६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

नेपालीका लागि हिन्दुस्तान सधैं तीर्थस्थल किन?

इतिहास

नेपाल र भारत दुवै भारतीय उपमहाद्वीपमा रहेका मुलुक हुन्। समान भौगोलिक, आर्थिक तथा सामाजिक परिवेशका कारण दुवै मुलुकका बासिन्दाबीच आपसी सम्बन्ध थियो। यो सम्बन्ध यी दुवै मुलुक सार्वभौम राष्ट्रका रूपमा स्थापना हुनुभन्दा पनि पहिलेको हो।

यथार्थमा भन्ने हो भने यहाँका बासिन्दाहरूका कारणबाट नै दुवै मुलुकबीच राजनीतिक रूपमा संस्थागत सम्बन्ध कायम भएको हो। नेपाल उत्तर र दक्षिणबाट आएका शरणार्थीहरूका लागि आश्रय स्थल रह्यो। भौगोलिक र अन्य कारणबाट पनि नेपालीहरूका लागि उत्तरभन्दा दक्षिण, हिन्दुस्तान सदैव आकर्षणको केन्द्रमा रहिरह्यो र अद्यापि छँदै छ। नेपालीहरू पढ्न, जागिर खान, मर्न, मार्न, राजनीति गर्न, परिचय लुकाउन, निर्वासित हुन त्यतैतिर लागे। अपराधी एवम् राजनीति पीडितहरूका लागि त हिन्दुस्थान सुरक्षित आश्रय स्थल नै रह्यो।

नेपालका शासक वर्ग किराँतहरूबाहेक लिच्छवि, मल्ल, सेन, शाही, समाल, चन्द, शाह, राणा सबैले आफ्नो पुख्र्यौली थलो हिन्दुस्तान नै भएको दाबी गरेका छन्। सबै टाकुरे राजाहरूले आफ्नो वंशलाई हिन्दुस्थानका विभिन्न स्थान र समयका राजासँग सम्बन्धित देखाएका छन्।

 हिन्दुस्तानका कुनै अमुक स्थानबाट शरणार्थीका रूपमा नेपालका विभिन्न भागमा प्रवेश गरी यहाँका स्थानीयसँग घरजम गरेर बसेका र कालान्तरमा मौका पाई शासक बन्न पुगेका यी शासकहरूले आफूलाई ठकुरी भन्न रुचाए। यस पृष्ठभूमिलाई हेर्दा नेपालका शासकहरूमा आफ्नो उद्गमस्थल हिन्दुस्तानप्रति लगाव हुनु स्वाभाविकै लाग्छ। हालको भारतमा पनि इतिहासको कालखण्डमा विभिन्न राजवंशहरूले भिन्नभिन्न क्षेत्रमा राज्य गरेका थिए। र, अंग्रेजको प्रभाव विस्तार हुँदै जाँदा एक ठुलो राज्य बन्न पुगेको थियो।

नेपाल र भारत दुवै भारतीय उपमहाद्वीपमा रहेका मुलुक हुन्। समान भौगोलिक, आर्थिक तथा सामाजिक परिवेशका कारण दुवै मुलुकका बासिन्दाबीच आपसी सम्बन्ध थियो। यो सम्बन्ध यी दुवै मुलुक सार्वभौम राष्ट्रका रूपमा स्थापना हुनुभन्दा पनि पहिलेको हो।

नेपालका राजवंशको भारतीय राजवंशसँग वैवाहिक सम्बन्ध कायम हुने गरेको थियो, यस नाताले पनि नेपाली शासकका लागि हिन्दुस्तान आकर्षक गन्तव्यस्थल बन्न गएको हो। भोट अर्थात् उत्तरमा भृकुटीबाहेक अन्यले वैवाहिक सम्बन्ध कायम गरेको दृष्टान्त पाइँदैन।

 हिन्दुस्तानमा लेखिएका ग्रन्थहरूमा त्यहाँका विभिन्न स्थानको महिमा तथा गुणगान गरी धार्मिक र पवित्र स्थलका रूपमा वर्णन गरिएको पाइन्छ। पुराण, उपनिषद् तथा स्मृति आदिमा भारतका विभिन्न स्थानको धार्मिक महत्वको विषयमा कथा गाथाका महिमा वर्णन गरिएको हुँदा मनोवैज्ञानिक कारणले पनि नेपालीहरू त्यस क्षेत्रतर्फ आकर्षित भएका थिए। नेपालमा शिक्षालयको अभाव र भारतमा नालन्दा, तक्षशिलाजस्ता शैक्षिक प्रतिष्ठानको अस्तित्व प्राचीनकालदेखि नै हुँदा नेपालीहरूको शिक्षा आर्जन गर्ने हेतुले पनि त्यतै लाग्नु स्वाभाविकै थियो।

