१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
ब्लग

जब आलिया भट्टले 'हेलो नेपाल' भनेर बोलाइन्

मुम्बई, बलिउड सेलिब्रेटीको शहर। बलिउडमा स्थापित सेलिब्रेटी हुन्, या बलिउडमा स्थापित हुन संघर्ष गरिरहेका नयाँ कलाकार। सबैका लागि आकर्षणको केन्द्र रहेको जुहुको यात्रा अविष्मरणीय हुन्छ। बलिउड अभिनेता अमिताभ बच्चन, आलिया भट्ट, सोनम कपुर, ऋतिक रोशन, अनुपम खेर, हेमा मालिनी, अक्षय कुमार,बरुण धवन, रानी मुखर्जी, परेश रावल, महेश भट्ट, विद्या बालन, ऐश्वर्या राय, अनिल कपुरलगायत सेलिब्रेटीहरुको गृहनगर जुहु कलाकारहरुको बेवल्र्ली हिल्सकारुपमा चर्चित छ। 

अन्तर्राष्ट्र्रिय रुपमा स्थापित जेडब्लु मरिट होटल सेलिब्रेटीसामु चर्चित मानिन्छ। नयाँ शहर घुमघामको क्रममा जेडब्लु मरिट पुग्दा भारतीय सेलिब्रेटी भेटिनु कुनै नौलो कुरा भने भएन। बलिउड सेलिब्रेटीको जक्सन केन्द्रको रुपमा रहेको जेडब्लु मरिट बिहानदेखि बेलुकासम्म भारतीय कलाकार र पाहुनाहरुले भरिभराउ हुन्थ्यो। 

सबैको आर्कषणको केन्द्र लोट्स क्याफेमा भारतीय सेलिब्रेटीसँग गफिँदै खाना खानुको अवसर जोकोहीले पाउँदैनन्। कामको सिलसिलामा परिवारसहित पाहुना भएर बसेका साउथ फिल्मका अभिनेता महेश बाबु हुन्, या अमिताभ बच्चन वा ऐश्वर्या राय सामान्य शैलीमा होटलमा आराम गर्न आएका हुन्थे। 

अध्ययनको सिलसिलामा जुहु पुगेको मजस्ताको लागि यो अनुभव भने नौलो किसिमको रह्यो। मनोरञ्जन पत्रकारिता गरेपनि जुहुमा भेटिने अधिकांश कलाकारबारे अझ अनभिज्ञ रहेको महशुस गरे। पढाई सिध्याएर जुहु बीचमा टहलिन निस्कदा होटलको लबीमा भेटिएकी अभिनेत्री आलिया भट्टसँगको केही मिनेटको हाइ हेलोमा नेपालबारे गफिन भ्याइन्। फिल्मफेयर म्यागेजिनको क्यालेन्डर लन्चको कार्यक्रममा पुग्नेक्रममा भेटिएकी उनले भारतीय मिडियाले पछ्याउनुअघि सेल्फी खिच्न समेत आग्रह गरिन्। सेल्फी खिच्न मारिह नभएर मैले सेल्फी खिच्ने त सम्भावना थिएन्। मलाई सेल्फी खिच्न नआएको देखेर उनले मोबाइल लिएर सेल्फी खिचिदिइन्। सेल्फी खिचेलगत्तै उनले आफू अभिनित ‘डियर जिन्दगी’ हेरेर प्रतिक्रिया दिन आग्रह गरिन्। 

दोस्रो पटक होटलको पार्किङमा भेटिएकी अभिनेत्री भट्टले सुरक्षाकर्मीहरुबाट घेरिएकी थिइन्। नाइट लाइफको लागि चर्चित रहेको जुहुमा फेरि अभिनेत्री भट्टसँग भेटिन्छ भनेर सोचेको थिइनँ। ‘डियर जिन्दगी’को प्रमोसनल कार्यक्रम सिध्याएर बाहिरिने क्रममा फेरि तेस्रो पटक उनीसँग भेट भयो। यसपटक भने उनले नै ‘हेलो नेपाल’ भनेर सम्बोधन गर्दा मन चंगा भयो।

