१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पविरुद्ध मुद्दाः सरकारी दस्तावेजहरू जथाभावी राखेको अभियोग

सरकारी गोप्य दस्तावेजहरू गलत तरिकाले राखेको अभियोगमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध औपचारिक रूपमा अभियोगपत्र दायर भएको छ। ह्वाइट हाउस छाडेपछि आफ्नो प्लोरिडा स्टेटमा रहेको घरमा सरकारी दस्तावेजहरूको जथाभावी व्यवस्थापन गरेको आरोप ट्रम्पमाथि लागेको छ। अमेरिकाको संघीय सरकारले ट्रम्पमाथि यस्तो अभियोग लगाएको हो। संघीय सरकारले नै पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग दायर गरेको यो पहिलोपटक भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। अधिकारीहरूले अभियोग लगाउनुअघि फ्लोरिडास्थित ट्रम्पको घरमा राखिएका हजारौं सरकारी दस्तावेजको परीक्षण गरेका थिए।

ट्रम्पमाथि कानुनी कारबाही सख्त हुने र उनलाई जेल सजायसमेत हुन सक्ने अमेरिकी समाचार संस्था एपीले जनाएको छ। राजनीतिक हिसाबले पनि ट्रम्प पुनः राष्ट्रपतिको उम्मेदवार हुने सम्भावनालाई यसले रोक्न सक्ने बताइएको छ। अभियोग लगाइएपछि प्रतिक्रिया दिँदै ट्रम्पले आफू निर्दोष रहेको दाबी सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेका छन्। ट्रम्पले भनेका छन्, ‘मैले कहिले पनि सोचेको थिइनँ कि संयुक्त राज्य अमेरिकाको पूर्वराष्ट्रपतिमाथि यस्तो कुरा गर्न सम्भव हुनेछ। यो वास्तवमै संयुक्त राज्य अमेरिकाका लागि कालो दिन हो। हामी गम्भीर र द्रुत ढंगले तल झरिरहेको छौं। तर हामी सबै मिलेर अमेरिकालाई महान् बनाउनेछौं।’ उनले आफूलाई मंगलबार मायामीस्थित एउटा अदालतमा डाकिएको जनाएका छन्।  

ट्रम्पमाथि न्यायमा बाधा पुर्याएको,  षड्यन्त्र गरेको र गलत वक्तव्य दिएकोलगायत सातवटा अभियोग लगाइएको छ। जसमध्ये सरकारी स्वीकृतिबिना गोप्य दस्तावेजहरू आफूसँगै राखेको अभियोग गम्भीर रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: २७ जेष्ठ २०८० ००:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App