४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत–चीन सीमामा झडप : कर्नेलसहित २० भारतीय सैनिक मारिए

भारत र चीनबीच सीमाक्षेत्रमा विवाद बढ्दै गइरहेका बेला सोमबार राति लद्दाखको गलवान उपत्यकामा सैन्य झडप हुँदा एक उच्च अधिकारीसहित २० भारतीय सैनिकले ज्यान गुमाएको सञ्चार माध्यमले जनाएका छन्।  

भारतीय सेनाले मंगलबार दिउँसो एक कर्नेल र दुई जवानले ज्यान गुमाएको जनाएको थियो। तर भारतीय सञ्चार माध्यम इन्डिया टुडे र टाइम्स अफ इन्डियाले स्रोतलाई उल्लेख गर्दै एक कर्नेलसहित २० भारतीय सैनिकको मृत्यु भएको जनाएका छन्। मृत्यु हुने कर्नेल तेलंगना राज्यको सर्यापेट जिल्ला निवासी थिए। ती कर्नेल १६–बिहार रेजिमेन्टका सन्तोष बाबु भएको सञ्चार माध्यमले जनाएका छन्।  

भारतीय सञ्चार माध्यमले  झडपमा चिनियाँ पक्षले पनि क्षति बेहोरेको जनाएका छन्। झडपमा ४३ जना चिनियाँ सैनिकलाई असर पुगेको, त्यसमध्ये कतिपयको मृत्यु र कतिपय गम्भीर घाइते भएको पनि ती सञ्चार माध्यमले जनाएका छन्। झडपपछि सीमारेखा क्षेत्रमा चिनियाँ हेलिकोप्टरको गतिविधि बढेको स्रोतलाई उल्लेख गर्दै सञ्चार माध्यमले जनाएका छन्।  

झडपपछि दुई देशका वरिष्ठ अधिकारीबीच विवाद समाधान गर्नेतर्फ छलफल भइरहेको छ।  

चीनले भारतीय सेनाले सीमारेखा उल्लंघन गर्दै आक्रमणमा उत्रिएकाले विवाद बढेको दाबी गरेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले दुई मुलुकबीचको सीमा विवादलाई वार्ताको माध्यमबाट समाधान गर्ने बताएको चिनियाँ सरकारी सञ्चार ग्लोबल टाइम्सले जनाएको छ। दुई मुलुकबीच सन् १९७५ पछि पहिलोपटक ज्यान जानेगरी सीमा क्षेत्रमा यस किसिमको संघर्ष भएको हो।  

भारत र चीनबीच पछिल्ला केही सातायता सीमाक्षेत्रमा विवाद बढिरहेको छ। विवाद बढ्दै गएपछि वास्तविक नियन्त्रण रेखा (एलओसी) मा दुवै मुुलुकले सैनिक संख्या बढाएका छन्। चीनले गलवान क्षेत्रमा भारतले सैन्य संरचना निर्माण गरेको आरोप लगाएको छ। भारतले पनि चिनियाँ सेनाले पछिल्लो समय त्यस क्षेत्रमा आफ्ना गतिविधि बढाएको दोषारोपण गरेको छ। उक्त क्षेत्र सामरिक रुपमा महत्वपूर्ण मानिन्छ। गत महिना पनि दुई मुलुकका सैनिकबीच दक्षिण सिक्किमको नाकला सीमाक्षेत्रमा झडप भएको थियो।  

चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता झाङ सुइलीले भारतीय सेनाले सहमति उल्लंघन गर्दै वास्तविक सीमारेखा पार गरेको मंगलबार बताएका छन्। उनले भारतीय सैनिक उत्तेजना फैलाउने गरी आक्रमणमा उत्रिएपछि झडप हुन पुगेको बताएका छन्। उनले भारतीय सैनिकले दुई देशका वरिष्ठ अधिकारीबीच भएको सहमति पनि तोडेको आरोप लगाउँदै भारत सरकारलाई सबै किसिमका उत्तेजनात्मक गतिविधि बन्द गरेर विवाद समाधानका लागि छलफलमा बस्न आग्रह गरेका छन्।  

झडपपछि भारतीय राजनीतिक वातावरण तातेको छ। प्रमुख विपक्षि भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै अब मौनता स्वीकार्य नहुने जनाएको छ। उसले यस विषयमा प्रधानमन्त्रीले बोल्नुपर्ने बताएको छ। कांग्रेसले चिनियाँ सैनिकहरु पछि हटेका थिए भने कसरी भारतीय सैनिक मारिए भन्दै प्रश्नसमेत गरेको छ।  

झडप भएपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले चिफ अफ डिफेन्स स्टाफ विपीन रावत, तीनै सेना प्रमुख र विदेशमन्त्री एस. जय शंकरसहित उच्चस्तरीय बैठक गरेका छन्। प्रधानमन्त्री मोदीले पनि रक्षामन्त्रीसहित विभिन्न राज्यका मुख्यमन्त्रीसँग भिडियो बैठक गरेका छन्।

भारतीय विदेश मन्त्रालयले विवादित सीमाक्षेत्रमा चीनले एकतर्फी गतिविधि गरेको आरोप लगाउँदै  त्यसको  परिणाम दुई देशका सैनिकबीच झडप भएको जनाएको छ। मन्त्रालयले झडपमा दुवै पक्षको क्षति भएको र भारत–चीनबीच केही समयअघि भएको उच्चस्तरीय सम्झौता उल्लंघन भएको जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा विवाद व्यवस्थापनमा भारतले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको र चीनबाट पनि त्यस्तै अपेक्षा गरिरहेको बताएका छन्।    

 

प्रकाशित: ३ असार २०७७ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App