असल सिद्धान्तले असल आचरण अपेक्षा गर्छ। कुनै पनि सिद्धान्त वा विचार जतिसुकै आदर्श भए पनि त्यसको पालन गरिएन भने त्यो अर्थहीन हुन्छ। हाम्रा अग्रजले राम्रो सिद्धान्त दिएर गएका छन्। विश्वमा साम्यवादको सिद्धान्तका प्रतिपादक मार्क्स–एङ्गेल्स, प्रजातन्त्रका अग्रणी अब्राहम लिङ्कन, जर्ज वासिङ्टन, समाजवादी र जनवादी सिद्धान्तका प्रतिपादक लेनिन र माओ, राजनीतिक आदर्शका अग्रणी महात्मा गान्धी सबैले आफ्ना उच्च विचार र संयमित आचरणले विश्वलाई नै मार्गनिर्देश गर्दै आएका हुन्। विचारभन्दा ठूलो कुरा आचरण हो। विचारलाई नारा, भाषण, प्रचारबाजी जस्ता कुराले सही किसिमले प्रतिबिम्बित गर्दैनन्। विचारको प्रतिनिधित्व गर्ने त व्यक्तिगत आचरणले नै हो। कुरा विश्वका प्रसिद्ध राजनीतिक र दार्शनिक सिद्धान्तको गर्ने तर आचरण त्यसको ठीकविपरीत गर्ने प्रवृत्ति घातक हुन्छ समाजका निम्ति, राष्ट्रका निम्ति। नेपालमा नवप्रजातन्त्र आएदेखि यता यस्तो घातक प्रवृत्ति यहाँका राजनीतिक पार्टीका नेताहरूमा बढ्दै आएको छ।
संस्कृतको एउटा नीतिश्लोक भन्छ : 'मनस्यन्यत् वचस्यन्यत् कर्मण्यन्यत् दुरात्मनाम्। मनस्येकं वचस्येकं कर्मण्येकं महात्मनाम्।' यसको अर्थ हो– दुर्जनहरू मनमा एउटा कुरा सोच्छन्, मुखले अर्को कुरा भन्छन् र व्यवहारमा अर्कै कुरा गर्छन् तर सज्जनहरू मनले, मुखले र कर्मले एउटै कुरा गर्छन्। नेपालका वर्तमान राजनीतिक पार्टी र नेताहरूको चरित्र भने दोस्रो कोटिको हुनुपर्नेमा पहिलो कोटिको रहेको प्रमाणित हुँदै आएको छ। मुलुकमा बढ्दै गएको अव्यवस्था, भ्रष्टाचार, अपराधीकरण आदि नकारात्मक पक्षहरूको प्रवलता त्यसकै उदाहरण हो। यसमा जनस्तर पनि जिम्मेवार हुनसक्छ। तर जानिफकारहरू भन्छन्– सुधार माथिबाटै हुनुपर्छ।
नेपालका राजनीतिक पार्टीहरूको भनाइ र गराइमा रहेको ठूलो अन्तरको एउटा उदाहरण २०४६ सालको राजनीतिक परिवर्तनपछि नेकपा एमाले (तत्कालीन नेकपा माले) ले देखायो। नेपालस्थित त्यस बेलाका अमेरिकी राजदूतले बल्खुस्थित नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा प्रवेश गर्नुअघि पार्टी कार्यालयमा राखिएका कम्युनिस्ट सिद्धान्तका ऐतिहासिक महान् पुरुषहरू मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओ त्से तुङका फोटा भित्ताबाट हटायो र राजदूतको भ्रमण सकिएपछि पुनः ती फोटा कार्यालयको भित्तामा लगेर टाँसियो। त्यो घटना त्यस समयका सञ्चारमाध्यममा निकै चर्चित रह्यो।
यदि कम्युनिस्ट सिद्धान्तका अन्तर्राष्ट्रिय ती महान् पुरुषका फोटा पार्टी कार्यालयमा राख्नु उचित थिएन भने सधैँका लागि हटाए भैहाल्थ्यो। तर त्यस नाटकीय घटनाले नेपालको राम्रो र ठूलो भनी ठानिएको कम्युनिस्ट पार्टीको दोहोरो चरित्रको प्रदर्शन गर्यो। तर पनि मतदाताले त्यस पार्टीलाई त्यसपछिका पटक–पटकका निर्वाचनमा मत दिँदै आएका छन्। त्यसरी पाएको जनमतलाई त्यस पार्टीले आफूलाई जनताले सबभन्दा धेरै मन पराएको अर्थमा लिने गरेको छ। तर मुलुकका सबैलाई (त्यसमा पनि कम्युनिस्टहरूलाई बढी) थाहा छ– प्रजातन्त्रको कथित आधुनिक अभ्यासमा मत पाउनका लागि जनमतभन्दा बढी धन र बलको हात हुन्छ र सत्ता हातमा आएपछि ती सबै प्राप्त हुन्छन्। जनताको जय–जयकार त राजनीतिक शक्तिहरूको देखाउने दाँतमात्र हो। 'फर द पिपुल अफ् द पिपुल बाइ द पिपुल' जस्ता सैद्धान्तिक नीति त पुस्तकका आदर्शका कुरामात्रै हुन्।