नेपालका पहाडी राज्यका राजाहरू जाडोको समय तीर्थाटन गर्ने बहानामा हिन्दुस्तानको बनारस घुम्न जाने गर्थे। यसबाट राजारजौटाको भेटघाट गर्ने सामूहिक स्थल पनि हिन्दुस्तान नै भयो। पृथ्वीनारायण शाहले बनारस भ्रमण गरेका तथा उतैबाट हातहतियार तथा कालिगड ल्याएकालगायतका घटनाले हिन्दुस्तानसँगको निकटतालाई दर्साउँछ। खसिया उपत्यकाका मल्ल बाइसी चौबिसी राज्यका राजाहरू तीर्थाटनका लागि हिन्दुस्तान जाने गरेका थिए। कुनै मल्ल राजाको त तीर्थाटनका क्रममा उतै मृत्यु भएको उल्लेख छ।

पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीहरूले गरेको एकीकरण अभियानबाट पराजित हुन पुगेका कतिपय बाइसी चौबिसी राजाहरू हिन्दुस्तानतर्फ नै पलायन भएका थिए। रणजित मल्ल काशीवास गर्न गएका तथा पाटनका ६ प्रधानका सन्तान हिन्दुस्तान पुगेका प्रमाण पाइन्छ।

राजकुमार बहादुर शाहसमेत केही समय भारतको बेतियामै निर्वासित जीवन बिताउन पुगेका थिए भने स्वामी महाराज रणबहादुर शाह बनारस पलायन भएका थिए। जङ्गबहादुरले आफू सत्तामा पुगेपछि अनेकौं हत्या तथा षड्यन्त्र गरेको आरोपमा राजद्रोह अभियोग लगाई राज्यलक्ष्मी देवी (राजा राजेन्द्रकी कान्छी महारानी) लाई बनारस धपाएका थिए। यिनै रानीसँग सन्तनेता कृष्णप्रसाद भट्टराईका पुर्खा पनि बनारस गएको प्रसङ्ग स्मरणीय छ।

कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व, ३८ साल र ४२ साल पर्व (रणोद्वीप सिंहको हत्या) जस्ता काण्डको चपेटामा परेका कतिपय व्यक्ति ज्यान जोगाउन तथा कतिपय निष्कासित भई उतै पुगेका थिए। जङ्गबहादुरका कतिपय छोराहरू हिन्दुस्तानका विभिन्न स्थानमा घरजम नै गरेर बसेका थिए। वीरशमशेरद्वारा निष्कासित खड्गशमशेर, पदच्यूत गरिएका देवशमशेर, राज्यत्याग गरेका जुद्धशमशेर तथा राजीनामा दिएका पद्मशमशेर र मोहनशमशेर पनि हिन्दुस्तानमै रमाएका थिए। यसैगरी चन्द्रशमशेरको कोपभाजनमा परेका कृष्णप्रसाद कोइराला, देवीप्रसाद सापकोटा र ९७ सालमा रोलबाट कटाइएका राणाहरू पनि हिन्दुस्तानलाई नै कर्मथलो बनाए।

नेपालका पहाडी राज्यका राजाहरू जाडोको समय तीर्थाटन गर्ने बहानामा हिन्दुस्तानको बनारस घुम्न जाने गर्थे।

हिजोअस्तिसम्म नेपालीहरूलाई काठमाडौं उपत्यका प्रवेश गर्न राहदानीको आवश्यकता पथ्र्याे भने हिन्दुस्तान जान कुनै बन्देज थिएन। नेपालबाट हुनेखाने सम्भ्रान्त परिवारका व्यक्ति, छात्रवृत्ति पाएर पढ्न जाने व्यक्ति र संस्कृत शिक्षाका लागि जानेहरूको केन्द्र पनि उतै थियो। रोजगारीका लागि जाने नेपालीहरूको संख्या पनि उल्लेख्य नै थियो। हालसम्म पनि रोजगारीका लागि विदेश जाने संख्या हेर्दा भारत जानेकै सङ्ख्या अधिक छ।

