१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

निशान किन बाँच्न पाएनन् ?

सिन्धुपाल्चोकबाट काठमाडौँ छिरेपछि सामान्य व्यापार व्यवसाय गरेर परिवार धान्दै आएको खड्का दम्पतीको परिवार छोरो निशानको हत्यापछि उजाडिएको छ । आफूले खाई नखाई हुर्काएको ११ वर्षको कलिलो छोरो निशान मारिदा परिवारले चित्त बुझाउने कुनै ठाउँ छैन । बै“शालु उमेरमा पति पत्नी छुट्टिएर मलेसियामा कमाउन गएका बाबुले आफ्नो छोरो मारिनुपर्ने कुनै कारण पाउनेछैनन् । परिवारसँग छुट्टिएर कमाउन जानु गोविन्दको अपराध हो ? बाबु विदेशी भूमिमा पसिना बगाउन जानु छोराको अपराध हो ? आफ्नो दुःखजिलोको कमाइमा उधारो ख्वाएर गोपाल तामाङ र अजय तामाङलाई पोस्नु आमा चमेलीको अपराध हो ? खड्का परिवारले छोराको हत्याको कारणमा आफ्नो भूमिका पाउने कुनै आधार छैन । न त, अबोध निशानले मारिनुपर्ने कुनै गल्ती मानव अधिकारका आँखामा देखा पर्नेछ।

अपहरणकारीहरू परिचित थिए । एउटै भान्सामा खाना खानेहरू थिए। उधारो पत्याएका विश्वासिला थिए । तर छिनभरमा त्यो विश्वास अविश्वासमा परिणत भयो । उनीहरूले निशान अपहरणमा परेको जानकारी दिए र फिरौती रकम त बताए, तर त्यसपछि उनीहरू सम्पर्कविहीन मात्र भएनन्, निर्दोष बालकको हत्यारासमेत बनिसकेका थिए । घरमूलीकै भनाइमा पनि उनीहरूले मध्यरात अघि नै बालकको हत्या गरिसकेर हिलाम्मे भएका कपडा र जुत्ता धोएर भ¥याङमा सुकाएका थिए । हुन त हत्या गरिसकेपछि पनि फिरौती लिने प्रवृत्ति अपराधीहरूमा नदेखिएको होइन, तर बालकको हत्या गरिसकेपछि दोहो-याएर फिारौती माग्ने आँट गर्न सकेका थिएनन्।

आज निशान खड्काको अपहरण र हत्यामा संलग्न ती अपहरणकारी थिएनन् भन्ने आँट र प्रमाण कसैसँग छैन। तर उनीहरूले गरेको काम गलत थियो भन्ने भन्दा उनीहरू मारिनु चाहिँ गलत थियो भन्ने तर्क स्थापित गर्न खोजिँदै छ।

अपराधको सोच ती युवकहरूमा आइसकेको थियो । उनीहरू पूर्व योजनाका साथ निशानको अपहरणको प्रतीक्षामा थिए । चिया चमेना बेचेर साहुनीले जम्मा गरेको पैसामा मात्रै उनीहरूले आँखा गाडेका थिएनन्, मजदुरी गर्न विदेशिएका बाबुको रगत पसिना पनि खाने उनीहरूको योजना थियो । हुर्कंदो उमेरका, पाखुरी बजारेर कमाइ गर्न सक्ने आँट र क्षमता भएका यी युवकमा अर्काको दुःखको मूल्यमा रजाइँ गर्ने मानसिकताको विकास भएको थियो । सामान्य आम्दानीका यी युवामा काम कम र मोजमस्ती ज्यादा गर्ने सोच पछिल्लो पटक दुई बोटल बियर उधारोमा खाएर हिँड्ने प्रवृत्ति पनि देखाएको छ । उनीहरूले एउटा परिवारको दुःखमा आफ्नो मोजमस्ती देखिरहँदा आफ्नो सुखद भविष्यको कल्पना गरेका हुँदा हुन् । अन्ततः उनीहरूको पनि दुःखद अन्त्य नै भएको छ।

बाबु गोविन्दको प्रतीक्षामा बसेको निशानको लास आर्यघाटमा विसर्जन भएसँगै गोपाल र अजयको बाँच्न पाउने अधिकारका पक्षमा बहस सुरु भएका छन् । मानौ“, निशानको नियति नै यस्तै थियो र खड्का दम्पतीको भाग्यमा नै यस्तै लेखिएको थियो । र, अपहरणमा परिसकेको युवक मारिनु स्वाभाविक दुर्घटना थियो । त्यो निरपराध र अबोध बालकको मानव अधिकार गौण विषय हो र अपहरणकारी चाहिँ मारिनुपर्ने थिएनन् । मानव अधिकारका नाममा अत्यन्त अमानवीय सोचका आधारमा मिडियामा बहसले ठाउँ पाउन थालेको छ । विद्वान्हरूले आफ्नो समय र विद्वत् शब्दहरूको खर्च यस निम्ति गर्न थालेका छन्।

