९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

शक्तिको दुरुपयोग

संयुक्त राष्ट्र संघका संस्थापक राष्ट्र ब्रिटेन र अमेरिका जस्ता ‘शक्तिशाली’ मात्र थिएनन्, सिरिया, एल साल्भाडोर, हाइटी र फिलिपिन्स जस्ता कमजोर पनि थिए। तराईका जमिन्दार र पहाडका तल्सिङका इच्छामा थानेदारहरूले ‘निसाफ’ गरेझैँ अमेरिकामै प्रधान कार्यालय भएको राष्ट्र संघले अमेरिकी स्वार्थलाई उच्च महत्व दिँदै आएको पाइन्छ। त्यसैले राष्ट्र संघ भनेकै अमेरिका हो भन्ने राष्ट्र धेरै छन्। हुन पनि हो, राष्ट्र संघ विवादरहित हुन सकेन। नेपालकै सन्दर्भमा पनि २०६२/०६३ सालको ‘परिवर्तन’ पहिले र त्यसपछिका वर्षहरूमा युनएनडिपी  (संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम) विवादग्रस्त बन्यो।

राष्ट्र संघसँग गाँसिएका संस्थाहरू आइएइए, युएनएचसिआर, युएनडिपी, विश्व खाद्य कार्यक्रमलगायतका गतिविधिले आलोचना बढाएका प्रशस्त उदारहण छन्। इराकले आधुनिक आणविक हतियार बनाएको अमेरिकी आरोप सदर गर्दै राष्ट्र संघले प्रस्ताव पारित गरेपछि बल प्रयोगद्वारा इराकको तेजोबध गरियो। राष्ट्रपति सद्दाम हुसेनको हत्या गरियो। अर्बौँ डलरको क्षति भयो। हजारौँ निर्दोष मानिस मारिए। सन् २००३ मा अमेरिकी सेना पसेपछि इराक तहसनहस भयो। कालान्तरमा, आणविक हतियार भएको प्रमाण फेला परेन। ऊबेलादेखि धेरै लेखक, कूटनीतिज्ञ र विद्वान्–विदुषीले प्रश्न गर्दै आएका छन्– राष्ट्र संघ संसारको अभिभावक हो कि अमेरिकाको टु–आइ–सी (सेकेन्ड–इन–कमान्ड) ?

फ्रान्सका शक्तिशाली राष्ट्रनायक चाल्र्स दे गालले ‘अमेरिकी हतियार’ भन्दै धेरै साल पहिले राष्ट्र संघको सातो लिएका थिए। कंगो समस्यामा अमेरिकी दबाबबाट राष्ट्र संघलाई मुक्त गर्न कम्युनिस्ट राष्ट्रबाट एक असंलग्न राष्ट्र समूहबाट एक र पश्चिमी राष्ट्रबाट एक जना गरी तीन जना महासचिव राख्न तत्कालीन युएसएसआरले प्रस्ताव राखे पनि त्यो अस्वीकृत भयो। अफ्रिका तथा ल्याटिन अमेरिकाका केही लेखकले राष्ट्र संघका बारेमा लेखेका पुस्तक तथा आलेखमा तटस्थ हुन नसक्दा राष्ट्र संघले विश्वासनीयता गुमाइरहेको विश्लेषण गरेका छन्। यसलाई अतिरञ्जित र मिथ्या मान्न सकिँदैन।

नेपाल संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा दुईपटक अस्थायी सदस्य भयो, पञ्चायतकालमा। राजा महेन्द्र तथा राजा वीरेन्द्रको शासनकालमा नेपालले पाएको भूमिका तथा प्रसिद्धि बहुदलीय व्यवस्थाको स्थापनापछि खुम्चिँदै गयो। दिल्लीको दबाब सहजरूपमा स्वीकार गर्ने प्रवृत्ति बढ्यो। गणतन्त्र घोषणापछि नेपाली कूटनीति भीख माग्ने भाँडो भयो भन्दै पुराना कूटनीतिज्ञहरूले टर्रो टिप्पणी गरिरहेका छन्।

