१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘हाम्रा सहरलाई प्रकृतिले सजाएको छ’

दिलिप रायमाझी, नायक

तपाईंलाई मनपर्ने सहर ?
मैले विश्वका सबैजसो चर्चित सहरहरू घुमेको छु । त्यसमध्ये अलि मन परेको सहर हङकङ हो ।

किन मनपर्यो ?
जनसंख्या भएर पनि यो सहर सुन्दर, सफा र व्यवस्थित छ । सहरमा हरेक खाले सेवा–सुविधा छन् । राज्यले दिने हरेक सुविधा जनताले सहजै लिन पाएका छन् । सहरवासी पनि आत्मीय व्यवहार गर्छन् । सहरमा बस्ने सबै सहरको सुन्दरताप्रति सजग छन्।

आफ्नै देशका सहर किन मनपरेन ?
आफ्नो जन्मभूमि सबैलाई प्यारो लाग्छ । संसारमै कहीँ नपाएको आत्मियता र माया हामीले आफ्नो भूमिमा पाएका छौं । नेपाल संसारको सुन्दर फुलबारी हो । प्रकृतिले नै यो सहरलाई सजाएको छ । विकासको हिसाबले विश्वका अरु सहर धेरै नै अघि छन् ।
काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं मेरो जन्म र कर्मथलो हो । यहाँका माटोसँग मेरो बाल्यकाल जोडिएको छ । यहाँ हरेक सेवा–सुविधा छन् । यहाँको हावापानी संसारमै पाइन्न । मैले आफ्नो करिअर यहीँबाट सुरु गरेको थिएँ । यहाँका धेरै पक्ष ठीक छन् । तर, पनि थोरै कुराले काठमाडौंलाई कुरूप बनाएको छ । अहिले जताततै फोहोर र व्यवस्थित मात्रै देखिन्छ । सहरभित्र आनन्द लिने ठाउँ छैनन्।

उपत्यकाबाहिर मनपर्ने सहर ?
उपत्यका बाहिर पोखरा मनपर्छ । यहाँ फेवाताल, हिमाल र अनेकौँ पदमार्ग छन् । सहरमै बसेर प्राकृतिक हराभरा हेर्न पाइन्छ । सडक र होटल पनि व्यवस्थित छन् । सबैतिर सफा र शान्त छ।

नेपालभन्दा बाहिर कुन–कुन देशका सहर पुग्नुभएको छ ?
मैले धेरै देशका सहर घुमेको छु । युरोपका सबैजसो सहरसँगै अमेरिका, दुबई, कोरिया, सिंगापुर, हङकङ, अस्टे«लियालगायत देशका सहरलाई राम्ररी बुझेको छु । यी देशका सहर अत्यन्तै सुन्दर छन् । विदेशका सहरमा हरेक खालका सेवा–सुविधा लिन नागरिकले सास्ती खेप्नुपर्दैन । पुराना ऐतिहासिक वस्तु सहरी इलाकामा संग्रहित गरेर राखिएको छ । हाम्रोमा भएका कला र सम्पदा पनि मासिँदै छन्।

विदेश र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो ?
हरेक देशका सहरको आ–आफ्नै ढाँचा, शैली र विशेषता छ । नेपाल विश्वमा बेग्लै महत्व बोकेको ठाउँ हो । यहाँ शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेका थिए । विश्वको ध्यान तान्ने अग्लो सगरमाथा पनि यहीँ छ । अनेकौँ किंवदन्ती बोकेका ऐतिहासिक दरबार पनि यहीँ छन् । मौसम र हावापानी पनि धेरै राम्रो छ।

काठमाडौंको मन नपर्ने पक्ष ?
गएका केही वर्ष काठमाडौं निकै अस्तव्यस्त थियो । अहिले केही व्यवस्थित भएको छ भने कतै–कतै बन्ने क्रममा पनि छ । विकास निर्माणको काम भइरहेको ठाउँमा धुलोधुवाँ त हुन्छ नै ।

यद्यपि विकासका काम गर्दा सरकारले जनतालाई सास्ती दिएको छ । सहरवासीले साना–साना कुरामा सास्ती खेप्नुपरेको छ । सहरमा पर्याप्त सार्वजनिक शौचालय छैनन् । यो भन्दा ठूलो गुनासो सरकारसँग अरु केही छैन । अर्को कुरा, सहरमा पैसा हुने मात्रै सजिलो जीवन बिताउन सक्छन् ।
राम्रो लाग्ने पक्ष ?
ऐतिहासिक र भौगोलिक पक्षलाई हेर्दा हाम्रा सहर अरु देशका भन्दा धेरै राम्रा छन् । सरकारले सहरको विकासतर्फ ध्यान नदिँदा भएका सम्भावना पनि ओझेल परेका छन् ।

विदेशका सहर आधुनिक तथा प्रविधियुक्त छन् । बनाउने हो भने यहाँका सहर संसारकै नमुना बन्न सक्छन् । काठमाडौंभित्रकै एउटा पुरानो सहर असनकै कुरा गर्ने हो त्यो बेग्लै छ।

तपाई कस्तो सहरको कल्पना गर्नुहुन्छ ?
एकदमै सुरक्षित, सुन्दर, सुविधायुक्त र सहरमा बसेका हरेकले एकैखाले सुविधा लिन पाउने सहरको कल्पना गर्छु । हाम्रो सहरमा असमानता बढेको छ । सहरमा शक्ति र पहुँच हुनेले मात्रै अवसर पाएका छन् । साच्चै नै तल्लो र विपन्न वर्गबाट आएको राम्रो मान्छेले पनि जागिर पाएका छैनन् । राजनीतिक दलका नेताहरूले गर्दा नै सहर असमान भएको हो भन्ने लाग्छ । त्यस्तै सहरमा मनोरञ्जन गर्ने ठाउँहरु हौओन् । सहर रातमा पनि ननिदाओस्।

हाम्रा सहर बिग्रनुको कारण के लाग्छ ?
सहरको विकास नहुनुमा सरकार नै दोषी हो । आम नागरिकले पनि सरकारलाई सहयोग गरेको देखिन्न । कुन समयमा के काम गर्दा ठिक हुन्छ भन्ने सोच सरकारी निकायका व्यक्तिमा भएन।  

सहरलाई कसरी सफा राख्न सकिएला ?
सहर सफा राख्न त्यहाँको राजनीतिक अवस्था पनि व्यवस्थित हुनुपर्छ । सरकारी तवरबाट चलेका हरेक निकाय जिम्मेवार र जवाफदेही हुनुपर्छ । सहरवासीले तोकिएको स्थानमा फोहोर फाल्ने बानीको विकास गर्नुपर्छ । त्यस्तै, विकास निर्माणका कामलाई समयमै सक्ने, जिम्मेवार निकायमा बस्नेले विकास निर्माणका काममा दूरदृष्टि राख्नेलगायत कुरामा ध्यान दिने हो भने सहर सफा बन्न सक्छ जस्तो लाग्छ।

सरकारले कसरी काम गर्ने हो भने सहर व्यवस्थित बन्ला ?
मुख्यतः सरकारमा बस्नेहरु नै जिम्मेवार छैनन् । सहरवासीका जिम्मेवार र कडा हुन्थ्यो भने हाम्रो देशको हालत यस्तो हुने थिएन । सरकारी निकाय बलियो नभएरै सहरको विकास नभएको हो । भएको नीति–नियमलाई सरकारले कार्यान्वयन गराउन सक्ने हो भने सहर व्यवस्थित हुन्छ । त्यस्तै, सहरको फोहर समयमै उठाउने हो भने सहर सफा बन्न सक्छन्।

सहरवासीका बानी कस्तो लाग्छ ?
सहरमा बस्नेहरू सहरप्रति सचेत छैनन् । जताततै फोहर मिल्काउँछन् । सरकारी निकायलाई मिलेर घच्घच्याउन सक्दैनन्।

पछिल्लो समय पुगेको सहर ?
पछिल्लो समय म गन्टोक सिटी पुगेको थिएँ । त्यो सहर यति व्यवस्थित छ कि भनेर साध्य नै छैन । त्यहाँका भित्रि सहर पनि राम्रा छन् । सरकारले सहरको सरसफाइप्रति कडाई पनि गरेको छ।

सहरमा कलाकारिता गर्न कतिको कठिन छ ?
कलाकारिता र सहर नङ र मासुको जस्तै हुन् । किनभने एउटा कलाकारलाई निखार हुनुको लागि सहरकै ठूलो भूमिका हुन्छ । फिल्मकै कुरा गर्दा धेरैजसो काम सहरमै हुन्छन् । स्टुडियो पनि यही छन् । सहर फिल्म बिक्ने ठाउँ पनि हो।

मन भएर पनि पुग्न नपाएको सहर ?
मैले धेरै देशका सहर पुगे । संसारमा ‘टप सिटी’ र नाम चलेका सहर पुगेको छु । बरु नेपालकै केही ठाउँहरू घुम्न मन छ । अस्ती भर्खर सुर्खेत पुगेको थिएँ । त्यहाँ पुग्दा अचम्म लाग्यो । किनभने अहिले सुर्खेत साह्रै नै व्यवस्थित भएको छ ।
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ८ असार २०७५ ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App