१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शेरबहादुर देउवाका चुनावी संयोग

 शेरबहादुर देउवाको राजनीतिक जीवनमा चुनावी संयोग छन्। चुनाव गराउन नसकेको आरोपमा उनलाई राजा ज्ञानेद्र शाहले उनलाई बर्खास्त गरे। चुनाव गराउन नसक्ने असक्षम प्रधानमन्त्रीको विल्ला भिराउँदै प्रधानमन्त्रीको कुर्सी च्युत गरिएका उनै देउवाले गणतन्त्रमा आइपुग्दा पुन: प्रधानमन्त्रीको कुर्सीमा पुग्ने अवसर पाए। यो सँगै देउवा ४ पटक प्रधानमन्त्री बने। पछिल्लो अवसरमा उनी स्थानीय तह दोस्रो चरणको निर्वाचन, प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रिय सभाको निर्वाचन गराउन सफल भए। यो चुनावमा पनि देउवा आरोप मुक्त हुन भने सकेनन्। त्यो आरोप थियो 'पार्टीलाई जिताउन नसक्ने सभापति' । यो उनको आन्तरिक पार्टी मामिला थियो। समग्रमा देउवाले निर्वाचन गराएर देशलाई नयाँ कोर्समा अघि बढाए। यो नै उनको सफलता हो। २०५२ मा पहिलो पटक देउवा प्रधानमन्त्री बन्दा तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गर्‍यो। २०५८ मा देउवा दोस्रो पटक प्रधानमन्त्री बन्दा उनले माओवादीलाई शान्ति वार्तामा ल्याए भने वार्ता असफल भएपछि माओवादी नेताहरुको टाउकाको मुल्य तोक्दै संकटकाल समेत लगाए। राजाले असक्षम घोषणा गर्दै २०६१ मा पुन उनलाई प्रधानमन्त्री बनाए। त्यस पछि उनी एकै पटक माओवादीको सहयोगमा २०७४ मा प्रधानमन्त्री बने।  

२०५९ जेठ ८ गते देउवाले राजा ज्ञानेन्द्रलाई प्रतिनिधि सभा विघटन गर्दै नयाँ निर्वाचनमा जान सिफारिस गरेका थिए। देउवको सिफारिस अनुसार ज्ञानेन्द्र शाहले मध्यरातमा प्रतिनिधि सभा विघटन गरे। माओवादी जनयुद्ध उत्कर्षमा रहेको बेला देउवाले चुनाव गराउने दुस्साहस गर्दै प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिस अन्नत: उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो कमजोरी रह्यो। न त्यतिबेला उनले चुनाव गराउन सके न कुनै जस नै प्राप्त गरे। मात्र असक्षम प्रधानमन्त्रीको विल्ला भिर्दै बालुवाटारबाट विदा भए। देउवाको यो कमजोरीको फाइदा उठाउँदै ज्ञानेन्द्र शाहले असोज १८ गते शाही घोषणा गर्दै पदमुक्त गरे। देउवाले आफैले तोकेको निर्वाचनको मिति १ वर्ष पछि सार्ने निर्णय समेत गरेका थिए। शाही घोषणा गर्दै राजा ज्ञानेन्द्रले कार्यकारी अधिकार आफ्नो हातमा लिए भने कार्तिक २७ को निर्वाचनलाई समेत स्थगित गरे।

उनै देउवाले त्यो घटनाको झण्डै डेढ दशक पछि प्रधानमन्त्रीको कुर्सी सम्हाल्दै संघीय गणतन्त्र नेपालका तीन निर्वाचन गराए। तर उनले दुवै चुनावमा जस पाउन सकेनन्। राजतन्त्रको समयमा उनले घोषणा गरेको चुनावका कारण पार्टी विभाजन भयो । गणतन्त्रमा उनले गराएको चुनामा आफ्नो पार्टीलाई विजयी गराउन सकेनन्। देउवा पछि शासन हातमा लिएका ज्ञानेन्द्र शाहले घोषणा गरेको शाही चुनाव पनि सफल हुन सकेन्। तर देउवाले संघीय गणतन्त्रका महत्वपूर्ण चुनावमा आफुलाई सफल बनाए।

निर्वाचनमा वाम गठवन्धले वहुत प्राप्त गर्दा समेत राजीनामा दिन उनले ढिलाइ गरे। चुनावमा वहुमत प्राप्त गर्न नसक्दा पनि प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको भन्दै उनी आलोचनाका पात्र बने। उनले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेका छन्। उनको पार्टी नेपाली कांग्रेस प्रतिपक्षामा छ। संधै जसो सत्ताको वरिपरी रहेको कांग्रेसले प्रतिपक्षको भूमिका कस्तो खेल्छ समयले देखाउने छ।  

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App