१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

यसरी बनाउन सकिन्छ काठमाडौंलाई नमुना महानगर

काठमाडौँ महानगरपालिका संघीय नेपालको एउटा राजनीतिक एकाइ हो। तर ‘काठमाडौँ महानगर’चाहिँ संघीय राजनीतिक एकाइभन्दा बढी राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक एवम् नवीनतम प्राविधिक दृष्टिले वैश्विक सम्बन्ध सञ्जालमा आबद्ध मुलुककै केन्द्रीय संस्था हो।

काठमाडौँ महानगरपालिकाले यी दुवै आयामहरूमा आफ्नो प्रभावकारी उपस्थिति देखाउनु जरुरी छ। ‘राजधानी महानगर’ हुनुको हैसियतमा रहेको ‘काठमाडौँ महानगरपालिका’ ले राज्यस्तरीय राजनीतिक वा प्रशासनिक निकायहरूसँग निरन्तर समन्वयात्मक भूमिकाका साथ महानगरीय आकाङ्क्षा र आवश्यकताहरूलाई समयानुकूल हिसाबले पूरा गर्दै जानु छ। विगतका अनुभवहरू उत्साहजनक देखिएनन्।

अब नयाँ ढंगले नयाँ उत्साहका साथ जिम्मेवारी बहन गर्दै जान नवनिर्वाचित महानगरपालिका सक्षम हुने छ भन्ने आशा राख्न सकिन्छ। महानगरपालिकाका विषयहरू पदाधिकारीहरूका प्रतिज्ञापत्र वा पार्टीहरूका घोषणापत्रमा पर्याप्त आइसकेका छन्। यस आलेखमा भने काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ महानगर’ को जिम्मेवारी लिएर गर्न सक्ने केही भूमिकाका सम्बन्धमा चर्चा गर्ने प्रयास गरिएको छ।

महानगरपिताका रूपमा स्वतन्त्र युवानेता बालेन्द्र साह निर्वाचित भएर आएका छन्। यही जेठ १६ गते आफ्नो पाँच वर्षे नेतृत्वकालका लागि सपथ ग्रहण पनि गरे। उनीसँगै उपप्रमुख र वडाध्यक्षहरूले पनि सपथ लिए र प्रथम बैठक बसी कार्यकालको साइत पनि गरे। बैठकमा महानगरका तात्कालिक प्राथमिकताका कार्यहरूबारे नवनिर्वाचित महानगर प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले छलफल गरे। उनीहरूले फोहोरमैलाको स्थायी व्यवस्थापनका लागि संस्थागत पहल गर्न समिति पनि बनाए। पाँच वर्षे कार्यकालको आरम्भ यसरी नै भयो।

महानगरपालिकाले प्राथमिकताका साथ गर्नुपर्ने कार्यहरू फोहोरमैलाको स्थायी व्यवस्थापनको टुंगो लगाउनुका अतिरिक्ति त्यसैसँग जोडिएको पोल र तार, सार्वजनिक शौचालय, सडकगल्ली सुधार, ढल व्यवस्थापन लगायतका व्यवस्थापन गर्नुपर्ने कार्यहरू त बग्रेल्ती नै छन्। अन्य अनगिन्ति विषय पनि महानगरको जिम्मेवारीभित्र पर्दछन्। पहिलो बैठकमा पदाधिकारीहरूले यी पक्षमा पनि सामान्य चर्चा गरे। यी र यस्तै आम महानगरबासीले प्रत्यक्ष देख्ने र भोग्ने विषयहरूको स्थायी व्यवस्थापन हुन सक्यो भने वर्तमान महानगरपालिका परिवारले पक्कै धन्यवाद पाउने छ।

