४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

कठ्यांग्रिएको जाडोमा तातेको राजनीति

हाम्रो मुलुकमा जब जाडो सुरु हुन्छ राजनीतिक तापक्रम बढेर आउँछ। वर्तमानमा मात्र नभएर विगतका वर्षहरूमा पनि यही क्रमका घटनाहरू हामीले नियालिरहेका छौँ। २०१६ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको मन्त्रिमण्डल तत्कालीन राजा महेन्द्रले भंग गरी दलमाथि प्रतिबन्ध लगाएको पनि पुस महिना नै थियो। २०१७ पुस १ गतेलाई प्रजातन्त्रवादीहरू कालो दिनका रूपमा स्मरण गर्छन्। २०४५ सालमा पञ्चायती व्यवस्था विरुद्ध जेहाद छेडेको पनि जाडो महिनामै हो। सर्वाेच्च कमान्डर गणेशमान सिंहको नेतृत्वमा चाक्सीबारी काठमाडौँबाट फागुन ७ मा सुरु पञ्चायत विरोधी आन्दोलन चैत २६ गते सफल भएको थियो।

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले जनताका सम्पूर्ण मौलिक अधिकार आफूमा निहित गरी प्रतिगमन कदम सुरु गरेको दिनलाई पनि नेपाली जनताले भुलेका छैनन्। देशमा जाडो मौसममा सुरु गरिएका राजनीतिक कदमहरू कुनै सुखद रहे, कुनै दुःखद।

यस बेलाको जाडो मौसममा देखापरेको राजनीतिक सरगर्मीले प्रत्येक नेपालीलाई तताएको छ।

यसका प्रमुखपात्र बनेका छन् भर्खर प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा गोरखा–३ बाट निर्वाचित पुष्पकमल दाहाल प्रचण्ड। राजनीतिमा अस्थिर तर चतुर खेलाडी प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र नेकपा (एमाले) अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका बीच २ वर्ष पहिलेको जाडो मौसममा सुरु भएको दन्तबझान बडो रोचक र घोचक थियो। २०७४ सालको राष्ट्रिय चुनावमा वाम गठबन्धनबाट झण्डै दुईतिहाइको सरकार निर्माण गरेर शासन सत्ता चलाएका उनीहरूबीच केही महिनासम्म त माछा पानीको सम्बन्ध थियो।

दुवै जनाले पालैपालो प्रधानमन्त्री पदमा रही देशको समृद्धिका लागि इमानदार भएर काम गर्ने भनी दस्ताबेजमा हस्ताक्षरसम्म गरेका थिए। आखिरमा २ वर्ष कार्यकाल पूरा नहुँदै उनीहरू बीचको झगडा सडकमा फोहोर पानी भएर पोखियो। नेकपा फुटेर आआफ्नो किनारामा पन्छिए। नयाँ पार्टी खोलेर अध्यक्ष बन्न हौसिने यी चेहरा र ओलीबीच कतिसम्म शत्रुवत व्यवहार रह्यो जगजाहेर छ। उनीहरूले एकापसमा राजनीति र व्यवहारमा कहिल्यै नअटाउने, समाजमा कहिल्यै शोभनीय नहुने अपाच्य र तल्लो स्तरका शब्दवाण प्रयोग गरेको आमनेपालीले भुलेका छैनन्। मानौँ, वामपन्थीहरूको चरित्र नै मन नपरेका मानिसलाई खसाल्ने र खुइल्याउने हो।

प्रधानमन्त्री पदको मोहमा लिप्त प्रचण्ड ओलीबाट त्यसबेला केही नपाउने भएपछि र एमाले पार्टीलाई धुलो चटाउने सपना बोकेर माधव नेपालसहित २३ सिटमा सीमित त्यसबेलाको प्रतिपक्षी नेपाली कांग्रेसको रुखमुनि ओत लाग्न आए। उनीहरूबाट प्रधानमन्त्री पद पाएपछि शेरबहादुर देउवा देशको पाँचौँ प्रधानमन्त्री बन्न हौसिए। स्थानीय र राष्ट्रिय चुनावमा पनि गठबन्धनको नीति अवलम्बन गरी जनमत आ–आफ्नो पक्षमा पार्ने राजनीतिक अवधारणा त्यसबेलाका ५ दलका शीर्षस्थ नेताले ल्याए। गत वैशाख र मंसिरमा क्रमशः स्थानीय र राष्ट्रिय चुनाव सम्पन्न भए। यतिसम्म राजनीतिक खिचडी पाच्य नै थियो।