गुन्द्रुक पकाउने कि पुलाउ, घरज्वाइँको इच्छामा हुँदैन। त्यस्तै, अमेरिका जे भन्छ, त्यो लुरुलुरु मान्न बाध्य छ राष्ट्र संघ।

संयुक्त राष्ट्र संघमा भाग लिने पहिलो प्रतिनिधिमण्डलका सदस्यहरूबाट केही सुन्ने–जान्ने इच्च्छाले ऊबेलाका कूटनीतिज्ञ खोज्दा प्रा. केशरबहादुर केसी (कमलपोखरी, काठमाडौँ) भेट्ने मौका मिल्यो। हिँडडुल गर्न नसक्ने, कान कम सुन्ने र आँखा कमजोर भए पनि स्मरणशक्ति राम्रै रहेछ। ‘लक्ष्मीप्रसाद देवकोटा मेरा विद्यार्थी हुन्’ भन्दै उनले पुराना प्रसंग सुनाए। परराष्ट्रमन्त्री चूडाप्रसाद शर्मा (ढुंगाना) द्वारा राष्ट्र संघलाई सम्बोधन गर्ने लिखित भाषण राजा महेन्द्रले राजदरवारमा अध्ययन गरेर केही थप÷घट गरिएकालगायतका कुरा सम्झिए, केसीले।

‘प्रतिनिधिमण्डलका नेता चूडाप्रसादजी हुनुहुन्छ, सबैले उहाँको निर्देशनमा काम गर्नू’ भन्ने राजा महेन्द्रको हुकुम सम्झिए केसीले। बत्तीसपुतलीस्थित निवासमा पंक्तिकारसँग कुराकानी गर्दै ‘ज्युँदा सहीद’ रामहरि शर्माले भनेका थिए– हामी त राजा त्रिभुवनका पालादेखि काम गरेका मान्छे। त्यसैले महेन्द्र सरकारबाट पुराना मानिसलाई ‘तपार्इँ’ सम्बोधन हुन्थ्यो।

विश्वसँग प्रतिस्पर्धा गर्दा आवश्यक स्तरीय जनशक्ति चाहिन्छ भन्ने बुझेर राजा महेन्द्रले शिक्षामन्त्री लक्ष्मीप्रसाद देवकोटालाई भनेछन्– ‘कविजी, अलि रमणीय ठाउँ खोज्नुहोस्। विश्वविद्यालय खोल्नुपर्छ।’ देवकोटालाई कीर्तिपुर मन प-यो। किसानलाई क्षतिपूर्ति दिएर अरूतिर सारियो र त्रिभुवन विश्वविद्यालय खोलियो।  

‘पैसाले पुगेन भन्ने खबर पुग्यो दरवारमा। राजा त्रिभुवनका दुई जना रानी कान्ति र ईश्वरीले आफ्ना गहना बेचेर सोह्र लाख रुपियाँ जुटाइदिए। उच्चस्तरका जनशक्तिले विश्वास नेपाललाई परिचित गराउन् भन्ने राजा महेन्द्रको इच्छा थियो’– प्रा. केसीले सुनाएका थिए।

शक्ति दुरुपयोगका कथाहरू प्राचीन ग्रन्थहरूमा पनि पाइन्छन्। महादेवले भष्मासुरलाई दिएको शक्ति उनैमाथि प्रयोग गर्न खोजेको कथा सनातनकालदेखि नै प्रसिद्ध छ। चरम स्वार्थ, घृणा, तिरस्कार, दम्भ तथा दुर्दनीय चरित्रका कथाहरू हामीले केटाकेटी उमेरदेखि सुन्दै आएका छौँ। नेत्रहीन धृतराष्ट्र शासनका लागि अयोग्य भएको हुँदा पाण्डुलाई राजा बनाइएको प्रसंगबाट सुरु हुन्छ, महाभारतको कथा। युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवलाई दुर्योधनले ‘पाँच गाउँ’ समेत नदिने निर्णय गरेपछि श्रीकृष्णले कौरवको तुजुक धुलिसात तुल्याउन महाभारत युद्धको योजना बनाउँछन्। त्यो असत्यमाथि सत्यको हमला थियो। राजधर्मले स्वीकृत गरेको बाटो थियो। शक्तिको दुरुपयोगबाट परित्राण दिने अमोघ अस्त्र थियो।