काठमाडौँलाई साँच्चैको ‘नमुना महानगर’ बनाउन भने उल्लिखित कार्यहरू मात्र पर्याप्त हुँदैनन् भन्ने महानगर नेतृत्वलाई पक्कै महसुस भएकै छ। त्यस्ता अन्य कार्यहरूको दीर्घकालीन र स्थायी व्यवस्थापन पनि हुन सकेमा मात्र महानगरपिता बालेन्द्र शाहको नेतृत्वले वास्तविक अर्थमा सबैको मन जित्न सक्ने छ।

मूलतः काठमाडौँ महानगरले आफ्नो जिम्मेवारीलाई महानगरबासी केन्द्रित गरी निम्नानुसारका कार्यहरूलाई सघन छलफलका साथ योजना बनाई अघि बढ्नु उपयुक्त देखिन्छ। यी कार्यहरू महानगरपालिका केन्द्रित मात्र नभई ‘महानगर’ केन्द्रित कार्यहरू पनि हुन्।

१.बालमैत्री महानगर

महानगरले बालबालिकालक्षित कार्यक्रम बनाएर त्यसलाई कार्यान्वयन गर्न सक्यो भने सबैभन्दा राम्रो कामको जस पाउने छ। त्यसका निम्ति प्रत्येक वडामा कम्तीमा एउटा सुविधासम्पन्न, फराकिलो चिल्ड्रेन पार्क बनाउनु जरुरी छ। बिस्तारै त्यो सङ्ख्या बढाउँदै जान सकिन्छ। त्यहाँ बिदाका दिन बालबालिका रमाउन पाउने छन्। त्यसका लागि उपयुक्त ठाउँको खोजी गरी पहिलो वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने हिसाबले कार्य योजना बनाएर काम सुरु गर्नु उपयुक्त हुन्छ। वडाहरूलाई त्यसको योजना र कार्यान्वयन गर्ने जिम्मा दिइएमा महानगरका बत्तीसै वडामा छोटो समयमा नै बत्तीसवटा चिल्ड्रेन पार्कहरू बन्ने छन्। यो धेरै ठूलो कामभन्दा पनि सबैभन्दा महत्त्वपूर्ण काममध्येको एक हो।

२. युवामैत्री महानगर

अधिक युवाहरूले मत दिएर नै बालेनले जितेका हुन्। अरूलाई पनि युवाको मत परेकै हो। यसर्थ युवालक्षित कार्यक्रमहरू महानगरले लागु गर्नैपर्ने दायित्व अझ बढी देखिन्छ। त्यस्ता कामहरू के हुन सक्छन्, महानगरले अनुसन्धान गर्न सक्छ। युवा बेरोजगार समस्यालाई केन्द्रबिन्दुमा राखेर निम्न तथा मध्यम वर्गीय युवाका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउन सक्छ। त्यसका निम्ति उनीहरू आकर्षित हुने गरी सर्तनामावली तयार गरेर वा क्षेत्रगत आधार तोकेर कार्यारम्भ गर्न गराउन सक्छ। महानगरले तय गरे अनुसारका क्षेत्रमा लगानी गरेर कार्य गर्न इच्छुक युवालाई केही हदसम्म अनुदान पनि उपलब्ध गराउन सकिने व्यवस्था भएमा युवाहरू अझ बढी आकर्षित हुन सक्छन्। वडा मार्फत् नै यस्ता कार्यहरू सञ्चालन गर्न खासै कठिनाइ पर्ने देखिँदैन।

३.जेष्ठ नागरिकमैत्री महानगर

महानगरले वृद्धवृद्धाहरूका लागि मैत्रीपूर्ण कार्यहरूको आरम्भ गर्नसक्छ। वडावडामा त्यस्ता कार्यहरू आरम्भ गर्न ठूलो धनराशीको आवश्यकता पनि पर्दैन। ७० वर्षमाथिका वृद्धवृद्धालाई २/२ महिनामा निःशुल्क स्वास्थ्य शिविर चलाई स्वास्थ्य परीक्षण नियमित रूपमा गर्ने प्रबन्ध मिलाउन सक्छ। स्वास्थ्यमा समस्या परेकाहरू त अस्पताल गइरहेकै पनि हुन्छन्। तर स्वास्थ्य परीक्षणको व्यवस्था नियमित हुने हो भने उनीहरूलाई समयमा उपचार गर्न सजिलो हुग्छ। सामान्य औषधोपचार त परीक्षणकै क्रममा पनि हुन्छ। उनीहरूलाई निःशुल्क उपचारको प्रबन्ध गर्ने सरकारी वा निजी क्षेत्रलाई जिम्मेवार बन्न महानगरले प्रभावकारी भूमिका खेल्न सक्छ।

