१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

कागजी काम महानगरको नाम

काठमाडौं महानगरपालिकाको वर्तमान नेतृत्व अकर्मण्यताको पर्याय बनेको छ। कष्टकर जीवनमा तात्विक परिवर्तन ल्याउन महानगरपालिका नेतृत्व असफल हुँदा सर्वसाधारण आफूले गरेको मतदानप्रति पुनर्विचार गर्न थालेका छन्। यिनलाई निर्वाचन गर्ने बेलामा सर्वसाधारणमा चुलिएको आकांक्षामा तुसारापात मात्र भएको छैन, बरु केन्द्रमा दुईतिहाइभन्दा बढीको बलसाथ उभिएको नेपाल कम्युनिस्ट पार्टीकै साख गिर्न थालेको छ। स्थानीय तह निर्वाचनको एक वर्षभन्दा बढी भइसकेको छ। लामो समय स्थानीय तहमा बेथिति अनुभव गरेका सर्वसाधारणमा जनप्रतिनिधिप्रतिको उत्कट अपेक्षा रहेको हो। राजधानी काठमाडौंको महानगरपालिका मात्रै पनि आदर्श बन्दा देशभरि त्यसको सकारात्मक प्रभाव पर्न सक्छ। कतिपय नगरपालिका र गाउँपालिका काठमाडौं महानगरपालिकाको तुलनामा नयाँ छन्। तिनले अनुभवबाट सिक्ने–हेर्ने भनेकै काठमाडौं महानगरपालिकालाई हो। सर्वसाधारणले महानगरपालिकालाई ‘महानरकपालिका’ का रूपमा चित्रण गर्छन्। यस्तो उपमाको भारी बोक्नुपर्दा जनप्रतिनिधिलाई पक्कै पनि चित्त दुख्नुपर्ने हो। तर, तिनीहरू कुन धातुले बनेका हुन्, कसै गरे पनि छुँदैन । तिनको संवेदनशीलतामा कस्तो तत्वको प्रवेश गरेको छ, जसले सधैं कुचालकको मात्र काम गर्छ। सबैले महानगरपालिकाको कामप्रति गुनासो गरिरहेका छन् भने त्यसमा सुधारका निम्ति इमानदार प्रयास थाल्नुपर्ने हो। ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ को महामन्त्र यिनले पाठ गरेर बसेको अनुभूति हुन्छ। महानगरभित्र अनेकन् नाममा कर लगाएर सर्वसाधारणलाई निचोरेपछि ठूलो बजेट बनेको छ। तर, त्यसको प्रयोग सर्वसाधारणको जीवन सुधारका निम्ति भएको देखिएको छैन।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सहरलाई ‘स्मार्ट’ बनाउने मखमली सपना देखाएर निर्वाचित भएका हुन्। उनका योजना देखेर नगरबासी अहिले झुक्किएको अनुभूति गर्दैछन् । उनलाई न आलोचनाले छुन्छ, न यहाँको परिस्थिति हेरेर केही गरौं भन्ने लाग्छ।