जिन्दगीभर प्रजातन्त्र प्राप्ति, लोकतन्त्रको समुन्नतिका लागि परिवार त्यागेर भोक प्यास नभनी कांग्रेसको रुखमुनि जीवन बिताएका देशका लाखौँ नेता कार्यकर्ताले टिकट पाउनबाट वञ्चित भएर पनि पार्टीको निर्देशनमा जीवनमा पहिलो पटक हँसिया हथौडा र कलम चिह्नमा छाप लगाइ प्रचण्ड लगायतका वामपन्थीहरूलाई विजय गराएको भुलेका छैनन्। हालैका चुनावी सभाहरूमा एमाले विरुद्ध प्रचण्ड र कांग्रेसविरुद्ध ओलीले कति विष वमन गरे, सम्झनलायक छन्। गोरखा लगायत जिल्लाका चुनावी सभामा यो पवित्र गठबन्धन हो, ओलीको दम्भ र अहंकारलाई निस्तेज पार्न र संविधान बचाउन १५ वर्षसम्म हामीबीच सम्बन्ध सुमधुर रहिरहनेछ, सत्तालिप्साका लागि म प्रधानमन्त्री दाबी गर्ने छैन भनी जनतालाई आश्वास्त पार्ने प्रचण्डको सम्बोधन अहिले गोरखालगायत देशभरका कांग्रेसीजनले भुलेका छैनन्।

यसैगरी दार्चुला र कञ्चनपुर जिल्लाको चुनावी सभामा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन गरिनेछ र कालापानी, लिपुलेक र लिम्पियाधुरा भारत सरकारबाट खोसेर पनि नेपालमा गाभिनेछ। आफ्नो नेतृत्वमा सरकार गठन भएन आफ्नो निर्देशनमा बन्ने आगामी सरकारले नाभी, कुती र गुंजीका नेपाली नागरिकमाथि न्याय गर्नेछ भनी शंखघोष गरेको सम्बोधन सेलाएको छैन। यसबाट प्रष्टैरूपमा दुईवटा कुरा बुझिन्छन्। एउटा हो, यी अग्ला वाम नेताले म पिटेझैँ गर्छु, तिमी रोएझैँ गरको अवधारणा लागु गरी कांग्रेसलाई एक्ल्याउनु। अर्काे असम्भव कुराको बिस्कुन सुकाएर चुनावमा जनतालाई लोभ्याउनु। यो नाटकका पात्र र खलपात्रको जिउँदो परिचय निकट भविष्यमा आमनागरिकले पाउने छन्।

अब चर्चा गरौं, निवर्तमान प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र उनका विश्वास पात्र भनिएका व्यक्तिको राजनीतिबारे। डडेल्धुराबाट ७ पटकसम्म भारी मतले विजयी भएर ५ पटकसम्म प्रधानमन्त्री बन्नु सामान्य होइन। भरखर मात्र संसदीय दलमा गगन थापाको २५ मतका विरुद्ध ६४ मत ल्याएर नेता बनेका हुन् देउवा। पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री पदमा कार्यरत आफूलाई प्रचण्ड लगायतका सबै नेताले फेरि सोही पदका लागि उपयुक्त ठानिहाल्छन् र पुनः प्रधानमन्त्री पद पाइहाल्छु भन्ने देउवामा विचार पलाउनु पनि अस्वाभाविक मानिन्न। पुस २ गतेदेखि नै माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री आफूले पाउनुपर्ने र बाँकी महत्वपूर्ण पदहरू राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र प्रदेशका मुख्यमन्त्रीमा प्याकेजका आधारमा सहमति गरौँ भनी राखेको प्रस्तावलाई गहिरिएर देउवाले मनन गरेको देखिए तापनि प्रचण्डको भित्री आशय प्रष्टरूपमा नबुझेको देखिन्छ।

संसद्मा सबैभन्दा ठूलो दलको हैसियतले पनि प्रधानमन्त्री पद गुम्दैन भन्ने एकोहोरो मनस्थितिमा उनी उभिए। प्रधानमन्त्री र राष्ट्रपति पद आफ्नो पार्टीले पाउनेमा देउवा ढुक्क थिए। प्रचण्डको सत्ता हत्याउन भित्री खेल र ओलीकहाँ आफ्नो दूत पठाएको कुराको खासै हेक्का नराख्नु उनको कमजोरी हो। अन्तमा प्रधानमन्त्री पद प्रचण्डलाई दिन सहमत भए तापनि ढिलो भैसकेको थियो। यसैगरी पार्टीका विशिष्ट पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइरालासँग यसबारे घनिभूत सल्लाह नगर्नु, कार्यसम्पादन समितिले के गर्दैछ भनी हेक्का नराख्नु देउवाको दोस्रो कमजोरी मान्न सकिन्छ। उनी आफ्ना विश्वास पात्र मानिएका केही व्यक्तिको झुण्डमा मात्र रुमल्लिए। पटक-पटक बैठक बसे तापनि निष्कर्षमा नपुग्नु राष्ट्रपतिले दिएको समयसम्म अलमलको बाटो अपनाउनु प्रचण्डले प्रधानमन्त्री पदका लागि निरन्तर देउवालाई दवाव सिर्जना गर्नलाई राजनीतिका चाणक्य मानिएका सन्त नेता कृष्णप्रसाद भट्टराईका शिष्य शेरवहादुर देउवाले अथ्र्याउन नसक्नु भूल हो, कमजोरी हो।