तत्कालीन अवस्थामा शासनविरोधी गतिविधिको केन्द्र नै हिन्दुस्तान रहेको थियो। बहादुर शाह आफ्नो शक्ति सञ्चय गर्न उतै पुगेका र रणबहादुर शाहले पनि बनारसबाटै भीमसेन थापाको परामर्शमा नेपालका भारदारलाई आफ्नो पक्षमा पारी काठमाडौं प्रवेश गरी दामोदर पाण्डेलगायतका विरोधीहरूलाई सखाप पारेका थिए।

जंगबहादुरको विरोधमा राजा राजेन्द्रले पनि हिन्दुस्तानबाटै मोर्चा कसेका थिए। राजेन्द्रले निर्वासित भारदारहरूको सहयोग लिई जङ्गबहादुर विरुद्ध धावा नै बोलेका थिए तर उनको जोर भने चलेन। अलौ पर्व भयो, जसबाट उनले गद्दी नै त्याग्नु पर्‍यो। यसप्रकार नेपाल विरोधी राजनीति र गतिविधिको केन्द्र पनि भारत नै बन्न पुग्यो। राणाविरोधी आन्दोलन पनि सशक्त रूपमा हिन्दुस्तानबाट सुरु भएको थियो।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टीजस्ता राजनीतिक दलहरू भारतमै स्थापना भएका थिए। २००७ सालको क्रान्ति भारतीय भूमिबाटै प्रारम्भ भएको थियो। २०१७ साल पुस १ गते महेन्द्रको शाही कदमको चपेटामा परेकाहरूको सुरक्षित स्थल पनि भारत नै बन्न गयो। २००७ को आन्दोलन र २०१७ मा महेन्द्रले चालेको कदमको विरोधमा पनि नेताहरूले भारतको समर्थन र सहयोग खोजेका थिए।

हाल राजनीतिकबाहेक अन्य परिस्थिति अलि फेरिएको छ। काशीमा मर्न जाने (काशीवासमा जाने) को सङ्ख्यामा ठुलो ह्रास आएको छ। अध्ययनका लागि युरोप, अमेरिका, अस्ट्रेलिया आदि देशमा आकर्षण बढेकाले हिन्दुस्तानमा पढ्न जानेको संख्या क्रमशः घट्दै छ।

धार्मिक प्रयोजनका लागि भने हिन्दुस्तान अझैसम्म पनि आकर्षक स्थल बनेकै छ। पितृ श्राद्ध गर्न गया नै जानुपर्ने, चारधाम पुग्नैपर्ने, गंगा स्नान गर्नैपर्ने जस्ता परम्परागत मान्यताबाट नेपाली समाजले उन्मुक्ति पाउन सकेको छैन। बाह्र ज्योतिर्लिंगको दर्शन गर्नु नै पर्ने मान्यता सनातनीमा छ। नेपालकै मुक्तिनाथ, बराहक्षेत्र, रिडी, खप्तडजस्ता पवित्र स्थल नपुगे पनि घरबारी बेचेर चारधाम जानेको संख्यामा कमी आएको छैन।

पितृ श्राद्धका लागि नेपालकै कागबेनी, बेत्रावती, गोकर्ण, विष्णुपादुकाजस्ता पवित्र स्थान छन् भने पाथीभरा, बडिमालिका, गोसाइँकुण्ड, मुक्तिनाथ, खप्तडजस्ता मनोरम प्राकृतिक सौन्दर्यसम्पन्न तीर्थस्थलहरू पनि छन्। तर, हामीमा भएको हिन्दुस्तानमोहले गर्दा उतै प्रशस्त समय र पैसा खर्च गर्छौं। आफ्नै स्थान वा देशदर्शनका लागि तीर्थाटन गर्न सम्झदैनौं। हिन्दुस्थानको यस्तो मोह नेपाललाई कहिलेसम्म हो ? हिन्दुस्तान जाँदै नजाने भन्ने कुरा होइन, जानुपर्छ तर नेपालकै मनोरम स्थलमा घुम्न र डुल्न प्राथमिकता दिएमा तत् तत् क्षेत्रको विकास भई नेपाल समृद्ध बन्ने थियो। यसतर्फ धार्मिक नेताहरूले ध्यान दिँदा कसो होला?

