१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घन्टौं उकालो हिँडेर निर्माण सामग्री ओसार्दै भूकम्पपीडित

घर बनाउन सामान ओसार्दै झार्लाङका स्थानीय ।तस्विर :सरिता /नागरिक

धादिङ - जिल्लाको दुर्गम क्षेत्रमा पर्ने खनियाबास गाउँपालिका–१, झार्लाङका पेम्बा तामाङ घर छाउन आवश्यक जस्तापाता बोकेर उकालो लाग्दै छन् । साघँरो र उकालो बाटोमा उनी हरेक दिन यसैगरी नाम्लोमा सामान ओसार्ने गर्छन् । ‘घर बनाउन आवश्यक सिमेन्ट, बालुवा र जस्तापाता बोकेको हप्तौं भयो, तामाङले सुनाए, ‘थाप्लोमा नाम्लो लगाएर दिनमा ७ घन्टा उकालो हिँडेर सामान ल्याउने गरेको छु ।’ आफूसँगै श्रीमती र छोरा पनि यसरी सामान ओसार्न दैनिक खटिने गरेको उनले बताए।

२०७२ वैशाख १२ गते गएको महाभूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएको तामाङको परिवार अझै टहरामै छन् । निजी आवास निर्माणअन्तर्गत सरकारले दिएको पहिलो किस्ता रकम पाएका तामाङले भर्खरै मात्र नयाँ घर निर्माण सुरु गर्न लागेका हुन् । त्यसैका लागि उनी नाम्लो लगाएर निर्माण सामग्री ओसारिरहेका हुन । ‘न मोटरबाटो छ न निर्माण सामग्री, मानिस हिंड्ने बाटोसमेत राम्रो छैन, ’ तामाङले भने, ‘गाउँकै ढुंगा, माटोले गारो लगाउने गरी छाउने जस्ता लिन तल झरेका हौं ।’ भिरालो बाटोमा पानी परेका बेला कतिपटक लडेको उनले सुनाए ।

धादिङबेसीदेखि डुन्डुरेसम्म ४० किलोमिटर कच्ची बाटोसम्म गाडी जान्छ । डुन्डुरेबाट झार्लाङ, तिप्लिङ, सेर्तुङ, लापा लगायतका ठाउँमा पुग्न भने पैदल यात्रा गर्नुको विकल्प छैन । प्रायः चिसो हावा चलिरहने तथा पानी परिरहने जिल्लाको उत्तरी क्षेत्रमा भूकम्पले भत्काएका घरहरू अझै पुनर्निमाण हुन सकेका छैनन् । घर निर्माणका लागि सरकारबाट पहिलो किस्ता लिएका यस क्षेत्रका भूकम्पपीडितले अर्काे किस्ता लिन घर निर्माण सुरु नै गरेका छेनन् ।भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि अझै दुर्गमका भूकम्पपीडित सुुरक्षित घरमा बस्न पाएका छैनन् । भौगोलिक विकटता, निर्माण सामग्री महंगी र कमजोर आर्थिक अवस्थाका कारण कतिपय भूकम्पपीडितले घरको जग नै हाल्न सकेका छैनन् ।

घन्टौं लगाएर सामान उकाल्दै, घर ठड्याउन थालेको झार्लाङका नरसिंह तामाङले बताए । ‘बाटोको समस्याले घर बनाउन सकेका थिएनौं,’ उनले भने, ‘कुनै विकल्प नभएपछि अहिले आफैले बोकेर सामान ओसार्दै, घर बनाउँदै छौं ।’

घन्टौं लगाएर सामान उकाल्दै, घर ठड्याउन थालेको झार्लाङका नरसिंह तामाङले बताए । ‘बाटोको समस्याले घर बनाउन सकेका थिएनौं,’ उनले भने, ‘कुनै विकल्प नभएपछि अहिले आफैले बोकेर सामान ओसार्दै, घर बनाउँदै छौं ।’ घर बनाउने सामान आलोपालो गरेर ओसार्ने गरिएको उनले बताए।

रुबी भ्यालीमा पर्ने सेर्तुङ र लापा, खनियाँबासको झार्लाङमा सडक संजाल पुग्न सकेको छैन । दैनिक उपभोग्य सामानदेखि लत्ताकपडासमेत सदरमुकामबाट खच्चडले दुई दिन लगाएर ल्याउनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा पुनर्निर्माणका सामान गाउँसम्म लैजान स्थानीय बासिन्दालाई निक्कै कठिन भइरहेको छ । सडक अभावकै कारण पुनर्निर्माणसमेत ढिलाइ भइरहेको हो । महंगो भाडा तिरेर निर्माण सामग्री डुन्डुरेसम्म गाडीमा ल्याउने गरिन्छ । त्यसपछि महंगै ज्यालमा भरिया लगाएर सामान ओसार्नुपर्ने बाध्यता छ ।

स्थानीयतहमा बैक नहुदाँ समस्या
स्थानीय तहमा बैंक नहुँदा दुर्गम क्षेत्रका भूकम्पपीडितलाई समस्या परेको छ । निर्वाचन भएको एक वर्ष बितिसक्दा पनि जिल्लाका सबै स्थानीय तहमा बैंक पुगेका छैनन् । जसले गर्दा घर निर्माणका लागि सरकारले दिने अनुदान रकम लिन पनि सदरमुकाम नै झर्नुपर्ने बाध्यता छ । जिल्ला सदरमुकाम धादिङबेसीमा दुई सरकारीसहित एक दर्जनभन्दा बढी बैंक छन् । तर यी बैंकका सेवा विकट क्षेत्रका गाउँपालिकामा पुगेका छैनन् । धादिङको उत्तरी क्षेत्रका रुबीभ्याली, खनियाँबास, नेत्रावती, गंगाजमुना गाउँपालिकामा कुनै पनि बैंकका शाखा छैनन् । यहाँका स्थानीय बैंकिङ सेवा लिन सदरमुकाम नै झर्नुपर्ने हुन्छ ।

गाउँमा बैंक नभएकालो सदरमुकाम नै झर्नुपर्ने लापाका छिरिङ तामाङले गुनासो गरिन् । ‘घर बनाउन दिएको रकम लिन निक्कै खर्च गरेर सदरमुकाम धाउनुपर्छ,’ उनले भनिन्, ‘घर बनाउन उल्टो ऋणको भारी थपिँदै गएको छ ।’ सरकारले सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको भए पनि दुर्गम भेगमा यो लागू हुन सकेको छैन । १३ स्थानीय तह रहेको धादिङका सबै स्थानीय तहमा बैंक नपुग्दा भूकम्पपीडित हप्तौं लगाएर सदरमुकामका बैंकमा लामबद्ध हुनुपर्ने बाध्यता छ ।
 

 

प्रकाशित: ९ जेष्ठ २०७५ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App