यस्तै, वृद्धवृद्धाहरू अमूल्य अनुभवका स्रोतहरू हुन्। उनीहरूका अनुभवहरू सन्तति एवम् समाजका लागि बढी उपयोगी रहन्छन्। उनीहरूलाई सम्मान पनि गर्ने हिसाबले अनुभवहरूको आदानप्रदान गर्ने गराउने एवम् मैत्रीपूर्ण मनोरञ्जनात्मक कार्यक्रम नियमितरूपमा वडाहरूले सञ्चालन गर्न सक्छन्। उनीहरूका अमूल्य अनुभवहरूलाई लिपिबद्ध गरी ग्रन्थहरूको प्रकाशन गर्न सकिन्छ।

शिक्षित वृद्धवृद्धामध्ये पनि कसैकसैले मात्र आफ्ना अनुभवहरू लेख्ने गरेका छन्। तर हरेकका अनुभवहरूमा केही न केही जीवनोपयोगी सूत्रहरू रहेका हुन्छन्। यस्ता अनुभवहरू सुन्नेसुनाउने गर्दा समाज लाभान्वित पनि भइरहेको हुन्छ। उनीहरूलाई आफ्ना कुरा अरूसामु सुनाउन पाउँदा उनीहरूको मन हलुङ्गो पनि हुन्छ, तनाव कम भएर जान्छ। उनीहरूको सामाजिक परिचय बढेर जान्छ। यसका लागि संस्थागतरूपमै महानगरपालिकाले जेष्ठ नागरिक मिलन केन्द्रहरूको स्थापना गरी वडास्तरमा यस्ता कार्यक्रमहरू नियमित गर्न सक्छ।

४.अपाङ्गतामैत्री महानगर

महानगरपालिकाका सडक वा कार्यालयहरू प्रायः अपाङ्गमैत्री छैनन्। सम्बन्धित निकायहरू यसतर्फ गम्भीर बन्न सकेका छैनन्। यसका लागि अन्य निकायहरूसँग समन्वय गर्नु त छँदै छ, पहिले महानगरपालिकाले आआफ्ना वडाकार्यालयहरूलाई नै अपाङ्गतामैत्री बनाउनु आवश्यक देखिन्छ।

अर्को, महानगरले महानगरभित्रका प्रमुख सडकहरूमा अपाङ्गहरूलाई सेवा पुर्‍याउने गरी सार्वजनिक बसहरू सञ्चालनमा ल्याउनु आवश्यक देखिन्छ। त्यसो हुन सकेमा फरक क्षमता भएका महानगरबासीका लागि महत्त्वपूर्ण सहयोग पुग्ने छ। यस्ता सार्वजनिक सवारी साधनहरू लक्षित वर्गभन्दा अरूले प्रयोग गर्न नपाउने र फरक क्षमता भएका नागरिकलाई भाडा नलाग्ने हिसाबले आवश्यक गृहकार्य गरी सञ्चालनमा ल्याउन सकेमा महानगरपालिकाले जस पाउने नै छ।

