७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
विचार

रेशमको आममाफी: फेरी जाग्ला ‘थरुहट’ ?

तस्बिरः थारु पहिचानबादी थरुहट आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको स्मृतिमा दाङ देउखुरीमा बनाईएको शहिद गेट।

२०७८ पुस १९ गते गठन भएको नागरिक उन्मुक्ती पार्टी गठनको मुख्य एजेण्डा एउटै थियो ‘टिकापुर घटनाका दोषी प्रमाणित भई जेलमा रहेका रेशम चौधरीको रिहाई ।’ जेल भित्र रहेका रेशमकै योजना मुताबिक गठन भएको यो दलको नेतृत्व रेशम पत्नी रञ्जिता श्रेष्ठले लिईन्।टिकापुर आन्दोलनलाई ‘क्यास’ गरेर पश्चिम भेगका थारु समुदायको सहानुभुती प्राप्त गर्ने लक्ष सहित गठन भएको यो दलले टिकापुर घटनामा थारु समुदायलाई निर्दोष प्रमाणित गर्न खोजिरह्यो।  

थारु पहिचानवादी आन्दोलनका क्रममा भएको बिभत्स हत्याको जिम्मा सिंगो थारु समुदाय माथि राज्यले नियोजित रुपमा थोपर्न खोजेको भन्दै राज्य विरुद्ध वकालत यो दलले गरिरह्यो।यहि वकालतलाई चुनावी एजेण्डा बनाउँदै नागरिक उन्मुक्ती निर्वाचनमा होमियो।सिंगो थारु समुदायको मुक्तीको नारा सहित चुनाव केन्द्रीत बनेको यो दलको मुख्य एजेण्डा भने अन्ततः टिकापुर घटनामा अभियुक्त प्रमाणित ‘रेशमको रिहाई’ नै थियो ।  

गत प्रतिनिधिसभा निर्वाचनमा थारु बाहुल क्षेत्रको जनमतले यो दललाई थारु पहिचानबादी आन्दोलनका लागि थप सशक्त भएर अघि बढ्न प्रेरित गर्यो।प्रतिनिधिसभामा चार सांसदको उपस्थिती हुने गरि प्राप्त जनमतले नागरिक उन्मुक्ती पार्टीलाई रेशमको रिहाईका लागि संसद भित्र बलियो आवाज उठाउने शक्ति प्रदान गरिदियो।  

सरकारसंगको निकटस्थताले रेशमको रिहाई सम्भव छ भन्ने निष्कर्षमा पुगेको यो दलले रेशमको मुद्धालाई ‘सरकारमा सहभागीता’ को बिषयसंग जोड्न थाल्यो।अल्पमत र बहुमतको सत्ता खेलमा सहभागी गराउन खोजिएको नागरिक उन्मुक्तीले आफ्नो सत्ता समर्थनका लागि रेशमको रिहाईलाई प्रमुख सर्त बनायो । सरकारमै सहभागी भए रेशमको रिहाई सहज हुने निष्कर्षमा पुगेको यो पार्टी सरकारमै सहभागी हुने निर्णयमा पुग्यो , अनि वर्तमान सत्ता गठबन्धनसंग जोडियो।  

नागरिक उन्मुक्तीका अध्यक्ष रञ्जिता सरकारमा सहभागी भईन् । थारु नेताहरुका अनुसार रञ्जिताको सरकार सहभागीता श्रीमान रेशमको रिहाईकै लागि थियो । ‘रञ्जिता श्रेष्ठ सरकारमा सहभागी हुनुको प्रमुख उदेश्य भनेकै आफ्ना श्रीमान रेशमको रिहाईका लागि थियो,’ एक थारु नेता भन्छन् ‘सरकारमा सहभागी भएर दबाब सिर्जना गर्न सकिन्छ भन्ने बुझाईबाट नागरिक उन्मुक्ती टाढा थिएन।’

टिकापुर घटनालाई राजनीतिक मुद्धाका रुपमा अथ्र्याईनु पर्ने बताएको उन्मुक्तीले रेशमको रिहाईलाई निसर्त भनेको थियो । अर्थात उनलाई उक्त घटनाका अभियुक्तका रुपमा प्रमाणित गरिन नहुने उसको दाबी थियो । तर यसो भएन, रेशम अभियुक्त प्रमाणित भए।अनि गणतन्त्र दिवसका अवसरमा उनलाई आममाफी दिईयो र उनि जेलमुक्त भए।‘हाम्रो माग त रेशम चौधरीको निसर्त रिहाईको थियो,’नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी भन्छन् ‘तर राज्यले उहाँलाई अपराधि प्रमाणित गरिदियो, अनि आममाफी दियो ।’ कांग्रेस केन्द्रीय सदस्य चौधरीले पहिले देखिनै रेशम निर्दोष रहेको भन्दै उनको निसर्त रिहाईको माग गर्दै आईरहेका थिए। 

