२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

प्रेम, जीवन र व्यवहार

जीवन आफैँमा सुख, दुःख, प्रेम, संयोग, वियोग, घात÷प्रतिघात आदिको अनुभव र अनुभूतिको संग्रह हो।

माया अब कसैसँग गर्न मन छैन

माया, अब केवल महसुस गर्न मन छ

एउटी त्यस्ती परीसँग

जो साउतीमा बोल्छे, पक्क उठ्छे

अंगालो छैन

तर सँगै रहन्छे

म लड्दा आफैं उठें

तर, उसले उठाएझैँ लागोस्

म आँसु आफैँ पुछुँ

तर उसले पुछेझैँ लागोस्

म उसको बह बुझुम्

तर उसले चालै नपाओस्।

उल्लिखित कवितांश विप्लव प्रतीकका हुन्। कृष्णप्रसाद सर्वहारा (जो आफैँ लेखक थिए) का छोरा विप्लव दार्शनिक चेत भएका कवि लाग्छन्। उनले टिभीमा अन्तर्वार्ता दिने क्रममा वाचन गरेका यो कविताको शैली र भाव निकै मन प¥यो। उनले भन्दै गए, म टिप्दै गएँ। टिपेको भएकाले तल वितल पनि हुन सक्छ। फेरि यो कविता प्रकाशित वा अप्रकाशित टिप्ने क्रममा पत्तो पनि पाइन।  

सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिन १४ फ्रेबुअरीमा उनको स्मरण गरिन्छ। उनले मृत्युदण्ड दिनुभन्दा अगाडि युवतीलाई लेखेको पत्रमा ‘लभ फ्रम योर भ्यालेन्टाइन’ सम्झिँदै भ्यालेन्टाइन ‘डे’ का रूपमा युगल प्रेमीहरूले यो दिवस मनाउने गर्छन्। यसै मेसोमा विप्लवका भावपरक उक्त कविता उल्लेखनीय छन् भन्ने लाग्यो।  

हुन त प्रेम शब्दलाई कुनै परिभाषामा बाँध्न सकिन्छ जस्तो लाग्दैन। विश्वका सबै साहित्य भाषामा मात्र नभएर धार्मिक ग्रन्थहरूमा समेत यो शब्द प्रचुर मात्रामा पाइन्छ। तर यस शब्दलाई परिभाषाको सीमामा बाँध्न सकेको पाइँदैन। किनकि प्रेमको कुनै सीमा छैन, यो असिम छ, अनन्त छ, यो एउटा यस्तो भाव हो, जो तरल प्रकृतिको हुन्छ। प्रेम सृष्टिको कारण र विस्तार पनि हो।

प्रेमरहित जीवन सम्भव पनि छैन। त्यसैले होला प्रायजसो सिर्जना प्रेममै आधारित छन्। त्यति मात्र होइन, पहिलेको कतिपय सिर्जना अहिले विज्ञान र प्रविधिको भरपुर प्रयोग गरिरहेका पुस्तालाई रोचक मात्र होइन, मिथक पनि लाग्न सक्छन्। जस्तो कालिदासको ‘मेघदूतम्’, मोतिराम भट्टको ‘पिकदूत’ आदि।

टिकटकमा रमाएको पुस्तालाई कालिदासले ‘मेघदूतम्’ मा जड मेघलाई आफ्नो सन्देशबाहक बनाएको कुरा अपत्यारिलो लाग्न सक्छ। त्यसबेला जड चेतन सबैलाई सन्देश प्रवाह गर्ने माध्यम बनाएको केही कृति उल्लेखनीय पनि छन्। वेदान्त दैशिकको हंस सन्देश, उद्यण्डको कोकिल सन्देश, रूप गोश्वामीको हंसदूत, विक्रमको पञ्चदूत, जम्बुकको चन्द्रदूत, रामशास्त्रको मेघप्रति सन्देश, विष्णु दासको मनोदूत आदि काव्य रचिएका थिए। उल्लिखित कृतिमध्ये पंक्तिकारलाई कालिदासको ‘मेघदूतम्’ र मोतिराम भट्टको ‘पिकदूत’ केही हदसम्म जानकारी छ।

कालिदासको ‘मेघदूतम्’ वियोग रहेको यक्षले आफ्नी पत्नी यक्षणीलाई मेघमार्फत सन्देश प्रवाह गर्छ, कथावस्तुअनुसार अलकापुरीको अधिश्वर धनपति कुवेरले दैनिक शिवको पूजा अर्चना गर्न मानसरोवरबाट टिपेर ल्याएको स्वर्णकमल प्रयोग गर्थे। कमल टिपेर मन्दिरसम्म पुर्‍याउनका लागि जिम्मेवारी यक्षलाई दिएको हुन्छ। पछि यक्षको विवाह हुन्छ कमल प्रातकालमा टिपेर ल्याउनुपर्ने नियम थियो। तर नवविवाहिता पत्नीका साथ धेरै समय बिताएकाले यक्ष बिहानै उठ्न सक्दैनन्। उसले जुक्ति निकाल्छ। बेलुका नै टिपेर ल्याउने र बिहान पुर्‍याउने। उसको यो चलाखपन लामो समयसम्म टिक्न सकेन।  

