६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

मानव स्वास्थ्य, वातावरण र कौसी खेती

आज विश्वमा बिग्रँदो वातावरणका कारण दिनानुदिन मानिस रोगी बन्दै जाने क्रम बढ्दो छ। बढ्दो कार्बन उत्सर्जन र रासायनिक तत्वहरूको प्रयोगबाट उत्पादित खराबीका कारण कृषिजन्य खाद्यवस्तुको उत्पादन घटिरहेको छ। यही कारण खाद्यान्न उत्पादन अपुग हुँदा भोकमरी बढिरहेको छ। यही कारण विश्वमा विभिन्न समस्या देखिइरहेका छन्। मानव स्वास्थ्यमा चिन्ताजनक रूपले आक्रमण भइरहेका छन्। एकातिर पर्याप्त खानेकुरा छैन भने अर्कोतर्फ विशेषगरी अपुग तथा कमसल खाद्यान्नका कारण कुपोषण जस्ता घातक रोग सामना गर्न बाध्य भइरहेका छन्।

यस्तो अवस्थामा हामी नेपाली पनि अपवाद छैनौँ। नेपाली कृषकले पनि रासायनिक तत्व प्रयोगविधि, नीति विपरित गरिरहेका छन्। विषादी तथा रसायनहरूको जथाभावी प्रयोगले नेपाली किसानको मात्र नभई उनीहरूका परिवारको समेत स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको छ। यस्ता तत्व प्रयोगकर्ता किसान वा उसको परिवारको मात्र हैन, उनीहरूका उत्पादन प्रयोग गर्नेहरू समेत प्रभावित भइरहेका छन्। त्यसैले यसरी उत्पादित तरकारी, फलफूल तथा अन्न समेतका खाद्यवस्तु उपभोग गर्ने सबैको स्वास्थ्य जोखिमयुक्त बन्दै गएको छ। नेपालमा बढ्दै गएका अस्पताल तथा भरिँदै गएका बेड संख्याले पनि यसको पुष्टि हुन्छ।

हामी बजारबाट किनेर ल्याएका तरकारी निर्वाध प्रयोग गर्छौँ। रासायनिक विषादी प्रयोग भए/नभएको हेर्दैनौँ। यस्ता तरकारी तथा फलफूल उपभोग गर्दा अपनाउनुपर्ने विधि/प्रक्रियाप्रति फिटिक्कै ध्यान दिँदैनौँ। विशेषगरी आधा उमालेर र सलादका रूपमा खाने खाद्यान्नबाट हामीले बढी रासायनिक विषादी सेवन गरिरहेका छौँ। जुन कुरा हामीले अहिलेसम्म याद गरेका छैनौँ।

हामीसँग स्वास्थ्य बर्धक खाद्यवस्तुको बजारमै अभाव छ। त्यसकारण बाध्यताबस उपभोक्ताले जे पायो त्यही उपभोग गरिरहेका छौँ। यसैका कारण आज हाम्रो देशमा पनि क्यान्सर, ब्रेनटिम्बर, पक्षघात, सुगर, प्रेसर, मिर्गौला फेल, हार्ड जोर्नी कमजोर हुने, आँखा नदेख्ने, कमजोर हुने जस्ता समस्या बढिरहेका छन्। यस्तो समस्या विशेषगरी केटाकेटी, ज्येष्ठ नागरिक र अशक्तहरूमा बढी देखिँदै आएको छ।

हाम्रो मुलुकमा अहिले पनि रासायनिक मल र विषादीलाई नै महत्वपूर्ण ठानिँदै आएको छ खेतीपाती गर्ने क्रममा।अब पनि यसरी उत्पादित खाद्यान्न नै खाइराख्ने हो भने हाम्रो मानव स्वास्थ्य क्रमशः खराब हुँदै गईवंश निरन्तरतामै प्रश्न नउठ्ला भन्न सकिन्न। सँगै यसले चौतर्फी रूपमा भयाबह ननिम्त्याउला भन्न सकिँदैन। त्यसकारण अब हामी सहरबासीले सुरक्षित खाद्यान्नका लागि विकल्पहरू खोजी गर्नैपर्छ। कृषकले पनि सुरक्षित कृषि उत्पादनका लागि सुरक्षित प्रविधि खोजी गर्नुपर्छ ताकि उत्पादन वृद्धि होस् र मानव स्वास्थ्यलाई पनि हानि नगरोस्।