राजधानी काठमाडौंमा मानिसहरूले आफ्ना सुन्दर अनुहार छोपेर हिँड्नुपर्छ। लाग्छ, तिनीहरू कुनै उपग्रहबाट आएका ‘एलियन’ हुन्। मुख नछोपी कसरी हिँड्नु? धुवाँ र धुलोले ती आक्रान्त छन्। त्यसबाट बच्न सबैले मुख छोपेर हिँड्नपर्ने बाध्यता छ। वरिपरि हरिया डाँडाकाँडाले घेरिएको यो सुन्दर काठमाडौं प्रकृतिको अनुपम उपहार हो। बाह्रै महिना बाह्रै काल न धेरै चिसो न धेरै तातो मौसम भोग्न पाइने काठमाडौं यथार्थमै उत्तम हावापानी भएको ठाउँ हो। संसारमै यस्तो पवित्र भूमि पाउन मुस्किल छ। कहीं असाध्यै चिसो, कहीं असाध्यै तातो र कहीं अनेकन् प्राकृतिक प्रतिकूलता हुन्छ। त्यस्ता ठाउँमा समेत मानिसले अन्य कृत्रिम उपाय प्रयोग गरी जीवन सहज बनाउने कोसिस गरेका हुन्छन्। यहाँ भने प्रकृतिको उपहारलाई दुरुपयोग गरिएको छ। त्यो उपहारको सदुपयोग नगरी सर्वसाधारणलाई प्रदूषणको मारमा राखिएको छ। महानगरपालिकाभित्र सफाइ कर्मचारीको ठूलो संख्या छ। ती कर्मचारीको प्रयोग गर्न नसकिने भए मेसिन ल्याएर पनि सहर सफा गर्न सकिन्छ। यहाँको धुलो उठाउन कुनै समस्या हुँदैन। एकैछिन सहरमा निस्किँदा धुलोले आक्रान्त हुनुपर्छ। अहिले पानी पर्न थालेपछि प्रदूषणको मात्रा घटेर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड बराबर पुगेको छ। तर, पानी पर्न छाड्नेबित्तिकै यहाँको अवस्था अन्यन्तै पीडादायी हुन्छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य यतिबेला यो अकर्मण्यताका प्रमुख नायक हुन्। उनी यो सहरलाई ‘स्मार्ट’ बनाउने मखमली सपना देखाएर निर्वाचित भएका हुन्। उनका योजना देखेर नगरबासी अहिले झुक्किएको अनुभूति गर्दैछन्। उनलाई न आलोचनाले छुन्छ, न यहाँको परिस्थिति हेरेर केही गरौं भन्ने लाग्छ। महानगरभित्र यातायातको सुव्यवस्थाको प्रश्न पनि त्यस्तै अनुत्तरित छ। सबैभन्दा पीडा यहाँ आफ्ना सवारीसाधन नहुने सर्वसाधारणको छ। महानगरभित्र खुला जग्गा धमाधम मासिँदै छन्। तिनको लगत राख्ने र संरक्षण गर्ने काम भएको छैन। महानगरपालिकाको नाकै अगाडिको खुला टुँडिखेल हेर्दाहेर्दै विभिन्न निकायका निर्माणले भरिएको छ। त्यसमा महानगरपालिकाको ध्यान पुग्न सकेको छैन । महानगरभित्र हिँड्ने सर्वसाधारणले शौचालयको सुविधा पाउन सक्दैन। हाम्रो सहर कति निर्मम छ? प्रकृतिको माग भएपछि शौचादिका निम्तिसमेत नागरिकले २१औं शताब्दीको यो समयमा तड्पिनुपर्ने अवस्था छ। यथार्थमा काठमाडौं महानगरपालिका अव्यवस्थाको एउटा नमुना हो । यसले विकासका कागजी नमुना प्रस्तुत गरेको छ। ती विकास आयोजनाबारे प्रश्न उठ्दा अहिले सोचविचारै नगरी तिनलाई ल्याइएको भन्ने जबाफ आउन थालेको छ। वास्तवमा हाम्रा जनप्रतिनिधिले निर्वाचनका बेला जनता झुक्याउन प्रस्तुत गर्ने योजना/आयोजनाको कुनै आधार हुँदैन भन्ने यो ज्वलन्त उदाहरण हो। यस्ता आयोजनाबारे अध्ययन÷अनुसन्धान गरी निर्वाचनका क्रममा प्रस्तुत गरेको भए कार्यान्वयनमा जान सजिलो पर्ने थियो। हावादारी योजनाका आधारमा निर्वाचन जितेपछि कार्यान्वयन पनि उत्तिकै असजिलो हुन्छ । काठमाडौं महानगरपालिकाभित्रको बेथिति यसैको परिणाम हो। महानगरपालिकाको कामको ढंग यही हुने हो भने नेकपाका निम्ति अर्को निर्वाचन फलामको च्युरा चपाउनुसरह हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान काठमाडौं महानगरपालिकातर्फ पनि जानुपर्छ।

प्रकाशित: १४ श्रावण २०७५ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App