१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

विदेशी हस्तक्षेपको परम्परा

नेपालमा करिब झण्डै दुई सय सत्तरी वर्ष अघिको ५०-५२ वटा जति ससाना राज्य थिए। तिनका बीचमा बारम्बार सन्धि र विग्रह भइरहन्थ्ये। देशको राजनीति व्यवस्थित नहुदा जनतामा आर्थिक सामाजिक व्यवहार सह्मालेर जीवन निर्वाह गर्न पनि कठिन थियो। त्यही बेला सानो राज्य गोरखाका राजाले नेपाल एकीकरणको अभियान आरम्भ गरेर देशमा शान्ति, सुव्यवस्था र सुशासन आशा जगाए। जनतामा एक किसिमको जागरणको सञ्चार हुन थाल्यो र एकताको अभियानले तीव्र गति लियो।
यसबेला सम्म छिमेकी भारतमा इस्टइन्डिया कम्पनीले व्यापारको जालो बिछ्याउनुका साथै शासन सञ्चालन पनि गर्न लागिसकेको थियो। गोरखाका पृथ्वीनारायणले राजा हुनेबित्तिकै वि. सं. १८०१ मा नुवाकोट जिते र भोटसँग गोरखाको सम्बन्ध बाँधियो। मकवानपुर जितेपछि बंगालका नबाब र इस्टइन्डिया कम्पनीका अंग्रेज सैन्यसँग पनि लडाइँ भयो। त्यो युद्ध जितेपछि पृथ्वीनारायणको छवि मुलुकबाहिर समेत चम्कियो। उनको एकीकरण अभियान सफलता हुन थाल्यो। कतै सानो ठूलो युद्ध वा मुठभेड भए पनि धेरै जसो बिनायुद्धै गोरखाको सीमा काठमाडौंदेखि सिक्किमसम्म पुग्यो। अनि पृथ्वी नारायणमा पश्चिममा विजय हासिल हुने विश्वास जाग्यो।
विशाल चीन र भारतबीचमा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र नेपाल राज्य कायम हुनेमा निश्चित भएर नै उनले यसको स्थिरता, एकता र स्वतन्त्रता कायम गरिराख्न राज्यले अवलम्बन गर्नुपर्ने परराष्ट्र नीति निर्धारण गरेका थिए। उनको नीतिको मूल मर्म यी दुवै ठूला छिमेकी राष्ट्रसँग मित्रता कायम गरेर असंलग्न र तटस्थ रही आफ्नो स्वतन्त्र अस्तित्व जोगाइराख्नु पर्छ भन्ने नै थियो। यो राज्य दुई ढुंगाको तरुलजस्तै पूर्व पश्चिम जति पनि बढ्न सक्छ, उत्तर दक्षिण बढ्न सक्दैन, बढ्ने कोसिस गनुर् पनि उचित हुन्न भन्ने भाव यस नीतिमा पाइन्छ। यो नीति नेपालका लागि अझै पनि उपयोगी र आवश्यक छ। यस बीचमा भोटसँग थोरै खटपट पर्दा पनि चीनसँग भिड्नु पर्योि। यही मौकाको फाइदा उठाएर अंग्रेजका दूत कर्कप्याटि्रक नेपाल प्रवेश गरे। त्यही बीच चीनसँग मेल भइसकेकाले अंग्रेको कूटनीति प्रयोग हुन भने सकेन।
पृथ्वीनारायण शाहको अवसानपछि देशमा एकीकरणको अभियान तीव्र पार्न सफल नायब बहादुर शाहलाई पन्छाई प्रेममा पागल बनेका राजा रणबहादुर शाहले ल्याइते रानीपट्टिका डेढ वर्ष नपुगेका साना छोरालाई राजगद्दीमा राखे। आफू भने जोगी बनेर नेपाल राज्यको शासकवर्गमा गृहकलहको विष रोपे। नाबालक राजापक्ष र स्वामी बनेका रणबहादुर पक्षको हानथाप हुँदाहुँदै मुलुक गृहयुद्धमा फस्यो। आखिर यहाँ टिक्न नसकी स्वामी महाराज दलबलसाथ काशीतिर लागे। तर उनी काशीमा ध्यान, धर्म गर्न गएका थिएनन्। आफैँले नियुक्त गरेका नाबालक छोराका पक्षमा रहेका