५. भौतिक सांस्कृतिक सम्पदा (मूर्त) मैत्री महानगर

काठमाडौँ महानगरपालिका सांस्कृतिक सम्पदाहरूमा विश्वकै अग्रणी हो भन्नेमा गौरव त सबैले गरेका छन् तर तिनको व्यवस्थापन दीनहीन नै देखिन्छ। विश्व सम्पदा सूचीमा रहेका कतिपय सम्पदास्थल यहीँ छन्। पशुपति क्षेत्र, स्वयम्भू, हनुमान ढोका लगायत महानगरपालिकासँग सीमा जोडिएका अन्य नगरपालिकाहरूमा पनि यस्ता सम्पदास्थलहरू छन्। विश्वसम्पदा सूचीमा सूचीकृत यति समृद्ध सम्पदास्थल एउटै शहरभित्र त अन्यत्र विश्वकै ठूला शहरहरूमा पनि छैनन्।

अर्कातिर, अन्य मठमन्दिरहरूको संरक्षण र व्यवस्थापनका लागि उपयुक्त नीति बनाई कडाइका साथ लागु गर्न महानगरले पहल गर्नु जरुरी छ। हनुमान ढोकास्थित भवानीमन्दिरको गजुरलाई अलिपरबाट देख्न नसकिने स्थिति त भइ नै सकेको छ। भोलि धरहरा पनि नदेखिन सक्छ। निजी घरहरूको उचाइका लागि मापदण्ड बनाएर लागु गर्न खोजिएको भए पनि त्यसको पालना भएको अनुभव हुँदैन। काठमाडौँ कंक्रिटको ढाँड त भइ नै सकेको छ, कमसेकम सांस्कृतिक सम्पदाहरू त्यस ढाँडभित्र निस्सासिएर बिस्तारै लोप भएर नजाऊन् भन्नाखातिर महानगरपालिकाले केही महत्त्वपूर्ण निर्णय (बोल्ड डिसिजन) गर्न सक्छ।

६. अभौतिक सांस्कृतिक सम्पदा (अमूर्त) मैत्री महानगर

नेपालको सामाजिक मनोविज्ञान आधुनिकतातर्फ उन्मुख हुँदै गएको कुरामा दुई मत छैन। त्यसतर्फ उन्मुख हुनुमा सामाजिक सचेतताभन्दा बढी अनुशरण वा नक्कल गर्ने प्रवृतिले प्रभाव पारेको पाइन्छ। नेपाली समाजलाई परम्परागत र अनुकरण संस्कृतिका बीचबाट गुज्रिरहेको देख्न सकिन्छ। यो छुट्टै समाजशास्त्रीय अध्ययनको विषय हो।

काठमाडौँ महानगरमा नेपालभरिकै सामाजिक सांस्कृतिक परम्परा र विश्वास भएका मानिसहरू बस्छन्। भाषा, धर्म, संस्कृति अनुसारका फरकफरक संस्कारहरूमा ती आवेष्टित छन्। काठमाडौंको नेवार समुदायले आफ्नो संस्कृति र परम्परा एवम् आफ्नो संस्कारगत सामाजिक परिचयलाई कायमै राख्न सकेको छ। हजारौं वर्षदेखिका असङ्ख्य गुठीहरूद्वारा संस्थागतरूपमा नै नेवार सभ्यता र संस्कृतिले निरन्तरता पाइरहेको छ।

मुलुककै सांस्कृतिक परिचयका लागि यो गर्वको विषय हो। नेवार संस्कृतिको निरन्तरता एवम् सनातन संस्कृतिको जगेर्ना गर्दै जान महानगरले व्यापक चिन्तन र छलफलका साथ सुदीर्घ सांस्कृतिक नीतिको तर्जुमा गरी सो अनुसारका कार्यहरूलाई अघि बढाउनु आवश्यक छ। मुलुकमा अन्य स्थानीय तहहरूका लागि पनि महानगरले यस सम्बन्धमा तय गर्ने नीति र कार्यक्रमले मार्गदर्शन गर्न सक्ने छ। मूलतः अमूर्त संस्कृति सामाजिक सभ्यताको आधार र परिचायक हो।

