१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रशोधन नगरी पानी पिउँदा झाडापखाला

दाङ – २०६१ सालको गर्मीयाममा शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा वितरित दूषित पानीका कारण झाडापखाला फैलियो। झाडापखालाबाट तीनजनाले ज्यान गुमाए, झन्डै चार सयको हाराहारीमा बिरामी परे। माइलीपानी मुहान व्यवस्थित नहुँदा धारामा दूषित पानी वितरण भएको थियो। १४ वर्षपछि पातेटाकुरामा फेरि दूषित पानी वितरण हुँदा पहिलेझैं प्रकोप फैलिएको छ। यसपटकको प्रकोपबाट कसैको ज्यान नगए पनि बिरामी हुनेको संख्या अत्यधिक छ।

गाउँपालिकाका वडा नम्बर ३ र ४ मा गत शनिबारदेखि फैलिएको झाडापखालाले एक हजार पाँच सयजना बिरामी भएका छन्। १४ वर्षको अन्तरालमा झाडापखालाको प्रकोप फैलिने कारण माइलीखोलाको दूषित मुहान भएको र दुवैपटक एकै स्थानमा प्रकोप फैलिएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए।

खानेपानी आयोजनामार्फत वितरण गरिने पानीको शुद्धताबारे ख्याल नगरिएकाले पटकपटक प्रकोप फैलिने गरेको छ। पानीको मुहान सुक्दै जान थालेपछि गाउँमा पानी अभाव हुँदा खोलाबाट जथाभाबी पानी आपूर्ति हुँदा झाडापखाला फैलिएको खानेपानी कार्यालयले जनाएको छ। दुइटा खोलामा सीधै पाइप हालेर गाउँमा प्रदूषित पानी वितरण हुँदा झाडापखालाको समस्या देखिएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर तिलक न्यौपानेले बताए। अहिले ती पाइप झिकिएका छन्। उनले पानीको मुख्य ट्यांकीमा हानीकारक जीवाणु मार्ने क्लोरिन दिनहुँ राख्नुपर्ने भए पनि शान्तिनगरको पानी ट्यांकीमा भने हप्तामा एक दिनमात्रै राखिने गरिएको बताए। ‘खोलामा सीधै पाइप जोडेर ट्यांकीमा पानी खसाल्ने गरिएको थियो, मूलबाट आउने पानी शुद्धीकरणका लागि ट्यांकीमा पनि क्लोरिन नहालेको पाइयो,’ उनले भने।

जिल्लाका अन्य ठाउँमा समेत खानेपानी प्रणालीमा यसरी नै हेलचक्रयाइँ भइरहेको खानेपानी कार्यालयको भनाइ छ। विभिन्न खानेपानी आयोजनामार्फत वितरित पानी शुद्धीकरणमा गरिने हेलचक्रयाइँका कारण अन्य स्थानमा पनि शान्तिनगरको जस्तै झाडापखालाको समस्या आउन सक्ने इन्जिनियर न्यौपानेको कथन छ। अन्य ठाउँमा पनि खोलाबाट पाइपमार्फत ल्याइने पानी प्रशोधनबिनै वितरण गर्ने गरिएको छ। उनले भने, ‘पर्याप्त पानी उपलब्ध गराउने नाममा अधिकांश आयोजनाले दूषित पानी वितरण गरिरहेका छन्।’

जिल्ला जनस्वास्थ्य कार्यालयले पनि दाङमा खानेपानीको शुद्धताभन्दा पर्याप्ततालाई ध्यान दिइएकाले झाडापखालाको समस्या उत्पन्न हुने गरेको जनाएको छ। ‘मुहान अनुगमनमा पानीको शुद्धतामा ध्यान नदिइएको पाइयो,’ जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले भने।

गर्मीयाममा मुहानमा पानीको मात्रा कम हुन्छ। जसले गर्दा पानीको अभाव हुन पुग्छ । उपभोक्तालाई पानीको अभाव महसुस हुन नदिन नजिकका खोलाबाट प्रशोधन नगरीकनै धारामा खानेपानी पु¥याउने गरिएको छ। जिल्लाको उत्तरी क्षेत्रमा रहेको महाभारत पहाडका मूलबाट वितरित खानेपानीमा यो समस्या बढी छ। ‘जिल्लाका ६० प्रतिशत सानाठूला आयोजनाबाट यसरी नै पानी वितरण भइरहेको न्यौपानेले बताए। खानेपानी कार्यालयले साँझबिहान दुई समयमा पानी वितरण गर्ने आयोजनालाई एक समयमा मात्र भए पनि शुद्ध पानी वितरण गर्ने निर्देशन दिएको छ। जिल्लामा करिब दुई सय ५० वटा आयोजनाले खानेपानी वितरण गरिरहेका छन्। पातपतिंगर, गाईभैंसीको गोबर तथा मरेका माछा मिसिएपछि पानी प्रदूषित हुने न्यौपानेले बताए। उनले गर्मीयाममा पानी उमालेर पिउने बानी नरहेकाले पनि उपभोक्ता बिरामी हुने गरेको बताए।

दिनहुँ थपिने बिरामीको संख्या घट्दै
शनिबारदेखि फैलिएको झाडापखालाका कारण सोमबार बेलुकासम्म बिरामी हुनेको संख्या एक हजार पाँच सय ५० पुगेको स्वास्थ्य चौकीका इन्चार्ज पुनले बताए। सोमबार बेलुकासम्म ३ सय २५ नयाँ बिरामी थपिएका छन्। तीन दिनमा सोमबार थपिएको संख्या अन्य दिनको तुलनामा कम हो। शनिबार पहिलो दिन ४ सय १९ जना बिरामी उपचारका लागि आएका थिए। आइतबार सबैभन्दा बढी ७ सय ४ बिरामी थपिएका थिए। दूषित पानी वितरण भएको आशंका गरिएको खानेपानी ट्यांकीमा शुद्ध पानी राखिएको छ। शुद्ध पानी वितरण गरिएकाले पनि अब झाडापखालाको प्रकोप नबढ्ने पुनले बताए। सोमबार पनि स्वास्थ्य चौकीको स्वास्थ्यकर्मी टोलीसँगै राप्ती उपक्षेत्रीय अस्पताल, राप्ती अञ्चल अस्पताल र नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले बिरामीको उपचार गरेका छन्।

प्रकाशित: १५ जेष्ठ २०७५ ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App