यरातमै सिद्धान्त त्याग्नेहरूको बाहुल्य भएको नेपालमा त भूतप्रेतले नचाएका छन्।
राष्ट्र–निर्माण गर्ने व्यक्तिहरू मरेर जान्छन् तर त्यसमा सन्निहित, समर्पित र श्रद्धावान शक्ति अजर रहेसम्म राष्ट्र मर्दैन। राष्ट्रलाई विघटन गराउन बाह्य शक्तिले प्रभावशाली शक्ति र व्यक्ति दुवैलाई प्रयोग गर्छन्। धेरै राष्ट्रमा त्यस्ता आज्ञाकारी दासलाई मालिकले मानव अधिकारवादी, प्रजातन्त्रवादी, नागरिक समाज, अभियन्ता, लेखक, पत्रकार, कानुनविद्, सुरक्षाविद्लगायतका रंगीविरंगी जामा लगाइदिन्छन्। राष्ट्र र समाजको एउटा पाटो मात्र देख्ने ती विदेशीका करिया र भरियाहरू विदेशी धनको फरिया लगाएर नाच्ने गर्छन्।
दोषी र निर्दोषी को÷को हुन्, मालिकले भन्दिन्छन्। हजारौँको हत्या गरेको र गराएको हुँ भन्ने जघन्य अपराधीसँग जन्मजात प्रजातन्त्रवादीहरूले एउटै थालमा मुछेर कपाकप खाइरहेका छन्। मालिकको आदेश त्यस्तै छ।
राजनीतिकर्मीहरू नालायक, पामर, लाछी र कर्तव्यच्युत भएपछि कतिपय राष्ट्रमा जनताले सैनिक शासनको समर्थन गरे। बिग्रिँदै र भत्किँदै गएको राष्ट्रमा सेनाले सार्वभौमसत्ता र राष्ट्रियता बचाएका छन्। समस्या त त्यहाँ हुन्छ, जहाँको सेना राष्ट्रको होइन, केही सीमित नेता र भ्रष्टको दास बन्छ। त्यसले सेनाकै शिर झुकाउँछ। कूटनीतिका तन्त्रमन्त्र तथा भूतप्रेतको भाषा नबुझ्दा श्रीलंकामा झण्डै यमन, इजिप्ट र सिरियाको अवस्था आयो। आर्थिक विपत्ति र अभावग्रस्त भविष्यको भिरमा पुगेको सो राष्ट्रलाई ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्ने बुद्धिजीवी, प्राज्ञ, विज्ञ, राजनीतिज्ञ र सेनाका उच्च पदाधिकारीले विस्तारै संकटमुक्त गर्ने प्रयत्न गरिरहेका छन्।
कूटनीतिको कूटभाषा, घात/प्रतिघात, निहितार्थ एवं स्वार्थको प्रतिरोध कूटनीतिक शैलीमै गर्नुपर्छ भन्ने पाका कूटनीतिहरूको सल्लाह छ। उदाहरणका लागि, संयुक्त राष्ट्रसंघमा भुटानको प्रवेशको प्रयत्नको चर्चा गर्नु उपयुक्त हुनेछ।
एक सय अठ्ठाइसौँ सदस्यका रूपमा भुटान सन् १९७१ को सेप्टेम्बर २१ मा संयुक्त राष्ट्रसंघको सदस्य भयो। भारतले भुटानलाई राष्ट्रसंघमा प्रवेश गर्न नदिने प्रबल इच्छा राखेको थियो। राजा जिग्मे दोर्जी वाङ्चुकलाई सजिलो थिएन। उनका मामा अर्थात राजगुरु (भुटान धर्मराजा भनिन्छ) ले सल्लाह दिए– “हामीले नाटक गर्नुपर्छ। हजुर ‘भारतपरस्त’ देखिने र म भारत विरोधी बन्ने। गाउँगाउँमा गएर म भन्नेछु– ‘भारतले भुटानलाई संसारबाट अलग गर्दैछ। राजा नै भारतसँग टाँस्सिएको हुँदा राष्ट्र नै संकटमा पर्न सक्छ। राष्ट्रसंघको सदस्य हुन दिएन भन्ने जनताले भारतविरुद्ध उठ्नैपर्छ।”
भुटानको रक्षा र परराष्ट्र नीति दिल्लीबाट चलिरहेको अवस्थामा भुटानका जनता रिसाए भने आफ्नो प्रभाव घट्छ भन्ने बुझेपछि लामो विश्लेषण गरेर भुटानलाई राष्ट्रसंघको सदस्य बनाउन भारत सहमत भयो। सोही साल केन्याको नैरोवी सहरमा राजा जिग्मे दोर्जी वाङ्चुकको निधन भएपछि उनका छोरा जिग्मेसिंघे वाङ्चुक राजा भए। उनले आफू जीवित छँदै राजगद्दी त्यागेर छोरा जिग्मे खेसर वाङ्चुकको शुभराज्याभिषेक गराए।
ठूला शक्तिशाली छिमेकीबाट अस्तित्व रक्षा गर्न धेरै राष्ट्रलाई हम्मेहम्मे परेको देखिन्छ। साम्राज्यवाद र विस्तारवादले स्वरूप बदलेर कैयन् राष्ट्रलाई मुठ्ठीमा पारिरहेको अवस्थामा नेपालमा राष्ट्रको सार्वभौमसत्ता बचाउन सक्ने कुनै भरपर्दो शक्ति देखिँदैन। यही कारणले नेपाललाई घात गरिरहेका स्वदेशी र विदेशी कसैसँग डराइरहेका छैनन्।
कुनै राष्ट्र कब्जा गर्न सेना पठाउनै पर्दैन। त्यहाँका शिक्षा प्रणाली, धर्म संस्कृति, परम्परा, सेना, प्रहरी, निजामती, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकालगायत सबैतिर मन्द विष छर्किए पुग्छ। उनीहरू थाहै नपाइ दास बन्छन्। जब चेतनशीलहरू दास हुन्छन्, त्यसपछि राष्ट्र नै लास हुन्छ।
प्रकाशित: ३१ भाद्र २०७९ ००:५७ शुक्रबार