संसारका सबैभन्दा धनी ठूला लोकतन्त्रवादी भनिने सम्पन्न सात (ग्रुप अफ सेभेन) नेताहरू यो हप्ता जुन ११–१३ बाट सुरु भएको तीनदिने शिखर सम्मेलनमा भाग लिन लन्डनबाट दक्षिण–पश्चिम कर्नवालमा अवस्थित कार्बिस बेको सानो कर्निस समुद्र तटमा अवस्थित रिसोर्टमा जम्मा भए। यो ४७औँ शिखर सम्मेलन हो जुन १९७० बाट सुरु भएको थियो। सन् १९७७ मा तेस्रो सम्मेलन आयोजना गरेको बेलायतले आयोजक राष्ट्र भएर सम्पन्न गरेको यो सम्मेलन छैटौँ हो।
हरेक वर्ष हुने गरेको यही ‘सम्पन्न सात’ (जि–७) को सम्मेलन सन् २०२० मा कोरोनाका कारण हुन सकेको थिएन। गत वर्ष अमेरिकामा हुनुपर्ने थियो यो सम्मेलन तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यक्षतामा। यो भेलाले विश्व राजनीति, अर्थतन्त्र र जलवायु परिवर्तनसम्बन्धी मुद्दामा छलफल गर्यो। विशेषतः कोभिड महामारीपछिको विश्व अर्थतन्त्रमा परेको ठूलो असरलाई ध्यान दिँदै महत्वपूर्ण कदम उठायो। यो सम्मेलनको औपचारिक नारा कोभिड–१९ महामारी र ‘एक हरियाली र अधिक समृद्ध भविष्य’ भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेका छन्। यो समूहमा युके, अमेरिका, क्यानडा, जापान, जर्मनी, फ्रान्स र इटाली सम्मिलित छन्। यसका साथै युरोपियन युनियन पनि संलग्न छ।
कोभिड–१९ महामारीको पहिला नै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जि–७ को यो शिखर सम्मेलनमा जलवायु प्रधान कार्यक्रम हुने भविष्यवाणी गरेका थिए। यही वर्षको नोभेम्बरमा बेलायतको ग्लासगोमा हुने कोप २६ को बैठकमा कार्बन उत्सर्जनलाई घटाउने र हरित उद्योगहरू विस्तार र प्रोत्साहित गर्ने महत्वाकांक्षी लक्ष्य प्राप्तिका लागि जि–७ को शिखर सम्मेलन एउटा महत्वपूर्ण आधार हुने विश्वास गरिएको थियो।
सम्मेलनबाहिर विरोधको स्वर
सम्पन्न सात राष्ट्र आफ्नो शिखर सम्मेलन मनाइरहँदा त्यसैको छेउमा विरोध प्रदर्शन पनि भए। विश्वका धनाढ्य भनेर चिनिएका त्यसका राष्ट्र प्रमुखहरूविरुद्ध भूमण्डलीकरणका नाममा धनी र गरिबबीच धेरै बढाएको वातावरणीय मुद्दालाई मात्र कर्मकाण्डीरूपमा देखाइएको विषयमा चर्को विरोध भयो। यद्यपि केही वातावरणविद् र अभियन्ताले संशय व्यक्त गरेका छन्। यो सम्मेलनले आर्थिक सुधारको परिणामिक योजनाहरूलाई जलवायु परिवर्तनसम्बन्धी मुद्दाले विषयान्तर गर्ने बताइरहँदा केही विशेषज्ञले यो शिखर सम्मेलनले वास्तवमा मान्छेका वातावरणसम्बन्धी चाहना र जिज्ञासालाई अझ सशक्तरूपमा सम्बोधन गर्ने बताइरहेका छन्।
खोपको विश्व राजनीति
