"
व्यक्ति

गरिबीका गीत गाउने जीवन दाई

शनिबार, १९ जेठ २०७५, ०९ : ४२ राजु पौडेल


यो लेख तयार गर्दा जीवन शर्मालाई सोधेँ, ‘दाइ पिताका धार्मिक ग्रन्थ जलाएर तपाईं कम्युनिस्टमा लाग्नु भएको भन्थे नि गाउँमा?’ ‘हा हा हा... त्यस्तो होइन भाइ, पढेको हो। बरु पढेर बुबासँग पूजापाठमा हिँडेको पनि हो जलाएको होइन त्यो त मलाई बद्नाम गर्न विरोधी खेमाले बनाएको प्रपोगान्डा मात्र हो ।’ वारिपट्टि हामी जन्मेहुर्केको कालुंखोले पाखो, पारिपट्टिको ओसेपिलो पाखो पाही फेदीबाट बग्ने कालुंखोला (बग्दै अलि तल पुगेपछि यो खोला ठेउले खोलाको नामले परिचित छ) ले हामीबीचको भौगोलिक सिमाना छुट्याइदिएको छ । छरछिमेकमा वारिपारिको कुरा भुसको आगो जस्तै दन्दनी हुन्थे, त्यसैमा विशेषगरी कम्युनिष्ट पार्टीको संगठन विस्तारमा जीवन शर्माका जनवादी गीत संगीतले तुलनात्मक रूपमा ठूलो भूमिका निर्वाह गर्थे। विरोधी खेमाको जीवन दाइप्रतिको निसाना स्वभाविक थियो।

पश्चिम नेपालको बाग्लुङ जिल्लाअन्तर्गत दक्षिणी भेगमा अवस्थित साविकको रांगखानी गाविस–७, पाहीमा जन्मिएका हुन्, रामकृष्ण दाई उर्फ ‘जीवन शर्मा’। दुई दिदी र दुई बहिनीको एक्लो भाई त्यो पारिवारिक जिम्मेवारीभन्दा माथि उठेर वर्गविहीन समाज निर्माण गर्ने अभियानमा सरिक बने । र, माध्यम रोजे गीत र संगीत।

कर्णप्रीय स्वरका धनी जीवन दाइलाई हामी सानै हुँदा पाही झक्कलेको छोरा ‘रामकृष्ण’ भनेर चिन्थ्यौं । पछि गरिबीका गीत गाउने जनवादी गायक जीवन शर्माको नामले उनको ख्याती देश–विदेशमा फैलियो । एक सन्दर्भमा जीवन दाइलाई सोधेको थिएँ, ‘पिताजीलाई किन नि ‘झक्कले’? ‘ खै ठूलो र सुन्दर शरीर भएको रुपवान पुरुष, झक्कल झक्कल गर्दै हिँड्ने त्यही भएर हो कि?’ पितालाई दिइएको उपनामको विषयलाई बीचैमा बिट मारिदिए।

कर्णप्रीय स्वरका धनी जीवन दाइलाई हामी सानै हुँदा पाही झक्कलेको छोरा ‘रामकृष्ण’ भनेर चिन्थ्यौं। पछि गरिबीका गीत गाउने जनवादी गायक जीवन शर्माको नामले उनको ख्याती देश–विदेशमा फैलियो।

२०४६ सालको राजनीतिक परिवर्तन उत्कर्षमा थियो । हामीले बाल्यकाल पार गरिसकेका थियौं। आन्दोलनको राप र तापले त्यो विकट ग्रामीण बस्तीलाई पुरै गिजोलिसकेको थियो । परिवर्तनको पक्षधरता, बाँसको ढुङ्ग्रोको एकापट्टि प्लास्टिक बाँधेर अर्कोपट्टिबाट उनकै स्वरमा स्वरबद्ध ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको उमेर भइसक्यो ८०, झन् ठूला दुःखले घेरेको’ बोलको गीत मुर्मुरेको चौतारोमा गुन्जाउथ्यौं । रातिराति राँको बालेर उनका गीत बज्ने सांस्कृतिक कार्यक्रमको दर्शकदीर्घामा जुट्थ्यौं । ‘पाही झक्कलेको छोरा रामकृष्णले गाउने गीत कम्युनिष्टका गीत हुन् हाम्ले गाउन/सुन्न हुन्न,’ यस्तै भन्थे घरमा । राजनीतिक आस्थाका आधारमा गाउँ चर्को रूपमा विभाजित थियो।

