१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिष्पर्धीसगैं मित्रता गास्दै नगर प्रमुख

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख  कृष्णहरि थापा नेकपा माओवादी केन्द्रका उम्मेदवार महेश्वर फुयाँली आमाबाट  आर्शिवाद लिदै । उनले फुयाँलको घरमै पुगेर आमालाई भेटेका हुन् ।  तस्बिर : थापाको फेसबुक

नेकपा एमालेको तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा विजयी कृष्णहरि थापा गतसाता प्रतिष्पर्धी नेपाली कांग्रेस उम्मेदवार उपेन्द्र कार्कीको घरमै पुगेर नगर विकासका लागि सहयोगको आग्रह गरे ।
  
विजयोत्सव मनाउने क्रममा आफ्नो घर आइपुगेका थापालाई कार्की परिवारले चियापान गराउदै खादा ओढाएर बधाई दियो । प्रतिष्पर्धी कार्कीले नगर विकासमा हातेमाले गर्ने आश्वासन समेत दिए । 

चुनावमा एउटै पदका लागि लडेका दुईजनाबीचको संवाद र सहकार्यको प्रतिबद्धताले कतिपयलाई अचम्ममा पा¥यो । थापा र कार्कीबीचको  सौहार्दपूर्ण सम्बन्धको तस्बिर जब सामाजिक सञ्जालमा सार्वजनिक भयो, धेरैले उनीहरुको आत्मियतालाई प्रशंसा गरे ।
 
विजयी थापा कार्कीको घरमा गएको भोलिपल्ट अर्का प्रतिष्पर्धी माओवादी केन्द्रका उम्मेदवार महेश्वर फुयाँलको घरमा पुगे । फुयाँलकी आमासँग उनले सफल कार्याकालको आशिर्वाद मागे । फुयाँलकी आमाले उनलाई आशिर्वाद संगै मिलेर गाउँघरको विकाश गर्न अनुरोध गरिन । उनका छिमेकी मतदाता पनि दुई प्रतिष्पर्धीबीचको मित्रताले दंग परे । 

प्रतिष्पर्धीको घरमा पुगेर नगर विकाशको लागि मित्रदा गास्दै हिडेको देखेपछि अन्य पार्टीको कार्यकर्ताले समेत थापालाई चोक–चोकमा स्वागत गरिरहेका छन् । प्रतिष्पर्धीबिच हुने खिचातानी, दुस्मनी र कतिपय अवस्थाका झडपको साटो कागेश्वरीमा देखिएको सौहार्द सम्बन्धले धेरै मतदातालाई प्रफुल्लित बनाएको छ । 
प्रतिष्पर्धीबीचको यो मित्रताले राजनीतिमा जित्नेले दम्भ र हार्नेले हिनताबोध गर्छन् भन्ने  सोचलाई चुनौती दिएको छ । राजनीति गर्नेहरु सधैं झगडा मात्र गर्छन् भन्ने सन्देशलाई सुधार्न र सबैले लोकतान्त्रिक संस्कारलाई अगाल्न प्रेरित गरेको छ । यसले नेपाली लोकतन्त्रको परिपक्कता समेत झल्काउन थालेको छ । 

‘जित–हार एउटा कुरा हो, चुनाव अगाडिसम्म म एमालेको उम्मेदवार थिए तर अब सबैको प्रमुख भएको छु,’ थापा भन्छन्, ‘लोकतान्त्रिक प्रणाली मानेपछि प्रतिष्पर्धीलाई प्रतिपक्षी मानेर हुदैन ।’

थापा मात्र होइन शंखरापुर नगरपालिकका प्रमुख सुवर्ण श्रेष्ठले पनि प्रतिपक्षीलाई भेटिसकेका छन् । श्रेष्ठले उनीहरुलाई नगरको विकासका लागि सहयोग गर्न आग्रह गरिसकेको बताए । सबैसँग सौहार्दपूर्ण कुराकानी भएकाले नगर विकासमा कुनै राजनीतिक विवाद नहुने श्रेष्ठ बताउँछन् । 

‘नगरको विकास गर्न सके सबैको जित हुन्छ,’ उनले भने, ‘सबैको सहयोगमा हामी नगरको विकासमा जुट्ने छौ ।’ 

काठमाडांै महानगरपालिकामा सम्मानजनक मत हासिल गरेर चर्चामा आएकी विकेकशील पार्टीकी प्रमुख उम्मेदवार रन्जु दर्शनाले त विजेता विद्यासुन्दर शाक्यलाई मतगणतास्थलमै पुगेर बधाई दिइन् । विहिबार भएको महानगर प्रमुख सहित जनप्रतिनिधिको सपथग्रहण र पदभार ग्रहण कार्यक्रम समेत सहभागी भएर उनले परिपक्क राजनीतिको उदाहरण प्रस्तुत गरिन् । चुनावमा हारेपनि आफू सधैं महानगरको विकासका लागि काम गर्ने रञ्जुले प्रतिबद्धता जनाएकी छिन् । उनको उपस्थितीलाई विद्यासुन्दरसहितका जनप्रतिनिधिले सकारात्मकरुपमा लिएका छन् । 

यसपटकको स्थानीय तह निर्वाचनका बेला र त्यसपछि देखिएका घटनालाई राजनीतिक विश्लेषक पुनरञ्जन आचार्य संस्कारयुक्त राजनीतिको सुरुवात मान्छन् । उनी पछिल्लो समय स्थानीय स्तरमा राजनीतिक सहिष्णुता बढेको  बताउँछन् । ‘एकाध घटना बाहेक स्थानीयस्तरमा लोकतान्त्रीक संस्कार बढ्दो छ,’ उनले भने, ‘समग्र नेपालमा यस्तै संस्कारको खाँचो छ ।’ 

 

प्रकाशित: १९ जेष्ठ २०७४ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App