१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

समाज रुपान्तरणको अवसर चुनाव

१५ वर्षदेखि प्रतीक्षा गरिएको स्थानीय तहको निर्वाचन यही वैशाख ३१ र जेठ ३१ मा पूरा हुँदैछ। राजनीतिक रुपमा यो सकारात्मक रुपान्तरणको उदाहरण हो। सँगसँगै देशको राजनीति प्रणाली पनि केन्द्र, प्रदेश र स्थानीय तहमा पुनः संरचित भएको छ। यस अगाडिका गाउँ विकास समिति र नगरपालिका केन्द्रका अधिनस्थ हुन्थे भने संविधान २०७२ ले स्थानीय निकायलाई अधिकार सम्पन्न स्वायत्त निकायको रुपमा स्थापित गरेको छ। संविधानले परिकल्पना गरेको अधिकारहरु अब हुने निर्वाचनमार्फत बन्ने स्थानीय सरकारले सदुपयोग गरी जनतालाई अधिकतम सेवा र सुविधा प्रदान गर्नेछ। साना–साना कुराहरुका लागि पनि जिल्ला सदरमुकाम र केन्द्रमा धाउनु पर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय तहकै कार्यालयबाट सेवा सुविधा प्रदान गर्ने र स्थानीय सरकारलाई जनताप्रति उत्तरदायी बनाउने व्यवस्था गरेको छ।

विगत साक्षी छ– नियम, कानुन, नीति र कार्यक्रमहरु जति राम्रा भए पनि जनतालेे सरकारबाट के कति सेवा र सुविधा पाउने भन्ने कुरा त ती कानुन, नियम, नीति र कार्यक्रम कार्यान्वयन गर्ने व्यक्तिहरुको चेतना, क्षमता, योग्यता र चाहनामा भर पर्छ। जिम्मेवार व्यक्ति नै अक्षम, अज्ञानी, लोभी, पक्षपाती भए भने त्यो नगरपालिका वा गाउँपालिका जनताहरुको विकासको चाहना कदापि पूरा हुँदैन। एक जना सक्षम, इमान्दार र कर्मठ जनप्रतिनिधि हुनु भनेको त्यस नगरपालिका वा गाउँपालिकाको आर्थिक तथा सामाजिक विकासमा कायाकल्प हुनु हो। त्यसकारण एक भोट हाल्नु भन्दा पहिला हजारौँ पटक सोच्नु पर्छ।

यस निर्वाचनमा भोट हाल्ने कुरा केवल पाँच वर्षका लागि होइन। यो त आफू र आफ्ना सन्ततिको भविष्यसम्मका लागि जोडिएको कुरा हो। खासगरी नेपालजस्तो बहुदलीय व्यवस्था भएको देशमा सबै जनता कुनै न कुनै पार्टीमा आबद्ध भएकै हुन्छन् र जनताको त्यही आबद्धताका आधारमा राजनीतिक पार्टी आफ्नो क्षमताको आँकलन गर्छन्। अहिले नेपालमा भएका पार्टीहरुको नीति, कार्यक्रम र सत्ता प्राप्ति पश्चातका उनीहरुको व्यवहारलाई सूक्ष्म तरिकाले अध्ययन गर्ने हो कुनै तात्विक फरक देखिदैन। कोहीकोही पात्रहरु जस्तै गोकर्ण विष्ट एमाले, लालबाबु पण्डित एमाले, रेखा शर्मा एमाओवादी, जनार्दन शर्मा एमाओवादी, टेकबहादुर गुरुङ नेपाली कांग्रेस, गगन थापा नेपाली कांग्रेसजस्ता केही व्यक्तिहरुले गरेका सकारात्मक काम कुनै पार्टी विशेषको कारणले होइन कि व्यक्तिको व्यक्तिगत चाहना, जनताप्रतिको उत्तरदायित्व, कर्तव्य र निष्ठाका कारण भएका हुन्। त्यसकारण स्थानीय निकायमा जनशक्ति, स्रोत र साधनको सीमितता हुने भएको हुँदा व्यक्तिको योग्यता, क्षमता, ज्ञान, निष्ठा र कर्तव्यबोधजस्ता कुरा निकै नै महŒवपूर्ण हुन्छन्।