एकातिर जीविकोपार्जनको मुख्य बाटो नै कृषि भएकाले यसलाई जीवित राख्ने मात्र नभई समयानुकूल समेत तुल्याउनु पर्ने बाध्यता किसानमाझ छ भने अर्कोतर्फ आफू र बाँकी रहेको खाद्यान्न उपभोग गर्नेहरूको स्वास्थ्यप्रति पनि ध्यान दिनुपर्ने अवस्था छ। यी दुवै परिस्थितिलाई मिलाएर अघि बढ्नुपर्ने बाध्यतामा छ आजको किसान। जुन हामी किसानको कर्तव्य पनि हो। यस्तो अवस्थाले मुलुकको खाद्यान्न निर्भरतामा त टेको दिन्छ नै, साथै अनावश्यक रूपमा बाहिरिने विदेशी मुद्रा समेत सञ्चित हुन गई समग्रमा मुलुकको आर्थिक स्थिति सबल हुन पुग्छ। त्यसैले यो वास्तविकताबाट भाग्ने सुविधा किसानलाई छैन।

यस्तो अवस्थामा सहरमै बसोबास गर्नेले पनि सोच्ने बेला आएको छ। कम्तीमा पनि कम पकाएर वा काँचै खाइने हरियो तरकारी सागपात मात्र आफैँले उत्पादन गरेर खान सकियो भने पनि आफ्नै स्वास्थ्यलाई फुर्तिलो र रोगमुक्त बनाउन सघाउ पुग्छ। अर्कोतर्फ पैसा तिरेर विष खानुपर्ने अर्थात उल्टै रोग भिर्नुपर्ने अवस्था पनि न्यून हुन्छ। यो सवाल उठाउँदा प्रश्न उठ्न सक्छ– सहरमा बस्नेले कहाँ जमिन छ र सागपात उमार्न? हो, उत्तर यही प्रश्नले खोज्छ। ‘जहाँ इच्छा : त्यहाँ उपाय’ भनेझैँ गर्न चाहने हो भने जमिनले छेक्दैन। भनाइको मतलव आफ्नो घरको वरिपरि थोरैमात्र जमिन छ भने पनि यसो गर्नु सम्भव हुन्छ। मात्र इच्छाशक्ति भए पुग्छ।  

जहाँसम्म गर्छु भन्ने इच्छा छ, त्यहाँ उपाय बाधक बन्दैन। विशेषगरी सहरमा सबैजसोको घरमा कौसी हुन्छ। उक्त कौसी धेरैको प्रयोगहीन अवस्थामा हुन्छ। यस्तो कौसीलाई सदुपयोग गर्दै कौसी खेती गर्न सकियो भने न विषादी किनेर खानुपर्छ न त स्वास्थ्यलाई नै तड्पाउनुपर्छ। विशेषगरी हरियो तरकारी र सलादका रूपमा खाइने लेटुसहरू कौसीमै उत्पादन गर्न सकिने खालको प्रविधि विकास भइसकेको छ। जस्तै– कौसीबारी, ग्रौ ब्याग बेन्ची र भर्टिकल विधिप्रयोगगरी अर्गानिक तरकारी खान सकिन्छ। यसले बालबालिका, ज्येष्ठ नागरिक र अशक्त मात्र नभई परिवारका सबैको स्वास्थ्य स्वच्छ राख्न मद्दत गर्छ।  

हामीले कौसी बारी खेतीगर्दा तरकारी मात्र लगाउनुपर्छ भन्ने छैन। ससाना फलफूल पनि लगाउन सकिन्छ। धनियाँ, लसुन जस्ता अचारजन्य पदार्थ पनि उमार्न सकिन्छ। यसो गर्दा धेरै फाइदा छन्। एक, तरकारी किन्ने पैसा बचत हुन्छ जुन बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्चन सकिन्छ। दुई, आफ्नो परिश्रमको कमाइ खर्च गरेर आफैँ विष सेवन गर्नुपर्ने अवस्था अन्त्य हुन्छ। जसबाट स्वास्थ्य राम्रो बन्न सक्छ। तीन, जब बिहान–बेलुका कौसीबारीको खेतीमा व्यस्त भइन्छ, त्यतिबेला स्वतः शरीरलाई व्यायाम भइरहेको हुन्छ। न बाहिरको धुलो धुँवामा कुद्नुपर्ने न त सवारीसाधन, कुकुर आदिकै डर। उल्टै व्यायाम गरिरहँदा उत्पादनको दोहोरो फाइदा पुगिरहेको हुन्छ।