हिन्दुस्तानमा अधिपति बनेको अंग्रेज सरकार र सोको उत्तराधिकारी भएको गणतन्त्र भारतले सधैंभरि नेपालको राजनीतिमा आफ्नो पहुँच, प्रभाव र वर्चस्व यथावत् राख्न भारतमा पलायन भएका समूहलाई परोक्ष रूपमा हतियार बनाइरह्यो।

गोरखाले चलाएको विजय अभियानको चपेटामा परी हिन्दुस्तान पुगेका पराजित शासक कर्ण सेन एवम् बुद्धिकर्ण राय बाईसी र चौबीसी भगौडा शासकबाट फाइदा उठाउने उद्योग गरेको थियो तर आशातीत फाइदा लिन भने सकेन। स्वामी महाराज रणबहादुरको बनारस प्रवासबाट अंग्रेजलाई नेपाल घुस्ने राम्रो अवसर प्राप्त भयो।

तत्कालीन अवस्थामा शासनविरोधी गतिविधिको केन्द्र नै हिन्दुस्तान रहेको थियो। बहादुर शाह आफ्नो शक्ति सञ्चय गर्न उतै पुगेका र रणबहादुर शाहले पनि बनारसबाटै भीमसेन थापाको परामर्शमा नेपालका भारदारलाई आफ्नो पक्षमा पारी काठमाडौं प्रवेश गरी दामोदर पाण्डे लगायतका विरोधीहरूलाई सखाप पारेका थिए।

फलतः १८०१ को सन्धि भयो, जसले अंग्रेजलाई नेपाल चढ्न भर्‍ याङको काम गर्‍ यो। नेपालका तत्कालिक शासकबाट दण्डित भएका, त्रसित बनेका तथा निष्कासित भई हिन्दुस्थान पुगेका राजनीतिक व्यक्तिलाई सम्बन्धित शासकले आआफ्नो अस्तित्वलाई खतरा देख्ने मनोवैज्ञानिक रोगलाई भारतले भरपुर फाइदा उठायो। जङ्गबहादुरको उदयपश्चात् बागी ठहरिएका सबैले भारतका विभिन्न स्थानमा बसोबास गरे र यदाकदा प्रतिशोधको राजनीतिमा समेत सहभागी भए।

राणाकालमा सत्ताधारीबाट निष्कासित सबै राणा खलक हिन्दुस्तानमा रहँदा बस्दा उनीहरूबाट कुनै अनिष्ट नहोस्, अंग्रेज सरकार उनीहरूको गतिविधिउपर चनाखो रहोस् र परेमा सजाय पनि गरोस् भन्ने आशय शासकलाई हुन्थ्यो। यसैकारण राणाहरू अंग्रेजभक्त हुन पुगे। विस्तारै अंग्रेजले आफ्नो इशारामा नेपाललाई नचाउन सफल भयो। अतः राणाहरूले नेपालको राष्ट्रिय स्वार्थ विपरीत अनेकौं कामहरू गरे।

सन् १९०७ मा भारत स्वतन्त्र भएपछि भारतमा भूमिगत रूपमा स्थापित र संगठित राजनीतिक दल नेपाली कांग्रेसले भारतकै सहयोगका लागि याचना गरेको थियो। भारतीय नेताकै आग्रहमा बिपी कोइराला जेलमुक्त भएका थिए। २००७ सालमा राजा त्रिभुवन भागेर दिल्ली पुगेपछि त नेपाली राजनीतिको साँचो नै भारत सरकारले लिन पुग्यो। राजा, राणा र राजनीतिक पार्टी सबैले आआफ्नो स्वार्थपूर्तिका लागि भारत सरकारसँग अनुनय विनय गर्न पुगे। फलस्वरूप दिल्ली सम्झौता भयो। हुन त यो दिल्ली सम्झौता तीनथरी शक्तिका बीच एकै स्थानमा छलफल भई निष्कर्षमा आएको थिएन। तीनथरीसँग पृथक् पृथक् मन्त्रणा गरी मध्यममार्गी समाधान भारतले निकालेको थियो। २००७ सालको परिवर्तनपश्चात् नेपालको राजनीतिमा भारत नै भाले हुन पुग्यो। नेपालको मन्त्रिमण्डलकै बैठकमा भारतीय राजदूत बस्न थाले।