अहिले हुन गइरहेको निर्वाचन यथास्थितिमा क्रमभंग गरेर युवा शक्तिलाई नेपाली राजनीतिमा स्थापित गराउन नयाँ परिस्थिति निर्माण गर्ने अमूल्य अवसर हो। निर्वाचनको पूर्व सन्ध्यामा आज सबैले एक पटक आफ्नो जात, पार्टी, व्यवसाय र धर्मभन्दा माथि उठेर सोच्नुपर्छ र एक भोट सक्षम, योग्य, इमान्दार र कर्मठ व्यक्तिलाई हाल्न सक्नुपर्छ। भोट हाल्दा हामीले के भुल्नु हुँदैन भने हामीले जसलाई भोट हाले पनि हाल्ने नेपालीलाई नै हो। त्यसकारण यो मेरो पार्टीको वा अर्काको पार्टीको भन्दा पनि जुन सुकै पार्टीको भए पनि इमान्दार, दक्ष र क्षमता भएको युवा उम्मेदवारलाई नै जिताउनु पर्छ। एकजना नेता इमान्दार, दक्ष र कर्तव्यनिष्ठ भयो भने त्यो ठाउँको विकासमा के कस्तो प्रभाव पर्दछ भन्ने कुरा सिंगापुर, मलेसिया, दक्षिण कोरिया, थाइल्यान्ड, भियतनाम, कम्बोडियाजस्ता देश तथा छिमेकी देश इन्डियाका विहार र राजस्थानको विकासबाट प्रमाणित हुन्छ।

स्थानीय तहदेखि नै सक्षम, योग्य, इमान्दार र कर्मठ नेतृत्व छान्ने अभ्यास गर्छौं भने मात्रै हामी प्रदेश र केन्द्रमा पनि शिक्षित, कर्मठ र इमान्दार नेेतृत्व छान्न सक्छौँ र निकै छोटो समयमा देशलाई रुपान्तरण गर्न सक्छौँ। हामीले मनन गर्नुपर्ने कुरा के हो भने विगतमा हामीले सक्षम, इमान्दार, योग्य नेतृत्व चयन गर्न नसक्दा, हाम्रो शैक्षिक प्रणाली वैज्ञानिक र प्रतिस्पर्धी हुन सकेन। जसले गर्दा राजनीतिक रुपमा हाम्रो नेतृत्व कुशासन, भ्रष्टचार, असक्षम र अयोग्य त छँदैथियो, कर्मचारीतन्त्र पनि त्यस्तै भयो। देशको विकास बजेटको ८० प्रतिशत रकम खर्च गर्न नसक्ने नेतृत्व छ यो देशको।  स्थानीय तह पनि यही नियतिको शिकार भयो भने हाम्रो समृद्ध हुने सपना केवल सपना मात्रै रहने छ। त्यसकारण बेला छँदै हामीले ठण्डा दिमागले सोचेर सही निर्णय गर्न सक्यौँ भने हाम्रो एक भोटले देश विकासमा ठूलो योगदान दिन सक्नेछ।

देशका सबै भोट हाल्नेहरुले बु‰नु पर्छ, एक्काइसौँ शताब्दीमा समृद्धि भनेको शारीरिक परिश्रमबाट होइन यो त सोच, दक्षता र प्रविधिको विकासबाट हुने हो। त्यसकारण २४० वर्षको इतिहासमा हाम्रो देशको शून्य दशमलव एक प्रतिशत जनसंख्यालाई पनि वैज्ञानिक बनाउन सकेको छैनौँ। जबसम्म हामीले वैज्ञानिक आविष्कार गरेर नयाँ–नयाँ कुराहरुको सिर्जना गर्न सक्दैनौँ, हाम्रो विकास सम्भव छैन। हामीले हाम्रा युवालाई वैज्ञानिक हुने वातावरण निर्माण गर्न सक्यौ भने मात्र हाम्रो अर्थतन्त्रमा आमूल रुपान्तरण हुनुको साथै हाम्रो देशको मानसम्मानमा पनि आमूल रुपान्तरण हुनेछ।

स्मरण रहोस्, एक भोट इमान्दार र सक्षम व्यक्तिलाई हाल्न हिचकिचाउने तर देश विकास भएन भनेर  बकबकाउनुको कुनै अर्थ रहँदैन। यो समय भावनामा बगेर म यो पार्टीको कर्मठ र प्रतिवद्ध कार्यकर्ता हुँ भनेर जस्तोसुकै उम्मेदवारलाई भोट हाल्ने बेला होइन, यो त घरमा भएका जवान छोराछोरी, भर्खर जन्मेका नाती–नातिनी, बुढेसकालका वृद्ध वा आमा, भरेभोलि भएका हजुरबा–हजुरआमा सबैको लागि हित गर्न सक्ने समाज, देश र जनताको हितको लागि रक्षा गर्न सक्ने कर्मठ, इमान्दार र योग्य उमेदवारलाई एक भोट हाल्ने साहस देखाउने बेला हो। यस्तो गर्न सकियो भने मात्रै हामीले हाम्रो देशको सार्वभौमिकताको रक्षा गर्न सक्छौँ।

कार्यकारी निर्देशक, सामुदायिक रेडियो प्रसारक संघ

प्रकाशित: २२ वैशाख २०७४ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App