१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हाकुपटासीमा स्विडेनी ‘मैचा’

भक्तपुर-आधुनिक पहिरनको प्रभाव बढेसँगै भक्तपुरमा परम्परागत हाकुपटासी (कालो फरिया) मा सजिएका नेवारी महिला हत्तपत्त देख्न पाइँदैन। अधिकांश नेवार समुदायका युवती पनि जिन्स टिसर्टमा रमाउन थालेपछि परम्परागत पहिरन  जात्रा पर्वमा सीमित हुँदैछ। यस्तै बेला मंगलबार हाकुपटासीमा चिटिक्क परेर भक्तपुरका गल्ली घुम्दै गरेकी एक जना ‘गोरी मैचा’ स्थानीय र पर्यटक धेरैको आकर्षणको केन्द्रविन्दु बनिन्।

रातो घेरा भएको कालो पहिरनमा रातै घेरायुक्त सेतो सल गलामा बेरेकी युरोपेली राष्ट्र स्विडनबाट आएकी भूगर्भ विज्ञानकी विद्यार्थी करिन स्कुग्ली  भक्तपुर दरबार स्क्वायरस्थित भूपतिन्द्र मल्लको सालिकमुनि उभिँदा मल्लकालीन कुनै राजकुमारीजस्ती लाग्थिन् । हँसिलो मुहारमा कालो चस्मा लगाएकी सुनकेस्री करीनले स्थानीय युवामात्र नभएर वृद्धवृद्धासम्मको आकर्षण बनेकी थिइन् ।

दुई साताअघि मात्र नेपाल घुम्न आएकी करिनले राजधानीको इन्द्रचोकस्थित एउटा पसलमा आफूले पहिरेको पोसाक किनेको सुनाइन् । राजधानी, पोखरा र बन्दीपुर घुमेकी उनलाई हाकुपटासी नै सबैभन्दा धेरै मन परेको बताइन् । ‘मलाई यो पोसाक देख्नासाथ मन प¥यो,’ उनले भनिन्, ‘यहि पोसाक लगाएर भक्तपुर घुम्न आएँ ।’ पहिलोपल्ट लगाएको हाकुपटासी अलिक असजिलो लागे पनि धेरैले चासो दिएर हेरेपछि भने आफूलाई औधी रमाइलो लागेको उनले फुर्किँदै भनिन् । ‘मेरोजस्तै पोसाक पहिरेका महिलाले समेत चासो दिएर हेरे,’ उनले भनिन्, ‘यो पहिरनमा भक्तपुर घुम्न पाउँदा निक्कै खुसी लाग्यो ।’

हाकुपटासीमा सजिएकी विदेशी युवती देखेपछि दरबार क्षेत्रमा साग बेच्दै गरेकी ब्याँसीकी चैतमाया पनि दंग परिन् । उनलाई अँगालेर तस्बिर खिच्दै गरेकी करिनलाई हेरेपछि आमाछोरी भन्दै अरुले जिस्काउँदा चैतमाया लजाइन् । ‘ऊ हाकुपटासीमा औधी सुहाएकी छे,’ उनले भनिन्, ‘मैले त सुरुमा भक्तपुरे नानी ठानेको थिए।’

हाकुपटासीमा सजिएकी करिनलाई देखेर धेरैले उनीसँग सेल्फी समेत खिचे।  उनलाई देखेर भक्तपुर घुम्न आएका अरु विदेशी पनि रमाए । करिनले आफूलाई मन परेको प्यारो पहिरन घर लैजाने बताइन्। ‘मेरो नेपाल यात्राको प्रतीक यो सुन्दर पहिरन बनेको छ,’ उनले भनिन्, ‘यो उता लगेर देखाउने छु।’

हाकुपटासी काठमाडौं उपत्यकाका नेवार समुदायका महिलाले लगाउने कालो सारी हो। नेपाल भाषामा हाकुको अर्थ कालो र पटासीको अर्थ सारी हुन्छ।

प्रकाशित: २२ मंसिर २०७३ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App