शिवको पूजाअर्चना गर्दा बेलुका टिपेको कमलमा बन्धक भएको भमराले कुवेरको हातमा टोक्छ। यक्षको रहस्य खुल्छ। कर्तव्यच्युत भएबापत उसलाई एक वर्ष रामगिरि पर्वतमा गएर बस्नुपर्ने सजाय दिइन्छ, त्यसपछि आठ महिनाको प्रवासकाल बिताएको यक्ष असार महिनाको प्रारम्भमा अत्यन्त दुर्बल र कमजोर बन्छ। विरहबाट व्याकुल भएको उसले मेघमार्फत आफ्नो सन्देश याक्षिणीलाई पुर्‍याइदिन आग्रह गर्दछ।

व्याकुल यक्षले धूप, अग्नि, जल तथा वायुबाट बनेको अचेतन मेघ कसरी सन्देशबाहक बन्छ ? होसमा हुँदैन ऊ। त्यसैले उसले मेघलाई पुस्कर तथा आवर्तक नामको मेघको उच्च संसारमा प्रसिद्ध कुलमा जन्मेको भन्दै मेघलाई फुर्काउन पछि पर्दैन। अत्यन्त विरह वेदनाबाट व्याकुल भएर आफ्नी प्रियत्माको जीवनको सहारा चाहँदै आफ्नो कुशलता उनीसमक्ष पुर्‍याउन आग्रह गर्छ।

यसरी कालिदासले प्रेम विह्वलहरूले जड र चेतनाको समेत भेद गर्दैनन् भनेर पुष्टि गरेका छन्। त्यस्तै मोतिराम भट्टको ‘पिकदूत’ मा परदेश गएको पतिलाई घरमा रहेकी पत्नीले कोइलीमार्फत आफ्नो सन्देश प्रवाह गरेको पाइन्छ। नल र दमयन्तीको कथामा हाँसलाई माध्यम बनाइएको छ।  

मेघदूत, पिकदूत वा नल दमयन्तीको कथा जस्तो प्रेम व्यवहारमा भने त्यस्तो नहुन पनि सक्छ। फेरि अहिले जेलाई प्रेम भनिन्छ त्यो प्रेम नभएर आकर्षण हो भन्ने लाग्छ। आकर्षण दिगो र स्थायी हुँदैन। प्रेममा अपेक्षा हुँदैन। समर्पण र निष्ठा हुन्छ। यसको अभावमा प्रेम हुँदैन। त्यसैले प्रेमको नाममा जीवनले ठूलो मूल्य चुकाएको पनि हुन सक्छ।

स्वामी आनन्द अरूणले लेखेको ‘ओशो अचम्म जो मैले देखेँ’ कृतिमा रहेको विविध शीर्षकमध्ये ‘प्रेमीहरूको नियति’ पढ्दा थुप्रै दिनसम्म त्यसको छायाँले पछ्याइरहेको थियो, मलाई स्वामीको आध्यात्मिक यात्राको गाथा भएको कृतिमा रहेको त्यो प्रसङ्ग अमिटरूपमा रहेको छ। पटनामा घटित त्यो घटना अत्यन्त मर्मस्पर्शी छ।

उनी लेख्छन्– त्यत्तिकैमा मेरो नजर उनमा गएर अड्कियो। तीन दशक उमेर भएकी उनी त्यो पटनाको रेल्वे प्ल्याटफर्मको एक अनन्य पात्र भइसकेकी थिइन। च्यातिएका कपडा, जङ्ग्रह केश भएकी उनलाई मैले रेल रोकिएपछि हतार–हतार डब्बाभित्र छिरेर अनुहारमा आशाका भावले केही खोजे जस्तो गरेर पुनः निराश हुँदै अर्को डिब्बामा छिरेको देखेँ।

यसरी ट्रेनहरू चहारेको मैले अनगिन्ती समय उनलाई देखिसकेको थिएँ। कुन चिजको खोज हो, जसले उनलाई फेरि डब्बाबाट निराश अनुहार लिएर बाहिर आउन बाध्य बनाउँथ्यो। रेलका सबै डब्बा चहारिसकेपछि उनी विषादयुक्त भावमा टोलाउँथिन, दुवै गलामा भुइँमा आँसुका धारा बगाउँदै ।

