४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

भिडको मनोविज्ञान

लिड्स विश्वविद्यालयका जीववैज्ञानिक प्राडा जेन्स क्राउजले मानिसको समाजिक स्वभावको मनोविज्ञान अध्ययनका लागि एउटा मनोवैज्ञानिक प्रयोग गरे। प्रयोगका लागि उनले एक अस्पतालको प्रतीक्षा कक्षलाई उपयोग गरे। प्रतीक्षा कक्षमा बिरामी आउनुपूर्व नै उनले त्यहाँ भिडियो क्यामेरा लुकाएर राखेका थिए। विरामी आए, बसे। प्रतीक्षा कक्ष भरियो। कसैले मोबाइल चलाएर त कसैले किताब पढेर आफ्नो पालो पर्खिरहेका थिए। त्यसैबेला घण्टी बज्यो। कतिपयले चनाखो आँखाले यताउति हेरे। कतिपय आफ्नै धूनमा थिए। फेरि घण्टी बज्यो। एक वृद्ध महिला उठिन्। उनी उठेको देखेर अरू मानिस पनि उठे।

महिला बसिन्। अरू मानिस पनि बसे। भित्रबाट बोलावट आयो, एक मानिस उठेर चिकित्सक कक्षतिर गए। फेरि घण्टी बज्यो। सबै मानिस उठे। अनि बसे। पालैपालो मानिस चिकित्सक कक्ष जाने क्रम र घण्टी बज्नासाथ प्रतीक्षा कक्षमा रहेका मानिस उठ्ने क्रम चलिरहेको थियो।

अब एक युवती मात्र प्रतीक्षा कक्षमा थिइन्। उनले मोइबाल चलाएर आफ्नो पालो पर्खिरहेकी थिइन्। अनि एक युवक आएर नजिकै बसे। फेरि घण्टी बज्यो। युवती उठिन्। युवती उठेको देखेर युवकले सोध्यो, किन उठेको? युवतीले भनिन्, मलाई थाहा छैन, तर घण्टा बज्दा यहाँ बस्ने मानिस उठ्ने गर्छन्। पुनः घण्टी बज्यो। युवती पुनः उठिन्। युवक पनि उठ्यो। अर्की महिला प्रतीक्षा कक्षामा आएर बसिन्। फेरि घण्टी बज्यो, युवक र युवती दुबै उठे। उनीहरू उठेको देखेर ती महिला पनि उठिन् र उनीहरू बसेपछि महिला पनि बसिन्।

लिड्स विश्वविद्यालयका जीववैज्ञानिक प्राडा जेन्स क्राउजले मानिसको समाजिक स्वभावको मनोविज्ञान अध्ययनका लागि एउटा मनोवैज्ञानिक प्रयोग गरे। प्रयोगका लागि उनले एक अस्पतालको प्रतीक्षा कक्षलाई उपयोग गरे।

प्रतीक्षा कक्षमा एक जोडी महिला/पुरुष आए र बसे। भित्रबाट बोलावट आयो, युवती भित्रतिर गइन्। केहीबेरपछि पुनः घण्टी बज्यो। युवक र महिला उठे। सँगै आएका महिला/पुरूष पनि उनीहरूलाई हेर्दै उठे।

अतः मानिसले प्रायः यसरी नै अरूले जेजे गर्छन्, त्यही त्यही नै गर्छन्। वास्तविकता नबुझिकन भिड जता जान्छ, मानिस पनि त्यतै त्यतै जान्छन्। कुनै न कुनै रूपमा हरेक मानिसमा यस किसिमको भेडो प्रवृत्ति रहन्छ। मानिसको यस्तो प्रवृत्तिलाई समाजिक मनोविज्ञानमा हर्ड मेन्टालिटी भनिन्छ। चुनावका बेला कुनै पार्टीको लहर भनेको पनि यही हर्ड मेन्टालिटी हो।