अमेरिकी लेखक पेट्रिसिया कर्नवेलको कथन घतलाग्दो छ– ‘सबै कुकृत्यको मुहान नै शक्तिको दुरुपयोग हो’ तर धेरैले बुझ्दैनन्, राज्यसत्ता र शक्ति अस्थायी हो। राष्ट्र संघ होस् वा ‘भिटो पावर’ भएका पहलमान राष्ट्रहरू, अन्तर्राष्ट्रिय कानुन तथा विश्वव्यापी मान्यताको पालना गरेनन् भने ती बदनाम हुन्छन्।

ऊबेलादेखि धेरै लेखक, कूटनीतिज्ञ र विद्वान्–विदुषीले प्रश्न गर्दै आएका छन्– राष्ट्र संघ संसारको अभिभावक हो कि अमेरिकाको टु–आइ–सी (सेकेन्ड–इन–कमान्ड) ?

विश्व अभिभावकविहीन बन्दै गएको छ। चर्चिल, आइजनहावार, मार्सल ब्रज टिटो वा नेल्सन मन्डेला जस्ता नेता विरलै छन्। राष्ट्र संघको नेतृत्व पछिल्ला वर्षहरूमा घरज्वाइँ भन्दा फरक छैन। गुन्द्रुक पकाउने कि पुलाउ, घरज्वाइँको इच्छामा हुँदैन। त्यस्तै, अमेरिका जे भन्छ, त्यो लुरुलुरु मान्न बाध्य छ राष्ट्र संघ।

यमन, सिरिया, इराक, कुवेत, इजिप्ट र अरु कैयन् राष्ट्रमा प्रायोजित क्रान्ति गराउनेहरूकै मतियार बनेर राष्ट्र संघले आफ्नो पहिचान गुमाइरहँदा शक्ति राष्ट्रहरू फुरुक्क परेका होलान् तर राष्ट्र संघका बहुसंख्यक सदस्य निराश छन्। लेवनान, सुडान, प्यालेस्टिनी विवाद, कंगो, सियरालियोनलगायत धेरै प्रश्नमा राष्ट्र संघ स्पष्ट देखिएन। ‘सम्धी आउँदा केरा पाकेन, केरा पाक्दा सम्धी आएनन्’ भनेझैँ समय र घटनाक्रमबीच तारतम्य नमिल्दा ‘बाँदरको पुच्छर, लौरो न हतियार’ बन्दैछ राष्ट्र संघ।

सञ्चारमाध्यमहरूमा आयो– ‘नेपालमा व्याप्त भ्रष्टाचार तथा अपरादर्शी पद्धतिबाट दिक्क भएर जर्मनीले नेपाललाई दिएको सहायता कटौती ग¥यो।’ जर्मनीको आरोप छ– ‘कम्युनिस्टहरू सत्तामा आएपछि नेपालमा भ्रष्टाचार बढ्यो। मानव अधिकार उल्लंघनका घटना बढ्यो। प्रेस स्वतन्त्रतामाथि अंकुश लगाइयो। हरेक वर्ष जर्मनीबाट ‘विएमजेड’ कार्यक्रमअन्तर्गत नेपालले दुई करोड पचास लाख युरो प्राप्त गर्दै आएको थियो।