साँच्चै भन्ने हो भने अंग्रेजभन्दा गणतन्त्र भारत नेपालको राजनीतिमा बढी हाबी भयो। राजा महेन्द्र नेपाली राजनीतिमा सर्वेसर्वा भएको बेलामा भारतीय प्रभाव रोक्न विभिन्न कदम पनि चाले। यसबाट भारत कुपित भई नाकाबन्दी नै गर्‍ यो। तर, ठिक त्यसैबेला भारत र चीनबीच युद्ध छेडिएपछि नाकाबन्दी हट्यो।

२०१७ साल पुस १ गतेको कदमप्रति महेन्द्रले भारतको सदाशयता खोजेका थिए। साथै उक्त कदमको विरोध गर्नेले पनि भारतलाई हस्तक्षेप गर्न उक्साएका थिए। तर, भारतले तटस्थको नीति लियो। विरोधको आवाज सुनेन। २०१७ सालपछि प्रजातन्त्रवादी सबै शक्तिहरूले भारतबाट सहयोग अपेक्षा गरेका थिए तर पाउन भने सकेनन्। सत्तामा जो छ उसैलाई समर्थन गरी आफ्नो दुनो सोझ्याउने नीति भारतले लिई नै रह्यो, जुन भारत सरकारको चतुर राजनीतिले हालसम्म निरन्तरता पाइरहेको छ।

राणाकालमा सत्ताधारीबाट निष्कासित सबै राणा खलक हिन्दुस्तानमा रहँदा बस्दा उनीहरूबाट कुनै अनिष्ट नहोस्, अंग्रेज सरकार उनीहरूको गतिविधिउपर चनाखो रहोस् र परेमा सजाय पनि गरोस् भन्ने आशय शासकलाई हुन्थ्यो।

पञ्चायत कालमा पनि सत्ताबाहिर हुने सबै शक्ति/पार्टी/व्यक्तिले सरकारलाई भारतपरस्त हुने दोषारोपण गर्ने गरेको र आफै सत्तामा पुग्दा भारतीय आशीर्वादको याचना गर्ने कुराको थालनी भयो। जुन परम्परा हालसम्म पनि निर्वाह हुँदै आएको छ।

२०४६ सालमा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीको नेपाल भ्रमण र अन्य अवसरमा नेपालले खातिरदारी नगरेको, उचित मानसम्मान नगरेको तथा नटेरेको कारणबाट नाकाबन्दीकै नीति लियो, जुन कारबाहीले २०४६ को आन्दोलन सफल हुन मलजल पुग्यो। २०४६ को आन्दोलनको पूर्वसन्ध्यामा भारतीय नेताहरूले नेपाललाई खुलमखुला तत्कालीन सरकारको चर्को विरोध गर्‍ यो। यस्तो विरोधलाई भारत सरकारको परोक्ष सहयोग नै थियो। आन्दोलन सफल भएकै दिन भारतले नाकाबन्दी अन्त्य गर्‍यो।

२०४७ पश्चात्का सबै सरकारले आफ्नो सत्ता टिकाउन भारतीय सरकारको प्रत्यक्ष परोक्ष सहयोगको याचना गर्दै रहे। सबै राजनीतिक दलका प्रभावशाली नेताहरूलाई भारतले अनुकूल बनाउन साम, दाम, दण्ड, भेदको नीति लिएको विषयमा सुरु भएको बहसको अन्त्य भएको छैन। माओवादीहरूलाई शक्तिशाली बनाउन होस् वा उनीहरूको आन्दोलनलाई गतिशील बनाउन भारतीय भूमिबाटै यथेष्ट सहयोग पुगेको टिप्पणी गर्ने गरिन्छ।

 माओवादीउपर भारतले आफै बोक्सी आफै धामी बन्ने प्रपञ्च पनि रचेकै हो। २०६२/६३ को आन्दोलन पनि भारतकै सहयोगमा परिणाममुखी भएको र राजतन्त्र समाप्त हुनुमा पनि भारतकै भूमिका उत्तरदायी भएको निष्कर्ष पनि निकाल्ने गरिएको छ। केपी ओली प्रधानमन्त्री भएको बखत पनि भारतले अघोषित नाकाबन्दी गरेको र इन्धनको आपूर्तिमा व्यवधान गरेको सन्दर्भ ताजै छ।

नेपालको सरकार ढाल्न र बचाउन, कसैलाई उठाउन र पछार्नसमेत भारतीय रणनीति भएको विश्वास अब आम नेपालीमा पुगिसकेको छ। हाम्रा सबै पार्टीका नेताहरू भारतीय सरकारको समर्थन, आशीर्वाद पाउन दण्डवते नीति लिइरहेका छन्। भारत सरकार पनि नेपालमा आफ्नो अनुकूल सरकार बनाउन सबै चलखेल गर्ने गरेको देखिन्छ।