हरियाली बढ्नु कौसी खेतीको अर्को राम्रो गुण हो। अहिले विश्वमै अत्यधिक रूपमा बढेको कार्बन उत्सर्जनलाई थोरै भए पनि घटाउन यसले मद्दतगर्नेछ भनेवातावरण थोरै नै किन नहोस्, स्वच्छ बनाउन पनि सघाउँ पुग्नेछ। यही कारण आँखाको तेज पनि बढ्नेछ। मानव अङ्गहरूमा सकारात्मक प्रभाव पर्नेछ। सुरक्षित, स्वच्छ र स्वस्थ बर्धक तरकारी/फलफूल खान पाइनेछ। अझ मुख्य कुरा भविष्यका सन्तति र आफ्नो परिवारको स्वास्थ्य संरक्षणमा दिगो भरथेग हुनेछ।

त्यति मात्र पनि हैन, सहरमै जन्मिएका बालबालिकाले कृषिजन्य वनस्पतिहरूका प्रजातिहरू चिन्ने छन्। कृषिजन्य तथा अन्य वनस्पतिसँग घर/घरमै खेल्न पाउनेछन् भने तिनीहरूसँग परिचित हुन पाउँदा अपनत्व बढ्नेछ। जसका कारण उनीहरूले पनि यस्तो कामलाई पछिसम्म निरन्तरता दिने सम्भावना रहन्छ।अर्कोतर्फ बालबालिका अर्गानिक वातावरणमा हुर्कन पाउने छन्।घर/बस्ती हुँदै टोल नै अर्गानिक बन्ने छन्। सधैँ स्वच्छ हावा बगिरहने वातावरण तयार हुन्छ।

कौसीबारी खेती प्रविधिका कारण घर–घरको दैनिक भान्छाबाट निस्कने फोहोरको कुहिने प्रजाति जति संकलन गरी कौसीका बिरुवालाई आवश्यक कम्पोस्ट उत्पादन गर्न सकिन्छ। यसो गर्दा एकातिर मल किन्नु पर्दैन भने अर्कोतर्फ फोहोर फ्याँक्ने झन्झट हुन्न र रोग सल्काउने कारक पनि बन्दैन। कौसी खेती नगर्नेका यस्ता कुहिने सामग्री समेत कौसी खेती गर्नेले किनिदिँदा दुवै पक्षलाई फाइदा पुग्छ। अझ समग्रमा भन्ने हो भने पालिकालाई नै फोहोर व्यवस्थापनमा सघाउ पुग्न जान्छ।

त्यसकारण नगर वा सहर स्थानीय सरकारले पनि कौसी बारी तरकारी खेतीलाई अभियानकै रूपमा अगाडि बढाउन सके मुलुकका सबैको भलो हुने देखिन्छ। यसो गर्न सके ८२ प्रतिशत समेत रासायनिक विषादी भेटिने गरेका तरकारी उपयोग गर्नुपर्ने बाध्यताबाट सहरबासीलाई मुक्ति मिल्नेछ। अर्कोतर्फ फोहोरकै कारणसहरी समुदायमा बढ्दै गएका समस्या न्यून हुनेछन्। अनि ठूला डम्पिङ साइट खोजी गरिरहनुपर्ने बाध्यताबाट पालिकाहरूलाई पनि मुक्ति मिल्नेछ। यस्तो पुनित कार्यबाट मानव स्वास्थ्यमा नै प्रत्यक्ष फाइदा पुग्ने कुरा त छँदैछ साथै, मुलुकको गिर्दो आर्थिक अवस्थालाई सन्तुलनमा राख्न पनि राम्रै योगदान पुग्नेमा शंका छैन।

(कृषि वन प्राविधिक)

प्रकाशित: १४ असार २०७९ ००:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App