हरेक दिन समाजमा हर्ड मेन्टालिटीका साना÷ठूला घटना भइरहन्छन्। अधिकांश परम्परा, संस्कृति तथा रीतिरिवाज यही हर्ड मेन्टालिटीको उपज हो। हर्ड मेन्टालिटीलाई मोब, प्याक तथा गैंग मेन्टालिटी पनि भनिन्छ। सरल शब्दमा यसलाई भेडोपना वा भिडको पागलपन भन्ने गरिन्छ। हर्ड मेन्टालिटी मानिसमा भन्दा पनि जनावरहरूमा बढी देखिन्छ। गाई, भैँसी, भेडा, बाख्रा तथा चराचुरुंगी आदि सबैमा हर्ड मेन्टालिटी प्रचुर मात्रामा देखिन्छ। भेडा त यसको सबै भन्दा सशक्त उदाहरण हो।

मनोविज्ञान भन्छ, कुनै पनि मानिसको मानसिकता घर, परिवार, समाज, संस्कार, धर्म, संस्कृति, परम्परा, शिक्षादीक्षा तथा वातावरणले निर्माण हुन्छ। मानिस समाजिक प्राणी भएकाले समाजिक मूल्य र मान्यताहरूबाट प्रत्यक्ष/परोक्ष रूपमा प्रभावित हुने गर्दछ। र, त्यसैको अनुशरण गर्ने गर्दछ। कतिपय सामाजिक परम्परा गलत भएको थाहा हुँदा पनि उसले त्यसको प्रतिवाद गरेर समाजबाट एक्लिन चाहँदैन। यसरी मानिसको मनमस्तिष्कमा हर्ड मेन्टालिटी विकास भएको हुन्छ।

मानिसमा देखा पर्ने यस्तो हर्ड मेन्टालिटीका कारण समाज तथा राष्ट्रलाई कहिलेकाहीँ त अकल्पनीय हानि पुग्न सक्छ भने कसैकसैका लागि भने हर्ड मेन्टालिटी निकै फाइदाजनक पनि हुन्छ। बजारले तथा राजनीतिले मानिसको हर्ड मेन्टालिटीबाट भरपुर फाइदा लिने गर्दछ। राजनीतिक पार्टीले चुनावका बेलामा वा विरोध प्रदर्शनका बेलामा कुनै नारा वा हल्ला फैलाएर जति सक्दो भिड जम्मा गर्ने प्रयास गर्नु पनि यही हर्ड मेन्टालिटीको उपयोग गर्नु हो।

हरेक दिन समाजमा हर्ड मेन्टालिटीका साना/ठूला घटना भइरहन्छन्। अधिकांश परम्परा, संस्कृति तथा रीतिरिवाज यही हर्ड मेन्टालिटीको उपज हो। हर्ड मेन्टालिटीलाई मोब, प्याक तथा गैंग मेन्टालिटी पनि भनिन्छ।

हर्ड मेन्टालिटीबाट बच्न सजिलो छैन। मानिस जति नै सचेत र बुद्धिमान भए तापनि कुनै न कुनै बेला हर्ड मेन्टालिटीबाट प्रभावित भएको हुन्छ। समाजमा जति जति अनिश्चितता र अस्थिरता बढ्छ, सही सूचनाको अभाव हुन्छ त्यति नै हर्ड मेन्टालिटी बढ्छ। त्यो किनभने अनिश्चितता तथा सही सूचना अभावको वातावरणमा मानिसले आफूले ठीक निर्णय गर्न सक्दैन, अनि भिडको पछि लाग्छन्।

एउटा दृश्य कल्पना गर्नुहोस् त तपाई कुनै नौलो ठाउँमा जाँदै हुनुहुन्छ, बाटोमा ठूलो खोला आउँछ, खोलामा पुल हुँदैन। माथिपट्टि खोला कम गहिरो देखिएको भए तापनि मानिस तलपट्टि गहिरोतिरबाट खोला पार गरिरहेका छन्। त्यस्तो अवस्थामा तपाई निश्चितरूपमा अरू मानिसले खोला पार गरेको ठाउँबाट नै पार गर्नुहुनेछ। हो कि होइन?