यो प्रश्नको जडमा अपहरणकारीलाई फेक इन्काउन्टर गरिएको भन्ने आधारमा उठाइएका छन् । घटना प्रकृति हेर्दा प्रहरी अपहरणकारीको कोठामा पुगेको र उनीहरूलाई त्यहीँ पक्राउ गरिएको स्थानीय नागरिकको भनाइ छ । उनीहरूलाई पक्राउ गरिसकेपछि प्रहरी कानुनी पक्रियामा जानु पथ्र्यो । यसमा पनि कुनै विवाद छैन । तर अबोध युवकलाई अपहरण गर्ने अधिकार कुन कानुनले कुनै अपराधीलाई दिएको छ ? अपहरित भएपछि मारिनुपर्ने कुन मानव अधिकारका दस्तावेजमा उल्लेख छ ? दुःखले कमाएको सम्पत्तिमा कसैको आँखा लाग्यो भन्दैमा सुम्पनुपर्ने कुन कानुनको व्यवस्था हो ? अपहरणका कारण परिवारजन तड्पिएर रात गुजारिरहँदा अबोध युवकको हत्या गरेर निर्मग्न कोठामा सुतिरहने अधिकार कुन कानुनले उनीहरूलाई सुरक्षित गरेको हो ? के यी प्रश्नको अधिकार सोध्ने र जवाफ पाउने अधिकार खड्का दम्पतीलाई छैन?

कुनै पनि नागरिक अनाहकमा मर्नु वा मारिनु हुँदैन । यसमा बहस गर्नुपर्ने कारण नै छैन । बहसको मूल प्रश्न के हो भने निरपराध नागरिकले बाँच्न पाउने अधिकार ठूलो हो कि अपराध गरेर अरुलाई पीडित बनाएर बाँच्न पाउने चाहिँ ठूलो अपराध हो ? कसैलाई जंगलका बीचमा लगेर हत्या गर्ने अधिकार प्रहरीलाई छैन । कानुनी राज्यमा कानुन हातमा लिने अधिकार प्रहरीलाई पनि छैन र नागरिकलाई त झन् हँुदैन । तर एउटी आमाको मायामा लुटपुटिएर हुर्कंदै गरेको युवकलाई अपहरण गर्ने र निःसहाय बनाएर मार्ने अधिकार कुनै नागरिकलाई छ ? एउटा हास्दै खेल्दै गरेको युवकलाई झुक्याएर आफ्नो कोठामा पु¥याउने र उसलाई बन्धक बनाउने अधिकारचाहिँ कहाँ लेखिएको छ । आफ्नो अपराध छुपाउन नसक्ने अवस्था आएपछि उसको हत्या गरेर हिलोमा गाड्ने अधिकार चाहिँ कुनै नागरिक अधिकार हो । यो राज्य अपराधीको जगजगीको सुरक्षण र संवद्र्धनका लागि हो कि निर्दोष नागरिकले स्वतन्त्रपूर्वक बाँच्न पाउनका लागि हो ? निर्दोषको हत्याभन्दा अपराधीको सुरक्षाप्रति देखिएको चिन्ता कुन अर्थमा जायज मान्ने?

यो मुलुकमा हत्या कुनै अर्थमा न्यायिक हँुदैन । किनकि संविधानले मृत्युदण्ड वर्जित गरेको छ । तसर्थ, जो जसले जसरी गरेका हत्या पनि गैरन्यायिक हुन् । गैरकानुनी हुन् । आज निशान खड्काको अपहरण र हत्यामा संलग्न ती अपहरणकारी थिएनन् भन्ने आँट र प्रमाण कसैसँग छैन । तर उनीहरूले गरेको काम गलत थियो भन्ने भन्दा उनीहरू मारिनु चाहिँ गलत थियो भन्ने तर्क स्थापित गर्न खोजिँदै छ । कसैको हत्या पनि न स्वाभाविक हुन्छ, न कानुनी । मानव अधिकारभन्दा मानवीय सोच पहिला आउनुपर्ने होइन र ? किन मानवता दोस्रो र मानव अधिकार पहिलो प्राथमिकतामा पर्न थालेको छ?

