१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेइमार नै ब्राजिलको मनोबल

सेन्ट पिट्सबर्ग – पूर्ण रूपमा फिट नभए पनि स्ट्राइकर नेइमार शुक्रबार कोस्टा रिकाविरुद्ध मैदान उत्रिएर सुखद नतिजासाथ प्रतियोगिताकै दाबेदारमध्येको एक ब्राजिलको अघिल्लो चरण प्रवेश सम्भावना कायम राख्न चाहन्छन्।

गत आइतबार समूह ‘ई’ को पहिलो खेलमा स्विट्जरल्यान्डविरुद्ध १–१ को बराबरीमा चित्त बुझाएको खेलमा नेइमार विपक्षी खेलाडीको प्रमुख निसानामा परेका थिए । खेलअवधिभर ब्राजिलका खेलाडीमाथि गरिएका १३ फाउलमध्ये १० वटा नेइमारमाथि भएका थिए । जुन २० वर्षपछि विश्वकपको एकै खेलमा एकै खेलाडीमाथि गरिएको सर्वाधिक फाउल हो।

चोटका कारण मंगलबार बीचमै अभ्यास छोडेपछि विश्वकै महँगा खेलाडी नेइमार कोस्टा रिकाविरुद्धको खेलमा उपलब्ध हुनेमा दुबिधा थियो । यद्यपि बुधबार अभ्यासमा सहभागी भएसँगै उनी कोस्टा रिकाविरुद्ध मैदान उत्रने सम्भावना बढेको छ।

यसअघि चोटका कारण तीन महिना मैदानबाहिर बसेपछि नेइमारको विश्वकप सहभागिता नै अनिश्चित बनेको थियो । फेब्रुअरीमा फ्रेन्च लिग वान खेल्ने क्रममा खुट्टा भाँच्चिएपछि पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर नेइमार त्यसपछि सिजन अवधिभर मैदानबाहिर बसेका थिए । नेइमार विश्वकपका लागि पूर्ण रूपमा फिट हुने उदेश्यले ब्राजिल फर्किएसँगै पिएसजीका समर्थक निराश बनेका थिए । उनले स्विट्जल्याडविरुद्ध खेलेको खेल नै ४ महिना अवधिको पहिलो ठूलो थियो।

नेइमार ब्राजिली टोलीका महत्वपूर्ण सदस्य भए पनि उनमा अभ्यास खेलको कमी देखिएको भन्दै प्रश्न उठेको थियो । पहिलो खेलमा स्विट्जरल्यान्डका खेलाडीको कडा निगरानीमा रहेका नेइमारले गोलका केही सुनौलो अवसर पाए पनि सुदृढ देखिएको विपक्षी रक्षापंक्ति भने तोड्न सकेनन्।

यता गत सिजन बार्सिलोना सरुवा भएका स्ट्राइकर फिलिप कौटिन्होले लामो दूरीबाट आकर्षक गोल गर्दै ब्राजिललाई सुखद सुरुआतको संकेत गराएका थिए । नेइमार शुक्रबार मैदान नउत्रिए प्रशिक्षक टेटेले तीन अग्रपंक्तिका खेलाडीमा कौटिन्होलाई बायाँ भागबाट खेलाउन सक्नेछन् । यद्यपि कोैटिन्होले रूस विश्वकपमा सफलता हात पार्न नेइमारको उपस्थिति सधैं टोलीका लागि महत्वपूर्ण हुने बताए।

‘नेइमार विश्वकै एक उत्कृष्ट खेलाडी हुन् । टोलीमा उनको उपस्थितिले हाम्रो मनोबल थप बढाउँछ,’ कौटिन्होले भने, ‘उनी महत्वपूर्ण खेलाडी हुन् र उनको उपस्थिति विपक्षी रक्षकका लागि सधैँ चिन्ता बन्ने गर्दछ ।’ ब्राजिल पहिलो खेलमा स्विट्जरल्यान्डका खेलाडीले नेइमारमाथि गरेको व्यवहारबाट दुखी छ । आपूmहरूविरुद्ध स्टेफन जुबरले बराबरी गोल फर्काउँदा रक्षक मिरान्डामाथिको फाउलमा भिडियो सहायक रेफ्री (भिएआर) को प्रयोग नगरिएको भन्दै ब्राजिलले आपत्ति जनाएको थियो । ब्राजिल फुटबल संघले सोमबार यसविरुद्ध फिफासक्षम अपिल गरेको थियो।

समूह ‘ई’ मा ३ अंक जोडेको सर्बिया पहिलो स्थानमा छ भने समान १ अंक जोडेका ब्राजिल र स्विट्जरल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन कोस्टा रिका अन्तिम स्थानमा छ । अघिल्लो चरण प्रवेश सम्भावना कायम राख्न पनि टेटेको टोलीसामु जितको विकल्प छैन।

त्यस्तै पहिलो खेलमा सर्बियालाई १–० को नतिजा सुम्पिएको कोस्टा रिकाका लागि पनि अन्तिम १६ को सम्भावना जीवित राख्न ब्राजिलविरुद्ध स्पष्ट तीन अंक जोड्नुको विकल्प छैन । कोस्टा रिकाले सन् १९६० पछि भएका १० भेटमा ब्राजिललाई एक पटक मात्र पराजित गरेको छ । कोस्टा रिकाले ४ वर्षअघि इङ्ल्यान्ड, उरुग्वे र इटाली रहेको समूहबाट सनसनीपूर्ण प्रदर्शनका साथ नकआउट चरण पुग्दै क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेका थियो । कोस्टा रिकाका कप्तान ब्रायन र्युजले आइतबार स्विट्जरल्यान्डले अपनाएको रणनीति प्रयोग गरिएमा प्रतियोगिताको अर्काे आश्चर्यजनक नतिजा ल्याउनेमा आफूहरू विश्वस्त भएको बताए।

‘स्विट्जरल्यान्डले ब्राजिलको मध्यभागमा धेरै दबाब दिएको थियो,’ र्युजले भने, ‘हामीले पनि त्यही रणनीतिमा खेल्न आवश्यक छ, किनभने ब्राजिल विश्वकै उत्कृष्ट मिडफिल्डर र स्ट्राइकर भएको टोली हो । हामीले उनीहरूविरुद्ध छिटोभन्दा छिटो बल खोस्दै काउन्टर अट्याक गर्न आवश्यक छ।’

यता समूह ‘ई’ अन्तर्गत शुक्रबारै हुने अर्को खेलमा स्विट्जरल्यान्डको सामना गर्दा सर्बिया लगातार दोस्रो जितका साथ प्रतियोगिताको अन्तिम १६ मा स्थान पक्का गर्न चाहन्छ । स्विट्जरल्यान्डलाई पराजित गरे सर्बिया १९९८ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछ।

‘हामीले स्विट्जरल्यान्डविरुद्ध स्पष्ट तीन अंक जोड्न आवश्यक छ,’ सर्बियाका कप्तान एलेक्जेन्डर कोलोरोभले भने, ‘तर उनीहरू सहज प्रतिद्वन्द्वी भने होइनन् । त्यसैले हामीले सतर्क भएर खेल्न जरुरी छ । यस खेलमा बराबरी गरे पनि हाम्रो अन्तिम १६ प्रवेश सम्भावना कायम रहन्छ । तर हामी अंक जोड–घटाउमा लाग्नुभन्दा पनि जितका साथ नकआउट चरण प्रवेश पक्का गर्न केन्द्रित छाैं।’

त्यस्तै पहिलो खेलमा ब्राजिलाई बराबरीमा रोक्दा हौसिएको स्विट्जरल्यान्डका लागि अघिल्लो चरण प्रवेश सम्भावना कायम राख्न जितको विकल्प छैन।

‘हामी पहिलो खेलमा ब्राजिलविरुद्ध गरेको उत्कृष्ट प्रदर्शन दोहोर्याउदै अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न चाहन्छाैं,’ स्विट्जरल्यान्डका कप्तान स्टेफन लेस्टाइनरले भने । मिडफिल्डर भालोन बेहरामी, ग्रानिट जाका र जार्डान साकिरी स्विट्जरल्यान्डका प्रमुख खेलाडी हुन्।

प्रकाशित: ८ असार २०७५ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App