मन्त्री भाइ भारदारलाई पन्छाउने खेलमा गुहार माग्न अंग्रेज अधिकारीकहाँ पुगे। अंग्रेजले त खोजेकै मौका भेट्टाए। मल्लकालदेखि नै काठमाडौंमा कोठी खोलेर नेपाल, भोट र भारतमा व्यापार सञ्चालन गर्ने तिनको धोको पृथ्वीनारायणको विदेशीबाट परै बस्ने नीतिले गर्दा पूरा हुनसकेको थिएन। निर्धालाई उचालेर बलियो सत्तालाई समाप्त पार्दै आफ्नो अधिकार कायम गर्ने अंग्रेजको कूटनीतिक खेल सुरु भयो। वि. सं. १८५८ साल कार्तिकमा नेपालले इस्ट इन्डिया कम्पनीसँग मैत्री सन्धिमा हस्ताक्षर गर्योोे। सन्धिअनुसार कर्णेल नक्स दूत बनी नेपाल आए। परन्तु, धेरै भारदारको असहयोगले कर्णेल नक्स असफल भए। कर्णेल नक्सले दामोदर पाण्डेलगायतका काजी सरदारहरूलाई मागे जति धन दिने प्रस्ताव पनि गरे। तर नेपाली शासकले त्यस्तो लालच नगरी हट्किदिएपछि अंग्रेज दूत करिब एक वर्षको नेपाल बसाइपछि वि. सं. १८५९ को फागुनतिर असफल भएर फर्के। सो सन्धि कार्यान्वयन हुन सकेन। आर्थिक प्रलोभनले काम नगरेपछि अगे्रज सरकार युद्धबाट मात्र नेपाललाई काबुमा ल्याउन सकिन्छ भन्ने निर्णयमा पुग्यो। वि. सं. १८७१ को कार्तिकदेखि नेपाल-अंग्रेज युद्ध सुरु भयो। युद्ध चम्किरहेको बेला सुदूरपश्चिममा सेनापति भई युद्ध सञ्चालन गरिरहेका बूढा काजी अमरसिंह थापालाई पनि अंग्रेजका कूटनीतिज्ञले लडाइँ छाडेर ‘नेपालसँग सम्बन्ध विच्छेद गर र हामीसँग मिल्न आऊ, हामी ठूलो राजपद दिने छौं' भनी प्रलोभन दिँदा त्यस्तो देशद्रोही काम मबाट ज्यान गए हुन्न भनी हट्किएका थिए। त्यस्ता धनसम्पत्ति र राजपदको प्रलोभनमा पनि नपर्ने ती पुराना वीर देशभक्त सपुतहरूको अवदानका कथा सुन्दा सम्झदा र अहिले पद, पैसा, प्रतिष्ठा पाउन देशको मायाममता त्यागी जस्तोसुकै काम गर्न पनि पछि नपर्ने नेपालका कतिपय नेताको जीवन चर्या देख्दा सुन्दा नेपाली सबैको मन पक्कै दुख्न थाल्छ। अहिलेका वरिष्ठ भनिने नेताको चरित्र देखेजानेका नयाँ पुस्तालाई त ती ऐतिहासिक पात्रका त्याग, तपस्या, आत्मबल, कर्तव्यनिष्ठाका राष्ट्रभक्तिका उदाहरण पौराणिक र काल्पनिक कथाजस्ता लाग्लान्।
विक्रम सम्वत् १८०० देखि १८७० सम्मका सात दशक नेपालको जागरण काल थियो। नेपाली मनमा उत्साह, उमंग र साहस व्याप्त थियो। देशको एकता र शान्ति सुव्यवस्थाका लागि देशभक्ति प्रेरित नेपालीहरू जीउज्यान दिएर अघि बढेका थिए। उता आफ्नो व्यापार फैलाउने तथा शासन सत्तामा पनि अघिकार जमाउने र एसिया महाद्विलाई साम्राज्यको जालोले कस्ने नीतिअनुसार कम्पनी सरकारको प्रभाव पनि जम्दै थियो। मुगल बादशाहको शक्ति क्षीण भइसकेकोले नबाबहरू र हिन्दु राजारजौटाको पनि शक्ति तोडिँदै थियो। अंग्रेजको बढ्दो आकांक्षा र कूटनीतिक चलखेलका अगाडि नेपालका तात्कालिक शासकले असंलग्न परराष्ट्र नीतिको मर्म अनुसार खेल्न नसक्ता नेपाल अंग्रेजसँग युद्धमा होमियो। झन्डै १८ महिना