१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काश्मिरमा थप हिंसा बढ्यो, बिहीबार तीनको मृत्यु

श्रीनगर – भारत प्रशासित काश्मिरमा बिहीबार बिहानै सुरक्षा फौजसँग हतियारधारी समूहको भीषण भिडन्त भएको छ । 

सो भिडन्तमा परी कम्तीमा पनि तीन जना हतियारधारीको ज्यान गएको छ । अरु कैयौँ घाइते भएका र दर्जनौँ सशस्त्र व्यक्ति भागेको जनाइएको छ। 

भारत प्रशासित काश्मिरबाट पछिल्ला केही दिनयता प्राप्त समाचारहरुमा तनाव बढेको बताइएको छ । यस क्रममा केही दिनयतादेखि हतियारधारी समूहका व्यक्ति र भारतीय सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहानका घटना बढेका छन् । 

भारत प्रशासित काश्मिरको पुल्वामा जिल्लाको काकापोला गाउँमा बिहीबार बिहानीपख गस्तीमा खटिएका सरकारी सुरक्षाकर्मीहरुसँग व्यापक भिडन्त भएको भारतीय प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अुनसार सो भिडन्तका कारण घाइते भएका केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल भर्ना गरेको छ । बिहीबार बिहानी पख भएको सो भिडन्तमा परी तीनजना हतियारधारी मारिएका छन् र अरु कैयौँ भागेका छन्– भारतीय प्रहरीले जनाएको छ । 

मारिनेमा हतियारधारीहरु लस्कर ए तोएबा नामक सशस्त्र सङ्गठनमा आबद्ध रहेका बताइएको छ । यसअघि पनि गतहप्तामात्र सोही क्षेत्रमा भएको यस्तै भिडन्तमा परी उक्त संगठनका एकजना कमाण्डरको ज्यान गएको भारतीय प्रहरीले जनाएको थियो । 

श्रीनगरबाट करिब ५० किलोमीटर दक्षिणमा पर्ने सो गाउँमा भारतीय सेना र प्रहरीको संयुक्त टोली गस्तीमा रहेको समयमा सशस्त्र समूहले प्रहरीमाथि नै गोली चलाएको थियो । त्यसमा परी ती हतियारधारी मारिएका हुन्। 

काश्मिरमा गत आइतबार मात्र पनि बन्दुकधारी र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो । त्यस क्षेत्रमा केही दिनयतादेखि हिंसा भड्किएको छ । 

प्रकाशित: ८ असार २०७४ ०९:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App