रेशम माथि लगाईएको मुद्धालाई उनले थारु पहिचानका निम्ती चलेको आन्दोलनलाई कमजोर पार्ने राज्यको रणनीतिका रुपमा दाबी गर्दै आएका थिए । ‘रेशम चौधरी मागि जुन खालको मुद्धा लगाईयो र उक्त मुद्धामा रेशमलाई दोषी प्रमाणित पनि गरियो, यो थारु पहिचानका निम्ती लामो समय देखि चलेको थारु आन्दोलनलाई दबाउने रणनीति राज्यको थियो,’ योगेन्द्र भन्छन् ‘र राज्य आफ्नो मिशनमा केहि सफल पनि बन्यो, रेशमलाई निसर्त रिहाई नगरेर आम माफी दिनु यसको उदाहरण हो।’

त्यसोत, उक्त घटनामा रेशमले आममाफी पाए।तर उहि घटनाका अन्य केहि थारुहरु अहिले पनि जेलमै छन् । उक्त घटनामा सामेल भएको भनिएका अन्य थारुहरुलाई रिहाई वा आममाफी नदिनुलाई योगेन्द्रले थारु समुदाय माथि बिभाजन निम्त्याउन चाहेको राज्यको मिशन पुरा भएको बताए । उनका अनुसार पहिचानबादी आन्दोलनलाई राज्यले दबाउन चाहन्छ।थारु समुदायमै बिभाजन ल्याउन सके यो आन्दोलनलाई मत्थर पार्न सकिन्छ भन्ने बुझाईमा राज्य छ।

‘थारु समुदायले उठाउँदै आएको पहिचानबादी मुद्धा (थरुहट आन्दोलनको मर्म) लाई राज्यले ओझेलमा पार्न चाहिरको छ , यसका लागि थारु समुदायमा बिभाजन ल्याउनुनै राज्यको प्रमुख मिशन हो,’ योगेन्द्र भन्छन् ‘टिकापुर घटनाका आरोपित मध्यका रेशमलाई मात्रै आममाफी दिईयो तर उहि घटनाका अन्य आरोपितहरुलाई राज्यले आममाफी किन दिएन त ?यसरी राज्यले थारु समुदायमा बिभाजन निम्त्याउन खोज्यो ।’

रेशमको रिहाईको मूल ऐजेण्डा सहित गठन भएको नागरिक उन्मुक्ती पार्टीको एजेण्डा रेशमको आममाफी संगै पुरा भएको छ । अब,यो पार्टीले आफूलाई कुन एजेण्डामा स्थापित गर्ने भन्ने चुनौती पनि उसका सामु रहेको थारु नेताहरुको बिश्लेषण छ।थरुहट आन्दोलनको अगुवाकर्ता मध्यका कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र भन्छन् ‘हिँजो नागरिक उन्मुक्तीको मुल एजेण्डा भनेकै रेशम चौधरीको रिहाई थियो, रेशम जिको आममाफीले यो दलको एजेण्डा सक्काईदिएको छ,अब यो पार्टीले आफ्नो कुन एजेण्डालाई स्थापित गर्ने भन्ने स्वाभाविकै रुपमा उसका लागि चुनौती छ ।’

थारु पहिचानका लागि भएको टिकापुर आन्दोलन (घटना)का कारण स्थापित भएको यो राजनीतिक दललाई अब भनेको उहि थारु पहिचानको मुद्धालाई प्रमुख एजेण्डाका रुपमा स्थापित गर्नु पर्ने आवश्यक्ता थारुहरु देख्छन् । ‘थारुहरुको पहिचानका लागि सुरु भएको आन्दोलन पुरा भएको छैन,’ योगेन्द्र भन्छन् ‘यसर्थ नागरिक उन्मुक्तीले अब यो आन्दोलनमा सहकार्य गर्दै आफूलाई थारु पहिचानबादी पार्टीका रुपमा परिचित गराउनै पर्ने म देख्छु।’ तर यसका लागि रेशम एक्लै वा उनको दलको एक्लो अभियान मात्रै पुरापुर भने हुँदैन। 