स्वामीले लेखेको उल्लिखित पंक्तिमा अटाएकी पात्र ती युवती बिहारको कुनै सहरकी हुन्छिन्। स्वामीका भनाइमा करिब २० वर्षको उमेरमा जुन कलेजमाा उनी पढ्थिन, त्यहीँ पढ्ने केटासँग प्रेम हुन्छ। बिहे गर्ने भनी केटाले फकाउँछ। उनीहरू भाग्छन्। पटनाको होटलमा केही समय बिताउँछन्। पछि खर्च सकियो। त्यसको बन्दोबस्त गर्न घर जान्छु भनेर केटो जान्छ। पर्खिरहनु रेल्वे स्टेसनमा भनेर गएको ऊ कहिल्यै फर्केन। प्रतीक्षामा बसेकी उनको त्यस्तो नियति र दिनचर्या बन्यो। उनी विक्षिप्त भइन्। स्वामीका अनुसार उनलाई फर्काउन परिवारजनका कोही पनि आएनन्।

यस्तै प्रदीप गिरीको भूमिका लेखन रहेको राप्रउ पोखरेलको कृति ‘विचार मीमांसा’ उल्लेखनीय छ। प्राज्ञिक धर्मलाई अत्यन्त निष्ठा र सजगतासँग निर्वाह गरेको कृतिलाई गिरीले अत्यन्त गहन छ, अध्ययन गर्नैपर्ने खालको भनेका छन्। विविध विषय समेटिएको यस पुस्तकमा राधा र कृष्णको प्रेम सम्बन्धमा अत्यन्त सूक्ष्मरूपमा थुप्रै धार्मिक ग्रन्थका आधारमा विश्लेषण गरिएको छ। अमर प्रेमको गाथा छ।

पुस्किनको जीवनको अन्त्य अत्यन्त कारुणिक छ। अत्यन्त सुन्दरी नताल्यासँग उनको प्रेम विवाह भएको थियो। त्यसको मूल्य कति निर्ममरूपले चुकाउनुपरेको थियो, पोखरेलले लेख्नुभएका शब्दांशले आफैँ उजागर गरेको छ– ‘त्यस समय रुसी भद्रजनको समाजमा जारलाई ‘डबेल’ (साधुले अस्त्र लिएर जारका विरुद्ध गरिने द्वन्द्व युद्ध) को चुनौती दिने चलन थियो।

त्यसअनुसार उनी ‘डबेल’ मा उत्रन बाध्य भए। निर्धारित तिथिमा भएको त्यो द्वन्द्वमा पत्नीको नाठो जर्जे द अन्थेले प्रहार गरेको पेस्तोलको गोली लागेर उनी गम्भीर घाइते भए। त्यस घटनाको दुई दिनपछि उनको मृत्यु भयो।’ यसरी उनको प्रेमको यात्रा निर्ममरूपले टुङ्गिन पुगेको थियो।

भारतमा ‘रिदम किङ’ विद्रोही संगीतकारका रूपमा स्थापित ओमकारप्रसाद नैयर (ओपी नैयर)को उत्तराद्र्धमा जीवन सुखद भएन। चार सन्तानका पिता उनको एकजना तीन सन्तानकी आमा प्रसिद्ध गायिकासँगको १४ वर्षको प्रेम टुट्छ। परिवारसँग सम्बन्ध बिग्रन्छ। मुद्दा पर्छ, उनी हार्छन्। कुनैबेलाका सर्वाधिक महंगा संगीतकार मात्र नभएर हिरो–हिरोइनभन्दा बढी पारिश्रमिक उनी पाउँथे। टुटेको प्रेमले उनको जीवन नराम्रोसँग प्रभावित बन्छ। व्यक्तिगत र व्यावसायीक जीवन त्यसपछि उठ्नै सकेन।

अन्तिममा ठाणे सहरको नौपडाको एउटा घरमा ‘पेइङ गेस्ट’ का रूपमा गुमनाम जीवन बिताउँछन्। ‘मेरो मृत्युपछि मेरो अनुहार परिवारका कसैलाई पनि नदेखाउनू’ भन्ने उनको इच्छाको सम्मान गर्दै अन्त्येष्टि गरिन्छ। उनले आफ्नो सबै रोयल्टी जुन घरमा ‘पेइङ गेस्ट’ बसेका थिए, त्यसै घरको छोरीको नाममा लेखिदिएका हुन्छन्। ‘प्रेम अन्धो हुन्छ भन्छन् तर म अन्धो मात्र भएर बहिरो पनि भएको थिएँ’, उनले भनेका थिए ।

उल्लिखित केही प्रतिनिधि घटनाको सारमा जीवन आफैँमा सुख, दुःख, प्रेम, संयोग, वियोग, घात÷प्रतिघात आदिको अनुभव र अनुभूतिको एक संग्रह हो। जीवन भोग्ने क्रममा व्यवहारमा हुने थुप्रै सुखद वा दुःखद लिखित वा अलिखित प्रेमकथा हुन सक्छ। यस तथ्यलाई पनि प्रेम दिवसमा स्मरण गरेमा जीवनलाई बुझ्न र अध्ययन गर्न मद्दत पुग्छ भन्ने लाग्छ।

प्रकाशित: २ फाल्गुन २०८० ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App