१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार संविधानविरुद्ध : कांग्रेस

काठमाडौं - नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकार नयाँ संविधानविपरीत अघि बढ्न थालेको भन्दै त्यसविरुद्ध आन्दोलनको तयारीमा लाग्न पार्टी नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। मंगलबार राजधानीमा नेपाल ट्रेड युनियन कांग्रेसको छैटौ महाधिवेशन उद्घाटन गर्दै शीर्ष नेताहरूले प्रधानमन्त्री र सत्तारुढ दलहरू नै संविधानको गलत व्याख्या गर्न लागिपरेको आरोप लगाएका हुन्।

संविधानसभाबाट जारी भएको संविधानका माध्यमबाट सत्तामा पुगेका दलहरू त्यसमाथि नै प्रहार गरेर जनवादी केन्द्रीयताको बाटामो हिंड्न लागेको नेताहरूको दाबी छ।

वर्तमान सरकारबाट मुलुक समृद्धि सम्भव नरहेको जिकिर गर्दै कांग्रेस सभापतिसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले भने, ‘महँगी बढाउने सरकारले समृद्धि कसरी ल्याउँछ? यो सरकारबाट समृद्धि सम्भव छैन।’ संविधानको कार्यान्वयनभन्दा त्यसको गलत व्याख्यामा सरकार लागिपरेको बताउँदै देउवाले विगतमा अरुण तेस्रोको विरोध गर्ने एमालेले अहिले त्यही परियोजना ल्याउन लागि परेको बताए।

राष्ट्रवादको चर्को कुरा गर्ने केपी ओली र उनले नेतृत्व गरेको तत्कालीन नेकपा एमालेको राष्ट्रवाद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा छताछुल्ल भएको जिकिर गर्दै भने, ‘मोदीलाई कसले भेट्ने भन्ने पनि दूतावासले तय गर्ने यो कस्तो राष्ट्रवाद? यो त लम्पसारवाद हो ।’ पार्टीका नेताहरू त्यसतर्फ ध्यान नपुगेको गुनासो गर्दै देउवाले भने, ‘पार्टी सभापतिलाई गाली गरेर कांग्रेस बलियो हुँदैन। सरकारविरुद्ध एकलौटी ढंगबाट अघि बढिरहेको छ। त्यसविरुद्ध एकताबद्ध भएर लागाैँ। सरकारविरुद्धको आन्दोलनका लागि सबै तयार रहनुहोस्।’

कार्यक्रममा नेता रामचन्द्र पौडेलले संविधानसभाबाट जारी भएको संविधान कमजोर बनाएर कम्युनिष्ट नेतृत्वको सरकार जनवादी केन्द्रियता लागू गर्न लागि परेको आरोप लगाए। सरकारका सम्पूर्ण गतिविधि संविधान विपरीत रहेको जिकिर गर्दै पौडेलले भने, ‘प्रधानमन्त्रीको ताउरमाउर संघीयता र संविधानविपरीत छ। त्यसलाई हामीले रोक्नुपर्छ।’

संघीयता र स्थानीय सरकारका अधिकारलाई प्रधानमन्त्रीले फेरि केन्द्रीकृत गरिरहेको आरोप लगाउँदै पौडेलले भने, ‘संविधानको व्यवस्थाविपरीत कम्युनिष्टहरू रकमी कुरा गरेर प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद छाड्न आनाकानी गरिरहेका छन्। त्यो संविधानको बर्खिलाप हो।’

सामान्य बहुमत भए सरकार चलाउन सकिने भए पनि दुईतिहाइ र अझै अन्य दललाई पनि सहभागी गराउन उद्यत भएको आरोप लगाउँदै उनले भने, ‘उनीहरूको नियत खराब छ। फेरि पनि मुलुकलाई विभिन्न बाहनामा अस्थिरतातिर धकेल्ने प्रपञ्च भइरहेको छ।’

पूर्णरूपमा संविधानको कार्यान्वयन हुनै नपाई फेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा उठाउन थालको भन्दै उनले भने, ‘सत्तामा बस्नेले संविधान कार्यान्वयन होइन त्यसमाथि प्रश्न उठाएर खतरा सिर्जना गरेका छन्। त्यसको रक्षाका लागि पार्टी लाग्नुपर्छ।’

पार्टी उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले संघीयता, लोकतन्त्र र संविधानविरुद्ध काम गरी रहेको आरोप लगाए। स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनले मात्र संविधान कार्यान्वयन नहुने बताउँदै निधिले संघीयतालाई व्यवहारमा उतार्न सरकारले कुनै कदमै नचालेको जिकिर गरे। ‘संविधानको कार्यान्वयन होइन संघीयता र संविधानविरुद्ध सिन्डिकेट कायम गर्न यो सरकारले सम्पूर्ण समय खर्च गरेको छ,’ उनले भने, ‘अधिकार विकेन्द्रीत होइन संघीयताको मूल्यमान्यताविपरीत अधिकार केन्द्रित गर्न सरकार लागि परेको छ।’

दुई पार्टीको एकताबाट कांग्रेस आत्तीनु पर्ने अवस्था नरहेको दाबी गर्दै उपसभापति निधिले अहिलेको सरकारबाट आर्थिक संबृद्धि र विकास सम्भव नहुने दाबी गरे। टेम्पो चालक जेड विमानको पाइलट बन्न नसक्ने बताउँदै निधिले दुई पार्टी मिलाएर जेड विमान नै बनाएपनि मुख्य चालक नभएको विमान अवतरण हुन नसक्ने तर्क गरे।

