१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

डोकोमा बोकेर पानीको जोहो

ललितपुरको गोदावरी नगरपालिका–८, डुकुछापअन्तर्गत दनुवार बस्ने टोलमा खानेपानीको हाहाकार भएको छ।

खानेपानी नहुँदा यहाँका अधिकांश स्थानीयको दैनिकी खोलाको पानी बोक्दैमा बित्छ । गर्मीयाम सुरु भएयता नजिकैका खानेपानीका मुहान सुकेपछि स्थानीय खोलाकै पानीमा निर्भर हुनुपरेको हो।

घर नजिकैका खानेपानी मुहान र धारा सुक्न थालेपछि पानी बोक्न घन्टौं लाग्ने स्थानीय लक्ष्मीबहादुर दनुवारले बताए । पिउने पानीको प्रबन्ध मिलाउन वडा कार्यालयमा कैयौंपल्ट हारगुहार गरे पनि त्यसको सुनवाई नभएको उनको गुनासो छ । ‘हामीले हरेक वर्ष हिउँदयाम सुरु भएयता खानेपानीको चरम अभाव बेहोर्दै आएका छौं,’ उनले भने, ‘चुनावको बेला पनि जनप्रतिनिधिहरूले खानेपानीको प्रबन्ध मिलाउँछु भनेका थिए।

तर, चुनाव जितेपछि फर्किएर पनि हेरेनन् ।’ उनका अनुसार यो टोलमा दनुवार समुदायका चार सय परिवार छन् । यी परिवारले खहरे खोला र अन्य खोल्साबाट पानी बोकेर दैनिकी चलाउँदै आएका छन् । ‘हामीलाई पिउने पानीको हाहाकार छ,’ स्थानीय श्यामराज दनुवारले भने, ‘पानी नहुँदा खेती, पशुपालनजस्ता कार्य गर्न निकै कठिन छ।

’ उनका अनुसार अहिले दनुवार समुदायबाट खहरे खोला पुग्न आधा घन्टा लाग्छ । उक्त खोलामा पनि बालुवा र ढुंगा तस्करी हुन थालेपछि पानी धमिलो बनेको छ । खानेपानीको समस्या हुँदा स्थानीय खोलाको धमिलो पानी पिउन बाध्य भएको उनले बताए ।बस्ती वडा कार्यालयबाट करिब एक किमी दूरीमा छ । तर, वडा कार्यालयले यहाँको खानेपानी समस्या समाधानमा कुनै चासो देखाएको छैन।

वडाध्यक्ष सुकबहादुर लामाले बस्तीनजिकै अन्य खानेपानीका स्रोत नभएकाले स्थानीयलाई पिउने पानीको बन्दोबस्त मिलाउन कठिन भएको बताए । ‘अहिले डुकुछापका हरेक बस्तीमा पिउने पानीको अभाव छ,’ उनले भने, ‘यसको समाधानका लागि हरेक समुदायका पाँच÷पाँच पिउने पानीका ट्यांकी जडान गर्न लागेका छौं ।’ उनले एक महिनाभित्र दुनवार बस्तीमा खानेपानीका ट्यांकी जडान गरिसक्ने प्रतिवद्धता व्यक्त गरे।  
दक्षिणी ललितपुरमा पनि उस्तै
बाग्मती गाउँपालिका–४ प्युटारको सिम्लेमा पनि खानेपानीको समस्या छ । घरनजिकै पानीको स्रोत नहुँदा यहाँका स्थानीयहरू पनि दैनिक ६ घन्टा हिँडेर खहरे खोलाबाट पानी बोक्न बाध्य छन्।

‘दुई खेप पानी ओसार्दैमा दिन बित्छ,’ स्थानीय माया तामाङ भन्छिन्, ‘आउजाउ गरी ६ घन्टा खर्चिनुपर्छ, घरका दुई जनाले त पानी बोक्ने काम मात्रै गर्छन् ।’ पानी लिन डोको बोकेर तीन घन्टा ओरालो हिँड्नुपर्ने उनले बताइन् । स्थानीयले खाना पकाउन, नुहाउन तथा गाईबस्तुलाई खुवाउन खोलाकै पानीमा उपभोग गर्दै आएको उनको भनाइ छ।

‘लुगा धुन र नुहाउन त परै जाओस्, पिउने पानीसमेत गाउँमा आउँदैन,’ उनले दुखेसो पोखिन् । उनका अनुसार पाँच वर्षयता यस क्षेत्रमा पानीको समस्या देखिएको छ ।सिम्लेका ६० घरधुरी छन् । सुक्खायाम सुरु भएयता हरेक वर्ष पानीको समस्या हुने गरेको स्थानीयको गुनासो छ । ‘एक महिनाअघिसम्म ललितपुरकै इकुडोलबाट गाउँमा पिउने पानी आउँथ्यो ।

तर, इकुडोल र सिम्लेको सीमानामा मोटरबाटो खन्दा डोजरले खानेपानीको पाइप फुटाएपछि खानेपानीको हाहाकार भएको छ,’ स्थानीय श्यामबहादुर जिम्माले भने, ‘इकुडोलबाट आउने पानी पिउन मात्रै पुग्छ ।’ पिउने पानी बोक्न नपरे स्थानीयलाई सुबिस्ता हुने उनको भनाइ छ ।यो क्षेत्रमा बर्खायाममा भने पानीको अभाव कम हुन्छ । बर्खामा सिम्ले नजिकै मूल फुट्ने हुँदा पानीको सुविधा हुने गरेको स्थानीय बताउँछन्।

‘वर्षाको समयमा त गाउँ नजिकै मूल फुट्थ्यो । र, केही राहत हुन्थ्यो । तर, हिउँदमा घाँटी चिस्याउन पनि खोलाकै भर पर्नुपर्ने अवस्था छ,’ अर्का स्थानीय नानीमाया जिम्माले भनिन्, ‘तीन वर्षअघि एउटा गैरसरकारी संस्थाले इकुडोलबाट गाउँमा खानेपानी आउने प्रबन्ध मिलाइदिएको थियो।

’ केही समयसम्म धारामा नियमित पानी आए पनि अहिले भने बन्द भएको उनले बताइन् । ठाउँठाउँमा पाइप फुटेकाले पानी आउनै छाडेको उनको भनाइ छ ।यो गाउँमा तामाङ समुदायका ६० घरधुरी छन् । गाउँमा खानेपानीको प्रबन्ध मिलाउन जिल्ला खानेपानी कार्यालय र बाग्मती गाउँपालिकालाई गुहारे पनि अझै सुनुवाइ नभएको स्थानीयको दुखेसो छ।

गाउँपालिकाका अध्यक्ष वीरवहादुर लोप्चनले यस क्षेत्रका धेरैजसो स्थानमा खानेपानीको चरम समस्या देखिएको बताए । उनले ती ठाउँहरूमा खानेपानीको पाइप ओछ्याउने र ट्यांकी वितरण गर्ने कार्ययोजना बनाएको जानकारी दिए  । ‘यो समस्या धेरै पहिले देखिको हो,’ उनले भने, ‘एक–दुई महिनामा नजिकका मुहानमा पाइप गाडेर भए पनि पानीको प्रबन्ध मिलाउँछौं ।’

प्रकाशित: २३ चैत्र २०७४ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App