मदन भण्डारी राम्रो सुझबुझ भएका कम्युनिस्ट नेता थिए। उनले नेपालमा आएको नवप्रजातन्त्रलाई कम्युनिस्ट सिद्धान्तसँग मिलाएर कसरी लैजान सकिन्छ भन्ने सोचाइका साथ जनताको बहुदलीय जनवाद (जबज) नामको विचार प्रतिपादन गरे। चिनियाँ नेता माओ त्से तुङ्ले 'नौलो जनवाद' चीनको विशिष्ट सन्दर्भमा प्रयोग गर्दा सफल भएजस्तै नेपालका लागि जबज उपयुक्त हुने सोचेका थिए सायद। तर मदन भण्डारीको असामयिक मृत्युपछि जबज एकाध प्रसङ्गमा गफको विषय मात्र बनेर सायद त्यो कुनै दराजमा थन्कियो पार्टी कार्यालयको। त्यसलाई ब्युँताएर छलफल गर्ने र त्यसलाई राष्ट्रिय राजनीतिक नीति बनाउनुभन्दा भण्डारीको नाम बेचेर सत्तास्वार्थ पूरा गर्ने धन्दामा लाग्यो पार्टी नेतृत्व।
मनमोहन अधिकारी नेपालको कम्युनिस्ट पार्टीको इतिहासमा सबैभन्दा उच्च चरित्रवान् नेता मानिन्छन्। उनले चलाएको नौ महिने प्रधानमन्त्रित्व कालमा एमालेले केही जनस्तरीय सुधारका कार्यक्रम लागु गर्यो। त्यसले उक्त पार्टीको छवि सुधार्न निकै सहयोग गर्यो। तर उक्त पार्टीको पछिल्लो नेतृत्व पंक्तिले त्यही नौ महिने शासनकालका थोरै सुधारका काम र त्यसका नेता मनमोहनको नाम भजाएर निर्वाचनमा बहुमत ल्याउने प्रयत्न गर्दै आएको छ। अहिले एमालेको नेतृत्व पंक्तिले राम्रो छवि भएका एकाध पूर्वज कम्युनिस्ट नेताहरूको नाममा सत्ताको राजनीति गरिरहेको देखिन्छ। पार्टीको नाममा 'कम्युनिस्ट' शब्द र अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताहरूको नामलाई जोडेर प्रजातान्त्रिक चुनावको सत्तामुखी धन्दामा लाग्दा यसले आफ्नो कम्युनिस्ट छवि गुमाउँदै र नवधनिकहरू उत्पादन गरेर सामान्य जनताको साख गुमाउनेतिर यो अगाडि बढिरहेको छ। एउटा कम्युनिस्ट पार्टीको नेताको काम जनताका लागि समर्पित हुनुपर्छ, धन सञ्चय गरेर पुनः पुनः सत्ता हत्याउने जालोमा लुट्पुटिने होइन। देशमा हुनेखाने वर्ग र गरिबीले थिचिएको वर्गबीच पुरिन नसकिने खाडल बन्दै जाने र वर्गीय समानताको पक्षधर कम्युनिस्ट पार्टीको झन्डामुनि रहेर सामन्तवादी राजनीति गर्ने प्रवृत्तिमा आमूल परिवर्तन नआएसम्म त्यसले न पार्टीको छवि दीर्घकालीन बन्नेछ न त देश नै उँभो लाग्नेछ।
मुलुकमा एउटा कम्युनिस्ट पार्टी आफ्नो नामसँग चिनियाँ क्रान्तिकारी नेता माओको नामलाई जोडेर सशस्त्र जनवादी क्रान्तिको नारा दिँदै युद्धमा होमियो। त्यस कथाकथित 'जनवादी' युद्ध अन्ततः तुहिन पुग्यो। छिमेकी देश चीनको बढ्दो समृद्धि देखेका नेपालीले त्यस युद्धका सञ्चालक नेताहरूबाट केही आशा पनि राखेका थिए। तर परिणाम 'हात्ती आयो हात्ती आयो फुस्सा' भयो। अहिले साख गुमाउँदै गएको त्यस पार्टीको नेतृत्व पंक्तिले आफ्नो