पञ्चायत कालमा पनि सत्ताबाहिर हुने सबै शक्ति/पार्टी/व्यक्तिले सरकारलाई भारतपरस्त हुने दोषारोपण गर्ने गरेको र आफै सत्तामा पुग्दा भारतीय आशीर्वादको याचना गर्ने कुराको थालनी भयो। जुन परम्परा हालसम्म पनि निर्वाह हुँदै आएको छ।

यसैगरी संक्रमणकालमा भारतीय राजदूतलगायत अन्य उच्चपदस्थ अधिकारीहरूको नेपालमा हुने गरेको भ्रमण अभिव्यक्तिले समेत यो कुरा पुष्टीकरण गरेको छ। भारतको हस्तक्षेपबाट अनेकौं आयोजना, योजना विकासका परियोजनाहरूबाट नेपाल सरकारले परिमार्जन गरेका मामलाहरूको सूची लामै हुन्छ। भारतकै नीतिका कारण चीनलगायत अन्य शक्तिशाली राष्ट्रहरू नेपालको राजनीतिक सन्दर्भमा चनाखो हुन थालेका छन्।

प्रधानमन्त्री हुनेले सपथ ग्रहण गर्नेबित्तिकै सहिदगेट पुगी सम्मान अर्पण गर्न र आशीर्वाद लिन दिल्ली पुग्ने गरेको तथ्य स्मरणीय रहेको छ। नेपालका शासकहरूले आफ्नो स्वार्थ रक्षा गर्न र व्यक्तिगत स्वार्थ पूरा गर्ने आन्तरिक मनसाय राखेकाले आजको स्थिति आएको छ। आजको दिन आउन हिजो जिम्मेवार थियो भन्ने कुरा बुझ्न अब ढिला गर्नु हुँदैन कि?

नेपालको सरकार ढाल्न र बचाउन, कसैलाई उठाउन र पछार्नसमेत भारतीय रणनीति भएको विश्वास अब आम नेपालीमा पुगिसकेको छ।

भारतीय संस्कृति र सभ्यताको प्रभावबाट उत्तिको दीर्घकालीन असर नपर्ला तर नेपालको राजनीतिमा भारतीय चासो, शोधखोज र मन्त्रणाले दूरगामी प्रभाव परेको छ। नेपाली राजनीतिको रिमोट कन्ट्रोल आफ्नो हातमा लिएर आन्तरिक र बाह्य सम्बन्धमा दखल दिने गरेको, नेपालको अपार जलस्रोतमा आँखा लगाई कोशी, गण्डकी र महाकालीजस्ता सम्झौता गराएको, ठुलाठुला आयोजनामा हस्तक्षेप गरेकोजस्ता अनेकौं संगीन मामलामा भारतीय चलखेल हुने गरेका प्रशस्त चर्चा परिचर्चा तथा टीकाटिप्पणी छापाहरूमा देखिएका छन्।

भारतीय संस्कृति र सभ्यताको प्रभावबाट उत्तिको दीर्घकालीन असर नपर्ला तर नेपालको राजनीतिमा भारतीय चासो, शोधखोज र मन्त्रणाले दूरगामी प्रभाव परेको छ।

संक्रमणकालमा भारतीय राजदूत र उच्चपदस्थ अधिकारी एवम् नेताहरूको नेपाल भ्रमण हुनेगरेका घटनाको मकसदसमेत नेपालीले बुझ्न सकेका छैनन्। यस पृष्ठभूमिमा नेपाल भुटान वा सिक्किम कुन पथमा अग्रसर हुने हो? शासक वा राजनीतिक पार्टीका नेताहरूले आफ्नो स्वार्थका लागि भारतलाई गुहारेको हो कि? भारतले नेपालमा प्रभाव क्षेत्र कायम गर्न लिएको रणनीति हो? राणाकालदेखि नै आफ्नो शासन टिकाउन भारतमुखी भएको हो त? यस्ता अहम् सबालको एउटै र सार्वभौम उत्तर त नहोला तर यस विषयमा बस चलाउन आवश्यक छ। जसबाट भविष्यका पुस्ताले अभिशाप होइन, आशीर्वाद पाऊन्।

प्रकाशित: १३ श्रावण २०८० ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App