फ्यानहरुको भीड छिचोल्न उनी हामीसँग होटलको पछिल्लो भागतर्फ लागिन्। उनले बलिउड फिल्म क्षेत्रमा काम गर्ने अधिकांश नेपालीहरुको तारिफसमेत गरिन्। उनले मतर्फ हेर्दै भनिन्,‘वेर यु बोन ? कज यु डोन लुक लाइक नेपाली।’ उनको कुरा सुनेपछि म ट्वाँ परेँ। नेपालीलाई नेपालीजस्तो देखिएन भन्दा मनमनै रिस उठ्नु स्वभाविक हो। 

आफ्नी नातिनीको जन्मदिन मनाउन सपरिवार होटलमा आएका अभिनेता अमिताभ बच्चन सुरक्षाकर्मीबाट घेरिएका हुन्थे। उनीसँगै छोरा अभिषेक बच्चन र बुहारी ऐश्वर्या रायलाई एकैसाथ फिल्ममा मात्र देखेको मेरो लागि यो नौलो अनुभव भयो। छोरीको पालनपोषणमा सहयोगी बिना जुटेकी उनलाई हेर्न आएका विदेशी पाहुनाहरु भन्दै थिए,‘सी इज द मिस वर्ल्ड। नउ सी लुक्स मोर ब्युटीफूल।’ बिहान बिहान जुहु बीचमा घुम्न निस्किनेहरुमा अभिनेता अमिताभ बच्चन भेटिने ठट्यौली चर्चित छ। 

‘बेबी’ फिल्म सुटिङको क्रममा नेपाल आएका अभिनेता अक्षय कुमार श्रीमती ट्विकंल खन्नाको पुस्तक विमोचन सिध्याएर होटलबाट निस्कदै गर्दा पार्किङमा भेटिए। जुहु जति रमणीय छ, त्योभन्दा रमणीय यहाँको सेलिब्रेटीको जीवनशैली छ। गेटवे अफ इन्डिया, फेसन इस्टिट र इर्ला मार्केट सबैका लागि मनपर्ने स्थानमा पर्छ। 

भारतको अन्य शहरको तुलनामा मुम्बई विकसित मानिन्छ। सुविधासम्पन्न शहरमा फ्रि वाइवाइ भने भेट्न मुस्किल। जुहुमा चर्चित रहेको बच्चनको घर जलशा हरेक प्रहर फ्यानहरुले घेरिएको दृश्य सामान्य लाग्छ। 

काठमाडौंको जाडो छिचोल्दै जुहु पुग्दा सर्वप्रथम भेटिएकी अभिनेत्री नम्रता सिरोडकरसँग सामान्य गफ हुँदासम्म परिचय पाइएन्। भारु भारले सबैलाई पिरोलिरहेको अवस्थामा उनले भारुसँग डलर साट्नसमेत आग्रह गरिन्। जिमखाना पुग्न हत्तारिएका हाँस्यकलाकार कपिलदेव शर्मा र अनुपम खेर लिफ्टमा अड्किएको अवस्थामा भेटिए। लिफ्टमा फसेका उनीहरुलाई निकाल्दा उनीहरुबाट धन्यवाद पाउनु ठूलो कुरा भयो। 

समग्रमा जुहुमा कुनै योजनाबिना भेटिएका सेलिब्रेटीहरुसँगको घुलमिललाई नजिकबाट नियालेका भारतीय टेलिसिरियल निर्माण कम्पनीका एक हस्तीले भेटघाटको क्रममा बारम्बार फिल्मको स्क्रिप्ट सुनाउँदै काम गर्नुस् भन्दा मुर्छा परेर हाँसोको फोहोरा निस्किन्थ्यो।

प्रकाशित: ११ मंसिर २०७३ १६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App