४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

खस्कँदैछ देशको साख

शुभाशयबाट प्रेरित भएर प्रारम्भ गरिएको कार्यको समापन राम्रै हुन्छ। समय लागे पनि तोकिएको उद्देश्य प्राप्ति हुने निश्चित हुन्छ। दुराशयबाट प्रेरित स्वार्थी मनोवृत्तिबाट थालिएको कार्यको नियति भने निश्चय नराम्रै हुन्छ। उद्देश्य प्राप्ति पनि अनर्थकारी नै हुन्छ। असल कार्य सफल हुन धेरै समय लाग्छ, तर त्यो चिरस्थायी हुन्छ। खराब कार्यले तत्काललाई सफलता दिए पनि स्थायी पनि हुँदैन र राम्रो पनि हुन्न। यसै सूत्रलाई हृदयङ्गम गरी हेर्ने हो भने अहिले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रका चित्र हाम्रोसामु छर्लङ्ग हुन्छन्। नेतृत्व गर्ने वर्गको सिद्धान्तमा स्थिरता छैन। यिनमा सुझबुझ र दूरदृष्टि रत्तिभर देखिएन। देश जनतालाई समृद्ध बनाउँ्क भन्ने ठ्याम्मै भएन। 'आफैँ बनौँ, आफन्तलाई बनाउँ्क' भन्ने भावना मात्र तीव्रतर रहेछ। भरपुर स्रोत साधन सम्पन्न हुँदाहुँदै पनि उद्योग धन्दा नसुधि्रनाले युवा वर्ग प्रतिदिन विदेश पलायन हुनु परिरहेछ। बौद्धिक वर्ग उचित स्थान र मानका लागि विदेशतर्फ उन्मुख भइरहेछ। भएको धन पनि विदेशिइरहेछ। देश खोक्रो हुने स्थिति बन्दैछ। त्यस्तै न शैक्षिक स्थिति राम्रो छ। सामाजिक अवस्था पनि दिनानुदिन विशृङ्खल बन्दै आउँदैछ।

समस्या गुरुमन्त्रमै
मुख्य कुरो एकता, स्थिरता सामञ्जस्यता आउनुपर्नेमा जातीय क्षेत्रीय विभाजनतिर देश उन्मुख भइरहेछ। सबैतिर विभाजन ल्याएर शासन गर्ने साम्राज्यवादी निरङ्कुशतावादी रणनीति नै अहिलेका नवनेताहरुको गुरूमन्त्र बनिरहेछ। कति लामो प्रयासले कति ठूलो दुःख कष्टले यो देशको एकता स्थिरता कायम हुन आएको र धेरै कालको अन्तरालमा ऐतिहासिक सांस्कृतिक परम्पराले देशमा सामञ्जस्य एकता स्थापित हुन आएको हो। सार्वभौम सत्तासम्पन्न स्वतन्त्र देशको राष्ट्रियताको जग बसेको हो। नभए त अढाई सय वर्षअगाडिको कालखण्डमा नेपाल यति सङ्कुचित हुँदै आएको थियो कि नेपाल खाल्डोमात्र नेपाल भनिन्थ्यो। त्यो पनि छुट्टाछुट्टै राज्यले आफ्नो आफ्नो नाम वतन अलग अलगै राख्ने परिपञ्चमा पर्दा झण्डै झण्डै नेपालको नामै हराउला जस्तो भइसकेको थियो।
परन्तु नेपालको एकता प्रकृति हो र विखण्डन विकृति थियो। यसैले नेपाली जनको मानसपटलमा एकता राष्ट्रियताको भावना छाप बनी बसिरहेकै थियो। बेला मौकामा प्रस्फुटित पनि हुँदै थियो। यसलाई उद्घाटन गरी कार्यरूपमा ल्याउने कुशलशिल्पी निर्माताको आवश्यकता सबै नेपाली जनताको मनले महसुस गरिरहेकै थियो। विखण्डनको सिलसिला सुरु हुँदाताका सोह्रौ शताब्दीको उत्तरार्द्धमा भएका गोरखाका राजा राम शाहले लिएको गिरिराज चक्रचूडामणि (पर्वतीय राजाहरुमा सर्वश्रेष्ठ) भन्ने प्रशस्तिका पंक्तिले पनि प्रकट गरेको छ।