अध्ययनका क्रममा अमेरिकामा रहँदा नाइजेरियाको प्रोफेसर गाम्बो मेरो फ्ल्याटमेट थियो । काला जातिको ऊ अमेरिकामा रहेका काला जातिप्रति जहिले आक्रोश व्यक्त गथ्र्यो । अमेरिकामा आएर नागरिक बनेको छ । कामको पर्याप्त अवसर छ । काम नहुनेलाई बेरोजगार भत्ताको व्यवस्था छ । र पनि, हत्या र लुट जस्ता अपराधमा यिनै कालाहरूको नाम आउने गर्छ । यी कालाहरूले समग्र काला जातिलाई बदनाम गरेका छन् । सडकमा उत्ताउलिँदै हिँडेका कालाहरू देख्यो भने गाम्बो प्रतिक्रिया जनाइहाल्थ्यो।

नेपालमा पनि अधिकांश हिंसात्मक अपराधमा जातीय सहभागिता जबर्जस्त रूपमा देखिँदै आएको छ । यो लेखको आशय कुनै जाति विशेषलाई अपराधकर्मी करार गर्नु होइन । तर घटनाक्रमहरूलाई नियाल्ने हो भने अपराध प्रवृत्तिमा संलग्नहरूको बारेमा सम्बन्धित जातिले गम्भीरताका साथ सोच्नुपर्ने अवस्था आएको छ । उहिले नेपालको सार्वभौमसत्ताको सुरक्षा गर्नेहरूको जाति यही थियो । संसारमा वीर गोर्खालीको पहिचान गराउने जाति पनि यही हो । डा. हर्क गुरुङले देशका योजनामा मात्रै योगदान दिएनन्, नेपालमा साँच्चै बुद्धिजीवी पनि छन् भनेर पहिचान गराउने पनि डा. गुरुङ हुन् । राजनीतिमा बितेका बखानसिंह गुरुङदेखि जीवित केबी गुरुङको नाम सम्मानका साथ लिइन्छ । अहिले पनि राजनीतिक शिखरमा देव गुरुङ, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ आदरपूर्वक लिइने नाम हुन् । तर अपहरण, हत्या, लुटपाटका पछिल्ला घटनामा प्रहरी कारबाहीमा पर्नेहरू गोपाल तामाङ, अजय तामाङ, अमरबहादुर तामाङ (खुँडे), अशोक लामाका नाम आएका छन् । अरु त अरु, राजनीतिक हैसियत बनाएर पनि हातहतियार मुद्दामा गणेश लामा दोषी करार भएका छन् । संघीयताको मामिलासँगै उठेको आफ्नो पहिचानका सन्दर्भमा सम्बन्धित सबै सचेत र सजग हुन जरुरी छ, जुन सजगता अमेरिकामा गाम्बोले देखाउने गथ्र्यो । ऊ त्यही काला जातिको अमेरिकी मार्टिन लुथर किङप्रति उत्तिकै गर्व गथ्र्यो।

अहिले निशान खड्का प्रकरणमा उठेको एउटा जायज प्रश्न वा आशंका प्रहरी कतै अराजक बन्ने त होइन ? भन्ने हो । प्रहरी पनि कानुनले खडा गरेको निकाय हो । ऊ कानुन विपरीत स्वेच्छाचारी हुने खतराप्रति राज्य सञ्चालकहरू सचेत हुनैपर्छ । राज्यले नागरिकको सुरक्षामा अपनाउने नीतिमा प्रहरी परिचालन हुन्छ । हुनुपर्छ । हामी बिहारमा नीतिशराजको प्रशंसा गरिरहेका छौ“ भने त्यहाँ शान्ति सुव्यवस्था ल्याउन अपनाइएको तरिकाको हामी कतिपय जानकार पनि छौ“ । मुलुकभित्र शान्ति सुरक्षा नहुँदा राजा नभएका कारणले भनेर सुनिने नेपाली तर्कको आधार के हो ? उसबेला राजाले पनि अपराधकर्मीको नियन्त्रणमा पक्कै कठोर नीति लिएकै कारण हुनुपर्छ । मुलुकको शान्ति सुव्यवस्था सम्बन्धी नीति के हुने र यो राज्यमा बाँच्न पाउने पहिलो अधिकार कसको हुने ? यो सुनिश्चित गरिएका दिन कसैले कसैको भूमिका र अधिकारमा प्रश्न उठाउनुपर्ने छैन।

प्रकाशित: २८ श्रावण २०७५ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App