१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश १ को नीति तथा कार्यक्रममाथिको छलफल सकियो

विराटनगर-प्रदेश १ को नीति तथाकार्यक्रममाथिको छलफल सकिएको छ। आइतबार सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे सोमबार देखि सुरूभएको छलफल मंगलबार सकिएको हो।  

मंगलबार नीति तथा कार्यक्रममाथिको छलफलमा  प्रदेशसभा  सदस्य हिमाल कार्कीले नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिने उल्लेख भए पनि प्रदेश सरकारले अहिलेसम्म कृषि मन्त्रीसमेत बनाउन नसकेको बताए। कार्कीले भने‘कृषिलाई प्राथमिकता दिने भनिएको छ तर, अहिलेसम्म प्रदेश सरकारले कृषि मन्त्री नै बनाउन सकेको छैन।’ एउटा कुरा भन्ने व्यवहारमा अर्कै देखाउने प्रवृत्तीका कारण कृषिलाई प्राथमिकता दिने विषय कार्यान्वयनमा ल्याउन कठीन रहेको कार्कीले बताए। मधुमेह, उच्च रक्तचाप भएका , मुटुरोगी, मृगौला रोगी, प्यारालाइसिस  जस्ता  निको नहुने र नियमित औषधि खाइरहनु पर्ने रोगका विरामीलाई जीवन यापन भत्ताको व्यवस्था गर्न र बृद्ध भत्ता मासिक ५ हजार पुर्याउने विषय नीति तथा कार्यक्रममा समावेश गर्न कार्कीले माग गरे। केन्द्रमा जस्तो मन्त्री गरिब हुने तर मन्त्रीका श्रीमति धेरै धनि हुने अवस्था प्रदेशमा देखिन नहुने कार्कीको धारणा छ।

प्रदेसभा सदस्य यशोधा अधिकारीले साहना प्रधान, नुना कोइराला, शैलजा आचार्य,साधना अधिकारीआदिका नाममा सुविधा सम्पन्न प्रादेशिक प्रसुती गृह निर्माण गर्न माग गरिन्। प्रसुती हुनेक्रममा महिलाको मृत्यु हुने क्रम रोक्न प्रादेशिक प्रसुती गृह आबश्यक रहेको अधिकारीको धारणा छ।

वलबहादुर साम्स्वाङले ताप्लेजुङलाई अलैची सुपरजोन घोषणा गर्न माग गरे। प्रदेशसभा सदस्य उषाकला राईले चतरा देखि प्रदेशकै महत्वपूर्ण धार्मिक स्थल हलेसी जोड्ने सुनकोसी–दुधकोसी जलमार्ग सञ्चालनमा ल्याउन माग गरिन्।

प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले सुकुम्वासीलाई जग्गा बितरण नगरी सरकारी आवास बनाएर दिन माग गरे। उनले भने ‘जग्गा बाड्दै जाने हो भने सुकुम्वासी समस्या कहिलै समाधान नहुने भएकाले भूमिहिन र सुकुम्वासीलाई रोजगारी र सरकारी आवासको  व्यवस्था गर्ने  कार्यक्रम ल्याइयोस्।'

प्रदेशसभा सदस्य गुलेफुन खातुनले मुस्लीमको चाड पर्वमा पनि सार्वजनिक विदा दिने व्यवस्था समावेश गर्न माग गरिन्।

मङ्गलबारको बैठकमा १९ जना प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रमबारे धारणा राखेका थिए।

 

प्रकाशित: २९ जेष्ठ २०७५ १३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App