चलेको यस युद्धमा नेपालले आफ्नो एक तिहाइ भाग गुमायो। वि. सं. १८७२ को फागुनमा भएको सुगौली सन्धिले युद्ध विराम त भयो तर नेपालीको हृदयले कहिल्यै नचाहेको अंग्रेज रेजिडेन्टले राजधानीमै घर जमाएर बस्न पाउने भयो। नेपाली सेनालाई तालिम दिँदै आएका अमेरिकी र फ्रान्सेली सेनाले पनि त्यसपछि अंग्रेज सरकारको सहमतिबिना उक्त कार्य गर्न नपाउने भए। अर्थात् नेपालमा अंग्रेज सरकारको मात्र प्रभाव रहने भयो।
यस युद्धमा नेपालीको भौतिक हार भए पनि मानसिक हार भएको थिएन। कुनै न कुनै अवसर छोपेर गुमेको भूमि फिर्ता ल्याई छाड्छौँ भन्ने जोस जाँगर कायम थियो। साहस मरेको थिएन। राज्यमा सर्वशक्तिमान् बनेका जर्नेल भीमसेन थापा सुरुमा त सैन्यशक्ति बढाएर चीनको सहयोगमा अंग्रेज सरकारसँग जुध्ने योजनामा दिलो ज्यानले लागिपरे। तर चीनको सहयोगमा नपाउँदा उनको मनको धोको मनैमा रह्यो। उनको आडभरोसा बनेकी विधवा रानी त्रिपुरासुन्दरी वि.सं. १८९० मा बितेपछि भने भीमसेन थापा दरवारभित्र अत्यन्त अप्रिय भए। वि. सं. १८९६ श्रावणमा आफैँ सेरिएर उनको जीवनको अन्त्य भयो। त्यसपछि चाँैतीस वर्षदेखि पर पारिएका पाँडे परिवारको उदय भयो। यिनमा ब्रिटिस विरोधी भावना र राष्ट्रियताको माया नसानसा थियो। दामोदर पाण्डेका छोरा रणजंग पाण्डेले यस समूहको नेतृत्व गरेका थिए। हुन्छ भने वार्ताको माध्यमले कम्पनी सरकारले खोसेका भूमी फिर्ता माग्नुपर्योत नभए चीन बादशाहदेखि बर्मा, अफगानिस्तानसम्मका र सारा भारतभरका राजा रजौटा नबाबसँग मिलेर ब्रिटिस सरकारलाई एसियाबाटै फर्काउनु पर्योय भन्ने योजना बनाएर यिनले काम सुरु गरे। यही योजनाअनुसार सर्वत्र नेपालक दूत प्ाठाइए। चतुर अंग्रेज रोजिडेन्ट ब्रायन हडसन गोप्य मन्त्रणाबाट बेखबर किन हुन्थे र? उनले केही कामदार र केहीलाई गोप्य रूपमा तैनाथ गरेर जासुसीको जालो बिच्छयाइसकेका थिए। यस्ता भेदियाले नेपालको योजना खोलिदिँदा इस्ट इन्डिया कम्पनीको सोझै हस्तक्षेप भयो। सबैतिरका नेपाली दूत हटाइए र अब त्यस्ता दूत गंगापार पठाउन मनाही गरियो ।
वि. सं. १८९७ को कार्तिक महिनामा कट्टर राष्ट्रवादी शक्तिलाई पन्छाएर इस्ट इन्डिया कम्पनीप्रति नरम नीति लिने व्यक्ति सम्मिलित मन्त्रिपरिषद्को गठन गरियो। नेपालमा विदेशी शक्तिको प्रत्यक्ष हस्तक्षेपद्वारा गठन गरिएको यो पहिलो सरकार थियो । चौतरिया फत्यजंग शाह यस मन्त्रिपरिषद्का मुख्तियार थिए। उनी अंग्रेज रेजिडेन्ट ब्रायन हडसनसँग मन्त्रिपरिषदबाट गर्ने निर्णयका बारेमा समेत अग्रीम छलफल गर्ने गर्थे। नेपाल दरवारका हरेक निर्णयमा हडसनको सरोकार रहन्थ्यो।