यसको करिब सय वर्षपछि भएका गोरखाका राजा पृथ्वीनारायण र उनका छोरा नायव बहादुर शाहको नेतृत्वमा उनकै प्रेरणा र प्रोत्साहन पाएका साधिएका वीर सपुतको अनवरत् प्रयासले बाउन्न ढुंगामा विभाजित यो राष्ट्र क्रमैले सात दशकमा विशाल हिमाली साम्राज्यमा परिणत हुन आयो। नेपालीको मनमा अद्वितीय जागरण राष्ट्रियताको भावना जनताप्रतिको असीम आस्था समर्पण भाव उद्वेलित नभएको भए यस्तो हुनु सम्भव थिएन। पहिले विदेशी मुगलको र अंग्रेजको शक्तिलाई परास्त पारेर मात्र यो एकीकरण कार्य सरल भएको हुनाले त्यसबेला उदीयमान विदेशीका राजनीतिकर्मी वा व्यापारी, व्यवसायीलाई पनि नेपाल पस्नमा सख्त मनाही गरिएको थियो।
यसो हँुदाहुँदै पनि पहिले चीनसँगको युद्धको वेग रोक्न कर्णेल विलियम कर्कपेटि्रक (वि.सं. १८४९) र पछि जोगी राजाले उठाएको घर झगडाले र चीनको प्रभाव रोक्ने उद्देश्यले कर्णेल विलियम डगलस नक्स ( वि.सं.१८५९ देखि १८६० सम्म) गरी दुई जना विदेशी कूटनीतिकर्मीले नेपाल प्रवेश पाएका थिए। कर्कपेटि्रक आइपुग्नुभन्दा पहिल्यै चीनसँग सम्झौता भइसकेको हुँदा एक महिना यहाँ बस्न नपाई बिदा गरिए। पछिल्ला कर्णेल नक्सले त इष्ट इण्डिया कम्पनीको कोठी खोल्न भनी त्यस बेलाका मुख्य शासक दामोदर पाण्डेहरुसँग लाख नेहोरा गर्दा पनि र मागे जति पैसा दिने लोभ देखाउँदा पनि सफल भएनन्। नेपालका राष्ट्रप्रेमी देशभक्त शासकबाट उल्टै दुष्कारिँदा तिरस्कृत भएर वर्ष दिन पुग्दा/नपुग्दै बिदा गरिए।
पछि नेपाल-अंग्रेज युद्ध हुँदा नेपालको सुदूर पश्चिमको युद्धमोर्चा समालेर बसेका बूढाकाजी वीर अमरसिंह थापालाई अंग्रेज अधिकारीले 'किन युद्ध लडेर व्यर्थै जनधन गुमाउँछौ, आऊ हामीसँग मिल, तिमीलाई तिमीले जिते जति पश्चिमी भूभागका राजा बनाइदिन्छौ' भने। अंग्रेजको यो प्रस्ताव बूढाकाजीले ठाडै अस्वीकार गरेर भने- हेर, आफ्नो राजा आफ्नो राष्ट्रको निकमहराम भएर गुलाम राजा हुनुभन्दा यस युद्धभूमिमा सके जितौंला नसके देशको बफादार इमानदार भएरै वीर सिपाहीसरह वीरगति प्राप्त गरौंला।
ब्रिटिस कम्पनीका अधिकारीले यस्तै साम, दान, दण्ड, भेद प्रयोग गर्दै भारतका धेरै राजा रजौटा नवावहरुलाई आफ्ना अधीन बनाएका थिए। पहिलेको पृथ्वीनारायणसँगको युद्धमा हार खाएपछि यस्तो प्रयोग गर्न भरमग्दुर प्रयास गरेकै हुन् तापनि वीर नेपालीहरुको असीम देशप्रेम उत्कट राष्ट्र भक्ति राष्ट्रियताका अगाडि ती प्रयोग ब्यर्थै भए। नेपाली शासकले त्यसबेला सर्वतन्त्र स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्रको ठूलो मान मर्यादा शानसौकत राखेको गौरव बढाएको थियो। तिनका अगाडि अहिले देशका शासकलाई के भन्ने? यिनको तुलना नै गर्न गाह्रो छ। यिनले आफ्नो शासकीय गुण गौरव त राखेनन् राखेनन्, देशको मान मर्यादा राष्ट्रियतालाई पनि मटियामेट पार्न लागेका छन्। समयको क्रममा राजनीति चातुरी र कूटनीतिक खेलमा पछाडि पर्दा पछि नेपालको अग्रेजसँगको युद्धमा हार भयो। नेपालले आठ बुँदे सुगौली सन्धिमा हस्ताक्षर गर्नुपर्योल। फलस्वरूप वि.