७.सौन्दर्यमैत्री महानगर

काठमाडौँ महानगरका पूर्वपिताहरूले स्वच्छ, सफा, हराभरा काठमाडौँ, मेरो पौरख मेरो गौरव, मेरो काठमाडौं आदि केके भने। उनीहरूले सिद्धान्ततः काठमाडौंलाई सुन्दर बनाउन चाहेका भए पनि व्यवहारमा ती असफल देखिए। अब गणतन्त्र नेपालका दोस्रा नगरपिता बालेन्द्र शाहको मेयरत्वमा काठमाडौँ रहन थालेको छ। आशा मरेको छैन। उनले काठमाडौँ महानगरलाई हराभरा, हरियालीयुक्त नमुना महानगर बनाउने नै छन्। उनी स्वयम्ले नै घोषणा पनि गरेका छन्। त्यसका निम्ति, रिङरोड क्षेत्रको हरित पेटीको स्तरोन्नति, भित्री ठूला सडकहरूमा वृक्षारोपण र फूलबारीयुक्त पेटीका साना सडकहरूमा सानै साइजका फुटपाथ र मापदण्ड बनाई साना बिरुवाहरूको हरित पेटिका बनाउन र नदी किनारहरूलाई हरित रेखा बनाउन महानगरले नसक्ने हुँदै होइन।

यसअघि योजनाबद्ध ढंगमा नगरिएको मात्र हो। विगतमा ‘एक घर, एक बिरुवा’ भन्ने पनि सुन्नमा आएको थियो। त्यो हावाजस्तै बिलायो। जग्गै छैन त एउटा बिरुवा पनि कहाँ रोप्ने, भोटाहिटी पश्चिमतिरका घरवालाहरूले तर भएको ठाउँलाई महानगरले उच्च प्राथमिकता दिने हो भने काठमाडौँ वास्तवमा केही हदसम्म हरियालीयुक्त र सडकहरू फूलबारीयुक्त बन्छन्। नयब सडकमा पनि यातायातलाई व्यवस्थापन गरी दाँयाबाँया साँघुरा नै भए पनि फूलबारीयुक्त पेटिकासहितको न्युरोड बनाउन सकिएला। अन्यत्रका दुई लेनयुक्त भित्री सडकहरूलाई प्रायः हरियालीयुक्त बनाउन सकिन्छ।

८. पर्यटकमैत्री महानगर

विदेशी पर्यटकहरू भनेका मुलुकका लागि पाहुना हुन्। हाम्रो सनातन संस्कृतिअनुसार भनिन्छ–अतिथि देवो भवः। काठमाडौँमा होटलहरूको अभाव देखिँदैन, उहिल्यैदेखि सञ्चालनमा आएकै छन्। महानगरले विदेशी पाहुनाका लागि लक्षित सुविधा सम्पन्न होटलहरूको सेवा सुविधाका बारे नियमित अनुगमन गर्ने गरेको छ कि छैन? यो एउटा पक्ष हो।

अर्को, विदेशी पाहुनालक्षित नियमित कार्यक्रम महानगरकै प्रत्यक्ष व्यवस्थापनमा पनि गर्न सकिन्छ होला। नियमित एक महिनाभन्दा बढी नेपालमा बस्ने तेस्रो मुलुकका पर्यटकहरूलाई काठमाडौंको परम्परागत सांस्कृतिक वा यहाँका मौलिक साङ्गीतिक झलकहरू देखाउने कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ। त्यसो गर्दा महानगरप्रति उनीहरूको भावनात्मक घनिष्टता बढेर जान्छ। यस्ता कार्यक्रमहरूमा गीत–नृत्यबाहेक छोटो समयावधिका नेपाली नाटकहरू पनि प्रस्तुत गर्न सकिन्छ।