हरेक राजनीतिक दलमा आवद्ध थारु नेताहरुको साझा मुद्धाका रुपमा यो अभियानलाई जोडेर अघि बढ्न सके मात्रै थारुहरुको पहिचानका लागि आन्दोलनले मूर्त रुप पाउने तर्क उनको छ । ‘रेशम जि वा उहाँको पार्टी एक्लै थारु पहिचानबादी एजेण्डा बोकेर सम्भव हुँदैन,उहाँसंगै हामी फरक फरक राजनीतिक दलमा रहेका थारु नेताहरुको सहकार्य यसका लागि आवश्यक रहन्छ,’ योगेन्द्र भन्छन् ‘हेरौँ रेशम जि अब कसरी आफूलाई अनि आफ्नो पार्टीलाई अघि बढाउनु हुन्छ।’

यता थरुहठ आन्दोलनका अगुवा तथा नागरिक उन्मुक्ती पार्टीका नेता लक्ष्मण थारुले भने रेशम चौधरीको रिहाई थारु पहिचानबादी आन्दोलनको ठूलो उपलब्धीका रुपमा अथ्र्याउँछन् । रेशमको आममाफीले टिकापुर घटनामा ‘निर्दोष सावित’ गरिदिएको दाबी गरेका लक्ष्मणले थारुहरुको पहिचानका लागि यो रिहाइले थप बल पुगेको दाबी गरे । ‘रेशम चौधरीको रिहाईले टिकापुर घटनामा थारुहरुको दोष थिएन भन्ने कुराको प्रमाण्ति गरिदिएको छ,’ लक्ष्मणले भने ‘यसले समग्र थारु समुदायमा थारु पहिचानबादी आन्दोलनका लागि थप उर्जा प्रदान गरेको छ।’  

रेशमको आममाफीलाई थारु पहिचानबादी आन्दोलनको ठूलो उपलब्धीका रुपमा बुझेका उनले सोही मुद्धामा अहिले पनि जेलमै रहेका थारुहरुको रिहाईका लागि नागरिक उन्मुक्तीले दबाब सृजन ागर्ने थारुको भनाई छ । ‘रेशम जिको रिहाईले थारु समुदायको जित भएको छ, तथापी अझै पनि टिकापुर घटनाका आरोपित बनाएर राज्यले हाम्रा अन्य साथीहरुलाई जेलमै राखेको छ,’ लक्ष्मणले भने ‘अब उहाँहरुको रिहाई हाम्रो पार्टीको अर्को प्रमुख मिशन हो, उहाँहरुको पनि रिहाई पक्कै हुन्छ ।’ उनले हिँजो पहिचानबादी आन्दोलनका क्रममा सडक उत्रिएको थारु समुदाय आफ्नो पहिचानका लागि उसैगरि अयिभानमा केन्द्रीत बन्ने दाबी समेत गरे।  

तर कुनैबेला थरहठ आन्दनोलका नाममा आफ्नो पहिचानका निम्ती भन्दै सडकमा उत्रिएको सिंगो थारु समुदाय अहिले त्यो आन्दोलनको मानसिकताबाट पुरै पछि हटिसकेको छ।पूर्व देखि पश्चिम सम्मको थारु समुदायको बसोबास एकै थलो अर्थात एकै प्रदेशमा कायम गरिनु पर्छ भन्ने प्रमुख माग सहित उब्जीएको आन्दोलनले यो एजेण्डालाई प्राप्त गर्न सकेन।आन्दोलनका नेतृत्वहरुमा देखिएको ‘छिन्न भिन्न’ को अवस्थाले आन्दोन थप लम्बीन सकेन।फलतः आन्दोलन मत्थर बन्दै सेलायो भने एकै थलोमा बसोबासको अपेक्षा राखेको थारु समुदायको माग ‘थरुहठ प्रदेश’ले फेल खायो । अनि सिंगो थरुहठ आन्दोलनले फेल खाए सरह बन्यो।  

बिगतको आन्दोलन र आँफुहरुका मागका सम्वन्धमा देखिएको शून्य उपलब्धीका कारण निराश थारु समुदाय टिकापुर घटनाबाट थप निराश बन्यो।तथापी उसै घटनाका मुख्य योजनाकारण घोषित रेशम चौधरीको रिहाईले पहिचानको आन्दोलनमा होमिएको थारु समुदायमा उर्जा प्राप्त भएको दाबी रेशम चौधरीकै पार्टी नागरिक उन्मुक्तीले गरेको छ।  

 

 

प्रकाशित: २० जेष्ठ २०८० १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App