१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

अल्झै अल्झोमा जेलिएको उल्झन

तीन थान चर्चित र प्रशंसित कवितासंग्रह प्रकाशमा ल्याइसकेका बहुप्रतिभाशाली सर्जक हेमप्रभास आफ्नो पहिलो उपन्यास ‘उल्झन’ लिएर आख्यानका पारखी पाठकसमक्ष उपस्थित भएका छन् । आफ्ना काव्यकृतिमा अनेक प्रकारका प्रतीकात्मक र मिथकीय विम्बसँग खेल्न अभ्यस्त कविको गद्यकृति भएकाले हुनुपर्छ, उल्झनमा कविताका झिल्काझिल्की पानैपिच्छेजस्तो भेट्न सकिन्छ । हो न हो, हेमप्रभास कथानकसहितको कुनै लामो गद्य कविता लेख्ने प्रयत्न गरिरहेका छन् । उनको यो प्रयत्नले उपन्यासलाई बढी पठनीय, रोचक र विचारोत्तेजक बनाउन भने खासै मद्दत पु¥याएको छ भन्न सकिँदैन । यस समीक्षकलाई लागेको छ– उल्झनमा परेका कवितात्मक गद्यका ती कतिपय पंक्तिले उपन्यासको पठनीयता र आकर्षणमा विशेष रूपले बढोत्तरी गर्दैनन् । बरु त्यसविपरीत कतिपय ठाउँमा ती असान्दर्भिक र अमिल्दा पनि लाग्छन् ।
आख्यानको कुनै पनि कृति यस्तो ढाँचामा लेखियो भने राम्रो हुन्छ, अथवा एउटा आख्यानलाई यी यी तŒवले उत्कृष्ट बनाउँछन् भन्ने निश्चित सूत्रको आविष्कार भएको त अहिलेसम्म थाहा छैन, तर पाठकको उत्सुकतालाई निरन्तर जगाइराख्न सक्ने कथाको प्रवाह, पात्र–पात्राको निर्माण र विकासमा विश्वसनीयता एवं पृष्ठभूमिमा चित्रण गरिएको समाजको प्रामाणिकता आदि आधारभूत विषयको निर्वाह चाहिँ एउटा सफल आख्यान लेखकबाट भएकै हुनुपर्छ । यी कुराको अतिरिक्त, उपन्यासकारले आफूले प्रस्तुत गरेको कथावस्तुसँग पाठकले निकटको सम्बन्ध अनुभूत गरोस्, पाठकलाई उपन्यासमा आएका पात्र यथार्थ र आफूबीचकै मानिसजस्ता लागून् तथा उपन्यासमा वर्णित घटना सहज र स्वाभाविक जस्ता देखिऊन् भन्नेमा समेत विशेष ध्यान दिनु आवश्यक हुन्छ जहिले पनि । माथिका यी दुइटै बुँदामा उल्लेख गरिएका कुराको कुशल संयोजन भएको छ भने मात्र एउटा आख्यानलाई राम्रो बनेको मान्न सजिलो हुन्छ । यद्यपि यो यी पंक्तिको लेखकले आफ्नो सुविधाका लागि बनाएको एउटा पाठकीय दृष्टिकोण मात्र हो, साहित्यका मर्मज्ञ पण्डितबाट व्यापक अध्ययन र विवेचनापछि निकालिएको साहित्यिक निष्कर्ष भने होइन ।
आफ्नो पहिलो औपन्यासिक कृतिमा कवि हेमप्रभासले कथा वाचनको शैलीका दृष्टिले केही नूतन प्रयोग अवश्य पनि गरेका छन् । पहिलो कुरा त उनले एकरेखीय सरल कथावस्तु प्रस्तुत नगरेर केही जटिलजस्तो देखिने, मूल कथानकभित्र अनेक उपकथा जोड्दै आख्यानलाई अघि बढाउने शैली अपनाएका छन्, जसले उनलाई पारम्परिक भन्दा पृथक प्रयोगशील कथासर्जक बनाएको छ । त्यति मात्र होइन, उनले उल्झनमा एकभन्दा बढी समाख्याता (न्यारेटर) लाई उभ्याएका छन्, जसलाई पनि लेखकले आफ्नो पहिलो आख्यानमा गर्न खोजेको एउटा प्रयोगका रूपमा हेर्न सकिन्छ । उपन्यासकारले आफ्नो आख्यानका प्रमुख पात्रलाई एक ठाउँमा ल्याउने सम्बन्ध सूत्रका रूपमा नीलगिरि नामक एउटा गाउँको सिर्जना गरेका छन्, पृष्ठभूमिका रूपमा । नीलगिरि गाउँको चित्रण गर्दा लेखकको दिल र दिमागमा धादिङ जिल्लाको आफू जन्मे–हुर्केको गाउँको पाश्र्वचित्र बारम्बार आइरहेको हुनुपर्छ । लेखकको सालनाल गाडिएको र नशा–नशामा गहिरो प्रभावको तरंग प्रवाहित गराइरहने आफ्नै जमिनमा आधारित भएकाले नै हुनुपर्छ, उपन्यासमा ग्रामीण परिवेशको चित्रण नितान्त स्वाभाविक र विश्वसनीय किसिमले भएको छ ।