२०५२ सालमा मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वमा गठित सरकारले उनको गीतलाई रेडियोबाट प्रसारण गर्ने अनुमति प्रदान गर्याे । हामीले साँझ मुर्मुरे चौपारीमा गुन्गुनाउने गीत अब प्रत्येक दिन बिहान मेचीकाली कार्यक्रममा प्रसारण हुन थाले । रक्तिम सांस्कृतिक अभियानका गीत सरकार नियन्त्रित संचारका माध्यामबाट समेत प्रसारण हुन थालेपछि जीवन दाइको ख्याती विशेषगरी वामपन्थी वृतमा चुलिँदै जान थाल्यो।

गाउँका जिम्मावाल मुखिया स्थानीय स्तरमा पिताजीको जगजगी, तत्कालीन रांगखानी गाउँ पञ्चायतको प्रधानपञ्च स्थानीय शासनसत्ताको बागडोर पनि पिताजीकै हातमा । पञ्च न्यायप्रणाली पञ्चायतकालीन राजनीतिको विशेषता । बिहान सबेरै पिताजीको पटागिंनी (घरका दायाँबायाँ बनाइएको खुला मैदान; कोखे आँगन)मा पीडा पोख्न आउनेको भीडले समाजका तल्लो वर्गको समस्यासँग जीवन दाइलाई सानै उमेरमा परिचित गराइदियो । स्थानीय शासनसत्ताको बागडोर पिताका हातमा हुँदाहुँदै पनि उनमा समतामूलक समाजको निर्माण गर्ने इच्छा सल्बलाउन थाल्यो। आधारभूत मानवीय आवश्यकताबाट वञ्चित हुन बाध्य बहुसंख्यक नागरिकका पीडा उधिन्न आफ्नो कलकलाउदो १६ वर्षे उमेरमै ‘चाडै नै आओस् बिहानी सुन्दर अँध्यारो चिरेर...’ भन्ने बोलको गीत लिपिबद्ध गरे। तर, दुर्भाग्य उनले २०३२ सालमा पहिलोपटक लेखेको उक्त गीत अहिलेसम्म रेकर्ड हुन सकेको छैन।

आमा त्यो खोलाटोलाको स्वरकिन्नरी जस्तै, कोकिलकण्ठी स्वरमा गुन्जिने उनको स्थानीय लोक भाखा हाँडीकोटे चट्टानबाट प्रतिध्वनित बन्दा पूरै भेग संगीतमय बन्थ्यो । सोधें, आमाको त्यो विलक्षण प्रतिभा तपाईंमा पुस्तान्तरण भएको हो? हो, आमाको स्वर निकै सुरिलो थियो, आमामा भएको त्यो गुण ममा सरेको हुन सक्छ । छ महिना पहिला आफ्नी ममतामयी आमालाई गुमाएका शर्माले भने।

पिताको पटागिंनीमा आउनेहरूले आफूलाई गीत संगीतमा प्रेरित गरेको बताउने जीवन दाइ कम्युनिस्टप्रतिको आफ्नो लगावको मुख्य कारण पनि त्यसैलाई मान्छन् । माक्र्सवादी दर्शनमा आधारित विभिन्न पुस्तकले आफूमा माक्र्सवादी सौन्दर्यको चेतना जागृत गरेको हो । पिता, घरपरिवार र पूरै समाज विपरित ध्रुवको स्कुलिङ हजुरलाई कहाँबाट मिल्यो ? भन्छन्, निमुखा जनताको मुक्ति मेरो आधारभूत मान्यता हो र यसैमा आजसम्म अडिग छु । वर्गविहीन समाज निर्माण गर्ने तत्कालीन कम्युनिस्टहरूको आकर्षक नारालाई पछ््याउँदै जीवनको लामो गोरेटो पार गरेका जीवन दाइले २०४७ सालताका ‘स्वागत छ हाम्रा पाहुनाहरूलाई स्वीकार्नुहोस् हाम्रो स्वागतम्’ भन्ने बोलको गीत पहिलोपटक रेकर्ड गराएका हुन् । शर्माले अहिलेसम्म एक हजारभन्दा बढी गीतमा गरिब र गरिबीका पीडा भरिसकेका छन् । पचास वटा गीति एल्बम र दुई भागमा विभाजित गीतिनाटक संग्रह ‘ठूली’ सर्वहारा शर्माले अहिलेसम्म आर्जन गरेका सम्पत्ति हुन् । उनको सांगीतिक यात्रामा सुरुदेखिकै सहयात्री निलिमा पुन, कलाकार र समस्त स्रोता सबैलाई यसको श्रेय जान्छ, शर्मा भन्छन्।

