१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरमा ठूलो मात्राकाे लागू औषधसहित २ किशोर पक्राउ

पक्राउ किशोर र उनीहरूबाट बरामद लागू औषध देखाउँदै एसपी भट्ट।   तस्विरः महेश्वर/नागरिक

उदयपुर – उदयपुर दिनदिनै लागू औषध प्रयोग र कारोबारको ‘हव’ बन्दै गएको पाइएको छ। 

दिनहुँजस्तो लागूऔषध सेवनकर्ता र कारोबारी पक्राउ हुनु तथा किशोरदेखि वृद्धसम्म पक्राउ पर्नुले यो कुराको पुष्टि गर्दै गएको छ। प्रहरीले बुधबार बिहान मात्र दुई किशोरलाई ठूलो मात्राको लागू औषधसहित पक्राउ गरेको छ। जवकी अघिल्लो दिन मात्र २ युवा र ३ दिनअघि एकाघरका बाबु–छोरा घरमै लागू औषधसहित पक्राउ परेका थिए। 

बुधबार बिहान पक्राउ पर्नेमा १४ र १६ वर्षका किशोर छन्। त्यही समुहमा रहेका अर्का त्यस्तै उमेरका किशोर भाग्न सफल भएका छन्। विभिन्न थरीका ६ सय ११ एम्पुल (थान) प्रतिबिन्धित लागू औषध र २५ थान सिरिञ्जसहित उदयपुर र सप्तरीको सीमास्थल लालपत्ता प्रहरी चौकीबाट पक्राउ परेका उनीहरूकै समुहका निर्जन खड्का भने फरार भएका छन्। गाईघाट बजारमा नियमित लागू औषध ल्याएर बिक्री गर्ने त्रियुगा नगरपालिका १२ का १४ वर्षे पुष्पपारस राई र १६ का १६ वर्षे मिलन राईलाई त्रिनपा ६ चुरिया जंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार बिहान पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको छ। साथमा भएको झोला फ्याँकेर भाग्न सफल खड्काको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। खड्काको झोलाबाट सबैभन्दा बढी ५ सय ८८ एम्पुल लागु औषध फेला परेको प्रहरी प्रमुख एसपी नवराज भट्टले पत्रकार सम्मेलनमा जानकारी दिए। 

उनको झोलाबाट डाईजोल्याप १ सय ९६ एम्पुल, फेनारगन १ सय ९६ एम्पुल, लुपिकजेशिक १ सय ९६ एम्पुल र सिरिञ्ज २३ थान बरामद भएको उनले बताए। उनका अनुसार पुष्पपारसको साथबाट फेरागन ५ एम्पुल, जुपिजेसिक ५, हाईजेलाव ५ र सिरिञ्ज बरामद भएको छ। सँगै हिँडिरहेका ३ जनालाई शंका लागी सोधपुछ गर्दा पुष्पपारस पक्राउ पर्न नभ्याई खड्का र मिलन भागेकोमा मिलन पक्राउ परे पनि खड्का भने भाग्न सफल भएको भट्टले बताए। पक्राउ परेका राईद्वय लागु औषध सेवनकर्ता र बिक्रीकर्ताको नाइके भएको दाबी प्रहरीको छ। 

पत्रकार सम्मेलनमा चालू आर्थिक वर्ष सुरु भएर हालसम्म लागु औषधसहित १ सय ५३ जना पक्राउ परेर कारबाही भएको पनि जानकारी दिइयो। जसममध्ये ८८ वटा घट्नाको मुद्धा अदालतमा दर्ता गरेर विचाराधिन रहेको छ भने १ सय १८ जनालाई धरौटीमा छाडिएको एसपी भट्टले बताए। मुद्धा खेपेकामध्ये १९ जना पुर्पक्षका लागि थुना आदेश पाएका छन्। २ जना भने फरार रहेको उनले सुनाए। 

गएको साउन १ देखि जेठ २३ गते बुधबारसम्मको अभिलेख अनुसार उदयपुर प्रहरीले  विभिन्न ठाउँबाट पक्राउसहित बरामद गरेको लागू औषध लगभग ३ हजार थान पुगेको छ। प्रहरीले बरामद गरेको लागू औषधमा फेरागन ५ सय ९५ एम्पुल,लुपिजेसिक २ सय ९०, डाइजेलाव ५ सय ९४, नुरफिन २ सय ९९ र नाइटोशन ५ सय ३६ रहेको छ। त्यस्तै गाँजा ५ किलो २ सय ७० ग्राम, स्पास्मोपोक्सिनवान १ सय २८ थान र१ कठ्ठा क्षेत्रफल जग्गामा लगाइएको अफिम खेती नष्ट गरिएको छ।  

प्रकाशित: २३ जेष्ठ २०७५ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App