विकसित राष्ट्रहरूले दिने भनेको एक अर्ब खोप अपुग हुने बताइएको छ। यो पुग्दासम्म अरू कोरोना भाइरसका नयाँ प्रजाति देखापर्नेछन् यसले विश्वबाट पूरै भाइरस निमिट्यान्न पार्न अप्ठ्यारो पर्नेछ। जबसम्म विश्वका सबै जनताले पूर्णरूपमा भ्याक्सिन लगाउन पाउँदैनन् तबसम्म यो विश्व समस्या रहि नै रहनेछ। धनी राष्ट्रहरूले गरिब राष्ट्रलाई तुरुन्त यो भ्याक्सिनको व्यवस्था गर्नु नै सबैभन्दा ठूलो बुद्धिमानी हो।
यो शिखर सम्मेलनमा कमसेकम १५ प्रतिशत वैश्विक न्यूनतम करको प्रस्ताव गरिएको छ। अमेरिकाका बहुराष्ट्रिय कम्पनीहरूको उचित कर व्यवस्थापन गर्न संसारभरिबाट आवाज उठिरहेका छन्। तिनीहरूले कर्पोरेट ट्याक्समा गर्ने गरेका छलीका विश्व समाचारहरू यतिखेर चर्चाको शिखरमा पुगेका छन्। यो करलाई व्यवस्थित गरेर कम्तीमा १५ प्रतिशत लगाउन सकेको खण्डमा त्यो पैसाले विश्वका धेरै मध्यमवर्गीय मान्छेमा उनीहरूको शिक्षा स्वास्थ्यमा खर्च गर्न सकिने थियो भन्ने आवाज मुखरित भएको छ।
संयुक्त राष्ट्र संघका महासचिवको चेतावनी
सम्पन्न सात राष्ट्रको शिखर सम्मेलनको संघारमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले बेलायतको प्रसिद्ध पत्रिका दि गार्जियनलाई जुन ११ मा दिएको अन्तर्वार्तामा जलवायु संकट त्यस्तो विन्दुमा पुगेको छ जसबाट फर्किने ठाउँ नभएको बताएका छन्। कोरोनाको विश्व महामारीपछि पनि धनी राष्ट्रहरूले स्वच्छ नवीकरणीय ऊर्जाको तुलनामा अरबौँ डलर पारम्परिक जीवाष्म इन्धनमा खर्च गरेकामा दुःख व्यक्त गरेका छन्। धनी राष्ट्रलाई चेतावनी दिएका छन्।
हालैको एउटा विश्लेषणअनुसार जि–७ राष्ट्रहरूले पारम्परिक तेल, कोइला र ग्यासका कम्पनीहरूलाई १८९ बिलियन सहयोग गरेका बताइएको छ। त्यस्तै विमान र मोटर कम्पनीहरूको उद्धारका लागि कोरोनापछि धेरै सहयोग गरेको देखिन्छ यो नवीकरणीय ऊर्जामा गरिएको सहयोग भन्दा चालीस बिलियनले बढी मानिन्छ।
कोप २६ को आसन्न सम्मेलन र चुनौती
विश्वको भयाबह वैश्विक तापमान वृद्धिलाई रोक्न हामीसँग मात्र नौ वर्ष बाँकी छ। सन् २०२१ को नोभेम्बरमा हुन गइरहेको कोप २६ को विश्व सम्मेलनले मौसम परिवर्तनको दुष्प्रभावलाई रोक्न छेक्न धेरै महत्वपूर्ण नीतिनियमहरू तर्जुमा गर्ने बताइएको छ। स्कटल्यान्डको ग्लासगोमा हुने संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन कोप २६ बेलायतले गर्दैछ। विश्वका २०० सरकार सामेल हुने उक्त विशाल भेलाबाट धेरै अपेक्षा राखिएका छन्।
बेलायतको कार्बन उत्सर्जन अझै पनि धेरै बढी मानिन्छ। विश्वका धेरै ऊर्जा उत्सर्जन गर्ने देशमा बेलायत पनि पर्छ। त्यसैले कार्बन उत्सर्जन घटाउनमा बेलायतले आफ्नो ठाउँबाट पनि ठूलो भूमिका निभाउनुपर्ने देखिन्छ। कोप २६ को आयोजक राष्ट्रका रूपमा बेलायतले खेल्ने भूमिका विश्वका लागि एउटा प्रेरणा बन्नुपर्छ।
ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियस भन्दा तल सीमित गर्नका लगि हरेक राष्ट्रले आफ्नो कार्बन उत्सर्जन घटाउनु अनिवार्य छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसामु कार्बन उत्सर्जन घटाउने यो वैश्विक कार्यको अगुवाइ गर्ने ठूलो चुनौती खडा भएको छ। एउटा नमुना नेताका रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने देखिएको छ। तर दुर्भाग्य पहिलो गाँसमै ढुङ्गा भनेझैँ बेलायतका प्रधानमन्त्री जोन्सन सम्मेलनमै आलोचनाको शिखरमा पुगेका छन्।
लन्डनबाट शिखर सम्मेलनको स्थलसम्म कार्बन उत्सर्जन घटाउने नमुना देखाउँदै सार्वजनिक रेल या कारमा जानुपर्ने उनी निजी जेटमा हुइँकिएपछि सबैको उपहासको पात्र बनेका छन्। वातावरण अधिकारकर्मीहरूले उनलाई चेतावनी दिँदै भर्खरै कमरिया क्षेत्रमा एउटा नयाँ कोइलाखानी र उत्तरी सागरमा तेल र ग्यासको खोजका लागि नयाँ लाइसन्सको मन्जुरी दिएकामा ध्यानाकर्षण गरेका छन्। दशौँ हजार मान्छेले याचना दर्ता गरेका छन्। विश्वसामु आफ्नो कुशल नेतृत्वलाई चिनाउने मौका यतिखेर बेलायतका प्रधानमन्त्रीलाई छ। एउटै वर्षमा विश्वका धेरै राष्ट्रको शिखर सम्मेलन गर्ने मौका उनलाई मिलेको छ।
विश्वका धनी राष्ट्रहरूले यतिखेर कोभिडविरुद्धको खोप लगभग लिइसकेका छन्। उनीहरूले आफ्नो देशलाई आवश्यक पर्ने भन्दा कैयौँ गुणा बढी खोप अर्डर गरेर थुपारेका छन्। अर्कातिर गरिब राष्ट्रका जनता खोप औषधि अक्सिजन नपाएर अकालमा मरिरहेका छन्। यो महारोग विश्वबाट निमिट्यान्न नभएसम्म कोही पनि सुरक्षित नरहने हुँदा धनी राष्ट्रहरूले ठूलो दिल गरेर गरिब राष्ट्रहरूलाई तुरुन्त खोप उपलब्ध गराउनुपर्छ। यसको नेतृत्व सम्पन्न राष्ट्रहरूको शिखर सम्मेलनमा बेलायतका प्रधानमन्त्रीले गर्नुपर्ने देखिन्छ।
त्यस्तै विश्वलाई दिँदै आएको आर्थिक सहयोगमा कटौती गरिएको विषय पनि ठूलो चिन्ताको विषय भएको छ। गरिब राष्ट्रहरूलाई दिइने यसप्रकारको सहयोग राशी कोभिड महामारीपछि अझ बढाउनुपर्ने ठाउँमा दिँदै आएको रकम पनि घटाउनु अत्यन्त दुःखद विषय हो।
वातावरण परिवर्तनको विश्व चुनौती
जलवायु परिवर्तन मानव जातिका लागि सबैभन्दा ठूलो खतराको घन्टी भएर झुण्डिरहेको छ यतिखेर। चरम मौसमका डरलाग्दा विश्व घटनाले विश्वका सबैलाई त्रसित बनाएको छ। यस्ता घटनाले मान्छेलाई गरिबीमा धकेलेको छ दिनानुदिन। यस्ता वैश्विक चुनौतीलाई सामूहिकरूपमा सामना गर्नुपर्ने हुन्छ। विश्वका धनी राष्ट्रले आफ्नो ठाउँबाट सक्दो सहयोगका हात बढाउनुपर्ने देखिन्छ। यस्ता सम्मेलनले त्यस्तो प्रेरणा दिन सक्नुपर्छ। हरेक युवा पिँढी वातावरण पर्यावरणकर्मी सबैले मानव जीवनको उत्थानका लागि कार्बन उत्सर्जनको महत्वलाई समयमै बुझेर विश्व तापमान घटाउने प्रतिबद्धतामा एकजुट हुनुपर्छ।
प्रकाशित: २ असार २०७८ ०२:५६ बुधबार