लिखित दस्ताबेजलाई विविध अर्थ लगाएर आफ्नो तर्क स्वीकार्य गराउनमा खप्पिस पुष्पकमल दाहालले गठबन्धन सरकारका पालामा मौखिक सहमतिका आधारमा पहिले देउवा त्यसपछि आफ्नो कार्यकाल र बाँकी एक वर्ष माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने भद्र सहमति उल्लंघन गर्न के बेर लाउँथे र ? चार दिशा फर्केका राजनीतिक दलका नेतालाई बडो भद्र शैलीले मिलाउन सक्ने खुबी भएका देउवा यसपटक असफल देखिए। कामको बोझ र उमेरका कारण सबै घटनाक्रमलाई सोच्न नसक्नु स्वाभाविक हो। तर अधिकांश समय बालुवाटारमा बिताउने, देउवाका राजनीतिक सल्लाहकार पार्टी र सरकारका प्रवक्ता र विश्वास पात्र भनिएका व्यक्तिहरूले यस्तो गम्भीर अवस्थामा ध्यान दिनुपर्दैन, पन्छिएर पुग्छ ? देउवालाई मात्र यस्तो संगीन घडीमा दोष लगाउनु उचित नहुन सक्छ। यस विषयमा नेपाली कांग्रेसका सांसद केन्द्रीय सदस्यहरू पनि देउवालाई मात्र गम्भीर दोष र आरोप लगाएर उम्किन पाउँदैनन्। मंसिर पुसको जाडोमा पारिलो घाममा बसी उनलाई दोष लगाउनु भन्दा समयमै सतर्क गराउन उचित सल्लाहदिनु श्रेय हुन्थ्यो।

आगामी २२ गते केन्द्रीय समितिको बैठक सभापतिले बोलाएका छन्। संस्थापन इतर पक्षका अधिकांश केन्द्रीय सदस्यले विशेष महाधिवेशन बोलाउने माग पनि गरेका छन्। विशेष महाधिवेशनमा देउवालाई सभापति पदबाट राजीनामा गराउन वा हटाउन दबाब सिर्जना गर्न पनि आवाज उठाएका छन्। अथवा गल्ती स्वीकार गराउन पनि सक्छन्। आफूले गरेका गल्ती पार्टीका बीच स्वीकार्नु स्वाभाविक कुरा हो तर देउवाको विकल्प खोज्नु लोकतान्त्रिक पार्टीमा वर्तमान अवस्थामा समस्याको समाधान हुन सक्तैन। भोलि पार्टीमा आइपर्ने घटनाक्रमको जिम्मेवारी कसले लिन सक्छ र ?२०५९ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले त्यसबेला प्र.म. समेत रहेका देउवालाई पार्टीबाट साधारण सदस्य नरहने गरी निष्काशन गर्नुभएको होइन र? पछि के घटना भयो? थाहा भएकै कुरा हो।

यस्ता बेला पार्टीलाई दुर्घटना हुनबाट जोगाउनु सबैको जिम्मेवारी हो। कांग्रेस र वामपन्थी पार्टीको कार्यकर्ता हुनुमा केही भिन्नता पक्कै छ। कुनैबेला बिपीले आफूले विष सेवन गरेर पनि राष्ट्र, राष्ट्रियता, समाजवाद र प्रजातन्त्र बचाएको लोकतान्त्रिक पार्टी हो कांग्रेस। धैर्य र लोकतान्त्रिक चरित्र नभएको व्यक्ति कांग्रेस बन्न सक्तैन। बिपी दर्शन, गणेशमानको बहादुरी, कृष्णप्रसाद भट्टराईको त्याग, चातुर्य, गिरिजाप्रसाद कोइरालाको सहमति सहकार्य र एकता, अनि सन्त नेता सुशील कोइरालाको समर्पण सम्झनु पार्टीभित्र यतिबेला सान्दर्भिक हुनेछ।

पुस १० गतेको राजनीतिक घटनाले जुन स्वरूप लियो, सबैलाई आश्चर्य पारेको छ। प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको हालको तालमेल आत्मीय हो वा स्वार्थपरक? आम नेपालीले निकट भविष्यमा हेर्न पाउनेछन्। 

प्रकाशित: १८ पुस २०७९ ००:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App