सं. १८७३ देखि अंग्रेज रेजिडेन्ट नेपालमा रहने प्रथाको सुरुआत भयो। तत्कालीन बेलायती सरकारको कूटनीति भनेको नेपालको संस्कृति र इतिहास बिगार्ने, विभेदका भावना बढाउने राष्ट्रवादी शक्तिलाई समाप्त पारेर नेपालको राष्ट्रियता कमजोर पार्ने नै थियो।
तर पनि नेपाली अन्तर्मनमा राष्ट्रियताको चुरो मर्नेवाला थिएन। भीमसेन थापाले पछिल्लो कालमा आफ्नो भतिजाको नेतृत्वमा एक प्रतिनिधिमण्डल बेलायत पठाए। आठ सदस्यीय यस प्रतिनिधि मण्डलमा जङ्गबहादुर पनि थिए। कलकत्ता पुगेपछि प्रतिनिधि मण्डललाई बेलायतले राजप्रतिनिधिका रूपमा होइन, साधारण यात्रुका रूपमा व्यवहार गर्ने भयो भने पछि सो प्रतिनिधिमण्डल बेलायत नगई फर्केर आयो। देशको इज्जत मानमर्यादा नरहने भो भनेर।
शासक यस्ता पनि
एकपल्ट जङ्गबहादुर गभर्नर जनरल भेट्न कलकत्ता गए। त्यसबेला तिनको राजधानी त्यहीँ थियो। गभर्नर जनरलसँग भेटमुलाकात र भलाकुसारी भयो। फर्केर आएपछि प्रत्युत्तरमा गभर्नर जनरल पनि जङ्गबहादुरलाई भेट्न आउने भए। आउनुभन्दा अगाडि नै परराष्ट्र सचिव आएर शिष्टाचार सिकाएर गए। यो पनि भने कि गभर्नर जनरललाई आउँदा तल फाटक बाहिरसम्म गएर सम्मानसाथ ल्याउनुपर्छ आदि। नभन्दै गभर्नर जनरल आउने बेलामा उनी आफंै म लिन जान्छु भनेर घोडा लिएर हिँडे। गभर्नर जनरल आइपुगे, आवासमा जङ्गबहादुर छैनन्। पछि हतारिँदै जङ्गबहादुर आइपुगे। ए म ता आवाससम्मै लिन जाऊँ भनेर हिँडेको त बाटो बिरिएछ भन्दै साखिलै बने। यसरी उल्टै आघा घण्टा पर्खाइदिए। गभर्नर जनरल बेलायत सरकारको प्रतिनिधि, म स्वयं प्राइमिनिष्टर हुँ भने उनलाई मैले किन स्वागत गर्न तलसम्म जानेे भन्ने भाव जङ्गबहादुरमा थियो। उनले आफ्नो राज्य कालभर मान मर्यादा कायमै राखे, राज प्रतिनिधिकै सलामी पाए, ब्रिटिस अधिकारीले चाहेका सन्धि-सम्झौता टारेरै छाडे।
परन्तु वीरशमशेरले अंग्रेज सरकारका सबै माग पूरा गरे। उनले चाहे-चाहेका सन्धि-सम्झौता पनि गरिदिए। तर उनले त्यस्तो मान मर्यादा पनि पाएनन् र राख्न पनि सकेनन्। यहाँसम्म कि सामान्य सत्कार र उचित सलामीसम्म पनि दिइएन। साधारण भारतीय रजौटासरहको व्यवहार उनलाई गरियो। यसबाट उनी अति नै दुःखी थिए। वि.सं. १९६७ को वैशाखदेखि बेलायतमा जर्ज पञ्चम राजा भए। सो उपलक्ष्यमा दिल्लीमा दरबार लाग्यो। त्यस समारोहमा आमन्त्रित भएर नेपालबाट चन्द्रशमशेर गएका थिए। समारोहस्थल हलमा भारतका राजा रजौटा नवावहरुको पंक्तिमा चन्द्रशमशेरको स्थान निर्धारित गरिएको रहेछ। त्यो देखेर चन्द्रशमशेरले आफ्नो सिट छुट्टै पर सार्न लाएर एक्लै बसे। कूटनीतिज्ञले त बुझिहाले, नबुझ्ने र सोध्नेलाई