विरोध प्रदर्शनमा जब अचानक प्रहरीले हस्तक्षेप गरेर लाठी चार्ज तथा हवाईफायर गर्छन्, त्यस्तो बेलामा प्रर्दशनकारीहरू प्रायः एकै दिशातर्फ भाग्छन्। यस्तो अवस्थामा भिड जता भागेको छ, त्यही बाटो नै सुरक्षित हो भन्ने व्यक्तिको ठम्याइ हुन्छ तर भिडले गरेको निर्णय अक्सर गलत हुन्छ।

मानौँ क्रोनिक अर्थराइटिस अर्थात दीर्घ वातरोगका कारणले गर्दा तपाईलाई उठ्न, बस्न तथा हिँड्न निकै गाह्रो भएको छ। असह्य पीडा हुने गरेको छ। जति औषधोपचार गर्दा पनि रोग २० को १९ भएको छैन। यदि गाउँको कुनै व्यक्ति आएर मलाई पनि यस्तै समस्या थियो, स्यालको मासु र रम खाएको त रोग चट भयो। यी अब यसरी मजाले हिँड्न सकेको छु भने भने यदि तपाईँ जन्मजात कट्टर शाकाहारी भए भन्नुहुनेछ, तर म त शाकाहारी हुँ। स्यालको मासु त खान सक्दिनँ। यहाँसम्म त ठिकै छ। तर गाउँका अरू ४, ५ जना व्यक्तिले पनि स्यालको मासु र रम खाएको त वात रोग ठीक भयो भने भने तपाई के गर्नुहुन्छ? तपाईले के गर्नुहुन्छ, त्यो त म भन्न सक्दिनँ तर ९५ प्रतिशत शाकाहारी मानिसले पनि रोग ठिक हुने आशामा स्यालको मासु र रम खानेछन्।

स्नायु मनोवैज्ञानिकका अनुसार डर, पीडा र अनिश्चितताको बेलामा मानिसको नियोकोर्टेक्स भन्दा पनि म्यामलियन ब्रेन सक्रिय हुन्छ। जसले गर्दा मानिसले जनावारको जस्तो व्यवहार देखाउँछन्। कतिपय मानिसमा सामान्य अवस्थामा पनि म्यामलियन ब्रेन सक्रिय भएको हुन्छ, यस्ता मानिस हमेशा भीडको पछि लाग्ने गर्छन्।

हर्ड मेन्टालिटीको प्रमुख कारण भनेको नै डर र असुरक्षा हो। अज्ञानी, डरपोक, झैझगडाबाट बच्न खोज्ने, गलत कार्यविरुद्ध पनि बोल्न नसक्ने, आफैं निर्णय लिन नसक्ने कम इक्यु भएका व्यक्तिमा नै हर्ड मेन्टालिटी विकसित हुन्छ। एक अध्ययनका अनुसार विश्वका ९५ प्रतिशत मानिसमा हर्ड मेन्टालिटी विद्यमान छ। त्यसैले संसारका ५ प्रतिशत मानिसले ९५ प्रतिशत मानिसलाई भेडो बनाइरहेका छन्। कुनै न कुनै रूपमा उनीहरूमाथि शासन गरिरहेका छन्।

स्नायु मनोवैज्ञानिकका अनुसार डर, पीडा र अनिश्चितताको बेलामा मानिसको नियोकोर्टेक्स भन्दा पनि म्यामलियन ब्रेन सक्रिय हुन्छ।

मानिसको जीवनमा हर्ड मेन्टालिटी खराब मात्र छ भन्ने होइन। हर्ड मेन्टालिटीले कहिलेकाहीँ मानिसको ज्यानसमेत जोगाउन सक्छ। तर कुनै पनि क्षेत्रको लिडर बन्न हर्ड मेन्टालिटीबाट मुक्त हुनुपर्छ। भिडको पछि लागेर कोही पनि महान् बन्न सक्दैनन्। मनोवैज्ञानिक अनुसन्धान भन्छ, उच्च इक्यु भएका व्यक्ति हर्ड मेन्टालिटीबाट मुक्त हुन्छन्। त्यसैले यस्ता व्यक्तिले नयाँ काम गर्छन्, उही काम गरे पनि फरक ढंगले गर्छन्। अतः सर्वसाधारणले बुझ्नुपर्ने कुरा के भने कसैले कौवाले कान लग्यो भन्दैमा कौवाको पछि दौडिँने होइन कि पहिला कान छाम्ने चेतना विकास भयो भने मात्र पनि हर्ड मेन्टालिटीको नकारात्मक प्रभावबाट बच्न सकिन्छ।  (साइकोथेरापिस्ट)

प्रकाशित: १४ श्रावण २०८० ००:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App