त्यो दश वर्षे युद्धको परिणामलाई नेपालबाट राजतन्त्रको समाप्ति देखाउने गरेको छ। तर जनताले प्रश्न गरेका छन्– सामान्तवाद–अर्धसामन्तवादको प्रतीक मानिएको राजतन्त्र समाप्तिसँगै नेपालबाट सामन्तवाद र अर्धसामन्तवाद पनि सती गयो त? अहिलेको वास्तविक स्थिति हेर्दा त्यही सामन्तवादी–अर्धसामन्तवादीहरूको उत्तराधिकार थाम्नेहरूसँगको मोलमोलाइमा नेकपा माओवादी टिकेको छ। आफ्नो पार्टीको नाम र तथाकथित सिद्धान्तसँग जोडिएका कम्युनिस्ट सिद्धान्तका प्रतिपादकहरूको नामलाई सत्तासुखसँग विनियम गर्ने धन्दामा लागेको छ त्यस पार्टीको नेतृत्व पंक्ति। त्यस 'जनयुद्ध' का बेला मृत्युवरण गरेका जनताका हजाराँै शव वर्तमान सुखभोगी नेताहरूको सत्ता विनियमका साधन बनेका छन्। अहिले पनि दर–भाउको राजनीति चलिरहेको छ र फुटेर गएको त्यस पार्टीको एउटा चोइटो त्यही दर–भाउ र मोलमोलाइमा सहभागी हुने हतारमा छ।
जुन कम्युनिस्ट पार्टीले सबभन्दा चर्को क्रान्तिकारी नारा दिन्छ त्यसैभित्र फुट, गुट र उपगुटको सम्भावना अधिक हुँदोरहेछ भन्ने कुरा नेपालको माओवादी कम्युनिस्ट पार्टीले देखाइरहेको छ। यस्तै अवसर छोपेर पार्टीको नेतृत्व हत्याउने र पार्टी र जनताको शोषण गर्ने गर्दारहेछन् र शोषणरहित समाजको नारा दिने नेताहरूले शोषणसहितको पार्टी चलाएर मुलुकलाई दिग्भ्रमित तुल्याउँदा रहेछन्। यसरी 'कम्युनिस्ट' नामको साइनबोर्ड झुन्ड्याएर धन्दा अर्कै गर्ने परिपाटी चर्को नारा लिने कम्युनिस्टहरूमा बढी देखापरेको छ। यस पार्टीका नेता प्रचण्ड जनताबाट आशा गरिएका सक्षम नेता हुन्। तर 'बुद्धिमान् र आँटिला मानिस सानो स्वार्थ र आशक्तिका कारण फस्न पुग्छन्' भन्ने कथन उनमा लागु हुन पुग्नु देशका लागि दुर्भाग्य बनेको छ।
बिपी कोइरालामा वैचारिक दृष्टिकोण प्रखर थियो तर उनले सोचेको प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा ल्याउन नपाउँदै उनको समय बित्यो। उनी र उनीजस्ता कतिपय नेताको त्यागले सातसाले परिवर्तन आयो। तर 'मेरा बाले घीउ खाए, मेरो हात सुँघ्' को उखान चरितार्थ गर्दै नेपाली कांग्रेस अहिले बुख्याँचा पार्टीका रूपमा देखापरेको छ। यसले एउटा हातमा प्रजातान्त्रिक समाजवाद, अर्को हातमा राष्ट्रियता र छातीमा बिपी कोइरालाको नामाङ्कित बिल्ला भिरेको छ। यसले आफ्नो प्रथम महाधिवेशनले दिएको 'प्रजातान्त्रिक समाजवाद'को नीतिलाई देखाउने दाँत बनाएर सामन्तवादी नीतिको दाँतले पटकपटक शासनसत्ता 'ज्युनार' गर्दै आएको छ। जनतालाई भ्रमित पार्न यसले गएको १३औँ महाधिवेशनमा पनि 'प्रजातान्त्रिक समाजवाद' शब्दावलीलाई आफ्नो घोषणापत्रबाट हटाउन चाहेन। यस पार्टीका निम्ति बनिबनाउ नाराको अर्को विकल्प पनि थिएन र यस पार्टीको युवा पुस्ताले गणतन्त्र स्वीकार गरेका सन्दर्भमा पार्टीको नारा र नीति फेर्न गरेको प्रस्ताव पनि यसको सत्तालोलुप पुरानो नेतृत्वले सहेन। यस पार्टीले प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा ल्याउनु त परै जाओस् यसका कतिपय नेताका भनाइ र आचरणले त्यस सिद्धान्तको