उनले भने- उहाँहरु ठूला बडा राजघरानाका राजाका पंक्तिमा म प्राइमिनिष्टर बस्न अयोग्य छु। पछि अंग्रेज अधिकारीसँग तपार्इंहरुको यस्तै व्यवहारले हामीलाई खिन्न तुल्याएको छ। मेरा दाजु वीरशमशेर तपार्इंहरुकै यस्तै रवैयाले गर्दा अपमान बोधको पीर खप्न नसकी चाँडै स्वर्गे भएका हुन्सम्म भनेका थिए। अन्तिम राणा प्राइमिनिष्टर मोहन शमशेर पनि आफ्नो मानमर्यादा कायम राख्न बहुतै ख्याल राख्थे।
उस्तै थिए बीपी
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको त कुरै भएन। उनको त भारतमा मात्र होइन, विश्वमै छवि चम्किएको थियो। पश्चिमी जगत्मा पनि एसियाका प्रख्यात प्रधानमन्त्रीमा विश्वेश्वरको नाम अग्रपंक्तिमै आउँथ्यो। कुनै देशले पनि उनको मर्यादा राख्ने मानसम्मान दिने कुरामा कुनै कसर राखेन। दोस्रो पटक प्रजातन्त्र पुनर्बहाली भएपछिका प्रधानमन्त्रीले पनि भारतबाट राम्रै स्वागत सम्मान पाएका हुन्। आफ्नो देशको मान मर्यादा राखेकै हुन्। निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एसियाका राजनेताको छवि बनाएकै हुन्। मानमर्यादा कायम राखेकै थिए। उनी दिल्ली जाँदा पछिल्लोपल्ट पनि उनका समकक्षी स्वयं मनमोहन सिंह आएर स्वागत सत्कार गरेकै थिए। त्यस वेलासम्म नेपालको छवि अहिले जस्तो खस्केको थिएन।
परन्तु, अहिले यो क्रम भङ्ग भएको छ। नेपाली प्रधानमन्त्रीको विदेशमा त्यस्तो कुनै इज्जत मानमर्यादा राखिँदैन। उनीहरु वीरशमशेरका उत्तराधिकारीका रूपमा देखिन थालेका छन्। अहिले प्रधानमन्त्रीलाई स्वागत सत्कार गर्न सामान्य कर्मचारी वा सामान्य मन्त्री आउँछन्। देशका शासक मन्त्री/प्रधानमन्त्रीको मानमर्यादा हुनु भनेको उनकोमात्र होइन, देशको नै इज्जतको प्रतिष्ठाको सवाल हो। अहिलेका नेताहरुमा देशको छवि चम्कियोस् इज्जत बढोस् भन्ने कत्ति चिन्ता छैन, त्यसतर्फ प्रयत्न पनि छैन। आफ्नो सत्ता स्वार्थ पद प्राप्ति हुन्छ भने जेसुकै भन्न/गर्न तम्सन्छन्। सामान्य विदेशी कर्मचारीसँग पनि बडेबडे नेता हौं भन्ने पनि निहुरिन्छन्। खुसामद गर्न दौडिन्छन्। हाम्रो राष्ट्रियता दिन/परदिन कमजोर बन्दैछ। देशको इज्जत प्रतिष्ठा घट्दो छ। राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक आदि सम्पूर्ण क्षेत्रको स्थिति पनि यसरी नै खस्कँदो छ। सबैतिर लथालिङ्ग छ, देश कहाँ पुग्ने हो? बडो चिन्ताको विषय छ।


नेपाली जनवादी क्रान्तिको मुख्य काम सकियो, आर्थिक क्रान्तिमार्फत् बाँकी काम सक्ने एमाओवादी घोषणा र नेपाल अर्ध-सामन्ती र नवऔपनिवेशिक अवस्थामै रहेकाले जनविद्रोहमार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने नेकपा-माओवादीको ठम्याइ नै दुई महाधिवेशनका मुख्य भिन्नता हुन्।

प्रकाशित: ५ फाल्गुन २०६९ २३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App