८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

टीकापुरमा रगत अभाव, बिरामी समस्यामा

टीकापुरस्थित रक्त सञ्चार केन्द्र भवन।

कैलालीको टीकापुर नगरपालिका–१ का पृथ्वीराज ढुंगाना स्वयम्सेवी रक्तदाता हुन्। उनले अहिलेसम्म २७औं पटक रगतदान गरेका छन्। नियमित रक्तदाता ढुंगानाले भने शुक्रबारको दिनरगत खोज्नमै बिताए। उनका ७५ वर्षका बुवा चन्द्रप्रसाद ढुंगानालाई २ पिन्ट रगत आवश्यक पर्‍यो।

स्वास्थ्यकर्मीका अनुसार दुई पिन्ट रगत चढाउनु पर्ने बुवाका लागि रगत खोज्न ढुंगानालाई हम्मेहम्मे पर्‍यो। ‘रगत दिन कोही मान्दैनन्। बिरामीको संख्या बढेसँगै रगत माग भैरहेको छ’ उनले भने ‘आफूलाई पर्दा माग्ने मात्रै हैन अरुलाई पर्दा दिने पनि गरौं।’

जानकी गाउँपालिका–७ का रुपबहादुर कठरिया तीन दिनदेखि रेडक्रसमा धाइरहेका छन्। रक्तअल्पताका कारण ५ पिन्ट रगत चढाउनु पर्ने उनी एक सातादेखि ओ पोजेटिभ रगत खोजिरहेका छन्। ‘रेडक्रसमा रगत छैन भन्छन्’ उनले भने ‘रगत नपाएर निकै तनावमा छुँ।’

टीकापुर अस्पतालमा बिरामीको संख्या दिनहुँ बढ्दो छ। यहाँ नियमित अप्रेसन समेत हुने गरेको छ। दैनिक ६ शय बढी बिरामी आउने अस्पतालमा रगतको माग पनि बढेको छ। टीकापुर अस्पतालमा सिकलसेल एनिमियाका बिरामी समेत रगतका लागि दिनहुँ जसो आउने गरेका छन्। नियमित रुपमा रगत चढाउनु पर्ने त्यस्ता बिरामीका कारण समेत रगतको अभाव बढेको छ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरका रक्त सञ्चार संयोजक सञ्जयराज भण्डारीका अनुसार रगत माग गर्नेको संख्या एक्कासी बढेको छ। उनले साउनदेखि असोजसम्म ५ शय ५६ पिन्ट रगत खपत भएकोमा ५ शय ३१ पिन्ट रगत संकलन भएको जानकारी दिएका छन्। ‘अहिले भइरहेको मागका आधारमा अझै ३० प्रतिशत कम देखिन्छ’ उनले भने ‘दैनिक जसो ६/७ पिन्ट रगतको माग छ भने दिने मान्छे मुश्किलले २/३ जना मात्रै हुन्छन्।’

भण्डारीले रगत संकलनका लागि जनचेतनाको कमी रहेको बताए। ‘रक्तदाता संघ संस्थाहरुले समेत अचेल रक्तदान कार्यक्रम गरेका छैनन्’ उनले भने ‘हामीमा पनि जनचेतना छैन, रगत लिन्छौं तर दिनुपर्ने भए दिँदैनौं।’ भण्डारीले रक्तदाता संघसंस्थाहरुलाई रक्तदानका लागि अनुरोध गरेका छन्। रक्तदान गर्ने बारेमा जनचेतनाको अभाव देखिन्छ।

रेडक्रस लगायतका संघसंस्थाहरुले रगतदान गर्ने बारे जनचेतना जगाउने खालका कार्यक्रम गर्नुपर्ने स्थानीय बताउँछन्। उनीहरु यस्ता क्रियाकलापमा रेडक्रस मुकदर्शक बनेको आरोप लगाउँछन्। रगतको अभावका कारण कतिपय बिरामीका आफन्तहरु समस्यामा पर्ने गरेका छन्।

रक्त सञ्चार केन्द्र टीकापुरले टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका स्थायी बासिन्दालाई निःशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको छ। केन्द्रले रगत जाँच गरे वाफतको शुल्क मिनाहा गरेको हो। सो वाफतको रकम पालिकाले केन्द्रलाई एकमुष्ठ भुक्तानी गर्ने गरेका छन्।

प्रकाशित: १ कार्तिक २०७९ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App