सम्बत् ५० को दशकमा मञ्चन भएको ‘ठूली’ नाटक प्रहसनका क्रममा दर्शकदीर्घामा रहेका दर्शकहरू धरधरी रोएको देख्नेमध्येको म पनि एक हुँ । राज्यको स्थानीय तहमा जमेर बसेको पीडालाई टपक्कै टिपेर गीतसंगीत र नाटकमा सजिलै ढाल्ने अद्भुत विद्यमान कलाले जीवन शर्माका नाममा यति धेरै शब्द निसंकोच खर्च गर्ने बनाएको हो । यो निर्वाध पूँजीवादी युगमा एक सर्वहारा निर्धन मान्छेको बखान गर्नु व्यक्तिगत हिसावले मेरा लागि घाटाको व्यापार हो । तर, गरिब हुनुको भावलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरेर पीडितलाई पीडा पखाल्ने र शासकलाई झक्झक्याउने काम जसरी जीवन दाइले गर्दै आएका छन्, मेरा लागि उनी समाजका एक सम्मानित पात्र हुन् । किनकि, गरिबी हिजो पनि थियो, आज पनि उस्तै छ । भोलि पनि परिवर्तन हुने मार्गमा अग्रसर छैन।

२०३६ सालको विद्यार्थी आन्दोलनपछि पूर्णकालीन राजनीतिमा होमिएका शर्माले गीत र संगीतलाई नै आफ्नो राजनीतिको भ-याङ माने । २०४३ सालमा गठन भएको रक्तिम सांस्कृतिक अभियानलाई अविछिन्न नेतृत्व गरिरहेका छन् । सायद, कुनै पेशा व्यवसायमा यतिका वर्ष काम गरेको भए जीवनस्तर बेग्लै हुन्थ्यो । गएको हिउँदमा जीवन दाइ पश्चिम नेपालको कुनै एक महोत्सवमा डाँकिएका थिए, पंक्तिकार अर्को कुनै त्यस्तै कार्यक्रमबाट फर्किंदै गर्दा बीच बाटोमै जम्काभेट भयो । ‘महोत्सवमा सांगीतिक माहोल तताउन बोलाएका छन् भाइ त्यतै जान हिँडेको...।’ प्रायः उनले बोक्ने झोला वाहेक साथमा अर्को एक कलाकार थिए । ‘माहोल तताउन बोलाएका अरु कलाकारहरूलाई त एयरपोर्ट मै खोसाखोस गर्छन् त दाइ...’ जीवन दाइको प्रतिक्रिया थियो, ‘म गरिब र गरिबीका गीत गाउने त्यति ठूलो मूल्यको अपेक्षा पनि त गर्नु भएन नि भाइ ! ’

जनता मावि, थन्थाप सर्कुवामा तत्कालीन दक्षिणी भेग बाग्लुङको एक अब्बल शिक्षालय । त्यहि विद्यालयबाट २०३४ सालमा एसएलसी उत्तीर्ण गरेका शर्मा उक्त विद्यालयका एक तीक्ष्ण छात्र थिए । त्यतिखेरसम्म प्रथम श्रेणीमा उत्तीर्ण हुनेले भारत, रसियालगायत कतिपय देशहरूमा सिधैं छात्रवृत्ति पाउँथें । शर्माका सहपाठीहरूले त्यस्तै सुविधा उपयोग पनि गरे । उति बेलाकै एसएलसीमा झन्डै ७० प्रतिशत अंक ल्याएर पनि शर्माले विदेशी विश्वविद्यालयको डिग्री मोह त्यागिदिए । विभिन्न आरोह–अवरोह पार गर्दै एसएलसी उत्तीर्ण गरेको झन्डै एक दशकपछि त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरको उपाधि लिए । बुर्जुवा भनी आलोचना गर्ने शिक्षण पद्वतिमा आधारित शिक्षण सिकाइको केन्द्र मानिने ‘शिक्षक’ बाहेक अन्य आयआर्जनका काममा जीवन दाइको अनुभव छैन।