कार्यक्रमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार संविधानको मुल मर्मै प्रहार गर्न लागी परेको भन्दै सडक देखि संसदसम्म पार्टीको प्रभावकारी उपस्थीति आवश्यक रहेको औल्याए। सरकार बहुमतले नपुगेर दुई तिहाइ र राष्ट्रिय जनता पार्टी नेपाललाई पनि आफ्नो पक्षमा पारेर कांग्रेसलाई राष्ट्रिय राजनीतिमा एकल्याउन लागी परेको आरोप लगाए।

माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफि दिएपनि शान्ति प्रक्रियाका बाँकी काम पुरा नभएको स्मरण गर्दै उनले शान्ति प्रक्रियाका बाँकी काम के हुन्छ ? द्वन्द्व प्रभावितले न्याय पाउँछन्की पाउँदैन अहिलेको मुल सवाल भएको बताए।

कार्यक्रममा पार्टीका सबै शीर्ष नेताहरुले श्रमिकहरुको हक अधिकार स्थापनका विगतमा जस्तै आगामी दिनमा पनि निरन्तर सहयोग रहेने प्रतिवद्धता जनाएका छन्। संविधानले ट्रेड युनियन अधिकारलाई सुरक्षीत गरेपनि सरकार त्यसमाथि बन्देज लगाउने गरी कानुन निर्माणको तयारीमा जुटेको आरोप लगाएका छन्। श्रमिको अधिकार र ट्रेड युनियन आन्दोलनविरुद्ध सरकारले ल्याउन कानुनविरुद्ध उत्रिनका लागि तयार रहन नेताहरुले आग्रह गरे।

मुलुकको शासन व्यवस्थामा धेरै परिर्वतन भएपनि श्रमिको जीवनमा परिर्वतन देखिने गरिक अहिलेसम्म कुनै काम हुन नसकेको नेताहरुले स्वीकार गर्दै नेताहरुले भने, ‘संबैधानीक व्यवस्था भएका छन्। त्यसलाई अब व्यवहारमा उतार्नुपर्छ।’

कम्युनिष्टहरु ट्रेड युनियन आन्दोलनलाई प्रयोग गरेर सत्तामा पुग्ने र पछि त्यसैमाथि प्रहार गर्ने गरेको आरोप लगाउँदै नेता रामचन्द्र पौडेलले केपी ओली नेतृतव सरकार पनि त्यही बाटोमा अघि बढेको आरोप लगाए। राष्ट्रिय श्रमिक आयोग तत्काल गठन गर्न कांग्रेस नेताहरूले सरकारसँग माग पनि गरेका छन्। ट्रेड युनियनका नेताहरूले पार्टीले आपूmहरूलाई बेवास्ता गरेको गुनासो गरेका थिए।

सञ्चारप्रति कांग्रेसको आक्रोश
नेपाली कांग्रेसका नेताहरूले प्रतिनिधि र प्रदेशसभा निर्वाचनप्रति नेपाली सञ्चार माध्यमले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्। नेपालका सञ्चार माध्यमले लोकतान्त्रिक आन्दोलनमा महŒवपूर्ण भूमिका निर्वाह गरे पनि केपी शर्मा ओली नेतृत्व सरकार गठनपछि प्रेस सरकारको गुणगानमै रमाएको आरोप लगाएका हुन्।

सञ्चारमाध्यले सरकार र राजनीतिक दलहरुका गलत क्रियाकलापलाई बाहिर ल्याउन चुकेको आरोप लगाउँदै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने, ‘प्रेसले सत्ताको गुणगान गाउने र प्रधानमन्त्रीको फोटो छाप्नै ठिक्क छ। प्रतिपक्षीको भूमिका निर्वाह गर्नु पर्ने हो त्यसमा चुकिरहेको छ।’

५३ जनाले गरे भाषण
महाधिवेशनको उद्घाटसत्रमा पार्टी सभापति शेरबहादुर देउवासहित ५३ नेताले सम्बोधन गरेका छन्। महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने ५६ नेताको सूची तय भए पनि पार्टी महामन्त्री पूर्णबहादुर खड्का, पूर्व महामन्त्री, प्रकाशमान सिंह र केन्द्रीय सदस्य प्रदीप गिरी उपस्थीति नभएपछि उद्घाटनसत्रमा पार्टी र ट्रेड युनियन आन्दोलनमा सहभागी स्वदेशी र विदेशी ५३ नेताले सम्बोधन गरेका थिए। मध्यान्नबाट सुरु भएको उद्घाटनसत्र साँझ ७ बजेमात्र सकिएको थियो। झन्डै सात घण्टा लामो कार्यक्रममा कांग्रेस सभापतिसहित सबै पदाधिकरी नेताहरू अन्तिम समयसम्म बसेका थिए।

नेतृत्वमा तीनजना भिड्दै
नेपाल ट्रेड युनियन कांग्रेसको आगामी नेतृत्वका लागि तीन नेताले उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान अध्यक्ष खिलानाथ दाहाल, पुस्कर आचार्य र रमा पौडेलले नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका छन् । पार्टीभित्रको गुटगत विभाजनकै आधारमा दाहाल सभापति देउवा समुहबाट र आचार्य पौडेल समूहबाट उम्मेदवार बनेका छन् भने पौडेलले आपूm कुनै गुटमा नरहेको दाबी गरेकी छिन्।

देशभरिका झन्डै १४ सय महाधिवेशन प्रतिनिधि सहभागि महाधिवेशनले बिहीबार आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै सकिने छ।

प्रकाशित: ३० जेष्ठ २०७५ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App