अभिप्राय पनि नबुझेको थाहा हुन्छ। बिपी नामको भजन गाउने तर बिपीले अँगालेको नीतिलाई परिआउँदा गलत ढङ्गले व्याख्या गर्ने र उस्तै पर्दा त्यो नीतिलाई पार्टीले त्यागेको पनि भन्न भ्याउने उच्च नेताहरूको आचरण हेर्दा यसले पनि साइन बोर्ड एउटा र धन्दा अर्को गर्ने पार्टीमा अब्बल दर्जाको ठाउँ ओगट्दै आएको छ। सातसाले परिवर्तन र बिपी नामको ब्याज असुलेर नेपालको सबभन्दा ठूलो प्रजातान्त्रिक पार्टीको दम्भ पाल्दै बसेको छ।
यतिबेला नेपालमा सत्ता हानथापको राजनीति झन् बढ्दै गएको छ। पञ्चायतको सत्ताभोगले अघाएकाहरूको पार्टी पनि गणतन्त्रवादीहरूको सरकारमा अटाएको मात्र नभई यससँग कहिल्यै नछुट्टिने पे्रमालिङ्गनमा टाँसिएको छ। विगतको चुनावमा हिन्दु धर्मको प्रतीक गाईलाई चुनावचिह्न बनाएर अनि राजतन्त्र ब्युँताउने नारा दिएर केही संसदीय सिट हात पार्न सफल यस पार्टीले 'साइनबोर्ड एउटा र धन्दा अर्कै' को सबभन्दा ज्वलन्त नमुना देखाएको छ र राजतन्त्रलाई निमिट्यान्न बनाएको ठान्ने पार्टीहरूको नेतृत्व पंक्तिमा उभिन पाउनुमा यसले आफूलाई गौरवशाली मानेको छ। अब आगामी चुनावमा यस महाअवसरवादी पार्टीको नारा के हुने हो प्रतीक्षाको विषय बनेको छ।
नेपालका कम्युनिस्टहरूका सबभन्दा प्रखर सैद्धान्तिक गुरु भनिएका मोहनविक्रम सिंहको पार्टीले पनि सङ्घीयता विरोधी चर्को नारा दिँदादिँदै थाकेर सङ्घीयताका प्रखर प्रवक्ता पार्टीहरूको सरकारमा लुसुक्क प्रवेश गर्यो। शासनयन्त्रका अगाडि सबै सिद्धान्त र नारा गौण बन्छन् भन्ने शासन भोगका प्रवक्ता कम्युनिस्ट पार्टीकै प्रमुखतामा यस पार्टीले सरकारमा जानुको औचित्य देखेको हुन सक्छ। भनाइ र गराइको पृथकताले आखिर आफूलाई कट्टरपन्थी मार्क्सवादी ठान्नेहरूलाई नछाडेको यो पछिल्लो उदाहरण हो। यसबाहेक मधेसकेन्द्रित दलहरूको 'कथनी र करणी' मा देखापरेको ठूलो अन्तर नेपालको राजनीतिक वृत्तमा बहुचर्चित रहँदै आएकै हो। अहिले पनि उसले त्यही बाटो अँगालेकै छ।
केही दिनपहिले छापा सञ्चार माध्यमबाटै टिपिएको 'साइनबोर्ड एउटा धन्दा अर्कै' वाक्यांशतिर यस लेखकको ध्यान आकृष्ट भयो र यसले नेपालको राजनीतिक सन्दर्भमा यो वाक्यांश अत्यन्त उपयुक्त रहेको ठहर गर्यो। यद्यपि यो वाक्यांश नेपालका उद्योग, व्यापार, व्यवसाय, संस्था र व्यावसायिक सङ्घ–सङ्गठन आदिका सन्दर्भमा बनेको हुन सक्छ। तर ती सबैका अग्रणी संरक्षक र मार्गदर्शक वर्तमान नेपाली राजनीतिक प्रमुख दल नै हुन्। नेपालमा माथि उल्लिखित राजनीतिक विकृति र विसङ्गति हुँदाहुँदै पनि यस देशका लागि सकारात्मक विकल्प यिनै राजनीतिक पार्टी र तिनको नेतृत्व वर्गमा खोज्नुपर्ने अवस्था छ। यदि माथि उल्लेख गरिएका राजनीतिक पार्टी वा यीबाहेकका अरू कुनै पार्टी र त्यसको नेतृत्व गर्नेहरूले डुब्न लागेको यस देशलाई भनाइ र गराइमा एकरूपता कायम गरी उद्धार गर्ने आँट र बुद्धिमानी देखाए भने त्यो सबभन्दा सकारात्मक विकल्प हुनेछ। यदि त्यसो नभएमा अरू कुनै बाटो रोज्न मुलुक वाध्य हुनेछ।
प्रकाशित: २६ असार २०७३ ०७:२९ आइतबार