गरिबका पीडा उधिन्न उनी देशका लगभग सबै जिल्लामा पुगेका छन् । प्रवासी नेपालीका पीडालाई मुखरित गर्ने क्रममा विश्वका २५/३० राष्ट्रको वैदेशिक यात्रा पनि तय गरिसकेका छन् । आफ्नै जीवनका यी अनगिन्ती उकाली ओराली र गल्छेडा पार गरेका उनी बाग्लुङको दक्षिण भेगमा अवस्थित आफ्नै छिमेकी गाजाकै लेकमा नराम्रोसँग हराए एकपटक । भूमिगत कालमा गुराँसको फेदमुनि रात गुजारे यसैलाई नै जीवन आफ्नो जीवनको अविस्मरणीय क्षण मान्छन् । राष्ट्र र जनताका निम्ति जीवन समर्पित गर्ने सुखद मौकालाई आफ्नो जीवनको ठूलो उपलब्धि सम्झिने शर्माले देशमा गणतन्त्र स्थापित हुनुलाई एउटा सामाजिक उपलब्धि मान्छन् । व्यवस्था परिवर्तन त भयो दाइ जसका लागि तपाईंले गला निखारी गाउनुभयो, उनीहरूको अवस्था कस्तो छ त ? ‘जस्ताको त्यस्तै’  प्रायः गीतमा जस्तै सुरिलो बोल्छन् जीवन दाइ।

हार्दिकतापूर्वक निमन्त्रणा गरेको स्थानमा पुग्छन्, गीत संगीत गुन्जाउँछन्, आयोजक संस्थाले श्रद्वापूर्वक जति पारिश्रमिक दिन्छन् खल्तीमा हालेर काठमाडौं फर्किन्छन् । लामो समयदेखि देशको राजधानी काठमाडौंलाई अस्थायी बसोबासको केन्द्र बनाएका उनले त्यसरी नै आफ्नो गुजारा चलाएका छन् । भन्छन्, ‘तपाईंले धेरै अवसर गुमाउनुभयो, अब तपाईं अनुकूलको राज्य व्यवस्था आएको छ, लाभको पदका लागि लबिङ गर्नुहोस् ।’ ‘भैगो भाइ, दाइभाइको भेटघाट पातलो बनाउनु छैन ! मैले गरिबलाई सुनाएका गीत मान पदवीभन्दा धेरै मूल्यवान छन् । लाग्छ, आफ्नो व्यक्तिगत फाइदाका लागि मात्र जीवन दाइ आफ्नो जीवनकालमै कहिल्यै अग्रसर भएनन्।

लेखलाई बिट मार्दै थिएँ, जीवन दाइलाई फोन लगाए संयोगले गीत छायाँकनका क्रममा हाँडीकोटको डाँडोमा पुगेका रहेछन्। हाँडीकोटे डाँडाकै काखमा जन्मिहुर्केका जीवन दाई अत्यन्तै उत्साहित सुनिए, ‘भन भाइ म स्वर्गको टुक्रामा छु।’ वारि कालुंखोले पाखोबाट पारी हाँडीकोटमा रहेका जीवन दाइसँग प्रत्यक्ष कुराकानी हुँदै गरेजस्तो करिब तीन दशक पुरानो याद बल्झियो मलाई । मैले भने, ‘दाइ तपाईंको बारेमा लेख तयार भइसक्यो हेर्नुहुन्छ?’ ए भाइ, मेरोबारे मलाईंभन्दा बढी तिमीलाई थाह छ किन हेरौं ? तिम्रो बुबा जिल्ला पञ्चायतको सदस्य हुँदा मेरा पिता यो गाउँको प्रधानपञ्च, राजनीति र पारिवारिक हिसावले घाँटी जोडिएको परिवार । तिम्रो लेखबाट मेरो कर्म उजागर होस्।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

लेखिका प्रियंका

लेखिका प्रियंका

हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने...

नेपाली फिल्मको खराब बोहनी

नेपाली फिल्मको खराब बोहनी

अघिल्लो वर्ष थुप्रै फिल्मले निर्माताकोे गोजी भरेका थिए । थुप्रै नयाँ कलाकारले अभिनयमा सम्भावना देखाएका थिए । यही अपेक्षाका साथ...

ग्ल्याममा ओजस्वीराज र सन्ध्या

एसइइको परीक्षा दिएर बसेका विद्यार्थीको प्रतिभा उजागर गर्न राजधानीमा आयोजना गरिएको ‘मिस्टर एन्ड मिस एसइई ग्ल्याम २०१८’ को उपाधि ओजस्वीराज...

निफसँग चीनको हातेमालो

नेपालमा गत वर्षबाट सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(निफ)’लाई चीनको चलचित्र महोत्सवले सघाउने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक...