१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पहिलोपटक कम्युनिस्ट एकमना सरकार

काठमाडौं – नेपालको राजनीतिक इतिहासमा पहिलोपटक कम्युनिस्ट पार्टीको एकमना सरकार गठन हुन लागेको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणमा हस्ताक्षर भइसकेको छ । अब दुई पार्टी एक भएर बन्न लागेको नेपाल कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्नेछ ।

२०४६ सालको परिवर्तनपछि एमाले र माओवादी केन्द्रका नेताहरुले आठपटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन् । तर कुनै पटक पनि पाँच वर्षसम्म कम्युनिस्ट सरकार बनेको छैन । पहिलोपटक २०५१ सालमा भएको मध्यावधि निर्वाचनपछि एमालेका मनमोहन अधिकारी प्रधानमन्त्री भएका थिए । अधिकारी नेतृत्वको अल्पमतको सरकार नौ महिनामात्र टिक्यो ।

२०६२-०६३ सालको आन्दोलनपछि एमालेका माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री भए । उनीहरू तीनैजना संयुक्त सरकारमा प्रधानमन्त्री बनेका थिए ।  माओवादीबाट पुष्पकमल दाहालले दुई पटक सरकारको नेतृत्व गर्न अवसर पाए भने बाबुराम भट्टराई एकपटक प्रधानमन्त्री बने ।
अहिले पार्टी एकीकरणपछि नेकपाको स्थानीय, प्रदेश र संघीय तीनै तहमा करिब दुईतिहाइ बहुमत हुनेछ । ६ वटा प्रदेशमा सरकारको नेतृत्व कम्युनिस्ट पार्टीले गरेको छ । त्यसैगरी प्रतिनिधिसभाको कुल २ सय ७५ सिटमध्ये एक सय ७४ स्थान कम्युनिस्ट पार्टीको हुनेछ । दुईतिहाई संख्या १ सय ८४ हो ।

राजनीतिक विश्लेषक झलक सुवेदीले २०४८ सालको चुनावमा स्पष्ट बहुमतका साथ कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जस्तै अहिले पार्टी एकीकरणपछि प्रधानमन्त्री ओलीले अवसर प्राप्त गरेको बताए ।‘नेपालको राजनीतिमा यस्तो अवसर दल र नेताहरुलाई कहिलेकहीं आउँछ । त्यो अवसर अहिले एकीकृत पार्टी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आएको छ,’ सुवेदीले भने, ‘कम्युनिस्टले चुनावमार्फत यति ठूलो अवसर संसारमा विरलै पाउँछन् ।’

नेपालका कम्युनिस्ट पार्टीहरुले जनवाद, जनजीविका र राष्ट्रियतालाई प्रमुखतासाथ उठाउँदै आएका छन् । जनवादको अभ्यास चुनावमार्फत गरिरहेका छन् । तर जनजीविका र राष्ट्रियताका विषय अन्योलमै छन् ।
अब सरकारको चुनौती जनअपेक्षा पूरा गर्नु नै हो । ‘स्वतन्त्र मिडियाबाहेक विपक्षीमा कुरा उठाउने सक्ने अवस्थामा अरु छैनन्,’ सुवेदीले भने, ‘अहिलेको प्रमुख चुनौती आन्तरिक व्यवस्थापन नै हो । त्यसलाई कसरी लैजान्छ भन्ने कुरा प्रमुख हो ।’

एमाले र माओवादीबीच सोमबार राति पार्टी एकीकरणका लागि सातबुँदे प्रारम्भिक आधारमा सहमति भएको थियो । योसँगै तेस्रो महाधिवेशनपछि विभाजित भएका नेपालका कम्युनिस्टको सबैभन्दा ठूलो एकीकरण हो ।राजनीति विश्लेषक हरि रोकाले तिक्ततापूर्ण रुपमा गुटमा विभाजित एमाले र पारिवारिक संगठनका रुपमा रहेको माओवादी केन्द्रबीचका एकीकरण चुनौतीपूर्ण रहेको बताए ।

‘एकताका लागि प्रमुख चुनौती भनेको आन्तरिक व्यवस्थापन नै हो । नेताहरुमा व्यक्तिवादी प्रवृत्ति चर्को छ,’ रोकाले भने, ‘चर्को गुटबन्दी रहेको एमाले र पारिवारिक संगठनजस्तो गरी चलेको माओवादी एकीकरण भएपछि कसरी आन्तरिक व्यवस्थापन हुन्छ ? त्यसैले यसको भविष्य निर्धारण गर्छ ।’ एकीकरणमा सहमति भए पनि पार्टी वैचारिक विषय र संगठनात्मक संरचना निर्माणमा सहमति हुन बाँकी छ । त्यसका लागि कार्यदल गठन गरिएको छ ।

प्रकाशित: ९ फाल्गुन २०७४ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App