विभिन्न भाषागत विविधतासहितका परम्परागत सांस्कृतिक, साङ्गीतिक झलकहरू देखाउन मञ्चहरूको अभाव पनि छैन। समन्वय र चासोको मात्रै कुरा हो। महानगरले सांस्कृतिक टोलीहरूलाई न्यूनतम पारिश्रमिक, सम्मान दिएर मात्रै यस्ता मनोरञ्जनात्मक पर्यटनमैत्री कार्यक्रमको व्यवस्थापन गर्न सक्छ। यसबाट काठमाडौं महानगरप्रति विश्वका पर्यटकहरूको आकर्षण, आत्मीयता र सम्मान बढेर जान्छ।

९. अध्ययनमैत्री महानगर

महानगरबासीका लागि सार्वजनिक पुस्तकालयहरूको नितान्त अभाव छ। एकदुई पुस्तकालयहरू छन्, ती महानगरको अग्रसरतामा खुलेका होइनन्। काठमाडौँ महानगरले नगरबासीको बौद्धिक स्तर उकास्न सघाउ पुग्ने खालका कार्यहरू गरेको पाइँदैन।

महानगरको नेतृत्वले महानगरबासीको बौद्धिक विकास हेतु सार्वजनिक अध्ययन केन्द्र वा पुस्तकालयहरूको स्थापना गर्ने कार्यको व्यवस्थापन गर्न सक्छ। त्यसका निम्ति प्रत्येक वडामा एकएक वटा सार्वजनिक पुस्तकालय स्थापना गरी सामान्य पाठक र वडामा बस्ने अध्ययनशील मानिसहरूलाई इच्छित समयमा गएर पढ्न सक्ने सुविधा उपलब्ध गराउन सक्छ। ३२ वटा सार्वजनिक पुस्तकालय स्थापना गर्न प्रारम्भमा भौतिक पूर्वाधारको व्यवस्था गर्न बजेटको आवश्यकता पर्ने भए पनि पुस्तकहरू क्रमशः थपिँदै जाने कुरा हुन्। भविष्यमा ती पुस्तकालयहरू आफै समृद्ध हुँदै जान्छन्। यो हुनु जरुरी छ।

१०. मनोरञ्जनमैत्री महानगर

काठमाडौँ महानगरमा रहेका सिनेमा घर एवम् होटल रेस्टुराँहरूमा हुने मनोरञ्जनात्मक सो वा साङ्गीतिक प्रस्तुतिहरू निजी तवरले सञ्चालनमा आएका देखिन्छन्। तिनलाई व्यवस्थित र मर्यादित बनाएर सञ्चालनमा ल्याउनु त छँदै छ, अर्कोतिर, महानगरबासी आमयुवा वर्गका लागि सुलभ र प्रायः निःशुल्क रूपमा सार्वजनिक मनोरञ्जन स्थलहरूको व्यवस्था गर्नु पनि समयानुसार आवश्यक देखिन्छ।

दर्शक त आमजनता नै हुने भए, शुल्क उठाउने कुरै भएन। साँझमा ७/८ बजेसम्म २/३ घण्टाका लागि मात्र इच्छुक युवावर्ग स्वच्छ साङ्गीतिक प्रस्तुति (बागिना) मा स्वस्फूर्त सहभागिता जनाउन सक्छन्। व्यक्तिगत वा समूहगत रूपमा त्यस्ता साङ्गीतिक कार्यक्रमहरू प्रस्तुत हुन सक्छन्। सर्वसाधारण दर्शकहरूले पनि स्वच्छ मौलिक नेपाली र अन्य भाषाका गीत, सङ्गीतको मनोरञ्जन लिन सक्छन्।

वर्तमान युवा वर्ग भर्चुअल साङ्गीतिक संसारमा हराइरहेको देखिन्छ। प्रत्यक्ष स्वयम् सहभागी हुन पाउने अवसर पाएमा मोबाइलप्रदत्त साङ्गीतिक मनोरञ्जनमा खुम्चिइरहने अवस्थाबाट आफूलाई मुक्त गर्न सक्छन्। त्यसबाट नेपाली कला–संस्कृतिप्रति युवावर्गलाई आकर्षित गर्न मदत पनि पुग्छ।