नेपाली कूटनीति कहिले ढाड नभएको प्राणी जस्तो, कहिले घस्रेर हिँड्ने रेप्टाइल जस्तो, कहिले स्तनधारी जस्तो र कहिले उच्च आकाशमा विचरण गर्ने जटायुजस्तो हुन खोज्छ। भेनेजुयलामा भएको घटनामा काँचो वायु उत्रियो सत्तारुढ दलमा। अहिले एमसिसी परियोजनाको इन्द्रजालमा परेको छ सरकार। अमेरिकाले ल्याउने विकास कार्यक्रम रेखदेख गर्न सुरक्षाकर्मीहरू पनि उतैबाट किन आउन लागेका छन् भन्ने बुझ्न विद्यावारिधि डिग्री चाहिँदैन। सडकछेउमा रोडा कुट्ने पसिनाजीवीले पनि बुझेका छन्। अरूका दानापानी खानेलाई सत्य बोल्ने साहस आउँदैन। जो आफ्नै बलबुताले बाँचेको हुन्छ, ऊ सत्य बोल्छ।

कुनै पनि बहानामा नेपालमा कुनै देशले उसको सेना ल्याएर राखेको छ वा राख्छ भने त्यो सार्वभौमसत्ता र राष्ट्रिय स्वतन्त्रतामाथिको हमला हो। साथीसँग मागेको टोपी लगाएर एउटा मानिस ससुराली गएछ। टोपी मालिकले नै परिचय गराएछन्– ‘ज्वाइँ चै तपाईँहरूको, टोपी चै मेरो।’ नेपालले विदेशी सुरक्षाको टोपी लगाउनुपर्ने अवस्था आयो भने ‘राष्ट्रको सुरक्षा गर्छौँ भनेर सरकारी तलव खाने सबैले आत्मदाह गरे हुन्छ। मध्यरातमा सहरमा अन्धकार बनाएर संसद्बाट महाकाली सन्धि पारित गरेझैँ ‘एमसिसी’ नामको डरलाग्दो षडयन्त्र सफल बनाउन सरकार मात्र होइन, प्रतिपक्षीहरू पनि उचालिएका छन्। अरू बेला अनेक जात र धर्ममा विभाजित हुनेहरू रक्सीभट्टीमा मिल्छन् भन्दै डा. हरिवंशराय वच्चनले ‘मधुशाला’ कवितामा लेखे– ‘मन्दिर–मस्जिद बैरी बनाउँछन्, मेल गराउँछ मधुशाला’ (मन्दिर–मन्जिद बैर कराती, मेल कराती मधुशाला)। जब खाने–पिउने कुरा आउँछ, तब बाझाबाझ गरिरहेका दलहरू एकजुट हुन्छन् नेपालमा। रामखेलावनपर्सादको मिठाइ दुकानमा जलेवी पाकिसक्यो भन्ने कुरा टाढाटाढाका झिँगाहरूले पनि चाल पाएझैँ विदेशबाट मोटो रकम आउँदैछ भनेर सबै नेताले चाल पाउँछन्। मुख मिठ्याउँछन्। एमसिसी बुझून् कि नबुझून् तर त्यो ‘मिठाइ–चकलेट–केक’ (एमसिसी) पक्कै हो।

हामीमात्र होइन, संसार भयाक्रान्त छ अहिले। हिरोसिमा, नागासाकीमा लाखौँ   मानिस अमेरिकी आणविक बमले मारिएपछि जापान जाग्यो। संकटको महासागरभित्र मोती लुकेको हुन्छ तर धैर्य, इमान, साहस, विवेक र एकताले मात्र त्यो प्राप्त हुन्छ।

पृथ्वीनारायण शाहले स्वावलम्बी बन्न उपदेश दिएको बिर्सिएर हामी पराधीन बन्ने मार्गमा लाग्यौँ। राष्ट्र उठाउन हरेक नेपालीले दैनिक एक रुपियाँ मात्र दिने र दुरुपयोग नगर्ने हो भने हरेक साल केही न केही गर्न सकिन्छ। विदेशीको मुख नताक्ने हो भने नेपाल स्वतः स्वावलम्बी बन्दै जान्छ।

जनताले गलत मानिसको सम्मान नगरेमा योग्यहरूले देश हाँक्ने समय आउँछ। शक्तिको दुरुपयोग रोक्न र राष्ट्ररक्षाका लागि जनता जागे भने नेपाल उठ्न सक्छ। नत्र हामी पराधीन हुन सक्छौैँ।

प्रकाशित: २३ जेष्ठ २०७७ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App