धादिङ माओवादी जनयुद्धको त्रासद आतंकबाट नराम्रोसँग प्रभावित जिल्लामध्ये एउटा हो । त्यसैले त्यस जिल्लामा हुर्की बढेको कुनै सर्जकले जिल्लाको ग्राम्याञ्चललाई पृष्ठभूमिमा राखेर उपन्यासको रचना गर्दा त्यसमा समसामयिक नेपालको इतिहासको त्यो अन्धकारमय कालखण्डको प्रतिछाया नपर्ने कुरो भएन । उल्झनका रचयिता हेमप्रभासले पनि स्वाभाविक रूपले नै उल्झनको कथावस्तुलाई जनयुद्ध र त्यसको प्रभावसँग जोड्ने प्रयत्न गरेका छन् । उल्झनमा जनयुद्धका अनेक सन्दर्भ छन्, प्रत्यक्ष भीडन्तका प्रसंगदेखि लिएर जनयुद्धमा सामेल भएका र त्यसबाट पीडित पात्र पनि छन् । जनयुद्धको दुष्परिणामका रूपमा अंकित हत्या, हिंसा, बलात्कार र विस्थापन आदिलाई पनि समेटेका छन्, लेखकले आफ्नो यस आख्यानमा ।
यस्तो हुँदाहुँदै पनि उल्झनको मूल कथ्य भने जनयुद्ध होइन । उपन्यासका प्रमुख पात्रको मूल प्रवृत्ति पनि जनयुद्धमुखी वा क्रान्तिकारिता होइन । उल्झनको मूल ध्वनि भनौँ अथवा थिम भनौँ, त्यो त मानवीय संवेगहरूमध्ये सबैभन्दा कमजोर र घातक संवेग हताशा हो । यस आख्यानका करिब–करिब सबै पात्र गहन निराशाको खाडलमा जाकिएका छन्, अवसाद ग्रस्त छन् र गहिरो अवसादमा परेकाको स्वाभाविक प्रवृत्तिका रूपमा आत्महत्यातिर उन्मुख छन् । गाढा मटमैलो रङको क्यानभासमा कोरिएको अस्पष्ट र अधुरो चित्रजस्तो लाग्ने यो आख्यानमा अवसादग्रस्त मानिसबीचको सम्बन्धका अनेकखाले अल्झाहरू छन् । उपन्यासमा स्वास्नीमान्छे र लोग्नेमान्छेका बीच विकसित हुने आत्मिक र दैहिक प्रेमका जटिल पक्षको दारुण चित्र पनि कोरिएको छ । साथै, उपन्यासकारले मानवीय कमजोरीको विशद पडताल गर्दै त्यसको आलोकमा मानिसलाई नियतिको कठपुतलीका रूपमा देखाउन खोजेका छन् । आत्महत्या गर्न उत्प्रेरित उपन्यासको प्रमुख पात्र चित्रलाई नौपटकसम्म प्रयास गर्दा पनि मर्न नसकेको वा नपाएको देखाएका छन्, लेखकले अन्त्यमा आएर । यसलाई लेखकद्वारा मान्छेको जीवनको महŒवलाई स्थापित गर्ने प्रयासको रूपमा लिन सकिन्छ ।
उपन्यासमा संयोगहरू बग्रेल्ती छन् र तिनले कथावस्तुलाई सहज र विश्वासलाग्दो ढंगमा अगाडि बढाउने लेखकको क्षमतामाथि प्रश्न उठाउन ठाउँ बनाइदिन्छन् । यो आख्यान अति नाटकीयताको पुलिन्दाजस्तो बनेको छ । उपन्यासका सबै पात्र एकै ठाउँका हुनु र घुमिफिरी तिनीहरूकै बीचमा मात्र संयोग वा वियोग हुनु, हराएका भनिएकाहरू भेटिनु, फेरि हराउनु वा मर्नुजस्ता नाटकीय स्थितिसँग पाठकलाई घरीघरी मुखातिव बनाउनुलाई राम्रो आख्यानकारिता मान्न सकिँदैन । चित्र, हरेराम, नुनिया, रेखाजस्ता पात्रको विकास पनि विश्वासलाग्दो किसिमले हुन सकेको छैन । चित्रले नौपटकसम्म आत्महत्याको प्रयास आफ्ना कारणले होइन, अर्काको कारणले गर्छ, जसलाई सामान्यतः विश्वास गर्न सजिलो छैन । उपन्यासका सबैजसो पात्र युवा छन्, जुन एउटा सकारात्मक विषय हो । तर ती युवा पात्रमध्ये उत्तम भन्ने एउटा पात्रलाई छाडेर सबै नै कुनै न कुनै प्रकारको कुण्ठा पालेर बसेका छन्, हतास छन् र जीवनको ऊर्जा रित्तिएका जस्ता लाग्छन् । उल्झनका बहुधा पात्र समाजका यथार्थबाट आएका होइनन्, लेखकको मनोलोकबाट निर्मितजस्ता लाग्छन् ।
उल्झन अल्झै अल्झोमा जेलिएको औपन्यासिक कृति हो, जसको न मूल कथ्य प्रस्ट छ, न त दार्शनिक पक्ष नै सुस्पष्ट ढंगले उभारमा आउन सकेको छ । लेखक हेमप्रभासले कथावस्तुको बनावटमा ध्यान पु¥याउन सकेको भए, थिमलाई प्रस्ट्याउन सकेको भए, अति नाटकीयताबाट बच्दै घटनाक्रमलाई सहज किसिमले अगाडि बढाउन सकेको भए र पात्र–पात्राको चरित्र चित्रणमा स्वाभाविकताको पुट दिन सकेको भए यो कृति नेपाली आख्यानको क्षेत्रको उपलब्धि बनेको देख्न पाइन्थ्यो । त्यसो हुन सकेको छैन, तथापि नयाँ आख्यान लेखकका रूपमा हेमप्रभासले पाठकका मनमा निश्चित रूपमा अपेक्षा जगाएका छन् । अर्को कृतिमा उनले त्यो अपेक्षा पूरा गर्ने छन् भन्ने यस समीक्षकको विश्वास छ ।

प्रकाशित: ७ आश्विन २०७४ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App