अंग्रेज रेजिडेन्टको हस्तक्षेप अचाक्ली भयो भनेर उनलाई हटाउन नेपाली राजा र प्रजाको एकमत हुदाँ पनि आफ्नो काम बाँकी छ भनेर रेजिडेन्ट हडसनले नेपाल बसाइ लम्याएका थिए। रेजिडेन्ट हडसनले राजा राजेन्द्रकी कान्छी महारानीलाई हातमा लिएका थिए। रेजिडेन्टकै सहयोगमा आफ्ना छोरा रणेन्द्रलाई राजगद्दी दिलाउन कान्छी रानी पनि कसिएकी थिइन्। यही दरबारी कलहले विदेशीको हात माथि भएको थियो। जेठा युवराज सुरेन्द्रलाई हटाएर राजकुमार रणेन्द्रलाई राजा बनाउन सक्ने समर्थवान ठानेर रानीको ठूलो आग्रहले राजाले भारतमा निर्वासित माथवरसिंह थापालाई बोलाए। वि. सं. १९०० को मंसिरमा उनलाई मुख्तियारी पनि दिए। अधिकारमा पुगेका उनले शत्रु साधना गर्ने आदेश पाएपछि पाण्डे वंको निमासाङ्ली गराए। यस निर्मम हत्याकाण्डमा मारिने ४० जना जती पाण्डेमा नाबालक पनि थिए। यस काण्डपछि नेपाली राष्ट्रियताको चुरो मर्दै गयो। हरेक क्षेत्रमा विदेशीको मुख ताक्नुपर्ने स्थिति आयो, विदेशीकै प्रभाव बढ्न लाग्यो र राष्ट्रवादी शक्तिले शिर उचो पार्ने दिन गए। अंग्रेज रेजिडेन्ट पनि आफ्नो काम सिद्ध पारेर फर्के।
वि. सं. १८९७ मा अंग्रेज रेजिडेन्ट ब्रायन हडसनको प्रत्यक्ष संलग्नतामा चौतरिया फत्यजंग शाहको नेतृत्वमा बनेको सरकारको समयदेखि अहिलेसम्म १७२ वर्ष बितिसकेको छ। यस अवधिभित्र विदेशी हस्तक्षेप र चलखेलले पनि विभिन्न स्वरूप लिएको छ। विसं २००७ सालपछि चाहिँ विदेशी हस्तक्षेप र संलग्नता गोप्य विषय रहेन। बिस्तारै वैदेशिक शक्ति केन्द्र पनि बढेर गए। तिब्बत विवाद सुरु भएपछि नेपाल पश्चिमा शक्तिका लागि केबल साहसिक पर्यटन तथा हिमालय आरोहण गर्ने मुलुकमात्र रहेन। यो सामरिक दृष्टिकोणले पनि महत्वपूर्ण क्षेत्र बन्न पुग्यो।
विदेशी हस्तक्षेप र संलग्नता राजनीतिमा मात्र हुँदैआएकोमा अव देशको संस्कृति, परम्परा तथा भाइचारामाथि पनि हुन थाल्यो। अहिले अवस्था कस्तो छ भने विदेशी शक्ति केन्द्रसँग सम्बन्धित नभएका उच्च तहका कर्मचारी, राजनेता वा नागरिक समाजका अगुवा पाउन शिला खोज्नुपर्ने अवस्था आएको छ। अहिले आएर नेपालमा यस्तै विदेशी हस्तक्षेप र चलखेलबाटै सरकार गठन भएको भनिदैछ। सरकारबाट भएको संविधान सभाको अवसानदेखि लिएर अन्य धेरै निर्णय पनि विदेशी हस्तक्षेप र चलखेलकै आडमा भएको आरोप आफ्नै पार्टीका सहयात्रीले समेत लगाउँदै आएका छन्। नेपालीको आत्मसम्मान जगाउने, आत्मबल बढाउने आफ्नो इतिहास, धर्म, संस्कृति र परम्परालाई पूरै उपेक्षा गरी सबै क्षेत्रमा पराईको मुख ताक्ने प्रवृत्ति मौलाउँदै छ। राष्ट्र, राष्ट्रिय सम्मान, राष्ट्रिय अखण्डता, स्वतन्त्रताको मर्ममै प्रहार गरिँदाछन्। दामोदर पाण्डे वा बूढा काजी अमरसिंह थापाको राष्ट्रभक्तिका गाथा इतिहासका पुस्तकमा सीमित रहे। अब पनि देश र देशवासीलाई सर्वोपरि मानेर देशका कर्णाधार बनेका नेता र बौद्धिक वर्गले नसोच्ने हो भने यस्तो विदेशी हस्तक्षेपले देशको अस्मितामा आँच आउने निश्चित छ। विदेशतिर हेरेर स्वदेश देखिँदैन ।

प्रकाशित: २० असार २०६९ २३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App