महानगरले दर्शकहरू बढीभन्दा बढी भेला हुन सक्ने स्थलहरूको पहिचान गरी ती स्थलहरूमा सधैं निश्चित समयमा आआफ्ना प्रस्तुति प्रदर्शन गर्न उपयुक्त युवामैत्री खुला सार्वजनिक साङ्गीतिक स्थलहरूको व्यवस्थापन गरिदिन सक्छ। विदेशतिर ठूला सहरहरूमा त्यस्तो व्यवस्था भएको पनि पाइन्छ। सर्वसाधारण काठमाडौंबासीले कतिपय त्यस्ता ठाउँहरूबाट निःशुल्क र स्वस्थ मनोरञ्जनको अवसर पाउने छन्। नेपालका आधुनिक वा लोकगीत–सङ्गीतको प्रबद्र्धनमा त्यसबाट सहयोग पनि पुग्छ।

कार्यक्रमको प्रस्तुति हेरी महानगरले न्यूनतम व्यवस्थापन शुल्क उठाउँदा पनि हुन्छ। यातायात मैत्री ढंगमा सञ्चालन हुन सक्ने ठाउँ हेरी त्यस्ता मनोरञ्जन स्थलहरूको व्यवस्था महानगरले गर्न सक्छ। त्यसो भएमा काठमाडौं महानगरबासीले प्रायः साङ्गीतिक साँझहरूबाट प्रत्यक्ष मनोरञ्जन लिन सक्ने छन्। त्यस्ता मनोरञ्जन स्थलहरू वा मञ्चहरू वडापिच्छे पनि निर्माण गर्न सकिन्छ। ठूलो लगानी नै चाहिँदैन।

सडक,बत्ती, पानी, ढल, फोहोर आदि सम्बन्धि काम गर्नु त छँदै छ। तीबाहेकका उल्लिखित कार्यहरू पनि गरेर महानगरपालिकाले महानगरको मन जित्न सक्छ। नयाँ जोश जाँगर लिएर आएका नवनिर्वाचिन जनप्रतिनिधि छन्। वडाध्यक्षहरूले आफूलाई पार्टीको सीमामा मात्रै खुम्च्याउन थाले भने अपेक्षित काम सम्पन्न गर्न सजिलो हुँदैन। महानगरपालिकाको पहिलो बैठकमा वडाध्यक्षहरूले महानगरका समस्याहरू गम्भीर रूपमा प्रमुख, उपप्रमुखसमक्ष राखे र एकताबद्ध भई काम गर्ने उत्साह प्रस्तुत गरेका छन्।

दीर्घकालीन महत्त्वका उल्लिखित कार्यहरूतर्फ नवनिर्वाचित महानगरपालिका नेतृत्व एकजुट भएर अग्रसर रहन सक्यो भने ‘काठमाडौँ महानगर’ मुलुकको नमुना महानगर मात्र नभई विश्वकै लागि पनि आकर्षक सहर बन्न सक्ने छ। महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूद्वारा निर्वाचनपूर्व व्यक्त गरिएका प्रतिबद्धताहरूभन्दा खासै बाहिरका कुराहरू होइनन् यी।

उनीहरूले मूलतः ‘महानगरपालिका’प्रति आफूले निर्वाह गर्ने जिम्मेवारीका विषयहरूलाई उठाएका देखिन्छन्। त्यसका साथै ‘महानगर’ को गरिमालाई माथि उठाउनेतर्फ पनि उनीहरूले उत्तिकै महत्त्वका साथ कदम चाल्न सकेमा उनीहरूको कार्यकाल वास्तवमा ऐतिहासिक बन्न सक्ने छ। उनीहरूको आफ्नो कार्यकालको महानगरीय ‘भिजन’ यथार्थमा अनुवाद हुन सकोस्, शुभकामना!

प्रकाशित: २१ जेष्ठ २०७९ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App